सर्कस र साइरन

- डा. विदुर चालिसे

सभ्य सहरको
भिडदेखि बजारतक
भोकाएका पेटारे
बालकहरू रतिन्थे,
मस्तिन्थे सडकभर ।
नजिकका पालकहरू
डमरू बजाउँथे शिवजीका
जोड जोडले सर्कस आँगनमा

डमरू चट् चट् चड्कन्थ्यो
कहिले दायाँ कहिले वायाँ
भोको पेटमा उफ्रि उफ्रि
बालकहरू तृष्णा तृप्तिले
हराउँथे सकलकलाको दर्शनमा

डमरू प्राचीन थे,
डिबडिवे थे अर्वाचीन ।
झुपडिका अभावस्वर
साइरनमा भरिएथे आज
सहरमा रहन्थे महलका खातिर

मयलपोसमा ठडिएको
निम्तालु भद्रजन म !
मेरो नजरमा घण्टाघरका
घडिका आवाजहरू गुन्जिरहेथे ।
सडकमा तालि बजहेथ्यो
साइरनको पछि पछि सवार
फूर्तिले दौडिरहे थे परस्पर ।

उभिए थेँ !
डमरू सुन्थेँ,
साइरन भोग्दथेँ ।
तालिका आवाजहरू
तवलाको तालमा बुझ्दथेँ ।
घडिको सुइसँग हतारहतार
कक्षामा चिल्लाउँथेँ उसै उसै
महामानवहरूको महान इतिहास ।

मेरा कलिला शिष्यहरू छट्पटिन्थे
डमरूको जोडमा र सर्कस देख्दथे,
सडक थ्यो, साइरन बजिरहन्थ्यो ।

उता सर्कसका माष्टरजीहरू थे,
पसिन पसिन थे डमरूको तालमा
यता म भट्भटाइरहन्थे विजयीहरूको
ऐतिहासिक महान यात्राका आरोहहरू !
दर्शनका असमान यात्राका अवरोहहरू !!

सर्कसको नायक थे, भोकका थे
साइरनका नायक थे, जोकका थे
प्राध्यान्त्यमा असतहरूको सत थे
म सत सत बोलिरहन्थे जीवनभर ।
सत सत असत बनिदिन्थ्यो भविश्य !
दर्शकहरू मलाई हेर्दथे
र, पागल गुरूको पदवी दिन्थे,
शिष्यहरू सर्कसमा तालिपिटिरहन्थे
म लुरू लुरू प्रस्थान गर्दथेँ
शालीन पाइलाका साथ !

सोचिरहन्थेँ सर्कस र साइरनको
जीवनमा दार्श्निक सत्यतथ्य ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 11 श्रावण, 2075

लेखकका अन्य रचनाहरु