तीन युग एक कथा महाकाव्य : एक संक्षिप्त विवेचना

- भेषराज रिजाल

वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।
वरिष्ठ साहित्यकार सदानन्द अभागीद्वारा रचित ‘तीन युग एक कथा’ महाकाव्य राणाशासनदेखि पञ्चायती व्यवस्था हुँदै लोकतान्त्रिक व्यवस्थासम्मको आर्थिक, सामाजिक, राजनीतिक परिवेशमा अनेकौँ पुस्ताहरूले भोगेको विषम जीवन भोगाइको कथा…व्यथा हो। १८ सर्ग एवं १०२+१० पेजमा समेटिएको प्रस्तुत महाकाव्य जगत प्रसाद रिजाल, भेषराज रिजाल ‘विवश’ र रामचन्द्र रिजालले प्रकाशन गर्नुभएको हो भने वरिष्ठ साहित्यकार चट्याङ मास्टरले यस महाकाव्यको भूमिका लेख्नुभएको छ। भलाकाजी राई र बद्री ओलीको टाइप, शोभा पनेरुको कभर डिजाइन तथा सिद्दार्थ प्रिन्टिङ प्रेसको मुद्रण रही वि.सं.२०६० साल वैशाखमा एकहजारप्रति प्रकाशन भएको यो कृति सदानन्दज्यूकी सहोदर बहिनी स्वर्गीय तुलसीदेवी अधिकारीमा समर्पण गरिएको छ।
‘तीन युग एक कथा’ महाकाव्यको कथानक कविका मेहनती पुर्खाको इतिहास जस्तो मात्र लागे तापनि समस्त नेपालीको यथार्थ परिघटना समेटिएको गहन काव्य हो। उहिले नेपालीहरू मेघालय, सिलोङ, असम, बर्मा आदि ठाउँमा गएर गाईपालन, दाउरा काटी बेच्ने, कुल्ली दरबानको काम गर्थे भने अहिले पनि खाडी, अष्ट्रेलिया, मलेसिया, कोरिया आदि मुलुकमा पुगेर जोखिमयुक्त काम गरिरहेछन् नेपालीहरू। अझ उदेकलाग्दो कुरो त के छ भने मुलुकका स्रोतसाधनमा सामन्त, दलाल, विचौलिया, तस्कर र गुण्डाहरूको हालीमुहाली छ। मुलुकको आर्थिक, सामाजिक, राजनीतिक परिपाटी असल राजनीतिज्ञभन्दा पनि धनाढ्य र नवधनाढ्यहरूको मुठ्ठीमा केन्द्रित भइरहेछ भने नेपालीहरू शोक, रोग, भोक बोकेर रोजगारीको लागि विश्वका विभिन्न मुलुकमा भौतारिन परेको छ। यस्तै नेपाली यथार्थ धरातल टेकेर रचिएको छ ‘तीन युग एक कथा’ महाकाव्य।
पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.मा पर्ने आफ्नै जन्मगाउँ नुवारस्थित गवदेको चौतारोमा भएको शिवकीर्तनमा सहभागी हुँदै कविले प्रस्तुत महाकाव्यको रचना गर्नुभएको हो। यस महाकाव्यको प्रथम सर्गमा नुवारगाउँ र सेरोफेरोको प्राकृतिक सुन्दरता, गाउँटोल एवं स्वच्छ गाउँले जनजीवनको स्पष्ट चित्रण गरिएको छ। उत्तरतिरका अग्ला चुली धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण आदिको चम्किलो लहर, कालीगण्डकी र मोदीको आत्मीय सङ्गम, अंधेरी, भयँरथान र राम्चेको मुलको रसिलो पानी तथा गाउँमाथि कालिज लुइँचे खेल्ने भरिलो जङ्गल उतार्नुभएको छ कविले महाकाव्यमा। स्यानाखेतको पलाँस, ठूलाघरका लौसी, राङथास, राक्सेखोला र सल्लाघारीको बाटो एवं राहालेपानीको माटोको सुगन्धसमेत पाइन्छ महाकाव्यमा। सानो खेत, ठूलो खेत, गोबानेको फाँट, भलपखराको पाखो, ठूलाघरे चौतारो, गोलाइँचाको रुख मात्र होइन डहरवरि र डहरपरिका टोलसमेत महाकाव्यमा सजाएर ‘आमा र जन्मभूमि स्वर्गभन्दा ठूला हुन्’ भन्ने भावनाले ओतप्रोत देखिनुहुन्छ कवि। दुइपाखेका जैसीकान्छा, टारका लामगादे, सुन्तले, ढुङ्गाना, सन्यासी, सिरानघरे आदि समस्त गाउँलेहरूप्रति कविको अगाध माया भेटिन्छ महाकाव्यमा।
धौलागिरि, माछापुच्छ्रे अन्नपूर्ण लहर
काली मोदी सङ्गमबीच कति राम्रो बगर
(प्रथम सर्ग, पृष्ठ २)
डहरवरि डहरपरि दुइटा टोलमहाँ
कति राम्रो देखासिकी रिस छैन जहाँ
उत्तरतिर खेतको गह्रा पश्चिमतिर बारी
प्रकृतिले लगाएकी छन् फूलबुट्टे सारी
(प्रथम सर्ग, पृष्ठ ४ र ५)
विशाल हृदय भएका सोखिन मधुसूदन बाजेले खेतका फाँट, सुनचाँदी आदि चलअचल धनसम्पत्ति खाएमासेर टाटपल्टेको र मृत्युपछि मुर्दालाई घाट लानुभन्दा पहिला साहु आइपुगेको हृदयविदारक कथानकले तत्कालीन समाजको आर्थिक सामाजिक परिवेश छर्लङ्ग पारिदिएको छ। मधुसूदन बाजेको निधनपछि जेठोछोरा यज्ञधरले बन्धकीमा गएको जग्गा फिर्ता गर्न तथा जीवन निर्वाह गर्नको लागि मुग्लान पसेको कारुणिक कथा छ महाकाव्यमा। मुग्लान जाने बाटोमा पर्ने फलेवास, मिर्मी, विर्घाका फाँट, गंगाकिनारको रानीघाट, श्रीनगरको डाँडो, ऋषेश्वर रिडी, शीतलपाटी, मस्यामको उकाली, बुटवल, खस्यौली र सुनौली आदि स्थानबारे वर्णित प्राकृतिक छटातिरभन्दा परदेशिन विवश यज्ञधरको विवशता चस्कन पुग्दछ पाठकको मनमुटुमा।
फलेवासको समतल, मिर्मी, विर्घा फाँट
पुग्नथाले यज्ञधर सुन्दर रानीघाट
हिँड्नथाले उकालीमा पसिनाको तप्कन
विदेश जाने स्वदेशीको विलिन भयो मुस्कान
हत्केलाले आँसु पुछी शीतलपाटी झरे
सबैकुरा सम्झिल्याउँदा हातखुट्टा मरे
(तृतीय सर्ग, पृष्ठ १६ र १७)
यज्ञधर नौतनवा, गोरखपुर हुँदै गौहाटी पुगेको, जागिरको सहारा खोज्दै विरानो परदेशी भूमिमा शहरशहर भौतारिएको, दाउरा काटी प्राण धानेको कथानकभित्र तत्कालीन नेपालीको सङ्घर्षशील जिन्दगीको यथार्थ भेटिन्छ। नोकरी, शैक्षिक गतिविधि आदिमा सर्वसाधारणको पहुँच नभएको तत्कालीन समाजमा परदेशिनुको विकल्प देखिँदैन। परदेशीको समृद्धिले समेत नेपालीलाई गिज्याएको वास्तविकता दर्शाउनुहुन्छ कवि…
छ छ पैसा छ छ पैसा रेलले भन्दै आउँथ्यो
छैन पैसा छैन पैसा मुटुको ढुकढुकीले भन्थ्यो
(चतुर्थ सर्ग, पृष्ठ २०)
खाना पहाड, नुनमाटी नेपालीको बास
दाउरा काटी विक्री भए मुखमा पर्छ गास
नेपाल गए कपालसँगै वर्म गए कर्म
छातीमाथि ढुङ्गा छ नि कसले बुझ्छ मर्म
(चतुर्थ सर्ग, पृष्ठ २१ र २२)
यज्ञधरले डिगबोईको तेलखातमा काम गर्न नपाए पनि परदेशी भूमिमा दाउरा बेचेरै नेपालमा जहान पाल्न पुग्ने खेतथलो जोडेको काव्य सरिताले पाठकको मन पनि हर्षविभोर हुनपुग्दछ।
त्यतिबेलाको समाजमा केटामान्छेको विवाह गर्न कि त धनदौलतले केटी किन्नुपर्ने कि त साटो हाल्नुपर्ने कुरीतिबीच यज्ञधरको विवाह भएको प्रसङ्ग उल्लेख गर्दै महाकाव्यमा बालविवाह, अनमेल विवाह, सतिप्रथा, छुवाछुत, जातभात, ल्याइते…विवाहितेको विभेद, कुष्ट रोगीलाई घृणा गर्ने आदि सामाजिक कुप्रथाहरूको विरोध गर्नुभएको छ कविले। सामाजिक संस्कार सुधारको अनेक कडीसमेत सुझाउनुभएको छ कविले…
हाड मासुको शरीर हो यो रगतको सञ्चार
निर्बललाई सबले हेप्ने कस्तो निष्ठुर संसार
कोही ठूलो कोही सानो छैन संसारमा
कर्म गर्ने ठूलो हुन्छ मेरो विचारमा
डुङ्गा तर्दा त्यहाँ हेर छुवाछुत हुन्न
पुल तर्दा पनि हेर खतबात हुन्न
(पञ्चम सर्ग, पृष्ठ ३७ र ३८)
यज्ञधरकी पत्नी नौलीले घरगृहस्थी सुन्दर, व्यवस्थित र मर्यादित बनाएको अनेक प्रसङ्गले महाकाव्यलाई जीवन्त बनाएको छ। नौलीका उद्गारहरू वर्तमान समाजमा समेत अनुकरणीय एवं सान्दर्भिक लाग्दछन्…
आशन राख्ने माटो छैन ढसरमालाई पुवा
सादा जीवन उच्च विचार नखेल्नु है जुवा
जिउँदो ज्यानले माड पाएन मरेकालाई खिर
जिउँदो छँदै खानदेउ पछि पोस्नुछैन भीर
सक्षम देश, सक्षम भेष, सक्षम बनोस् जन
स्वस्थ्य हवोस् यो शरीर स्वच्छ रहोस् मन
(सातौँ सर्ग, पृष्ठ ४१ र ४२)
पति यज्ञधरको निधनपछि पनि नौली बजैले घरव्यवहार सम्हालेको, एउटा नातिलाई डिगबोई पढ्न पठाएको, अर्को नातिलाई मेट्रिक पास गराएर शिक्षक बनाएको आदि सहासिक कार्यको चर्चाले नेपाली नारीको महानता दर्शाइएको छ महाकाव्यमा।
दुखजिलो जीवन यापन गर्दै यज्ञधर र नौलीले छोराछोरीको विवाह गरिदिएको कथानकमा नेपाली समाजको अपेक्षा र यथार्थ चित्रण छ। यज्ञधरकी बुहारीको शील, स्वभाव र रूप वर्णन गर्दै कविले सुशील नेपाली नारीको दुरुस्त चित्र उतार्नुभएको छ…
कन्या थिइन् अति सुशील रूपकी त खानी
सादा जीवन उच्च विचार राख्ने रैछ बानी
गहुँगोरो अनुहार रातो लाली छा’को
मखमली चोली तल लरे गुन्युँ ला’को
(आठौँ सर्ग, पृष्ठ ४७)
यज्ञधर र छोरा गंगाधरले नयाँ चाँदीका मोहर रोक्का भएको थाहा नपाई व्यापार गर्न जाँदा ती मोहर जफत भएको, गंगाधर मुग्लान भासिएको, यज्ञधरका भाइ वासुदेवको निधन भएको आदि आपतविपद्का घटनाहरूले पाठकका आँखा ओभाना रहँदैनन्। दैनिक उपभोग्य सामग्री लिन नौडाँडा पारिको बटौली…खस्यौली जानुपर्दाको पीडासमेत अभिव्यक्त भएको छ महाकाव्यमा…
बुटवलको नुनतेल नुवारको बास
कष्टदायी फट्के तराई खसे जानी सास
त्यसो हुँदा घरका जहान दिन गन्न थाल्थे
ईश्वरको नाम जप्दै घिउको दियो बाल्थे
(आठौँ सर्ग, पृष्ठ ५४)
स्वदेशमा जीवन निर्वाहको कुनै आधार फेला नपारेपछि गजाधर भारतको असमस्थित डिगबोई शहर पुग्दछन्। शुरुमा दाउरा बेचेर गुजारा चलाए पनि एकपटक लगातार दिनदिनसम्म दाउरा विक्री नहुँदा पानीबाहेक केही खान नपाई बेहोश भएर ढलेको र साथीले पानी मुखमा हालिदिएर बचाएको कारुणिक घटनासमेत उल्लेख छ महाकाव्यमा। पछि कम्पनीमा भर्ती भई लाहुरे बनेर घरको ऋण तिरी परिवारको जीवनयापन सहज हुनजान्छ।
भारतमा शासन गरिरहेको अङ्ग्रेजले डिगबोई शहरमा विकास गर्न कम्पनी सञ्चालन, खेती, पशुपालन आदिमा नेपालीको सहयोग लिएको वर्णन छ महाकाव्यमा। डिगबोई शहरको भौतिक विकासका साथै साहित्यको उत्थानमा समेत नेपाली कवि साहित्यकार लागिपरेको उन्मादी प्रसङ्ग भेटिन्छ महाकाव्यमा…
हरिभक्त, अग्नि साथै चिन्तामणि पनि
त्यै शहरमा रमाएका साहित्यका धनी
चन्द्रकला पनि बनिन् शिक्षिका त त्यहाँ
साहित्यको पान गर्दै शब्द भर्थिन जहाँ
सदानन्द, भविलाल, युद्धवीर आदि पनि
साहित्यमै रमाएका बाल कवि बनी
(आठौँ सर्ग, पृष्ठ ५६ र ५७)
यज्ञधरको नातिप्रतिको माया, आँगनको आँखितरेको घाँस काट्न जाँदा हाँगो चोइटिएर यज्ञधरको निधन हुनु, ठूलो इञ्जिनियर बन्ने आकांक्षाले डिगबोईमा पढिरहेको नाति हजुरबाको निधनको खबरले घर आउनु, माझघरे नरहरिले नाति हुँ भनी यज्ञधरको अन्तिम अवस्थामा पानी दिनु आदि घटनाहरू महाकाव्यमा उल्लेख गरेर नेपाली समाजको यथार्थ चित्रण गर्न सफल हुनुभएको छ कवि। रसिक यज्ञधरको गीत लहरीको माध्यमबाट पनि नेपाली जनमानसलाई आह्लादित बनाउन सफल हुनुभएको छ कवि…
खान्छ्यौ कि गोरी बटौलीको मिठाईँ
गर्छ्यौ कि गोरी जुन जाने बिठ्याइँ
... ... ... ... ... ...
लाउँछ्यौ कि गोरी कानै लाउने सुनिया
फेर्छ्यौ कि गोरी टाटेपाटे गुनिया
... ... ... ... ... ...
जान्छ्यौ कि गोरी नौतुनाको रेलैमा
लाउँछ्यौ कि गोरी माया प्रीति बेलैमा
(बाह्रौँ सर्ग, पृष्ठ ७२ र ७३)
लगन, मेहनत र विवेक सही मार्गमा लगाउन सके घर, समाज र देश उँभो लाग्न बेर लाग्दैन। र त, मानव साधनको सर्वोपरि महत्व रहन्छ उन्नतिमा। यस महाकाव्यमा पनि गजाधरले मुग्लानमा बसेर कमाउने, गजाधरको ठूलो छोरा सरकारी जागिरमा र कान्छो छोरा मास्टरी पेशामा लागेर घरको प्रगतिमा बढोत्तरी भएको छ। त्यसैले त कविले उन्मादी गीत गुञ्जाउनुभएको छ…
रातपछि पुन: हेर दिन पलाउँछ
अन्धकार मेटिनलाई सूर्य उदाउँछ
यस्तै छ यो संसारको रीतिथिति हेर
सबै मार्ग खुला बने विकास कति बेर
(सोह्रौँ सर्ग, पृष्ठ ९३)
यज्ञधर, नौली बजै, चन्द्रकला, जेठीछोरी आदि परिवारका सदस्यको निधन भई एक्लो जीवन व्यतित गर्दा गजाधरले जिन्दगीलाई निस्सार र निरस देख्दछन्। तैपनि आमा नौली बजैजस्ती साहसकी धनी, असल आचरण र दयाधर्मकी खानी, बाबु यज्ञधरजस्ता कर्मवीर पुरुष तथा पत्नी चन्द्रकलाजस्ती धन र ज्ञानकी दीपलाई गौरवसाथ मनमनै स्मरण र नमन गर्दछन्। शक्ति कमजोर भए पनि जीवनभर आर्जेको ज्ञान र विवेकले निचोड निकाल्दछन्… पुर्खाको पौरख र गौरवले एउटा जिउँदो इतिहास रच्न सम्भव भएको छ। गरिब परिवारको संघर्षका अनेकौँ घटनाले स्वर्णाक्षरमा लेखिएको छ… एउटा अमर कथा।
महान नायक यज्ञधर, ममता, साहस, धैर्यता र सहनशीलताकी प्रतिमूर्ति नौली बजै तथा उनीहरूका सन्तति गजाधर, चन्द्रकला आदि पात्रहरूका आध्यात्मिक र मानवीय आदर्शको पृष्ठभूमिमा रचिएको छ ‘तीन युग एक कथा‘ महाकाव्य छ। पर्वतको नुवार गाउँदेखि भारत असमको डिगबोई शहरसम्मको आर्थि, सामाजिक, प्राकृतिक र राजनीतिक परिवेशमा पात्रहरुका जन्मदेखि मृत्युपर्यन्तका घटनाक्रमलाई समेटी रचिएको छ प्रस्तुत महाकाव्य। राणाकालीन बन्द समाजको दु:खमय जीवनबाट सङ्घर्ष गरी भारतीय भूमिमा पुगेर जीवन निर्वाहको बाटो पहिल्याएको यज्ञधरको पारिवारिक सङ्घर्षको कथा केलाएर तत्कालीन आर्थिक, सामाजिक, राजनीतिक परिपाटीको विरोध गरिएको छ महाकाव्यमा। मुग्लान भासिनु परे तापनि पात्रहरुमा गाउँ, समाज र देशप्रतिको अगाध माया हुनाको साथै पारिवारका सदस्यहरूमा पनि एकअर्काप्रतिको समर्पण, त्याग र प्रेमका साथै विश्वबन्धुत्वको गहिरो भावना पाइन्छ महाकाव्यमा। तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, कुरीति एवं कुप्रथाहरूप्रति विरोध जनाउँदै सभ्य समाज निर्माण गर्नुका साथै पुर्खाको मेहनत, सङ्घर्ष र बलिदानीको गौरवशाली इतिहास बचाउँदै सन्ततिलाई मेहनत, इमान, न्याय, संस्कार आदि सिकाउने उद्देश्यले रचिएको हो प्रस्तुत महाकाव्य। समाज समस्यायुक्त र जटिल बन्दै जाँदा यस महाकाव्यले जीवन जिउने अनेक सरल उपायहरूसमेत सुझाएको छ। यस महाकाव्यको कथावस्तु तत्कालीन नेपाली समाजमका हरेक बस्तीको कथाजस्तो लाग्ने हुँदा कथावस्तुमा मौलिकता र नवीनता पाइन्छ। महाकाव्यमा वीर रसको अलावा करुण, श्रृङ्गार, भयानक आदि रसको प्रयोग गरी भावानुकूल बिम्व, अलंकार, उपमा र तत्कालीन समाजमा प्रचलित जनबोलीको प्रयोग गरिनुका साथै गेयात्मक लोकलयमा सजिएको छ महाकाव्य। महाकाव्यमा हृदय छुने कथानक, भाषाशैली र प्रस्तुती रहेको छ। ‘कवि कविता होस् कविता कवि होस् तब पो कविता हुन्छ’ भन्ने नेपाली साहित्यमा प्रतिपादित सिद्दान्तअनुरूप महाकाव्यको सम्पूर्णतालाई समेट्न सकेकोले नै प्रस्तुत ‘तीन युग एक कथा’ महाकाव्यको भूमिकामा चट्याङ मास्टरले उद्‍घोष गर्नुभएको छ… ‘सदानन्दको सादा जीवन आफैमा एक रोचक र पूर्ण महाकाव्य हो।’

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु