लरेनका ड्याडीहरू

- डा. संगीता स्वेच्छा

‘कविता, ए कविता ! कति झ्यालमा बसेर टोलाइरहेकी ? शनिबारको दिन भयो भने झ्यालमै बसिरहन्छे ।’
उषा आफ्नी ७ वर्षकी छोरीको शनिबार झ्यालमा बसेर टोलाउने प्रक्रिया देखेर छक्क पर्छिन् । उनी जान्दिनन् कविताको बालशुलभ मनभित्र के चल्दैछन् । चिन्ताको खासै विषय पनि थिएन तर चञ्चलताको नमुना मानिने अनि साथीभार्इ कहाँ जाँदा ‘चकचके कविता’ भनिने छोरी आखिर शनिबार किन टोलाउँछे उषालार्इ धेरै थोरै कौतुहलता भने हुने गर्दछ । कविताको यो शनिबार टोलाउने क्रम भने ग्रीनएकरमा सरेदेखि मात्र शुरू भएको हो । समयको हिसाबले यो प्रक्रिया ३ महिनादेखि चल्दैथियो ।
‘केही होइन मम्मा ! लरेन बाहिर आइन कि हेरेकी ।‘ कविताले छीमेकी घरमा बस्ने बालिकालार्इ इंगित गर्दै भनिन् ।
`किन झ्यालमा बसेर टोलाइरहने ? खेल्न मन भए घरमा गएर घण्टी बजाऊ । बोलाए भैहाल्यो नि !’
कविताले जवाफमा केही फर्काइनन् । मन्द मुस्काइन मात्र । अनि, कुद्दै आफ्नो आइप्याड समार्इन् र कार्टुन हेर्न थालिन् ।
कवितालार्इ बाहिर खेल्नु थियो थिएन, कविताकी आमा उषा जान्दिनन् । हप्ताभरी विद्यालयबाट फर्केदेखि कविता घर वरिपरिका बच्चाहरूसंग घण्टौं उफ्रिन्छिन् अनि कुद्छिन मानौं थकार्इ भन्ने कुरा उनको शब्दकोशमा छँदैछैन । उनको नथाक्ने शरिर देखेर पनि कविताकी आमा उषा अचम्मै पर्थिन् । कवितालार्इ घरभित्र भन्दा घरबाहिर खेल्न औधी मनपर्छ । कविताको बाहिरी वातावरणमा रमाउने बानी पनि उषाको प्रोत्साहनको कारण नै शुरू भएको थियो । नत्र, कविताले साथी नपाएर आइप्याड, ल्यापटप र मोबाइलमा मात्रै खेल्न थालेकी थिइन् ।

कविताकी आमा उषा अनि बुबा प्रकाश कविताकै लागि पुरानो बसेको ठाउँ पार्कहिलबाट अलि पर ग्रीनएकरतिर विद्यालय नजिकै सरेका थिए । यसरी उषा, प्रकाश र कविताको परिवार बेलायतको क्रोयडन शहरमा स-साना बच्चा भएका परिवारहरू बढी बस्ने ठाउँकै वरिपरि पुगे र फलतः कविताले खेल्ने साथीहरू पाउन थालिन् । हप्ताभरी कविता निकै चुस्त देखिन्थिन् तर शनिबार भयो कि कविताको झ्यालमा बसेर टोलाउने क्रम फेरि शुरू हुन्थ्यो ।
उषा जान्दिनन् आखिर कविता के सोच्छिन् । दिनहरू यसैगरी नै वितिरहेका थिए । कविताको शनिबार मात्र टोलाउने क्रम थियो तर समय बित्दै जाँदा अरू दिन पनि खासै खुशी भएको देखिन्नन् । उषालार्इ यसबारे जानेर कविताको खुशीको लागि प्रयत्न गर्न सकिने केही कुरा छन् कि जान्ने चाहना नभएको पनि होइन । तर, उनी यो प्रयासमा सफल भने हुन सकिरहेकी थिइनन् ।

जुलार्इ महिनाको गर्मीको दिन साँझको पाँच बजे पनि टन्न घाम लागिरहेको थियो । घर वरिपरिका बच्चाहरू हल्ला गर्दै खेलिरहेको आवाज उषाको घरमा सजिलै सुनिन्थ्यो तर कवितामा भने बाहिर खेल्न जाने कुनै उत्सुकता थिएन ।
‘कविता ! ए कविता !! बाहिर खेल्न नजाने आज ?’ उषाले कौतुलहलताका साथ सोधिन् ।
‘नार्इं मम्मा आज म वरू चित्र कोर्छु ।‘ कविताले अझै पनि बाहिर खेल्न जाने कुनै जाँगर र रहर देखाइनन् ।
‘ल ठीकै छ नि त । भोलि चाहिँ स्कुलबाट आएर बाहिरै खेल्ने ल छोरी ?‘
‘हस् ।‘ कविता कुदेर गर्इन् आफ्नो कोठातिर । कापी, कलम र केही पेन्सिल रङ्गहरू बोकेर आइन् ।

साँझ परिसकेको थियो । उषालार्इ खाना बनाउनको हत्तारो छ । प्रकाश आउने समय पनि भैसकेको थियो । उषा, प्रकाश र कविताको सानो परिवारमा आफ्नो परिवारको लागि समय, पैसा र माया कुनै कुराको पनि कमी भने देखिंदैन । बेलायत जस्तो देशमा पनि प्रकाशले आफ्नो पढार्इ अनुसारको काम पाएकै थियो । उषाको पनि चित्त बुझ्दो जागीर । छोरीलार्इ समय दिन नसिकिएला भनेर अर्को बच्चाको चाहना समेत राखेका छैनन् यि दम्पत्तिले ।
‘ट्रिङ् ! ट्रिङ् ! !’ कलबेलको आवाजले कवितालार्इ निकै उत्साहित बनाउँछ । विद्यालयबाट फर्केदेखि चुपचाप चित्र बनाइरहेकी कविता बुबाको आगमन होला भन्ठानेर ढोकामा कुद्दै पुगिन् ।
‘ओहो ! चित्र कोरेकी ? के चित्र देखाऊ त छोरी ।’ प्रकाश उत्साहित हुँदै छोरीलार्इ बोक्दै वैठकतिर लाग्छ । कविता चुपचाप चित्रलार्इ दुर्इ हातले समातेर बुबालार्इ टोलाउँदै हेरिरहन्छिन् अनि देखाउँ नदेखाउँ अलि अन्योल पनि हुन्छ उनलार्इ ।
‘देखाऊ न छोरी ! तिमी त राम्रो चित्रकार हौ । तिम्रो हरेक चित्र मलार्इ उत्तिकै मन पर्छन् ।‘ प्रकाश कवितालार्इ बोक्दै कोठातिर लाग्छ ।
कविताले चित्र विस्तारै बुबालार्इ देखाउँछिन् । त्यस चित्रमा एक बालिका, एक बालक, एक महिला अनि दुर्इ पुरूषहरू एउटै फ्रेममा हुन्छन् । उषा र प्रकाश दुबै केही अचम्मित हुन्छन् ।
‘छोरी, कसको तस्वीर हो यो ?’ उषाले अचम्म मान्दै सोधिन् ।
‘यो लरेनको परिवार ।‘
‘लरेनको परिवारमा त यति धेरै मान्छेहरू छैनन् त ।‘ प्रकाशले हाँस्दै भन्यो ।
‘छ नि । लरेन, ज्याक, बेन, सुजाना अनि पिटर ।‘
‘छोरी....लरेन, ज्याक, बेन र सुजाना परिवार हुन् तर पिटर अर्कै परिवारमा छ ।‘ प्रकाशले परिवारको फ्रेमलार्इ सच्चाउँदै भन्छ ।

हुनपनि पिटर सुजानाकी पूर्व पति हुन् जो शनिबार सँधै छोरा बेन र छोरी लरेनलार्इ आफ्नो घरमा लिएर जानको लागि आउँछन् । बेलायतमा यो नयाँ कुरा भने पटक्कै थिएन । सामाजिक तथा कानुनी दायित्वबाट बाँधिएका बुबाहरू पारपाचुके पछि पनि आफ्नो कर्तब्य निभाइरहेका देखिन्छन् । आफ्ना साना बच्चाहरू साताको अन्त्यमा आफूकहाँ लान्छन्, घुमाउँछन्, खुवाउँछन् अनि सोमबार विद्यालय जानको लागि आइतबार बेलुकी आमाकहाँ छोड्न आउँछन् ।

उषाले प्रकाशको लागि चिया लिएर आइन् । बुबाले आफ्नो चित्रबारे भनेका कुराहरू कविताले त्यति सजिलै बुझ्न भने सकिनन् । वरू उनी धरै बेर थरीथरीका चित्रहरू कोर्दै बसिन् । अचानकै उनलार्इ के कुराको याद आएछ, कुद्दै आइन् ।
‘मम्मा, मेरो किन एउटै ड्याडी ? लरेनका त दुर्इ ड्याडीहरू छन् ।’ कविताले आमाको काखमा बस्दै सोधिन् ।
कविताको प्रश्नले उषाको हंश नै उड्छ । न उनले कहिल्यै यसबारे सोचिन् न त कविताको मनमा छीमेकी परिवार अनि त्यहाँ हुने गतिविधिले यति विध्न असर पार्ने बारे कहिल्यै अड्कल लगाइन् । उषा र प्रकाश दुबै एकक्षण एकटक लगाएर एकआपसलार्इ हेर्छन् ।
यत्तिकैमा कविता फेरि बोलिन् - ‘मेरो पनि लरेनको जस्तै २ ड्याडीहरू भएको भए २ वटा घरमा बस्न पाउँथें । शनिबार अर्को घरमा जान्थें । मम्मा, के मेरा २ ड्याडीहरू हुन सक्दैनन् ?‘ कविताको प्रश्न भने यति सरल थियो मानौं उनी दुर्इटा पुतलिहरूको माग गरिरहेकी थिइन् । यो पल्ट भने प्रकाश र उषा दुबैजना अट्टहास लगाएर हाँस्छन् ।
टुक्रिएको परिवारलार्इ आफ्नो आदर्श बनाएर हुर्किरहेकी कविता अनि उनको मस्तिष्कमा पलाइरहेका प्रश्नहरूलार्इ कुन तवरले बुझाउने भन्ने विषयमा प्रकाश र उषा दुबै अलमल्लमा पर्छन् तर उनीहरू विस्वस्त छन् समय आएपछि यि कुराहरू कविताले बुझ्नेछन् भन्ने ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 5 भाद्र, 2075

लेखकका अन्य रचनाहरु