पश्चिमी दर्शनको सङ्क्षिप्त स्वरूप

- आरुणि आचार्य

संसारका मानिसका इन्द्रियजन्य समवेदनाको तोड समान किसिमको रहेको देखिन्छ । इन्द्रिको भरणपोषण गर्ने परिपाटी अलग भए पनि विचारका निर्माणका लागि चाहिने आधार सामग्री समान किसिमकै देखिन्छन् । मानवीय अनुभूति र दर्शनका चिन्तनमा केकस्ता विशेषता पहिचान हुन सक्छन् भन्ने ध्येयले पश्चिमी दर्शनका सारभूत विचारको सिंहावलोकन गरिएको छ ।
प्राचीनकाल
पूर्वमा कपिल ऋषिले ‘साङ्ख्यसूत्र’ (ई.पू.७०० तिर) लेखेर प्रकृति संसारको सृष्टिको कारण रहेको बताइरहेका समयमा पश्चिमा दार्शनिक थेल्स (ई.पू. ६२४–५५०) ले संसारको सृष्टि प्रकृतिको एक अङ्ग पानीबाट भएको बताएका छन् (मसीह, सन् २०१४ः २०) । उनले सर्वप्रथम ‘गणितीय प्रणाली’को आरम्भ गरी संसारको मूल तŒव पानी रहेको उल्लेख गरेका छन् । पानीबाट जीवन प्राप्त हुन्छ । पानीबिना जीवनको परिकल्पना पनि गर्न सकिन्न । संसारका चराचर वस्तुमा प्राणको केही न केही अंश रहेको हुन्छ भन्ने उनको विचार रहेको छ (निगम, सन् २००० ः ९) । पनीलाई सृष्टिको मूल आधार मन्ने थेल्सको विचार पूर्वका ज्योतिष र साङ्ख्य दर्शनको तŒव मीमांसासँग मिल्दो देखिन्छ ।
प्राचीन ग्रीसमा मुख्यतः दुई किसिमका सम्प्रदायहरू प्रचलित रहेको पाइन्छ, पहिलो ‘माइलेसियन’ र दोस्रो ‘एलियाई’ । ‘मालेसियन’ मतका संस्थापक थेल्स हुन् भने तिनका समर्थक र व्याख्याता एनेक्सिमेण्डर (ई.पू.६११–५४७) तथा एनेक्सिमेनिस (ई.पू.५८८–४२४) हुन् । एनेक्सिमेण्डरले ‘पानी’ मात्र संसारको मूल कारण हैन भन्दै पृथ्वी, अग्नि र वायु पनि थप गरेका छन् (शर्मा, सन् २००९ ः २) । उनले उल्लिखित चार तŒव बाहेक अर्को परम तŒव पनि रहेको सङ्केत गर्दै ईश्वरीय सŒाातर्फ आस्था राखेका छन् । उनको सृष्टि र परम तŒव सम्बन्धी मान्यता साङ्ख्यको पाँच भौतिक पदार्थ मध्येकै महाभूतसँग र पुरुषसँग मिल्दो देखिन्छ । एनेक्सिमेनिसले वायुलाई परमतŒव मान्दै वायु नै अग्निमा परिणत हुने र त्यही तरल भएर पानी बन्ने अनि पानी जमेपछि पृथ्वीका रूपमा परिणत हुने धारणा व्यक्त गरेका छन् । यी दुबै विद्वान्का विचारमा प्रकृति संसारको सृष्टिकर्ता हो भने त्यसको नियामक ईश्वर हो । सृष्टि विषयक उनको यो विचार पूर्वको योग दर्शनसँग निकट देखिन्छ । अर्का दर्शनिक पाइथागोरस (ई.पू.५८०–५००) ले ‘ज्यामिति’ र ‘गणित’ अध्ययनको वैज्ञानिक पद्धति भिœयाएका छन् । धार्मिक भावना भएका कारण पुनर्जन्ममा विश्वास राख्ने पाइथा गोरस मानवको कर्तव्य भनेको संसारबाट विरक्त भएर मोक्ष प्राप्त गर्नु हो भन्छन् । उनले शरीरलाई आत्माको जेल भन्दै ध्यानयोगद्वारा मानवको मुक्ति सम्भव रहेको स्वीकार गरेका छन् । जुन आस्तिक दर्शनको कोटीमै रहेको देखिन्छ ।
पर्मनाइडिज (ई.पू.५१४), जेनोफेन्स (ई.पू.५७०–४८०) र जिनो (ई.पू.४८९–४३० तिर) आस्तिक दार्शनिक हुन् । एलियाई मतका पक्षपाति यी सबैले निर्गुण ईश्वरको सत्ता स्वीकार गरेका छन् । पर्मनाइडिजले ‘तŒव’ लाई सत्य मानेका छन् । उनले ‘शुद्ध सत्’ र ‘शुद्ध चित्’लाई स्वीकार गरेका छन् । शुद्ध सत्तालाई नित्य र अविनाशी मानेका छन् भने ‘शुद्ध सत्’ भनेको ईश्वरीय शक्ति हो भन्नेमा विश्वस्त देखिन्छन् । उनी पछिका जेनोफेन्स ईश्वरलाई निराकार र अन्तर्यामी मान्ने दार्शनिक हुन् । उनले मानव कल्पित सगुण ईश्वरको खण्डन गर्दै ईश्वर सम्पूर्ण प्राणीको घटघटमा रहने र संसारमा शासन गर्ने सŒाा रहेको विचार प्रकट गरेका छन् । जिनोले ‘सत्’ अद्वितीय रहेको बताउँदै ‘गति’को नियमका बारेमा चर्चा गरेका छन् । समग्रमा अद्वितीय ईश्वरीय सत्तामाथि विश्वास गर्नु यिनीहरूको मूल प्रवृत्ति हो ।
हेराक्लिटस (ई.पू.५३५–४७५) सापेक्षताको नियममा पूर्वको साङ्ख्य दर्शनसँग विचारसँग मिल्दो विचार प्रतिपादन गर्ने आस्तिक दार्शनिक हुन् । उनी आगोलाई परम तŒव मान्ने, संसारका वस्तुलाई परिवर्तनशील ठान्ने र प्रत्येक वस्तुलाई सापेक्ष बताउने विचारक हुन् (शर्मा, सन् २००९ ः ६) भने परमाणुवादी एम्पेडोकल्स (ई.पू.४९८–४३५) परमाणु अनेक छन्, ती अविभाज्य, अदृश्य र असङ्ख्य छन्, तिनमा केबल आकार, रूप र परिणामको अन्तर पाइन्छ भन्ने विचारक हुन् । उनको यो विचार पूर्वका दार्शनिक कणादसँग तुलनीय देखिन्छ । डेमोक्रेटस (ई.पू.४६०–३६०)ले आनन्दलाई जोड दिँदै दुःखको तुलनामा सुखको मात्रा अधिक हुँदै जानु आनन्दात्मक स्थिति हो भन्ने कुरा बताएका छन् (मसीह, सन् २०१४ ः ३९) । यस कालका दार्शनिक सोक्रेटस (सुकरात) (ई.पू.४७०–३९९) आदर्शवादी विचारक हुन् । सोक्रेटसले ईश्वरलाई सर्वोच्च सत्ता मान्दै शरीरलाई आत्माको बन्धन मानेका छन् । आत्मा अमर छ, सच्चरित्रवान् व्यक्तिका लागि परलोकमा पनि आनन्दै आनन्द हुन्छ । ‘ज्ञान’ भनेको धर्म या सद्गुण हो । शिवत्वको ज्ञान धर्म हो भन्ने सुकरातका दर्शनको मूल उद्देश्य मानवीय अज्ञानताको नाश र स्वात्मानुभूति रहेको पाइन्छ । सोफिस्ट सम्प्रदायका संस्थापक प्रोटोगोरस (ई.पू.४८०–४१०) ले मानव केन्द्रित दर्शनको आरम्भ गरेका छन् । उनले सर्वप्रथम संसारका हरेक वस्तुको मानदण्ड मानव हो, जो देखिन्छ त्यो सत्य हो, जो देखिन्न त्यो असत्य हो भन्दै दर्शनमा मानवको केन्द्रीयतालाई प्रमुख स्थान दिएका छन् । प्रकारान्तरले ईश्वरीय सत्तामाथि आस्था प्रकट गर्नु यस समयका दार्शनिकको विशेषता हो ।
ग्रिसेली दार्शनिक प्लेटो (ई.पू.४२८–३४७) पश्चिमी दर्शनका व्यवस्थित व्याख्याता मानिन्छन् । उनले आफू पूर्वका दार्शनिकहरूका उŒाम विचार ग्रहण गरी (निगम, सन् २००० ः १०) ‘विधि’ र ‘निषेध’का माध्यमबाट ज्ञान सिद्धान्तको व्याख्या गरेका छन् । प्लेटोले ‘ज्ञान’ र ‘ज्ञानको विषय’ नित्य एवं अपरिणामी रहेको, ईश्वर इन्द्रियबाट बोध हुने पदार्थको निर्माता रहेको, आत्मा अमर र दिव्य रहेको र अत्मा ‘नित्य विज्ञान स्वरूप’ रहेको, विज्ञान ‘चिद्रुप शुद्ध सत्’ रहेको कुरा बताएका छन् (शर्मा, सन् २००९ ः २८–२९) । प्लेटोको यो विचार नतान्त आस्तिक विशेषताले युक्त देखिन्छ । उनले ‘विज्ञान’ र ‘सत्य’ पनि ‘शिव तŒव’ जस्तै हुन्, साक्षात् ‘शिवत्व’ भने होइनन्, ‘विज्ञान’ र ‘सत्य’ भन्दा कयौँ गुणा ‘शिवत्व’ आदरणीय हुन्छ । ‘सत्यम् शिवम् सुन्दरम्’सँग ‘शिवत्व’को तुलना गर्न सकिन्न (चौबे, सन् १९८८ ः ३०) । विषय सुखको परित्याग एवं आत्मिक सुख प्राप्ति दर्शनको उद्देश्य हो भनेका छन् । यस आधारमा उनको चिन्तनको आन्तर्य भनेको कल्याणमय मानवीय जीवनको परिकल्पना र ईश्वरीय आस्थाको जगमा उभिनु हो ।
एरिस्टोटल (अरस्तु) (ई.पू. ३८४–३२२) दार्शनिक तथा राजनीतिक विचारक हुन् । उनले तŒव मीमांसाको सिद्धान्त प्रतिपादन गरेका छन् र ‘द्रव्य’को बोधका लागि ‘सापेक्ष कारणता’को सिद्धान्त आरम्भ गरेका छन् । उनका अनुसार उपादान, निमित्त, स्वरूप र लक्ष्य नामक चार कारण रहेका छन् (सांकृत्यायन, सन् २०१५ ः १९) । ती चार कारण हरेक कार्य निर्माणका लागि अनिवार्य हुँदैनन् भन्ने अरस्तुले द्रव्य गति, परिमाण गति, गुण गति र देश सम्बन्धी गति गरी चार प्रकारका गतिका भेद उल्लेख गरेका छन् । उनले ‘व्यक्ति’ वा ‘विशेष’लाई वास्तविक द्रव्य मानेका छन् । उनी संसारका हरेक चिज परिवर्तनशील रहेको देख्छन् । परिवर्तन शून्यमा हुन नसक्ने हुनाले त्यसको मूल आधार अर्कै तŒव हुनु पर्ने कुरामा विश्वास राख्दछन् । जगत्लाई साधन र ईश्वरलाई साध्य मान्दछन् । मानवको अन्तिम लक्ष्य ईश्वरलाई प्राप्त गर्ने हुनु पर्छ भन्ने निक्र्योल गर्दछन् । साङ्ख्यको परिवर्तनसँग मिल्दो देखिने उनको परिवर्तनको नियमले संसारमा चल र अचल दुुबै पदार्थको सत्ता स्वीकार गरेको छ ।
प्राचीन कालका दार्शनिकले ईश्वर, पदार्थ, सत्, असत्, ज्ञान र आज्ञानताको नाश गर्ने उपायको खोजी गर्दै मानवीय कल्याणको चाहना व्यक्त गरेका छन् । यस कालका दार्शनिकरू ईश्वर र प्रकृतिकै सेरेफेरोमा घुमेको देखिएका कारण आश्चर्य र आस्तिकता यस कालको मूल प्रवृŒिा हो । धर्मको केन्द्रीयतामा पादार्थ र चेतनको व्याख्या गर्ने यस कालका दार्शनिक आस्तिकताकै जगमा उभिएका छन् ।
माध्यकाल
माध्य काल धर्म र आस्थालाई प्राथमिकतामा राख्दै अगाडि बढेको छ । ‘शास्त्रीय काल’ पनि भनिने यस समयमा धर्मशास्त्रहरूको दार्शनिक व्याख्या गरिएको देखिन्छ । सेन्ट अगस्ताइन (सन् ३५४–४३०) को ज्ञान सिद्धान्त, जोन स्काटस एरिगेना (सन् ८१०–८७७) को प्रकृतिको सृष्टि कर्तृत्व तथा ईश्वरको सगुण र निर्गुण स्वरूपको वर्णन यस समयका मुख्य दार्शनिक विचार हुन् (निगम, सन् २००० ः १०) । कला, साहित्य, प्रगति, विकास र विचारको खडेरी परेको अन्धकारको युग भनेर चिनिने मध्यकालमा एरिगेना लामो मौनता भङ्ग गर्ने विचारकका रूपमा उदाएका छन् । उनको मुख्य सिद्धान्त ‘अद्वैत विज्ञानवाद’ र ‘जगत्को अनादिता’ हो । यो संसार दृष्टिगोचर हुनु पूर्व ‘पूर्ण विज्ञान’भित्र रहेको हुन्छ । त्यहीँबाट निस्केर संसार पृथक् पृथक् देखिएको हो र अन्त्यमा संसार नष्ट भएपछि फेरि जहाँबाट निस्किएको हो त्यहीँ विलीन हुन्छ भन्ने मान्यता एरिगेनाको रहेको छ (चौबे, सन् १९८८ ः ४९) । उनको ‘पूर्ण विज्ञान’ पूर्वीय क्षेत्रको बौद्ध विचार ‘योगाचार’ (विज्ञानवाद) शाखाको ‘आलय विज्ञान’सँग मिल्दो जुल्दो देखिन्छ । एरिगेना धर्म र दर्शन एक अर्काका परिपूरक हुन् भन्ने आस्तिक विचारक हुन् ।
सेन्ट अगस्ताइन धर्म र दर्शनलाई एक आपसमा जोडेर व्याख्या गर्ने दर्शनिक हुन् । उनले जगत्को केन्द्रीयतालाई अस्वीकार गर्दै आत्माको केन्द्रीयतामा जोड दिएका छन् । आत्माका अमरत्व, स्वतः सिद्धत्व, ज्ञान स्वरूपत्व र स्वतन्त्रता जस्ता विशेषता हुन्छन् । पाप र दुःखबाट बच्ने उपाय ईश्वरको करुणा हो भन्ने अगस्ताइनको मत रहेको छ (शर्मा, सन् २००९ ः ५६) । ईश्वर र धर्मको पक्षपोषण गर्दै अर्का विचारक सेन्ट अन्सेलम (सन् १०३५–११०९) ले ईश्वर अस्तित्ववान् जगत्को सार्वभौम तŒव हो र विशिष्ट गुणहरू सबै ईश्वरबाट रचना भएका हुन् । ईश्वर शाश्वत र अपरिवर्तनीय छ । ईश्वरले सार्वभौम तŒवको काम गर्दछ भनेका छन् । यसै समयका सेन्ट थोमस एक्विनस (सन् १२२५–१२७४)ले ईश्वर विशुद्ध विज्ञान स्वरूप रहेको जिकिर गरेका छन् । उनले विश्व जड छ, आत्मा अमर छ, ईश्वररूपी विज्ञानका ईश्वर, जीव र जगत् तिन स्वरूप छन्, ईश्वर छ भन्ने पुष्टि गर्नका लागि ‘सत्तामूलक तर्क’को आवश्यकता पर्दछ भनेका छन् (चौबे, सन् १९८८ ः ५३) । यी दार्शनिकले दर्शनलाई धर्मको व्यावहारिक पक्षका रूपमा परिचय दिई दुबैलाई एक अर्काका परिपूरक ठानेका छन् ।
निकोलस कोपर्निकस (सन् १४०१–१४६१) ले भूकेन्द्रवादी धारणाको खण्डन गर्दै सूर्य केन्द्रवादी धारणा प्रतिपादन गरेको देखिन्छ । उनले ब्रह्माण्डको केन्द्र पृथ्वी नभएर सूर्य रहेको र पृथ्वी लगायत ग्रहहरूले सूर्यको परिक्रमा गर्दछन् भन्ने मान्यता अगाडि सारेका छन् । उनको यस्तो विचार आस्तिकताका जगमा उभिएको सुधारात्मक विचार मान्न सकिन्छ । त्यस्तै जर्दानो बु्रनो (सन् १५४८–१६००) ले परमेश्वर भनेको प्रकृति हो भन्दै प्रकृतिको अनन्ततालाई प्रमाणित गर्ने प्रयास गरेका छन् । उनको प्रकृति र साङ्ख्यको अव्यक्त प्रकृति तुलनीय देखिन्छ । यसै समयमा लियोनार्दो दा भिन्ची (सन् १४५२–१५१६) ले वैज्ञानिक प्रयोगवादको अविष्कार गरेका छन् । ग्यालिलियो ग्यालिली (सन् १५०४–१६४२) ले पृथ्वीले सूर्यलाई निवृत्ताकारमा नभई दीर्घनिवृत्ताकारमा घुम्छ भन्दै ‘सापेक्षता’ सम्बन्धी नियम पŒाा लगाएका छन् । केपलर (सन् १५७१–१६३०) र न्यूटन (१६४२–१७२७) ले गुरुत्वाकर्षणको नियम आविष्कार गरी सदाका लागि स्थापित गरिदिएका छन् । विलियम हार्बे (सन् १५६८–१६५७) ले मानव शरीरको रक्त सञ्चालन प्रणाली पŒाा लगाएका छन् भने फ्रान्सिस बेकन (सन् १५६१–१६२६) ले ‘प्रयोगबाट ज्ञान हासिल गर्न सकिन्छ’ भन्दै विज्ञान र दर्शन प्रयोगात्मक ज्ञानबाट हासिल हुने अनुभवमा आधारित हुनु पर्छ भन्ने मत जाहेर गरेका छन् (मसीह, सन् २०१४ ः १६६) । यी दार्शनिकको मूल कार्य भनेको मानवको शरीर रचना, खगोल र भूगोलको व्याख्या गरी प्रकृतिका पदार्थको पहिचानमा योगदान दिनु हो ।
मध्यकालीन दर्शन इसाई धर्मबाट बढी प्रभावित रहेको देखिन्छ । गिर्जाघरहरूको प्रभुत्व रहेको त्यस समयमा दार्शनिक विचार प्रतिपादन गर्ने केही राम्रा प्रयास पनि भएका छन् । मुख्य रूपमा ईश्वरीय अस्तित्व र त्यसको सत्तामूलक प्रमाण प्रदर्शन गर्नु, सृष्टि गर्न ईश्वर वा अर्को कुनै विज्ञानको आवश्यकता हुने बताउनु, मानवलाई दर्शनको केन्द्रमा राख्ने प्रयासको आरम्भ गर्नु, शुभ र अशुभ कार्यको विचार गर्नु, मानवको अन्तिम गति र उसले प्राप्त गर्न सक्ने चरम आनन्दका बारेमा चर्चा गर्नु, प्रकृतिसँग सम्बन्धित खगोल र भूगोलका रहस्य उद्घाटन गर्ने प्रयास गर्नु, ज्ञान मीमांसा, तŒव मीमांसा र स्वतन्त्र विचार प्रतिपादनमा पाइला बढाउनु मध्यकालीन दर्शनका विशेषता हुन् भने धर्मको चौघेराबाट उम्किन खोज्दा खोज्दै पनि धर्मकै फन्दामा अल्झि रहनु सीमा हुन् ।
आधुनिक काल
आधुनिक कालमा ज्ञानको विशिष्ट अध्ययनका लागि चाहिने ‘क्रमबद्ध वैज्ञानिक पद्धति’को आरम्भ भएको छ । साथै परम्परागत धर्म प्रधान र पाण्डित्य परम्पराको विरोध गर्दै प्रकृति विभिन्न आकार प्रकारका अणुबाट निर्मित भएको हुन्छ, विश्वको रचना अग्निमय, वायुमय र पृथ्वीमय तिन प्राथमिक तŒवको गतिबाट निर्माण भएको हो भन्ने सिद्धान्त प्रतिपादन भएको छ । यस्तो वैज्ञानिक सिद्धान्तको प्रतिपादन गरेर रेने देकार्त (सन् १५९६–१६५०) ले आधुनिक कालको जन्म दिएका हुन् (चौबे, सन् १९८८ ः ६०) । उनले मन, शरीर आत्मा तथा भौतिक पदार्थलाई द्वैत रूपमा व्याख्या गरेका छन् र ‘सन्देह’ विधिका आधारमा ‘आत्मा’को अस्तित्व सिद्ध गर्ने प्रयत्न गरेका छन् । उनको सन्देह विधि पूर्वको साङ्ख्य दर्शनसँग अमिल्दो देखिए पनि जड र चेतनलाई द्वैत रूपमा व्याख्या गर्ने तरिका मिल्दो देखिन्छ । क्रमबद्ध वैज्ञानिक पद्धतिको आरम्भ गरेर विश्लेषणको नयाँ ढाँचा पत्ता लगाए पनि उनी नास्तिक भने होइनन् ।
हल्याण्डका बेनेडेक्टो स्पेनोजा (सन् १६३२–१६७७) प्रज्ञात्मक तथा निगमनात्मक सिद्धान्तका खोज कर्ता हुन् । उनले दार्शनिक सत्यको खोजीका लागि प्रयोग गरिने मौलिक वाक्यहरू प्रज्ञाजन्य हुन्छन्, ईश्वरसँग सम्बन्धित विचार नै मौलिक विचार हो, दर्शन केवल बौद्धिक कसरत होेइन, व्यावहारिक जीवन वास्तविक जीवन हो भनेका छन् (शिवाजी, सन् १९९० ः १०) । उनले द्रव्य (एक मात्र सŒाा), गुण (द्रव्यको सारतŒव बोध गर्न सक्ने विशेषता), ईश्वर (संसारको निरपेक्ष र अनन्त सत्ता), शाश्वत (स्वयम्), स्वयम्भू (आत्म रचित) आदि जस्ता चिन्तनका आधारहरूको व्याख्या गरेका छन् (सेप्चुलिन, सन् १९८० ः ५२) । उनका अनुसार अस्थायी वस्तुहरूप्रति अति ममता भएका कारण मानवीय जीवनमा अशान्ति फैलिन्छ, कुनै वस्तुमा बढी मनको लगाव छ भने त्यो वस्तुको नाश हुँदा मानव दुःखी हुन्छ त्यसैले संसारका नाशवान् वस्तुमा नभएर शाश्वत वस्तुमा मन लगाउनु पर्छ भन्ने विचार रहेको पाइन्छ । उनको अस्थायी वस्तु सम्बन्धी मान्यता वेदान्त दर्शनको अनित्य संसारसँग मिल्दो देखिन्छ । दर्शनलाई व्यावहारिकतासँग जोडेर व्याख्या गर्ने स्पेनोजा शाश्वत चेतनप्रति मानवको लगाव हुनु पर्ने विचार राख्ने आस्तिक दार्शनिक हुन् ।
जोन लक (सन् १६३२–१७०४) प्रकृति, विज्ञान एवं चिकित्सा शास्त्रका अध्येता हुन् । उनले संसारमा मानसिक तŒव, भौतिक तŒव र आत्मा तŒव गरी तिन पदार्थ रहेको स्वीकार गरेका छन् । ती तीन पदार्थमा आफ्नो योग्यता अनुसार ईश्वरको ज्ञान हुन्छ भन्ने उनको मान्यता रहेको देखिन्छ । उनले ‘मन’ जन्मजात रूपमा शुद्ध हुन्छ तर संसारका सामग्रीहरूको संसर्गका कारण यसमा छाप पर्दै जान्छ । जन्मजात रूपमा मनमा कुनै छाप रहेको हुँदैन । इन्द्रियसँगको सम्पर्क पनि मनमा छाप पर्ने अर्को कारण हो । मानवीय ज्ञानको आरम्भ र अन्त्य इन्द्रियबाट हुन्छ । ज्ञानको मूल स्रोत भनेको इन्द्रियातीत सहजानुभूति हो भन्ने लक मनोवैज्ञाननिक दार्शनका अध्येता हुन् (शर्मा, सन् २००९ः १३४) । उनले जन्मपूर्व आत्मामा कुनै ज्ञान हुँदैन बरु इन्द्रियका अनुभवका माध्यमबाट ज्ञानको आरम्भ हुन्छ भन्दै इन्द्रिय अनुभववादको स्थापना गरेका छन् । उनको आत्मा सम्बन्धी यो विचार न्याय, वैशेषिक र मीमांसासँग मिल्दो देखिन्छ भने ब्रह्मसँग एकाकार हुन मनलाई नियन्त्रण गर्नु पर्छ भन्ने पूर्वको वेदान्तसँग पनि तुलना गर्न सकिन्छ ।
गट्फ्रिड विल्हेम लाइब्निज (सन् १६४६–१७१६) जर्मन दार्शनिक हुन् । उनले चिदणु (द्रव्य) को परिचय दिँदै त्यसैबाट संसारको उत्पŒिा हुने र मानव पनि चिदणुकै अंश रहेको बताएका छन् (मसीह, सन् २०१४ः २०३७) । संसारका सबै पदार्थमा चिदणुको अंश रहेको हुन्छ तर मानवमा एक विशेष किसिमको चिदणु हुन्छ, जसलाई ‘आत्मा’ पनि भनिन्छ, त्यसैले शरीरलाई नियन्त्रण गर्दछ भन्ने उनको ठम्याइ रहेको छ । उनी संसारका हरेक वस्तुमा केही न केही चेतना हुन्छ तर मानवमा विशेष किसिमको चेतना हुन्छ भन्छन् । जर्ज बर्कले (सन् १६८५–१७५३) इङ्ल्याण्डका आस्तिक दार्शनिक हुन् । उनले ‘पदार्थ’ भनेको भौतिकवादी चिन्तनलाई पुष्टि गर्ने माध्यम हो, मानवमा उत्पन्न हुने सबै किसिमका संवेदनाहरू मानिसको मन र अत्मामा ईश्वरले गर्ने क्रियाका परिणाम हुन्, विचारको स्रोत भौतिक जगत् नभई ईश्वर हो भनेका छन् (सेप्चुलिन, सन् १९८०ः ५४) । यस आधारमा लाइब्निज समस्त पदार्थमा चेतनको अंश देख्ने सर्वात्मावादी दार्शनिक हुन् भने बर्कले शरीरको सञ्चालक ईश्वर हो भन्ने आस्तिक विचारक हुन् ।
अङ्ग्रेजी इतिहासकार तथा दार्शनिक डेबिड ह्यूम (सन् १७११–१७७६) सन्देहवादी दार्शनिक हुन् । सन्देह विधिको उपयोग गरी वास्तविकता पत्ता लगाउन सकिन्छ भन्ने ह्यूमले संवेदना र इन्द्रिय प्रत्यक्ष संसार निर्माण गर्ने परम तŒव हुन्, संसारलाई बुझ्न संवेदना मार्फत् प्रत्यक्ष अनुभव हासिल गर्नु पर्छ, संसार जुन विशिष्ट तŒवहरूबाट बनेको छ ती विशिष्ट वस्तुहरू भनेका संवेदना वा मस्तिष्कमा पर्ने छापका धारा हुन् भनेका छन् । ह्यूमले लकद्वारा प्रतिपादित ‘मनको शुद्धतामा सामग्रीको प्रभाव’ सिद्धान्तमा ‘इन्द्रियजन्य संस्कारको छाप’ पर्दछ भनी योगदान थपेका छन् (चौबे, सन् १९८८ः १२९) । उनले मनमा सामग्रीका अतिरिक्त इन्द्रियका संस्कारहरूको पनि छाप रहेको हुन्छ । पाँच ज्ञानेन्द्रिय र तिनका कार्य बाहिरी आवरण हुन् भने ‘मन’ भित्री इन्द्रिय हो त्यसकै माध्यमबाट सुख दुःखको अनुभूति हुन्छ भन्ने बताएका छन् (चौबे, सन् १९८८ः १२९) । सुख दुःखको ज्ञानलाई स्वसंवेदना भनिने उनको तर्क रहेको छ । उनले संवेदनाको अस्तित्व सन्देहरहित हुन्छ पनि भनेका छन् । संवेदनालाई सन्देह रहित मानेका कारण ह्यूम आधुनिक भाववादी दर्शनका सैद्धान्तिक स्रोत पनि बन्न पुगेका छन् । ‘मनको छाप’ सम्बन्धी सिद्धान्तको प्रतिपादन गर्ने ह्यूमको विचार पूर्वका दर्शनको ‘संस्कार’सँग सम्बन्धित मान्यतासँग मिल्दो देखिन्छ ।
फ्रान्सेली दार्शनिक फ्रान्स्वाँ भोल्तेयर (सन् १६७८–१७७८) ले यान्त्रिकता र भौतिकताको समर्थन गर्दै संसारको आद्य चालकका रूपमा ईश्वरलाई स्वीकार गरेका छन् । उनले परमात्मा प्रकृतिसँग अविच्छेद्य सम्बन्धले रहेको हुन्छ । प्रकृति आफ्नै शाश्वत नियमबाट चल्छ भन्ने चिन्तन प्रकट गरेका छन् । आत्मा कुनै विशेष तŒव नभएर सजीव अङ्गमा हुने विशेष गुण हो । ईश्वरले पदार्थलाई सोच्ने क्षमता दिएको छ । त्यही सोच्ने क्षमतायुक्त पदार्थ नै आत्मा हो भनेका छन् । उनका अनुसार ज्ञानका मूल स्रोत ‘आलोकन’ र ‘अनुभव’ हुन् । यस आधारमा उनी आस्तिक दार्शनिक हुन् ।
आलोचनात्मक विज्ञानवादी जर्मन दार्शनिक इमानुयल कान्ट (सन् १७२४–१८०४) द्वैतवादी विचारक हुन् । उनी सुरुमा बुद्धिवादी, त्यसपछि अनुभववादी र अन्त्यमा गएर समन्वयवादी बनेका छन् । उनले आरम्भमा प्रकृतिमा चल्ने आन्तरिक गतिविधिको परिणाम स्वरूप उत्पन्न हुने निहारिका (न्बक ल्भदग)ि बाट सौर्य मण्डलको निर्माण भएको बताएका छन् (सेप्चुलिन, सन् १९८०ः ६१) । उनले संसालाई दुई तरिकाले व्याख्या गरेका छन् वस्तुजगत् र घटना जगत् । वस्तु जगत् पूर्ण स्वतन्त्र र अज्ञेय छ भने घटना जगत् मानव चेतना भन्दा स्वतन्त्र छैन ज्ञेय छ । मानवले घटना जगत् (प्रकृति)लाई मात्र बुझ्न सक्छ । वस्तु जगत् पूर्ण रूपमा अज्ञेय र अगम्य छ भन्दै कारण र प्रभाव, आवश्यकता र संयोग, सम्भावना र वास्तविकता जस्ता विशेष वर्गहरूको निर्माण गर्दै संसारका हरेक वस्तुको द्वैत रूपमा व्याख्या गरेका छन् (शर्मा, सन् २००९ः २००१) । द्वैतता वा अन्तर्विरोधहरूको अस्तित्व मानव चेतना वा अवधारणामा मात्रै हुन्छ । अन्तर्विरोधी सवालहरूको समाधान मानव चेतनाले दिन सक्दैन । यी आस्थाका विषय हुन् । वस्तुको वास्तविक रूपलाई बुझ्न मान्छेले सक्दैन । ईश्वर, आत्मा र मुक्त इच्छाको व्याख्या धर्मका माध्यमबाट गर्न सकिन्छ भन्ने ‘अज्ञेय भाववादी’ धारणा कान्टको रहेको छ । उनको यो विचार संसारको रचनाका सम्बन्धमा नयाँ भए पनि आफ्ना विचारबाट ढुलमुलाउँदै ज्ञान सिद्धान्तमा प्रवेश गरेपछि आस्तिक बन्न पुगेका छन् ।
विज्ञानवादी दार्शनिक जोहन फिक्टे (सन् १७६५–१८१४) जर्मन नागरिक हुन् । उनले संसारका हरेक वस्तु मनभन्दा पर हुँदैनन् भनेका छन् (सांकृत्यायन, सन् २०१५ः २०५३) । ज्ञान मीमांसाका क्षेत्रमा उनले मन वा अन्तः प्राज्ञलाई तार्किक ज्ञानको अवयव पनि मानेका छन् र मनलाई समग्र ज्ञानको स्रोत स्वीकार गरेका छन् । उनले दर्शन प्रयोगपरक हुनु पर्छ, त्यसो भएन भने दर्शन झुटो ठहरिन्छ । दर्शनको काम व्यावहारिकतामा निखार ल्याउनु हो । बुद्धिका क्रियाद्वारा दर्शनको व्याख्या गर्न सकिन्छ । आत्मा परमात्माकै क्रियाको प्रकट रूप हो । ईश्वर एक मात्र परम तŒव वा परमात्मा हो । त्यसको ज्ञानका लागि ‘श्रद्धा’ (आचार विधि) को आवश्यकता पर्दछ । संवेदना सत्ता वा अस्तित्वको एकमात्र स्रोत हो भन्ने फिक्टेले एक सर्वशक्तिमान् शाश्वत कर्ताका अनन्त क्रियाकलापद्वारा संसारको रचना भएको विचार प्रकट गरेका छन् (सांकृत्यायन, सन् २०१५ः २५४) । उनको यो विचार पनि आस्तिकताकै सेरोफेरोमा घुमेको देखिन्छ ।
फ्रेडरिक विल्हेम जोसेफ शेलिङ (सन् १७७५–१८५४) आस्तिक दर्शनिक हुन् । उनको दर्शनमा प्रकृति, आत्मा र रहस्यवादको चर्चा गरिएको पाइन्छ । उनको प्रकृतिको गति व्यवस्थित र नियम सङ्गत तरिकाले चलेको हुन्छ । त्यसलाई अचेतन भन्न सकिन्न । प्रकृति र जीवको मूल स्रोत परमतŒव हो । प्रकृतिमा प्राण शक्ति र चैतन्य अन्तर्निहित हुन्छ । जुन कुरा जडजस्तो देखिन्छ त्यसमा सुप्त चैतन्य रहेको हुन्छ भन्दै विषयीका रूपमा रहेको चेतना फेरि कसरी विषय बन्न पुग्छ भन्ने विषयमा शेलिङको गहकिलो धारणा रहेको पाइन्छ (शर्मा, सन् २००९ः २१६) । जीव र जगत्, चेतन र अचेतन वास्तविक रूपमा एकै हुनुको कारण परम तŒव एकै भएर हो । त्यो परम तŒव बुद्धिद्वारा ग्रहण गर्न सकिन्न । समय आउँदा अनुभूतिका माध्यमबाट द्वैतता नष्ट भएपछि बोध हुन्छ भन्ने उनको मान्यता पूर्वको अद्वैत वेदान्तको निकट रहेको देखिन्छ । उनले विषय विषयीका बिचको तदात्म्यता सिद्धान्त अगाडि सारेर अद्वैत आस्तिकताको पक्षपोषण गरेका छन् ।
द्वन्द्व अथवा विरोध सबै प्रकारका जीवन र गतिको कारक हो भन्ने जर्ज विल्हेम फ्रेडरिक हिगेल (सन् १७७०–१८३१) प्रकारान्तरले आस्तिक दार्शनिक नै हुन् । उनले सृष्टिको मुख्य आधार ‘शुद्ध चिन्तन’लाई मानेका छन् । उनका अनुसार सुरुमा शुद्ध चिन्तन वा परमभाव मात्र रहेको हुन्छ । परमभाव भनेको विचार वा चेतना हो । परमभाव निर्गुण भएको हुनाले त्यो अस्तित्व विहीन वा सत्ताहीनताको अवस्थामा रहन्छ । परमभाव नैसर्गिक रूपमा अन्तर्विरोधयुक्त भएको हुनाले त्यही अन्तर्विरोधको परिणाम स्वरूप सत्ताहीनताको अवस्थाबाट शुद्धसत्तामा उदय हुन पुग्छ । सŒााहीनता र शुद्ध सत्ताबिचको द्वन्द्वबाट सृष्टि कार्य प्रारम्भ हुन्छ (सेप्चुलिन, सन् १९८०ः ६३) । पहिलो चरणमा स्वयम् भाव, त्यसपछि परम भाव र त्यसपछि तार्किक वर्गहरू उत्पन्न हुन्छन् । दोस्रो चरणमा प्रकृति, तेस्रो चरणमा चिन्तन र मानव चेतनाको विकास हुन्छ । मानव चेतनाको विकास भएपछि विकासको श्रृङ्खलालाई रोकेर परम भाव आफ्नो मूल अवस्थामा फर्किन्छ । ज्ञानको आरम्भ इन्द्रियबाट भई आत्मज्ञानमा पुगेर टुङ्गिन्छ । इन्द्रिय प्रत्यक्ष, घटना प्रेरित वैज्ञानिक ज्ञान र दर्शनिक ज्ञान ज्ञानका मुख्य प्रकार हुन् । दर्शनिक ज्ञान प्रज्ञा हो (शिवाजी, सन् १९९०ः ८६) । आत्मज्ञान हुनु भनेको परमात्माको अन्तर्वस्तु बोध हुनु हो भन्ने उनको धारणा रहेको छ (सांकृत्यायन, २०१५ः २५५) । समाज वा राष्ट्रलाई परमभावकै सृष्टि मान्नु, संसारलाई विकासको प्रतिफल मान्नु, द्वैतरूपमा संसारको व्याख्या गर्नु उनका दर्शनको विशेषता हो । उनी आस्तिकतालाई एउटा उचाइमा पुर्याउने दार्शनिक हुन् ।
तृष्णावादी सोपेनहावर (सन् १७८८–१८६०) ‘तृष्णा त्यग्नु पर्छ’ भन्ने दार्शनिक हुन् भने तृष्णाकै माध्यमबाट संसारमा सम्प्रभुता कायम गर्न सकिन्छ भन्ने दार्शनिक फ्रेडरिक नित्से (सन् १८४४–१९००) उग्र तृष्णावादी विचारक हुन् । द्वन्द्वात्मक भौतिकवादी दार्शनिक कार्ल माक्र्स (सन् १८१८–१८८३) मानव इतिहासका व्याख्याता, भौतिकवादी र वस्तुवादी दार्शनिक हुन् हुन् भने इङ्ल्याण्डका दार्शनिक ह्वाइट हेड (१८६१–) वैज्ञानिक पद्धतिलाई स्वीकर गर्ने र ईश्वरको सार्वभौमिकता ग्रहण गर्ने दार्शनिक हुन् । मनोविज्ञान र दर्शन विषयका प्राध्यापक विलियम जेम्स (सन् १८४२–१९१०) कार्यकारणवादी दार्शनिक हुन् (श्रीवास्तव, सन् १९९८ः १३२) । यसपछि पनि विभिन्न आधुनिक तथा उŒारआधुनिक चिन्तन प्रणालीको विकास भएको पाइन्छ तर समसामयिक अन्य पाश्चात्य दर्शनको छुट्टै विशिष्ट किसिमको अध्ययन हुन सक्ने हुनाले यहाँ विलियम जेम्ससम्मका आस्तिक विचारकहरूको मात्र सामान्य चर्चा गरिएको छ ।
निष्कर्ष
पश्चिमी दर्शनलाई पूर्वका दर्शनका सापेक्षताबाट पनि नियाल्न सकिन्छ । पूर्वका दर्शनले संसार र मानवीय जीवन दुःखात्मक रहेको स्वीकार गरेका छन् (चार्वाकबाहेक) । यहाँका बौद्ध, वेदान्त, न्याय, वैशेषिक, साङ्ख्य आदि दर्शनले जीवन र जगत्लाई दुःखात्मक मान्दै त्यस दुःखात्मकताबाट मुक्तिका लागि परम तŒवको खोजी गर्नु पर्ने आवश्यकता औंल्याएका छन् तर पश्चिमा दार्शनिकहरूले यस्तो दुःखात्मक दृष्टिकोणको उपेक्षा गरेका छन् । उनीहरूले संसार प्रत्यक्षतः बोध गर्न सकिने पनि स्वीकार गरेका छन् । खासमा पश्चिमी र पूर्वीय आस्तिक दर्शनको सृष्टि, ईश्वर र समवेदक यन्त्र (ज्ञानेन्द्रिय कर्मेन्द्रिय) को अस्तित्व छ भन्ने विषयमा निकटता देखिन्छ । मूलतः यी दुबै क्षितिजका दर्शनले संसारमा जड र चेतन मुख्य दुई तŒव रहेको स्वीकार गरेका छन् र यिनको बोधका लागि पाँच ज्ञानेन्द्रिय र कर्मेन्द्रियकै आवश्यकता पर्ने विचार प्रकट छन् । संसारको अस्तित्व पनि भौतिक पदार्थ वा प्रकृतिमा निहित रहेको धारणा व्यक्त गरेका छन् । संसारको रचना जल, तेज, वायु, आकाश र पृथ्वी जस्ता भौतिक पदार्थबाट हुन्छ भन्ने विषयमा दुबै क्षेत्रका दर्शनको समान धारणा रहेको छ । यस्ता समानता रहे पनि तिनको व्याख्या र प्रस्तुतिको क्रम नितान्त फरक प्रकृतिको रहेको छ ।
पश्चिमी दार्शनिक एनेक्सिमेनिसको प्रकृतिबाट सृष्टि हुँदा ईश्वरको प्रेरणा चाहिन्छ भन्ने मान्यता योग दर्शनको निकट रहेको देखिन्छ भने जोन स्काटस एरिगेनाको ‘पूर्ण विज्ञान’ सम्बन्धी मान्यता बुद्ध दर्शनको योगाचार भेदसँग मिल्दो देखिन्छ । त्यस्तै जोन लकको इन्द्रियको संयोगबाट चेतनमा चेतना प्राप्त हुन्छ भन्ने मान्यता न्याय, वैशेषिक र मीमांसा दर्शनसँग निकट देखिन्छ । शेलिङ्को चेतन र अचेतन मूलतः एउटै चेतनको रूपान्तरण हो भन्ने विचार भने अद्वैत वेदान्त दर्शनको निकट रहेको देखिन्छ । सृष्टिका विषयमा चेतनको प्रेरणा चाहिए पनि वा नचाहिए पनि मूलतः सृष्टि प्राकृतिक पदार्थबाटै हुन्छ भन्ने पश्चिमी मान्यता साङ्ख्य दर्शनको प्रकृति परिणाम सिद्धान्तको निकट विचार मान्न सकिन्छ । पश्चिमी दर्शनहरूले भौतिकता, आध्यात्मिकता, सैद्धान्तिकता, पद्धतिमा वैज्ञानिकता, बौद्धिकता, प्रकृति केन्द्रीयता, विचार र तर्कमा जोड दिँदै नैतिक बलमाथि प्रकाश पारेकोे पाइन्छ र त्यहाँका अध्यात्मवादी दार्शनिक पइथागोरस, सुकरात, प्लेटो, अरस्तु, प्लेटिनस आदिका विचारहरू पूर्वका केही चिन्तनसँग मिल्दाजुल्दा देखिन्छन् । यसरी निरीक्षण गर्दा पश्चिमी चिन्तनको आरम्भ आस्तिकताबाट भएको देखिएको छ । नास्तिकता वा भौतिकता पछि (समसामयिक समयमा) मात्र विकसित भएको पाइएको छ ।

सन्दर्भसामग्रीसूची
चौबे. विजय शङ्कर. पाश्चात्य दर्शनम्. वाराणसीः श्रीमती चम्पा चतुर्वेदी. सन् १९८८ ।
देवराज, नन्दकिसोर. भारतीय दर्शन. छैटौँ संस्क. लखनउः उŒार प्रदेश हिन्दी संस्थान. सन् २००२ ।
निगम, शोभा. पाश्चात्य दर्शनका सम्प्रदाय. दिल्लीः मोतीलाल बनारसीदास. सन् २००० ।
बन्दिष्टे. डी.डी. र रमाशङ्कर शर्मा. (सम्पा.) भारतीय दार्शनिक निबन्ध. छैटौँ संस्क. भोपालः मध्यप्रदेश हिन्दी अकादमी. सन् २००८ ।
मसीह, याकुब. पाश्चात्य दर्शन का समीक्षात्मक इतिहास. छैटौं संस्क. वाराणसीः मोतीलाल बनारसीदास. सन् २०१४ ।
मिश्र, उमेश. भारतीय दर्शन. पाँचौँ संस्क. लखनउः उŒार प्रदेश हिन्दी संस्थान. सन् २००३ ।
मिश्र, जगदीशचन्द्र. भारतीय दर्शन. वाराणसीः चौखम्बा सुरभारती प्रकाशन. सन् २०१२ ।
श्रीवास्तव, जगदीश सहाय. अर्वाचीन दर्शन का वैज्ञानिक इतिहास. चौंथो संस्क. इलाहाबादः किताब महल. सन् १९९८ ।
शर्मा, चन्द्रधर. पाश्चात्य दर्शन. नवौं संस्क. दिल्लीः मोतीलाल बनारसीदास. सन् २००९ ।
शिवाजी, एलरिक बारलो. दर्शन की समस्याएँ. भोपालः मध्यप्रदेश हिन्दी ग्रन्थ अकादमी. सन् १९९० ।
सहाय, शिवस्वरूप. प्राचीन भारतीय धर्म एवं दर्शन. दिल्लीः मोतीलाल बनारसीदास. सन् २०१४ ।
सांकृत्यायन, राहुल. दर्शन दिक्दर्शन. इलाहावादः किताब महल. सन् २०१५ ।
सिन्हा, हरेन्द्र प्रसाद. भारतीय दर्शनकी रूपरेखा. दिल्लीः मोतीलाल बनारसी दास. सन् २०१२ ।
सेप्चुलिन. ए.पी. माओवादी लेलिनवादी दर्शन. मस्कोः प्रोग्रेस पब्लिसर्स. सन् १९८० ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 15 माघ, 2075

लेखकका अन्य रचनाहरु