स्वान्सी सहरमा एकदिनको रमझम

- इन्दिरा दीक्षित

इङ्गल्यान्ड राज्यको ब्रिस्टल सहरमा केही दिनदेखि हामी छोरीज्वाइँका साथ बस्दै थियौँ । स्वान्सीमा एयर सो (Air Show) हुदै छ भन्ने जानकारी मिल्यो । शनिबार बिदाको दिनको सदुपयोग त गर्नै प¥यो आखिर हामी त बेलायत घुम्न आएका न थियौँ ! घुमाउने सिलसिलामा एयर सो हेर्न जाने कुरा उठ्यो । शुक्रबार बेलुकी नै भोलिपल्ट शनिबार सबेरै स्वान्सी जाने कुराको निधो भयो ।
शनिबार, बिहानैदेखिको तरखर थियो । दिनभर उतैतिर एयर सो हेर्नुका साथै घुमघाम र पिकनिक पनि मनाउने उद्देश्यले तयारी गरेर सबेरै आठ बजे नै छोरीज्वाइँका साथ लाग्यौँ ।
इङ्गल्यान्ड राज्यको बिस्ट्रल सहरबाट वेल्स राज्यको स्वान्सी सहर अलि नजिकै पर्दो रहेछ । ब्रिस्टलबाट उत्तरपट्टि र वेल्स राज्यको दक्षिणी भागमा रहेको स्वान्सी सहरलाई एउटा समुद्री खोला ब्रिस्टल च्यानलले छुट्याइएको रहेछ । ब्रिस्टलदेखि स्वान्सीसम्मको दूरी नेभिगेटरका अनुसार जम्मा ८३.३ माइल रहेछ । साँच्चै भन्ने हो भने मलाई यो माइलको दूरीको अन्दाज त छैन; किमि भन्नेचाहिँ जानकारीमा थियो । बाटाको दूरीसम्बन्धी ज्ञान नभए पनि स्वान्सी पुग्ने समय १ः३५ अर्थात् जम्माजम्मी डेढ घण्टाजति रहेछ । हतारो नभएकाले बिस्तारै बाटाको सौन्दर्य हेर्दै हिँड्यौँ । शनिबार बिदा भएर हो कि बाटो खुल्ला थियो; ब्रिस्टलबाट केही समयमै मोटर वे निस्कियौँ । हामी निस्कँदा त पानीको छिटा पर्दै थियो । यतिखेर ब्रिस्टलको आकाशमा केही बादल देखिए पनि परपर हाम्रो अगाडिको आकाश खुल्दै थियो । करिब आधा घण्टाको कुदाइपछि ब्रिस्टल च्यानल समुद्र देखियो । आन्द्रमहासागरको सानो भाग होला त्यो; जमिन काटेर भित्रसम्म पुगेको त्यो समुद्री खोलाले बेलायतको वेल्स राज्य र इङ्गल्यान्ड राज्यलाई छुट्याएको रहेछ । ब्रिस्टल च्यानल समुद्रको सानो भाग अझ भन्नुपर्दा समुद्री खोला भए तापनि अति ठूलो देखिन्थ्यो । एउटा किनाराबाट अर्को किनारा देख्न मुस्किल पनि पथ्र्यो तर यत्तिको अथाह पानीमाथि वारपार गर्न निकै लामो र मजबुत पुल हालिएको रहेछ । ओहो ! जति कुदे पनि नसकिने कत्ति लामो पुल ! यति लामो पुल त्यो पनि समुद्रमाथि कसरी बनाएको होला ! धन्य, यी बेलायतीको बुद्धिलाई त मान्नै पर्छ, ! यत्रो समुद्रमाथि कसको सनकले अनि कहिले यति लामो पुुल बनाएर आरपार गर्ने बाटो खोलेका होलान् ! ब्रिस्टल च्यानलमाथिको पुल हेर्दाहेदै म त फेरि नेपाल नै सम्झिन पुगेछु !
मेरो देश नेपालमा एउटा सानो खोलामा पुल कहिल्यै बन्दैन । सानो पुलको अभावमा देशबासीले कष्टकर दिन बिताउन बाध्य छन् । आफ्नै देशबासी पनि पुलको अभावमा परदेशीजस्तै बनेका छन् । यता यत्रो ठूलो मजबुत पुल देखेर मन त चसक्क हुन्छ नै । मन दुख्नुको विकल्प त छैन; अर्काको देशको विकास हेर्ने मात्रै न हो !
त्यो लामो पुलको बीचबाट तल हेर्दा सारा समुदैसमुद्र देखिँदै थियो । यत्रो समुद्रको माथिमाथि हिँड्दा कताकता डर पनि लागेझैँ भयो । निकैबेरको कुदाइपछि बल्ल पारी पुगियो । पुलपारि पुगेपछि अर्को राज्य सुरु भयो । एक राज्यबाट अर्को राज्यमा प्रवेश गर्दा तोल यानिकि कर तिर्नुपर्ने व्यवस्था रहेछ । तर, कति राम्रो तरिका मान्छे त कतै नचाहिँने । तोकेको रकम निर्धारित ठाउँमा राखेपछि बन्द बाटो आफै खुल्छ । रकम तिर्न नगद या कार्ड जे भए पनि हुन्छ । प्रत्येक पैसा तिर्ने ठाउँँमा म यस्तै देख्छु ! मलाई अचम्म लाग्छ ! यति राम्रो मिसिन बनाउने कस्तो दिमाग होला; न मान्छे चाहियो न त कसैले व्यक्तिगत कुम्ल्याए ! जेजति उठ्छ सबै सम्बन्धित निकायको कोषमा जान्छ ।
ब्रिस्टल च्यानल पार गरेपछि वेल्सको राजधानी कार्डिफ आइपुग्यो । कार्डिफबाट पनि पर अझै अर्को सहर थियो स्वान्सी । गाडीबाट सहरको सौन्दर्य हेर्दै बाटामा कुद्दै थियौँ । पुराना कालिगढी पुरानै शैली, अझ पुराना बिल्डिङहरू ! बेलायत त एउटा निकै पुरानो विकसित देश, आफ्नो देशको विकासपछि अन्यत्र लागेका बेलायतीहरूले जुन देशमा टेके त्यसैलाई आफ्नो बनाएर विकास गरे । अब त इतिहासमा मात्र सीमित भएका कतिपय कहानी । जे भए पनि बूढो बाघ हो बेलायत !
हेर्दाहेर्दै स्वान्सी सहर पनि आइपुगेछ । ठूलो आन्द्रमहासागरले घेरेको स्वान्सी सहर । यसै सहरमा रहेको समुद्र किनारबाट एयर सो हेर्ने रहेछ । समय निकै बाँकी थियो । बाह्र बजेदेखि सुरु हुने तर हामी एघार बजे नै पुगेका थियौँ ।
पिकनिक मनाउन गएका हामी, घरबाट केही खाने कुरा त लिएरै गएका थियौँ तर पनि अरू केही थप्ने हिसावले नजिकै गाडी पार्क गरेर सपिङ सेन्टरभित्र पस्यौँ । केही पेय पदार्थ, केही स्न्याक्स, आइसक्रिमका साथै अरू पनि केही सामान बटुल्यौँ । कपडाको बस्ने कुर्सी पनि बोकेर त्यताबाट सिधैँ समुद्र किनारतिर लागियो ।
फाट्टफुट्ट मान्छे आउन थालिसकेका थिए । समुद्रकिनारको बगरमा एउटा राम्रो ठाउँँ खोजेर आफ्नो झोलीतुम्बा फैलाएर बसिहाल्यौँ । विशाल समुद्र किनारको बगर जता बसे पनि भयो । आखिर समुद्रको माथिमाथि हुने एयर सो जताबाट पनि उस्तै त देखिन्छ ।
अब भोक पनि लाग्यो । बस्ने ठाउँँ मिलाएपछि झेलीतुम्बा खोलेर खान थाल्यौँ । हेर्दाहेर्दै धेरै मान्छे जम्मा भए । धेरै त हामीजस्तै पिकनिक मनाउन आएका पनि देखिए । केटाकेटी, बूढाबूढीदेखि तन्नेरीहरू पनि उत्तिकै थिए । सरकारी आँकड़ामा २,२५,००० जति एयर सोमा उपस्थित हुने अनुमान रहेछ । थुप्रै मान्छेको ओइरो लाग्दै थियो । हामीले ओगटेको ठाउँँ पनि साँगुरिँदै गयो ।
ठेगान नभएको बेलायतको मौसम पनि यति सफा हुँदो रहेछ ! अचम्म लाग्यो, अन्त यति बेला कस्तो छ कुनि ! तर, स्वान्सीको आकाशमा बादलको नामनिसान कतै थिएन । खुल्ला आकाश, बादलले पनि एयर सोकै लागि ठाउँँ छोडेकोजस्तो लाग्यो । बिहान हिँड्दा सिमसिम पानी परेको थियो तर अहिले त चारैतिर आकाश खुल्ला थियो । हाम्रो पछाडि ठूलो स्वान्सी सहर थियो भने अगाडि विशाल समुद्र थियो । समुद्रमा केटाकेटीदेखि युवायुवतीसम्म जलक्रीडा गरेका देखिन्थे । अर्कोछेउ पर टाटास्टिल कम्पनीको सेतो धुवाँ देखिँदै थियो । हामी सबै प्रतीक्षारत थियौँ । आँखा आकाशमै थियो ! खै कहिले सुरु हुन्छ ?
हामीजस्तै सबैको आँखा आकाशतिरै थियो । बाह्र बज्यो; नभन्दै समुद्रमाथिको आकाशमा गडगडाएर छवटा फाइटर प्लेन उडेको देखियो । खुसीले भिडमा कोलाहल मच्चियो । ती फाइटर प्लेनले अनेकन सो गराए । कहिले एक्लै त कहिले समूहमा लगभग बीस मिनटजति समुद्रमाथिको आकाशमा नाचेपछि तिनीहरू हराए ।
त्यसपछि केहीबेरको अन्तरालमा अर्को एकल प्लेन आयो । यो टाइण्mुन नाम गरेको फाइटर प्लेन रहेछ । टाढाबाट चिलजस्तो देखे तापनि नजिक आइपुग्दा अजङ्गको देखिने रहेछ । यो प्लेन एकदमै छिटो उड्दो रहेछ र प्लेन पर कताहो पुग्दा बल्ल आवाज आउने । आवाजको गतिभन्दा पनि छिटो दौडन सक्ने प्लेन । तब पो त शत्रु पक्षमा बम फ्याँकेर फर्कँदासम्म पनि कसैले पत्तो नपाउने ।
यो टाइण्mुनको त आवाज पनि निकै चर्को हुँदो रहेछ । नजिकै आएर फर्कँदा त कानै फाट्ला जस्तो ! सुल्टो–उल्टो, सिधा माथि, सिधा तल, जता पनि घुम्न सक्ने अचम्म तालको प्लेन रहेछ । पाँचसात मिनेटपछि त्यसको खेला पनि सकियो । त्यसपछि अरू चारपाँचवटा प्लेनले कहिले समूहमा कहिले एकल गरेर विभिन्न खेला देखाएर गए । त्यपछि एउटा फाइटर हेसलकोप्टर आयो । समुद्रनजिकै माथि उड्दै थ्यो । ठीकमुनि जहाज पनि कुद्दै थियो । त्यो हेलिकप्टेरले पनि अनेकने खेला देखायो । सायद मान्छेलाई उद्धार कसरी गरिन्छ भनेर देखाउन खोजेको हो कि ? हेलिकोप्टेरबाट निस्कँदै बिस्तारै जहाजमा डोरीको सहायताले ओर्लँदै गरेको दृश्य पनि देखियो । खै ! केके देखाउन खोजेको हो; के जान्नु र ! हामीले त रमाइलो मात्र हेर्ने न हो !
टन्टलापुर घाम सायद २८ देखि ३० डिग्री जति तापक्रम हुँदो हो ! जाडोको मात्र धेरै अनुभव बटुलेका बेलायतीहरू यस्तो गर्मीमा पनि टन्न बसेकै छन् । समुद्रकिनामा वारका पार मान्छे, ओहो ! केबिन मान्छे । यो त कुम्भकै मेलाजस्तो पो देखियो ! सायद कुम्भस्नान गर्न पनि एकै पटक यत्तिका मान्छे त जम्मा हुन्नन् होला ! अलि परसम्म गएर अझै मान्छेको भिड हेर्न मन लाग्यो । छोरी र म केही परसम्म पुग्यौँ तर जति पर पुगे पनि मान्छेको भिड त उत्तिकै छ । फेरि आफ्नै ठाउँँमा फर्कियौँ ।
केही समय आकाशमा शून्यता छायो । सायद खानपिनको समय भयो कि अथवा विश्राम चाहियो कि ! खै के भयो ।
खाली समयमा मान्छेको चहलपहल पनि बढ्न थाल्यो । भोक पनि लाग्यो होला । वरिपरि निकै खाने कुरा बिक्यो । यी खाना बेच्नेले पनि धेरै पैसा कमाए होलान् ! अझ धेरै त बियर पो बिक्दो रहेछ । गिलास भरीभरी बियर ओसार्दै खाँदै यो क्रम त कहिले पनि सकिएन । हामी नजिकैको घुम्ती पसलबाट यतिबिघ्न बिक्यो भने यस्तो पसल त कतिकति । अनि, किन्ने र खाने मान्छे पनि कतिकति ।
निकै समय बित्यो त्यो चर्को घाममा बसेको पनि । अझै अर्को राम्रो सो गर्न बाँकी नै थियो । यताउता लागेका मान्छे पनि किनारामा जम्मा हुन थाले । दिउँसोको चार बज्यो । एक्कासि गडगडाएर दस–बाह्रवटाजति प्लेन आकाशमा जम्मा भए । रेड एरो नाम गरेको हबाइजहाज रहेछ; यसको रङ पनि रातो नै थियो । यिनको कलाबाजी निकै राम्रो थियो । रङ्गीबिरङ्गी धुवाँ छोड्दै आकाशमा अनेकन आकृति पनि बनाए । सबैले धुवाँ छोडेर एकनासले उड्दा इन्द्रेणीजस्तो देखिन्थ्यो । त्यति धेरै प्लेनहरू समदूरीमा एकनासले उडेको देख्दा अचम्म लाग्दैथ्यो तर एकैछिनमा तिनले त अनेकन कलाबाजÞी देखाउन थाले । दुईतिरबाट जुधुँला झैँ गरेर उडेको देख्दा त आँगनै सिरिङ्ग भयो ।
कहिले तल कहिले माथि, कहिले दायाँं, कहिले बायाँं, कहिले वक्र, कहिले सिधा आदि अनेकने कलावाजी, करिब आधा घण्टासम्म देखाए । यति धेरै प्लेनको रोमाञ्चक र रमाइलो, कार्यक्रमपछि भिड अलि छाँटिन थाल्यो । अरू पनि ससाना सोहरू हँुदै थिए । अब कति बस्नु ! हामीलाई पनि त उति लामो बाटो फर्कनु थियो । थुप्रै आकर्षक एयर सो त हेरिहालियो । अब जति हेरे पनि यस्तै न हो ! हामी पनि फर्कने विचार गरेर हिँड्यौँ ।
अति धेरै भिडमा बाटो पनि छिचोल्न मुस्किल भयो । कतिबेर त सडकमा गाडी हिँड्न पनि मिलेन । हाम्रो गाडी अलि परै थियो । भिडलाई छिचोल्दै फटाफटी आफ्नो गाडीतिर लाग्यौँ ।
घर फर्कँदा पनि हामी सबै जना एयर सो कै कुरा गर्दै हिँड्दै थियौँ । मेरो मन भने कताकता हरायो । जीवनमा यस्तो कहिले नदेखेको नयाँ कुरा ! सायद फिल्मतिर कहिलेकाहीँ थोरै देखेको होला तर ऐले यति धेरैबेर बसेर अद्भुत दृश्यहरू आँखाअगाडि समेट्न पाइयो । मेरा लागि त यो अविष्मरणीय पल नै त थियो !

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 27 चैत्र, 2075

लेखकका अन्य रचनाहरु