लेकाली धरोहर फलामेडाँडा

- भेषराज रिजाल

एघार बजिसकेछ लुङ्दीखोलाको किनार समातेर उकालो लाग्दा ।
लुङ्दीको सुसेली गुञ्जिएको छ पहरो थर्काउँदै, चारदिशा घन्काउँदै । मेरो अनुहारमा बगेको पसिनाको धाराजस्तो लुङ्दीको सुकिलो जलधारामा नजर भिजाउँछु, मन धुन्छु र पयर उचाल्छु ।
रोपो सरिसकेको खेततिर बगेको कुलोमा भरिभराउ छ मध्यबर्खाको रसिलो पानी । रोपाइँ भइरहेको खेतको मोहक दृश्य दौडिरहेछ आँखाको डिलवरिपरि । हली, बाउसे, रोपाहार र हलगोरुको हलचल चलमलाइरहेछ मनको मझेरीभरि । हामी भने सुन्दर बेँसीलाई छोडेर कुदिरहेछौँ उत्तरतिरको उकालो छुन । कठोर परीक्षासरि उभिएको पहाड उक्लेर भेट्टाउनु छ अर्को क्षितिज ।
हाम्रो गन्तब्य– पर्वत र म्याग्दीको सीमानाका बनबढे, नागी र सेरोफेरो । लेकाली गाउँबस्तीमा महावीर पुनले थालेका काम र ती गाउँघरसँग जोडिएको मेरो सम्झनाको चर्चाले साथीहरूलाई पनि तानिरहेछ मसँगै ।
पहाडको फेदीमा नपुग्दै छुटिरहेछ पसिनाको धारा । स्तब्ध छ फनफनी घुमेको बाटो । बाटोमा छाया झारेका हरिया हाँगामा देखिँदैनन् चरा र सुनिँदैनन् तिनका मधुर कलरव । खोलोबाहेक बोल्दैन कोही एकशब्द । निःशब्द छन् सहयात्रीका ओठ पनि । कसले चोरेर भागेहोला पाखापखेरामा घन्किने लोकभाका ? कसले खोसेर लगेहोला बर्खे हरियालीको शीतल ? विगतको खाताबाट खुसी उधिनेर दोब्य्राउनखोज्छु मनभित्रका उदास पानाहरू ।
उनन्तीसवर्ष पहिले परेथ्यो यो बाटोमा मेरो पहिलोपाइलो । यो बाटो हिँड्न छोडेको पनि बाइसवर्ष भइसकेछ । हिँड्न छोडे पनि मनभरि सङ्लेको रहेछ बाटोको माया । छातीभरि चुलिएको रहेछ माटोको माया । मुटुभित्रै घोलिएको रहेछ गाउँबस्तीको माया । मेटिनलागेको पुरानो बाटो खोज्दै हिँडिरहँदा प्रकृतिको माया पनि उस्तै भेट्छु मप्रति । मनमा कोरिएको बाटोमा पाइला बिच्छ्याएर रमाउन चाहन्छु हरपल । पसिनामा नुहाएर पखाल्न चाहन्छु आँत ।
ठाडो उकालो सामुन्ने उभिँदा गलिसकेछन् सबैका नौनाडी । उकालोको फेदमा घरबास गरेकी बूढीआमैले दिएको एक–एक अम्खोरा पानीले आँत भिजाएर उकालोको सामना गर्न लाग्यौँ हामी ।
कामविशेषले केहीदिन मोदीखोला छेउछाउका गाउँबस्ती डुलेपछि विदा र फुर्सद मिलाएर सामेल भएका छौँ यो यात्रामा हामी । बद्री बुढाथोकी र कृष्णदेव भट्टको साथ पाएर हौसिएको छु म पनि । त्यही हौसलाको फेर समातेर जसोतसो घिस्रिरहेछु ।
नरसाउने पहराको चेपमा अडिएका छन् सल्लाका विशालकाय रुखहरू । पहाडको श्रृङ्गार सल्लाका हरिया रुख देखेर उत्साह भरिन्छ मनमा र सुस्तिएका पाइला उचाल्दै फेरि अघि सर्छु म ।
ʻआकास छेकेर ठडिएको पहाड उक्लन आकासै छुनुपर्ने पो हो कि ?ʼ बद्रीजीको ठट्टामा हाँसे पनि मनमा चिसो पस्यो नराम्ररी ।
ʻपहाड उक्लन पहाडका जरा काट्नुपर्छ, पहाडको नाक भाँच्नुपर्छ ।ʼ ठट्टामा सामेल भएँ म पनि ।
सल्लिपीरको धराप बिच्छ्याएर स्वागत गरिरहेछ उकालो । ʻटेक्ने अखटो न समाउने डालीʼ जस्तै भएको जीवनको त्यो पल र चाल अडिएको छ त्यही सल्लिपीरको भरमा ।
ʻमनभरि पीर पाइलामुन्तिर सल्लिपीरʼ सल्लाको सिम्ठो खेलाउँदै एक्लै हाँसेँ म ।
सल्लाको वास्ना बोकेको शीतल बतासले छुनथाल्यो सुस्तरी । बाटो वरपर उम्रिएको घाँसको वास्ना पनि उस्तै छ मगमगाउँदो । बर्खेरङमा रङ्गिएको प्रकृतिको मोहक छटाले बनाइरहेछ मुग्ध । बाटोले पनि डोर्‍याइरहेछ मायालु भर दिएर । सानोमा आमाबाबुले काँधमा राखेर डुलाएझैँ, हात समातेर थिरीथिरी गराएझैँ लागिरहेछ मलाई ।
धाइरिङको पाखोबाट बगेको मसिनो झरनासँग थकाइ साट्छु र उल्लास उराल्छु मैले । बेँसीखेत रुङिरहेको कटेरोमा बास बस्न पुग्छ चञ्चले मन । शान्त, स्वच्छ र सुन्दर भए सानै पनि जाती । सोच्छु, सानो प्राप्तिमा ठूलो खुसी खोज्ने ठाउँ प्रकृति नै रहेछ ।
मेरो पाइलाको पदचाप छुन रोकिएको थियो बतासको वेग । मेरो आकृतिको इन्द्रेणी हेर्न लालायित थियो आकासको दर्पण । मेरो धड्कनको लय सुन्न आतुर थियो बाटो । वर्षौँपछिको पुनर्मिलनले हर्षविभोर थियो प्रकृति । अनि त, शीतल बतासको मधुर झोक्कासँग नाचेथेँ म । अदृश्य कीराहरूको मसिनो किरीकिरीसँगै गाएथेँ म । रङ्गीबिरङ्गी पुतलीको स्वच्छन्द चालसँग उचालिएथेँ म । पट्याइलाग्दो प्रतिक्षापछि भेटिएको स्वप्नील संसार पाएर आह्लादित भएथेँ म ।
आइपुग्यो उकालोको चौतारी ।
यो चौतारीमा सयौँपटक बिसाएँ हुँला आजसम्म । सल्लेरी छहारीमा सुस्ताएर पसिना पुछ्दै त्यहाँदेखि यहाँसम्मको सबै थकाइ बिसाएँ आज मैले । उतिबेला बाध्यताले उक्लनुपर्ने उकालो रहरले, खुसीले उक्लँदैछु आज । शरीरको थकानमा मल्हम लगाइरहेछ मनको उल्लास ।
क्षितिजमुन्तिर वेगिएको कालीको चिसो स्पर्श अनुभूत गर्नखोज्छु । कालीको सुसेली र प्रवाह नछोइए पनि त्यसको अस्तित्वबोधले मात्र शीतल भएको छ हृदय । प्रकृतिको छायाँ र देशको माया उस्तैउस्तै लाग्छ मलाई– अनुभूत गर्दा मुटुमै छोइने आकासको स्पर्शजस्तो, ब्रह्माण्डको उज्यालोजस्तो ।
निकैबेर पानीअमलाका जरा उखेल्दै बालापन खोज्यौँ हामीले । कहाँ पाउनु बालापनको त्यो मिठास, त्यो रमाइलो र ती सपनाहरू ? दुईचार दाना पानीअमलाले मुख टर्‍यायौँ वर्तमानको भोगाइजसरी ।
धौलापहरोको उदाङ्गो भीरमा घामले निकै देखायो आफ्नो तुजुक । मोटरबाटोले फनफनी घुमाएर झन् लामो र कठिन बनाइदिएको छ उकालो । पसिना नबगेको पल छैन । लाग्छ, शरीरको रगत पनि पसिना बनेर बगिरहेछ । धेरैपटक उक्लेको उकालो आज अग्निपरीक्षा भइरहेछ । चारहात खुट्टा टेकेर भए पनि पार गर्नुछ यो उकालो मैले ।
ʻगिद्धेश्वर निस्कने त्यो बाटो छिटो हुँदोहो फलामेडाँडा उक्लन ।ʼ आशंका र पछुतोको जालमा पारेर पल्लोडाँडाको गोरेटोले जिल्याइरहेछ हामीलाई ।
ʻअबदेखि आउनेछैन धौलापहरोको बाटो, भनेजस्तै भएको होला है ?ʼ पहिलोपटक धौलापहरो उक्लँदा भेटिएका रातामाटाका बाले मलाई सोधेको सम्झन्छु ।
ʻयतिका वर्षपछि उक्लँदैछु धौलापहरो । शायद यो उकालो फेरि उक्लने छैन मैले ।ʼ धेरैबेर घोत्लिएर पुराना सम्झनासँग फुस्फुसाएँ म ।
जता फर्के पनि उस्तै निष्ठुर छ महाभारत पहाड । कामै छैन निष्ठुरीसँग रोईकराई । बरु जति उक्लनसक्यो उत्ति भलाइ । समयका सुईमा उनिएर दगुर्न नसके पनि अतित हुननसकेको मेरो मानसभूमि हेर्न लालायित भएर घिस्रिरहेँ म ।
जलवियोजनले मुर्छित छ पहरो । ढुङ्गेनी खड्केरीले पसारिरहेछन् दाह्रा । ठूलो चोटले पीडितको आँखाका अश्रुजल रित्तिएझैँ सुख्खा छ पहरो ।
एउटा चिन्ताले खग्रास छौँ हामी– धौलापहरोको उकालोमै बित्ने हो कि दिन ?
फेरि देखिए कालीनिउरोका कलिला मुन्टाहरू । बद्रीजीले मन लगाएर टिप्नुभयो निउरो ।
ʻभरे निउरोको रसले मनाउनुपर्छ पहाड विजयको उत्सव ।ʼ भट्टको बोलीमा हाँसो मिसायौँ हामीले ।
हाम्रो हाँसो सापट लिएर पहराकन्दराले पनि गुञ्जायो अट्टहास ।
भोटेडाँडाको रोपाइँमा असारको रौनक देखियो । असारे हिलोमा खुट्टा हाल्न नपाए पनि मन चोबल्छु बेस्सरी । मलाई औधि मनपर्छ– मेहनतको बीउ रोप्ने ऋतु, खुसी फलाउन पसिना पोख्ने महिना, मानो रापेर मुरी फलाउने दिन ।
धैर्यताको सामुन्ने पहाडको चुरीफुरी पनि गल्दोरहेछ । हामीले धौलापहरो उक्लेर रातमाटा टेकिसक्यौँ ।
ʻखोला र झरनाको पानी हेर्दै पसिनाले मेट्नुपर्दोरहेछ उकालोको तीर्खा ।ʼ आएको बाटो फर्केर हेर्दै भनेथेँ मैले ।
ʻतिर्खाको स्वाद थाहा भयो आज ।ʼ धारोको चिसोपानीले प्यास मेट्दै बोल्नुभएथ्यो बद्रीजी ।
केतुकेको बोटमा ढुङ्गा हिर्काउँदै ज्यानमारा उकालो उक्लँदाको दुःख बिर्सन खोज्दैथियौँ हामी । दार्चुलाबासी भट्टजीले केतुकेतिर लक्षित गरेर भन्नुभो– रम्बाँस । हाम्रो हाँसोले आकास थर्कियो, बिजुली चम्कियो र पाइलामा गति थपियो । थाहा भयो, खुसीमा मन खुल्न पनि बहाना चाहिँदोरहेछ ।
रातमाटागाउँमा बाटामुन्तिर देखियो रहरलाग्दो काँक्रो । भट्टजीले किनेर ल्याउनुभो । चौतारीमा बसेर सानोतिनो भोज गर्‍यौँ हामीले ।
उचाइ उक्लेपछि त घाम पनि चिसिँदै जानथाल्यो । हावामा डुल्नथाल्यो लेकाली चिसो । चस्कनथाले थाकेको शरीरका जोर्नीहरू । पसिनाले भिजेका लुगा फेरेर झोलामा कोचेँ मैले । अलिकति पसिना र थकाइको बदला यतिधेरै आनन्द ! शायद दुनियाँमा बटुवाले मात्र पाउने अद्भूत खुसी यही हो ।
बारीका मकै नपाकेकोमा कौवाको गथासो छ । खरबारीमा बुढिएको छ घाँस । गोठमा छैनन् गाईवस्तु । धेरैजसो घरमा लागेको छ दैलो । कुनैकुनै घरको पिढीँमा छन् बूढाबूढी र केटाकेटी । कतैकतै बारीमा कोदो रोपिरहेछन् मान्छेहरू ।
खेत रोप्न गह्रो पन्छाइरहेका प्रेम रेग्मी बोल्नुभो– ʻएउटा छोरो जापान, अर्को छोरो क्यानाडा, कसले पाल्ने गाईभैँसी ।ʼ
न घाम, न पानी, रोज्जा परेको छ दिन । डाँडाको शिखरलाई अङ्गालो हालेको छ कुहिरो । बर्खामास लेक छुट्याउने लेकरेखा पो रहेछ कुहिरो त । त्यही रेखाभित्र छिरेर छुन बाँकी छ लेकाली चिसो ।
रोटेपानीको घुम्तीबाट देखियो बागलुङबजार । हरियो डाँडामुनि आधुनिक चहकमा टल्कियो त्यो । बिहान बागलुङ कालीकाको आँगन टेकेर मालढुङ्गा हुँदै बेनीवल्तिर मिलनचोकमा ओर्लेथ्यौँ हामी । हेर्दा नजिकै देखिए पनि दिनभरको यात्रामा भेटिएथे अनेकौँ पहाड, खोलाखोल्सा, खेतबारी, उकालीओराली र वनपाखा । हिँड्न सक्नुपर्छ, पाइलैपिच्छे छ प्रकृतिको कञ्चन सौन्दर्य ।
ʻकति समय लाग्ला फलामेडाँडा पुग्न ?ʼ भेटिएका जतिलाई सोध्दै आइरहेछौँ हामी ।
ʻतपाईँहरूलाई एकघण्टा लाग्ला ।ʼ डेढघण्टा पहिलेदेखि यस्तै जवाफ आइरहेछ ।
ʻयही बाटो हिँडेर बूढो भएँ । यही बाटोले निरोगी बनायो, जीवन्त भएँ । वर्षौँ हिँडेको बाटो बिर्सेर बाटो सोध्ने म कस्तो बटुवा ?ʼ आफैलाई सोधिरहेछु मैले ।
समय र आधुनिकतालाई चुनौती दिँदै युगौँदेखि ठडिएका एमानका ढुङ्गा उस्तै भेटिए । कालो पहरोले थोपाथोपा बगाइरहेछ पानी । कुहिरोले छोपेको छ पहरोमाथिको ठिम्रेसल्लाको पाखो । कुहिरोसँग उतिसारो गुनासो छैन– जति लेक चढ्छौँ हामी, उति माथिमाथि भागिरहेछ त्यो ।
गुनासो त बरु उकालोसँग छ– म थाकिसकेँ, उकालो थाक्दैन । भोकै, प्यासै दिन ढलिसक्यो, गन्तब्य छोइँदैन । जिन्दगीभर उकालोसँग छ मेरो लडाईँ ।
हैन, चढ्न नसकिने हो कि क्या हो फलामेडाँडा !
फलामेडाँडा उक्लन फलामको चिउरा चपाएजस्तो भयो, फलामे किल्ला भत्काएजस्तो भयो, पसिनाले फलाम गलाएजस्तो भयो ।
चारो खान माउसँग लाडिएको लेकाली बचेरोको कोकोहोलोले घन्किएको छ पाखो । कुहिरोभित्रको कुन रुख, डाली, पोथ्रामा छन् माउबचेरा भेउ पाउन सकिनँ मैले ।
घाँसेचौर, खर्क र ढुङ्गासँग बिसाउनखोज्छु थकाइ । ऐसेलुका झाङ, गुराँसका पोथ्रा र तीतेपातीका मुन्टासँग साट्नखोज्छु सम्झना । बाँकोका पात, ओसिलो हावा र उज्जर दृश्यसँग दाँज्नखोज्छु आफूलाई । रम्न चाहन्छु विगतदेखि वर्तमानसम्मका सुख दुःखका पलहरूसँग । लेकाली चिसोले व्युँझाइदिएको छ मेरो स्मृतिको भावगङ्गा ।
धैर्यता र उत्साहसँग हातेमालो गर्दै उक्लिछाड्यौँ फलामेडाँडा हामीले । टेकिछाड्यौँ नीलगिरि र अन्नपूर्णाको आँगन । देखिछाड्यौँ लेकाली जीवनको बाक्लो बस्ती । सम्बत् २०७५ सालको मध्यअसारमा छोइछाड्यौँ जलजला गाउँपालिकाको लेकाली धरोहर ।
डाँडामा उक्लेपछि हिउँचुली नै खोज्दोरहेछ आँखाले पहिला । ज्योतिको पङ्ख उचालेर उड्न खोज्दोरहेछ हलुङ्गिएको मन । मन हलुङ्गिएर उड्दा ओर्लिँदोरहेछ ढुकढुकीमा सन्तोषको लय ।
हिउँदभर हिउँको बिस्कुन फिँजाउने हिउँचुलीहरू भने सुतिरहेथे कुहिरोमुन्तिर कतै । बूढो घाम पहेँलिएर विलुप्त भइसकेथ्यो पहिल्यै । सल्लाका रुखमा ठोक्किएर हुन्हुनाइरहेथ्यो हावाको फुइँकी । हिमाली चिसोमा लठ्ठ थियो लेकाली सेरोफेरो ।
लेकाली शिखरराज फलामेडाँडा चुम्दाको खुसीले रमाए पनि गोधुलि साँझको सन्नाटामा बेचैन थिएँ म– जीपको पछाडि सामानसँग कोच्चिएर नागी पुगौँ कि पैदल हिँडेर बनबढे झरौँ आज ?
साँझ छिप्पिँदै जानलागे पनि कालो पहाडमास्तिर राँकेअगुल्टो कुत्कुत्याएर बाटो देखाउन पर्खिरहेथ्यो कोही ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 4 भाद्र, 2075

लेखकका अन्य रचनाहरु