मार्च आठ

- जे एन दाहाल

आठ वर्षे मेरो छोरो एलीमेन्ट्री स्कूलबाट घरमा आउँछ, काउचमा ढल्कँदै जुत्ता खोल्छ। ब्याग किचनको काउन्टर माथि राख्छ र डाइनिङ् टेबुल अघि बस्छ। भोकाएको उसको पेट म उसको अनुहारको भावले पत्ता लाउँछु। त्यसैले म रोटी र सब्जी प्लेटमाथि राखिदिन्छु।
“आज फेरि रोटी?” ऊ आँखा तन्काउँदै अनुहार बिगार्छ।
“भोक सम्झेर खाऊ बाबु”, म उसको भावना बुझ्दै भन्छु ।
“खान्न !!” ऊ रुन्चे अनुहार लाउँछ र प्लेटलाई अलि पर धकेल्छ। म बाबु या आमा हुनुभन्दा पनि अभिभावकको भूमिकामा उसलाई सम्झाउँछु—
“मेरो कुरा सुन! अहिले यही खाऊ, भरे पिज्जा अडर गरिदिन्छु।” आश्वासनका शब्द झिकेर म उसको अनुहार हेर्छु। मानौँ यसले केही परिवर्तन ल्याउँछ कि?
“खान्न के?” ऊ थप घुर्की देखाउँदै बोल्छ र आफ्नो अनुहार प्लेटको ठिक विपरीत दिशा पुर्याउँछ।ओठ पनि बाहिर झिकेर रुन्चे अनुहार पार्छ।
“उसो भए, पिज्जा नखाने?” म दाह्री मुसार्दै अलि अर्कै लवजमा बोल्छु। सम्भवतः डराओस् भन्ने अपेक्षित नजरले पनि हेर्छु।
“मैले त्यसो भनेकै छैन.. हिजो पनि रोटी, आज पनि रोटी! म मम्मीसँग भएको भए यसरी दैनिक रोटी खानु पर्थेन होला।”
घुर्क्याउँदै छोराले रोटीको एक छेउ चुँड्न थाल्यो। म उसले जुत्ता खोल्न बसेको काउचमा गएर ढल्किएँ तर उसको शब्दले नमीठो प्रहार गरिहहेको थियो।
सोच्न लागेँ- मम्मीजस्तो बाबा पक्कै छैन। त्यसैले बाबाले हजारौँ प्रयास गर्दा पनि मम्मीजस्तो हुन सक्दैन। यस्तै कुराले पिरोलिरह्यो। उसले नदेख्ने गरी चस्स गहिरो गरी भित्रसम्म दुखेको मन सम्हाल्ने कोसिस गरेँ।
“ड्याडी ! मम्मी अहिले कहाँ हुनुहुन्छ?” रोटीको एकटुक्रा मुखमा हाल्दै ऊ डाइनिङ् टेबलबाट बोल्छ। म अनुहारका सबै रेखा खुम्च्याएर उसलाई हेर्छु।
“खै, थाहा छैन!”
म थाहा भएर पनि भन्ने कोसिस गर्दिन। र सोच्न थाल्छु यसलाई के भएछ? प्राय स्कुलबाट आउँथ्यो खाना खान्थ्यो, खेल्थ्यो यस्तो प्रश्नै सोध्दैन थियो। म टि.भी अन गर्छु। ऊ त्यो रोटी अरुचीपूर्वक मेरै लागि खाइदिन्छ।
टि.भीमा वुमन्स राइट, मार्च आठको विषयमा कत्रो छलफल चलिरहेको थियो। सम्झिएँ बिचरा एसियाका कत्ती देशमा वुमन्स राइट कागजमा मात्र छ।अमेरिकामा आवश्यकताभन्दा बढी भएकाले हतियारजस्तो दुरुपयोग गरिरहेका छन्। वुमन्स राइट भन्ने सुन्दा पनि अनौठो हाँसो आउँछ !
मैले केही भन्नु अगावै छोरो काउन्टर टेबलको स्कूले ब्याग उठाउँछ र आफ्नो कोठामा राख्न जान्छ। म उसले खाएको प्लेट डिस वासरमा राख्दै फोनमा केही नम्बर दबाउँछु। पाँच मिनेट पछि छोरो मेरो नजिक आएर उभिन्छ ।
“होम वर्क?” म अभिभावकत्व जिम्मेवारी निर्वाह गर्दै सोध्छु।
“म्यातको थियो, मैले क्लासमै सिध्याएँ” ऊ आरामको सास फेर्दै बोल्छ।
“अनि अरू क्लासको चाहिँ?”
“ धेरै दिनपछि आज ईगंलीसको होम वर्क छैन। साईन्सको होला तर एक क्षणपछि हेर्छु।”
खाना खायो, थाकेको होला केही आराम गरोस् भन्ने सोच्दै उसलाई सोध्छु –-
“कुन च्यानल हेर्न मन छ?” म टि.भीको रिमोट पनि उसैलाई दिन्छु।छोरो सोफाको एक छेउमा मसँगै टाँसिएर बस्यो टि.भीको भोल्यम मिउट गर्‍यो र सोध्यो,
“मम्मी कस्तो हुनुहुन्छ?”
“हँ !” छोराले आज छाड्ने रहेन छ भन्ने सोचेँ। त्यस अवस्थामा सहज तरिकाले प्रस्तुत हुने विचार गरेँ।
“कस्तो भन्ने, अरू लेडीज जस्तै!” म सहज तरिकाले उत्तर दिन्छु।
“त्यो भनेको ?” ऊ अझ गहिराई बुझ्न खोज्छ।
“पल्लो घरको आन्टीजस्तै” म उदाहरण सहित बोल्छु।
“पल्लो घरको आन्टी त नाईस् हुनुहुन्छ। मम्मी पनि त्यस्तै हो?”
“हजुर तर किन बाबु?”
“स्कुलमा सरले पढाउनु भएको आज मार्च आठ- इन्टरन्यासनल वुमेन्स डे। टि.भीमा पनि त्यही आउँदै छ। के कारण मम्मीसंग ड्याडीको डिभोर्स भयो?”
ओहो! मेरो मनमा चिसो पस्यो। म भित्रभित्रै अनौठो आँधी उठ्न थाल्यो। यो प्रश्नको उत्तरमा छोरासामु कसरी प्रस्तुत हुने भनेर मैले कल्पना गरेको रहेन छु।
“पल्लो घरको आन्टी कत्ती नाईस हुनुहुन्छ, मम्मी त्यस्तै भए किन डिभोर्स दिनु भयो?” उसले दोहोर्याएर सोध्यो तर टिभीको च्यानल फेर्दै भनेँ,
“तिमी सानै छौ। यो सब बुझ्दैनौ! पिज्जा नखाने छोरा?” म प्रसङ्ग अर्कातिर बटार्छु।
“अब त म बुझ्ने भएँ ! पिज्जा नखाने ! भन्नु त किन?” एक क्षणअघिको रुन्चे केटो यसरी एकोहोरो प्रश्नले हमला गर्ला भन्ने मैले कल्पनै गरेको थिइँन ।
“उसो भए भोलि पनि रोटी खाने हो?” म फेरि दोस्रो पल्ट कुरा मोड्ने प्रयास गर्छु।
“बरु रोटी नै खाने, भन्नु त बाबा!” यो समय उसले मलाई कुइनामा समाएर हल्लाउँदै भन्यो।
“त्यो समय हामी बोस्टनमा शहरमा थियौँ, तिमी एक वर्षका थियौ। तिम्रो मम्मी बाबुको हेर्चाह गरेर घरमै बस्थिन् | मेरो मात्र आम्दामीले घर खर्च चलाउन मात्र पुग्थ्यो। उनको चाहना दुई जनाको कमाइले केही पैसा सेभ गरी विजीनेस गर्ने भन्ने थियो। जिन्दगीभरि कत्ति कम्पनी धाइरहने। उनको कुरा सही थियो र म पनि त्यसैमा हौसेको थिएँ।”
“अनि?” ऊ बिचमा कलिलो स्वरले बोल्छ। “म दिउँसोको काम गर्थेँ, उनी रातको काम गर्थिन्।”
“किन त्यस्तो?”
“बाबुलाई यसरी नै भोक तिर्खा लाग्दा हेर्न!” ए .. अनुहार अलि उज्यालो पारेर फेरि सोध्छ, “त्यसपछि ?”
त्यसरी समय नमिलेका कारण एकआपसमा भेट कम हुन थाल्यो।खाने र सुत्ने पनि समय मिल्न छाड्यो।ऊ मुसुक्क हाँस्छ, मानौँ उसले साङ्केतिकरुपले केही बुझ्यो।
त्यतिन्जेल म नै बाबुलाई खुवाउने, सुताउने पार्क र सपिङ महलतिर घुमाउन लान्थेँ।ऊ फेरि उसरी नै हात बाँधेर सुन्छ।
“मैले कति प्रयास गर्दा पनि तिनै जनासँगै बसेर खाने, घुम्ने र मुभी हेर्न जाने समय मिलेन” भनेर कुरा गरिहन्थेँ। उनी पैसा कमाएर त ल्याउँथिन् तर अझै बचत हुनसकेको थिएन।
एक दिन मैले सोधेँ, “दुवै काम गर्छौँ। तर अझै पैसा बचत हुनसकेन?”
त्यस समय उनले भनिन्, “मैले विजीनेस किन्न भनी बिस हजार डलर सेभ गरी राखेकी छु। चिन्ता नलिनुहोस्।” म केही ढुक्क भएँ।
बाबु दुई वर्षको भएपछि एक दिन उनैले सानो कुरामा झगडा मच्चाइन्।
“खाना मीठो भएन, घर फोहोर छ! म बस्न सक्दिन यो घरमा।”
“किन?”
त्यही कुरा मैले पछि थाहा पाएँ – काम गर्ने कम्पनीमा उनको एउटा स्पेनिससँग अफेयर चलेको रहेछ। ओभर टाइम काम छ भन्दै छुट्टीका दिन ती दुईसँगै पार्क, मिउजीयम, मुभी हेर्न जाँदा रहेछन्।
“विश्वास घात!” – छोरो बिचमा लामो सास तान्दै बोल्यो। मनमनै सोचेँ बाबु निक्कै ठूलो भएछ। अलि चाँडो रिसाए पनि कुरा बुझ्न पनि थालेछ।
मैले प्रत्येक पल्ट छोरा र मलाई पनि समय देऊ भन्दा ऊ म ओभर टाइम गई विजीनेस् किन्ने पैसा सेभ गर्दैछु भन्थी।
“यसरी उसले मेरो भावनाको ब्ल्याकमेल गरि!”
“के हो ब्ल्याकमेल भनेको?”
“यो कुरा अलिपछि बुझ्छौ! त्यसो किन गरेको भन्दा उसले डिभोर्स मागी!”
कुन्द्रुगं..कुन्द्रुगं..गर्दै डोर बेल बज्छ।
“तिम्रो पिज्जा आयो।” म उसलाई पैसा दिएर पठाउँछु।
छोरो पिज्जाको बक्स लिएर फेरि म भएकै ठाउँमा आउँछ।
“पिज्जा ल्याउनेलाई, थ्यांक्यु भन्यौ?”
“भनेँ, ड्याडी!”
पिज्जाको बक्स अघि राखेर मतिर हेर्दै सोध्यो, “किन त्यस्तो गर्नु भयो?”
“तिम्रो मम्मीलाई हजार पल्ट सम्झाएँ। बुझाएँ..त्यस्तो बेला मान्छे एकोहोरो हुन्छ। उसलाई केही लागेन। उसले त्यही स्पेनिस बुढोसँग बस्ने जिद्दी गरी।”
कोर्टमा जज पनि छक्क पर्दै भने, “नेपाली परिवार डिभोर्सको केस लिएर आएको मलाई आजसम्म थाहा छैन।”
“मलाई पनि आउन मन थिएन तर वातावरणले त्यसरी नै बाध्य बनायो महोदय,” मेरो सरल उत्तर थियो ।
जजले आफ्ना ठूला आँखाले हेर्दै उसलाई सोधे, “मिसेस् उपध्याय तिम्रो श्रीमानले पिट्छ?”
“पिट्दैन”
“रातमा जबर्जस्ती गर्छ?”
“गर्दैन”
“खान या बस्नमा समस्या छ?”
“छैन”
उनी आश्चर्यमा परे। “यस्तो अचम्मको केस मैले तिस सालको करियरमा कहिल्यै देखेको थिएन। उसो भए तिमीलाई किन डिभोर्स चाहियो?” अचम्मीत हुँदै उनले सोधे।
“मेरो बई फ्रेण्डसंग बस्न!” उसले लाजै बेगर बोली। उसकै पालो थियो, जे चाहन्थी बोल्न सक्थी। मैले यी च्याउजस्ता कानले सुनी रहेँ।
“तिम्रो केही छ भन्नु मिस्टर उपध्याय ?” जजले मतिर हेर्दै सोधे।
“अमेरिकी कानुनमा चाहिने भन्दा बढी हुमन राइट छ सर! आवश्यकता मात्र राख्न मिल्दैन?”
“धेरै सोचनीय प्रश्न!” उनले मेरो अनुहारको भाव पढ्दै भने। “हुमन राइटको ज्यादा प्रयोगका कारण कति पति जेल पर्छन् विनाकारण! त्यसको एउटा नमुना घटना यहाँकै अघि छ सर!”
“मिस्टर उपाध्याय, त्यो त म पनि मान्छु” उनले मुसुक्क हाँसेर भने। “तर यो काम मेरो दायराभन्दा धेरै माथिको कुरा हो। तर म आगामी दिनमा ध्यानमा राख्छु।”
कुरो अड्कियो बच्चा कसले राख्ने? उसले मैले राख्ने भन्दै उफ्री। त्यो सुन्दा मेरो मन भाँचिएको थियो। म रोइरहेको थिएँ। तर भाग्यवश तिमी ऊसँग जान नचाहेका कारण मैले एउटा सर्तमा राख्न पाएँ।
“के थियो सर्त?”
“यही कि हप्तामा दुई दिन एक पल्ट तेस्रो व्यक्तिले तिमीलाई उसकहाँ पुर्याइदिने र उसले हेर्न पाउने।”
“रेल्ली!” ऊ मेरो कुरा सुनी अचम्म मान्छ। दुवैले केही कागजमा साइन गर्‍यौँ। जजले डिभोर्सको एकप्रति कागज उसलाई र अर्को प्रति कागज मलाई दिए। त्यही दिनदेखि तिम्रो मम्मी र म दुई दिशा फर्कियौँ।”
“अनि के भयो?”
“ऊ त्यो स्पेनिसको भाइ हप्तामा एकपल्ट म कहाँ पठाउँथी। खल्लो मान्दै बाबुलाई म ऊसँग जिम्मा दिन्थेँ।”
“मम्मीले मलाई कस्तो व्यवहार गर्नु हुन्थ्यो?” ऊ बडो उत्सुक्ताका साथ सोध्छ।
“मसँग जस्तो व्यवहार भए पनि तिमीलाई सधैँ प्रेम गर्थी। यो उसको सकारात्मक पक्ष हो।”
“अनि के भयो ड्याडी?”
“तिन महिनासम्म लगातार ऊ हेर्न आइरही तर उसको स्पेनिससँगको छ महिनाको पेट रहेछ। उता बच्चा भएछ, त्यसपछि बाबुलाई याद गर्न छाडी।”
“अनि यहाँ लस एन्जलस सर्नु भयो।” ऊ नै कलिलो स्वर झिकेर बोल्छ। म उसको कपाल सुमसुम्याउँदै भन्छु,
“किन, मैले ठिक गरिन?”
“एकदम ठिक गर्नु भयो! निष्ठूरी मम्मीलाई के सम्झनु” यसरी अतीत कोट्याई रहँदा खल्लो पनि लागिरहेको थियो। तर उसले यसो भन्दा मलाई पनि थप साथ पाए जस्तो लागिरहेको थियो। जे होस् छोरो ज्ञानी भएको छ भनेर आफैँलाई सम्हालेँ।
“हेर पिज्जा तिमीलाई पर्खँदापर्खँदै सेलायो।” मेरो कुरा नसुने जसरी छोरो फ्रिजतिर दौडियो, उसले मलाई पानीको बोतल ल्याएर दियो। म तिर्खा मेट्न हैन भित्र चिसो पार्न पानी पिउँछु। त्यसपछि उसैले टिभीको च्यानल फेर्‍यो र एउटा स्लाईस उठाउँदै भन्यो, “यो पिज्जा भन्दा त ड्याडीले बनाएको रोटी नै मिठो!”


पेन्सिल्भिन्या, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु