पश्चाताप

- राजु अधिकारी

“उपलब्ध प्रमाण, साक्षीहरुको बयान अनि परिस्थितिको विश्लेषणलाई आधार मानेर हेर्दा अभियुक्तले राज्यको ढुकुटीको दुरूपयोग गरी आफ्नो ब्यक्तिगत स्वार्थकोलागि प्रयोग गरेर भ्रष्टाचार गरेको ठहर हुन आँउछ। त्यसैले प्रचलित कानुन अनुसार अभियुक्तलाई बिगो अनुसारको जरिवाना र तिन बर्षको जेल सजाय सुनाइन्छ।” न्यायमूर्तिले आफ्नो अन्तिम फैसला सुनाए पछि कठघरामा उभिएको उसको नूर गि-यो। हुन त उसलाई पहिले नै अलि अलि शंका थियो कि फैसला उसको पक्षमा हुने छैन भनेर तर पनि जरिवानाबाट उम्कने उसले आशा राखेको थियो, जेल नै जानु पर्ला भन्ने सोंचेको थिएन। तर भने जस्तो भएन।
“अभियुक्तलाई केहि भन्नु छ भने भन्न सक्नु हुन्छ”, न्यायमूर्तिले उसलाई आफ्ना विचार राख्ने मौका दिए।
उसले कठघराबाट टाउको अलिकति उठाएर न्यायमूर्ति तर्फ हेर्दै भन्यो, “श्रीमान, हामी सबैले सुनेका थियौं कि कानुन अन्धो हुन्छ भन्ने तर आज मैले आफैले त्यसको स्पष्ट अनुभव गर्न पाएँ। कानुन साँच्चै नै अन्धो हुँदो रहेछ। त्यसैले त मैले गरेको भन्दा हजार गुणा बढि भ्रष्टाचार गर्नेहरु स्वतन्त्र पूर्वक सम्मानको जीवन व्यतित गर्दैछन, म भने जेल जानु पर्ने भयो।”
न्यायमूर्ति केहि बोलेनन। दर्शकदीर्घाबाट पनि केहि प्रतिक्रिया आएन। कसैको केहि प्रतिक्रिया नआएपछि प्रहरीहरु आएर उसलाई दुवै हातमा समातेर कठघराबाट लगे। उसले पनि कुनै बिरोध गरेन, उनीहरुसंगै खुरुक्क गयो।
तिनै प्रहरी हुन केहि हप्ता अगाडीसम्म उसलाई सलाम ठोक्थे तर तिनै प्रहरीहरु आज उसलाई कठघराबाट लतारेर जेलको ढोका सम्म पु-याउन लागि परेका छन। उसले सोंच्यो समय परिवर्तनशिल छ भनेको साच्चै नै रहेछ।
प्रहरीको भ्यानमा कोचेर उसलाई तुरुन्त जेल चलान गरियो। हुन त जेल यात्रा उसको लागि नयाँ होइन। पंचायतकालमा उसले कैयन पिडादायिक जेल यात्रा तय गरिसकेका थियो। ती जीवन मरणको दोसाँधमा जेलका चिसा छिंडीमा प्रहरीको कडा निगरानीमा बिताएका कालरात्रिको तुलनामा उसको यो हुन लागेको जेल यात्रा त निकै आरामदायी जेल यात्रा हो। पंचायत कालका जेल यात्राहरु गर्वका बिषय हुन्थे तर यो जेल यात्रा त लज्जाको बिषय थियो। तर जस्तो भए पनि जेल आखिर जेलै हो, स्वतन्त्रताको बन्देज लाग्ने ठाउँ। उसलाई सबभन्दा पीडा दिएको कुरो त उसको ललाटमा कहिले नमेटिने गरी भ्रष्टाचारीको धब्बा लागिसकेको छ, उसलाई नजिकबाट नचिन्नेहरुको नजरमा ऊ अपराधी भैसकेको थियो। इतिहास लेख्ने काम जित्नेहरुले गर्ने गर्छन, त्यसैले उसलाई भ्रस्टाचारको मुद्दा लगाएर जेल कोच्नेहरुले नै उसको बारेमा इतिहास लेख्नेछन्। भविष्यमा उसका सन्ततिहरुले इतिहासका पुस्तकहरु पल्टाउदा उसलाई भ्रष्टाचारी भनेर नै चिन्ने छन्।
जेल भित्र पस्दा निकै थकित थियो ऊ। शारीरिक थकाइ भन्दा मानसिक थकाइ कैयौं गुणा बढि थियो। बरु शारीरिक थकाइ त्यति पिडादायक हुदैन, मानसिक थकाइ निकै नै पिडादायक हुन्छ। उसका केहि समर्थकहरुले जेलमा उसलाई भेट्न चाहे पनि उसले सबैलाई इन्कार गरेर आराम गर्दै थियो। उसको जेलयात्रामा दु:ख मनाऊ गर्न आउनेहरुलाई पनि उसले भोलि मात्र आउनु भन्ने सुचना पहिले नै दिएको थियो। तिन बर्षको चार भित्ता भित्रको नजरबन्द जीवन शुरु गर्दै थियो उसले। मन खिन्न थियो। बिगतमा आफूले गरेका गल्तिहरुको पश्चातापले उसलाई पिरोल्दै थियो।
सानो कोठामा एउटा सानो ओछ्यान, एउटा मधुरो बत्ती। झ्याल थिएन, त्यसैले घाम पनि आउदैनथ्यो, दिउसै बत्ती बाल्नु पर्ने। चिसो त्यो कोठाका भित्ताहरु फोहर थिए अनि भुइँको सिमेन्ट पनि भत्किएर ठाउँठाउँमा खाल्डा परेका थिए। तर ती सबैलाई नियाल्ने र तिनका बारेमा सिकायत गर्ने जाँगर उसलाई थिएन। त्यहि साँघुरो ओछ्यानमा पल्टिएर ओशले गर्दा हरिया र काला टाटा परेको सिलिंगलाई नियाल्दै उसले आफूले बिगतमा गरेका हरेक कुराहरु याद गर्दै जान थाल्यो।
उसले किन यसो गरियो होला, किन त्यसो गरिएन होला भनेर ती कुराहरुलाई विश्लेषण गर्दै जान थाल्यो। यदि त्यतिबेला अर्को निर्णय लिएको भए जीवनले सायद अर्कै मोड लिन्थ्यो होला। आज भ्रष्टाचारीको पगरी लगाएर जेल जानु पर्ने थिएन होला। तर जे हुनु भैसक्यो, त्यसलाई परिवर्तन गर्न उसको उमेर, उसको स्वाथ्य अनि परिस्थितिले पनि साथ दिने स्थिति थिएन। भविष्यमा फेरी कुनै सरकारी पदमा बस्न उसलाई यहि भ्रष्ट्राचारको मुद्दाले छेकबार गरिदिएको थियो अनि उसका केहि कार्यकर्ताहरु बाहेक देशका अधिकांश जनताले उसलाई अपराधीकै रुपमा देखेका थिए र देख्ने थिए। त्यसलाई स्वीकारेर बस्नु भन्दा उसंग अर्को बिकल्प पनि थिएन।
उसलाई पनि स्पष्टै थाहा छ, उसलाई लगाएको भ्रष्ट्राचारको मुद्दा झुठो मुद्दा थिएन। आफ्नो छातीमा हात राखेर जन्म दिने माताको कसम खाएर भन्नु प-यो भने उसले आफूले गरेको भ्रष्टाचार अबश्य पनि स्वीकार्नु पर्थ्यो। उसले आफूलाई लागेको आरोपलाई झुठो सावित गर्न नखोजेको पनि हैन र पहिलो फैसलामा न्यायालयले इज्जतका साथ निर्दोष साबित गरी घर पठाएकै हो। त्यो बेला सूर्यको उज्यालो जस्तै प्रष्ट देखिने उसको भ्रष्टाचारलाई नदेखे जस्तो गरी उसलाई निर्दोष साबित गर्ने न्यायालयलाई धन्यवाद दिनु भन्दा पनि न्यायाधीशहरुको नालायकीपन देखेर ऊ मनमनै हाँसेको थियो। तर समय चक्र कहाँ सधैँ एकै हुन्छ र? मौका पाउना साथ उसको सफलताको रिस गर्नेहरुले उसलाई फसाइहाले। त्यहि पुरानो मुद्दालाई उल्टाएर उसको लोकप्रियता देखि डराएका बिरोधीहरुले उसलाई जेल हालेरै छोडे। तिनै न्यायाधीश जसले उसलाई पहिलो पटक निर्दोष साबित गरेका थिए, तिनैले उसलाई दोस्रो दोषी साबित गरेर जेल पठाए।
के गर्नु देशको हालत यस्तै छ, न्यायको परिभाषा पनि सरकार परिवर्तन भए संगै परिवर्तन हुन्छ। न्यायको आँखा हुदैन भन्ने सबैले पढेकै हो र उसलाई राम्रैसंग थाहा छ त्यो भनाइ मात्र हो, बास्तविकता अर्कै थियो। उसले पंचायत काल देखि नै भोगेको थियो न्यायालय कसको स्वार्थ अनुसार चल्छ भनेर। पंचायत कालमा त देखाउन कै लागि भए पनि न्यायालय निस्पक्ष जस्तो थियो तर पछि पछि न्यायालयमा ठाडो हस्तक्षेप हुन थाल्यो, न्यायालयमा राजनीति घुसाइयो अनि त्यसपछि न्यायालय फेरी कहिले पनि निस्पक्ष हुन सकेन। न्यायलाई पैसाले किन्न थालियो, न्याय धनीहरुको लागि मात्रै सिमित भयो। यदि न्यायालय निष्पक्ष हुँदो हो त ऊ त जसरि पनि जेल पर्थ्यौ पर्थ्यौ किन भने उसले भ्रष्ट्राचार गरेकै हो तर ऊ जस्ता अरु सयौ नेताहरु पनि आज जेलको ढोका कुरिरहेका हुन्थे। तर ऊ त यौटा प्रतिनिधि पात्र मात्र भयो, अरु सबै उम्किए।
उसको एउटा अचम्मको बानी छ- बरु आफूले दु:ख पाइयोस तर आफ्नो शरणमा आएका याचकहरुले दुख नपाउन। कसैले यदि उसको मद्दत शुध्द मनले माग्यो भने उस दिलोज्यान लगाएर त्यो मद्दत गर्न कहिले पछि परेन। त्यसैले गर्दा त आफ्नो चुरीफुरी हुँदासम्म ऊ ठूलो र लोकप्रिय नेता भएको थियो। देशका अधिकांश नेताहरुले आफ्नै पोको मात्र भर्न खोज्छन, तर उसले आफ्नो पोको भन्दा जनताको पोको भरेको थियो। उसलाई नजिकबाट चिन्ने सबैलाई थाहा छ कि त्यो भ्रष्ट्राचार गरेको पैसा उसले अधिकांश भाग जनताकै लागि खर्च गरेको थियो। त्यसैले त आफ्नो त्यो कार्य सम्झंदा उसलाई अलिकति भए पनि सन्तुष्टि हुन्थ्यो।
चुनाव ताका होस् या अरु कुनै समारोहमा, अरुहरुले जस्तो उसले कहिले पनि झुठा र असम्भव आश्वाशन जनताहरुलाई दिएन। जे बोल्थ्यो, त्यो सकभर पुरै ताकत लगाएरपुरा गर्न खोज्थ्यो । अरु नेताहरुले जस्तो चुनाव ताका महलमा सुत्ने सपना देखाउने अनि चुनाव जिते पछि जनतालाई पिठ्यु देखाएर मन्त्रि पड्काएर आफू चाहिं महलमा बसेर जनताको झुपडी झन पछि झन झुत्रो बनाउने काम उसले कहिले गरेन। चुनाव जिते पनि नजिते पनि जनताका सुख दु:खसंग ऊ कहिल्यै बेखबर भएन।
तर के गर्नु अहिले उसको चुरीफुरी सकिएको थियो। जति आस्था र बिश्वास गरे पनि सत्ता र शक्तिमा नभएपछि जनताहरु पनि टाढिदै जाने रहेछन। सबैले बलेको आगो नै ताप्ने त हुन्। ऊ जेल चलान हुँदा उसको समर्थनमा नारा लगाउन गएका औलामा गन्न सकिने उसका समर्थकबाटै थाहा हुन्थ्यो उसको अहिलेको स्थान कहाँ र के थियो भन्ने। कुनै दिन उसलाई काँधमा राखेर अबिर र फुलमाला लगाई शहर घुमाउनेहरु अनि उसको एक आदेशमा आफ्नो ज्यान नै फाल्न तयार हुनेहरुले ऊ शक्तिमा नहुँदा उसलाई पिठ्यु फर्काएका थिए।
तर उसले माने पनि नमाने पनि राजनीतिमा कुरीति ल्याउनेहरुमा ऊ पनि एक हो। आफैले खनेको खाल्डोमा ऊ आफै प-यो। उसले त्यो सच्याउन चाहन्थ्यो तर सच्चाउने समय बितिसकेको थियो, उसको नाम भ्रष्ट्राचारीको रुपमा दर्ज भै सकेको थियो अनि विरोधीहरुले भ्रष्ट्राचारीको उदाहरण दिनु प-यो भने उसकै नाम लिन थालेका थिए।
ऊ त एउटा सानो भ्रष्ट्राचारी मात्रै हो। उसकै दलमा ऊ भन्दा कयौं गुणा भ्रष्ट्राचारी र अनैतिक नेताहरु छन। दल फुटाएर हुन्छ कि बिरोधिसंग मिलेर हुन्छ कि नैतिकता बेचेर हुन्छ कि जसरि पनि सत्ता र शक्तिमा बस्न चाहनेहरु आज ठूला ठूला नेता भएका छन। तर बिडम्बना जनताहरु तिनै भ्रष्टाचारी र अनैतिक नेताहरुलाई देशको मसिहा जस्तो गरेर पुजा गर्छन। ती ठूला ठूला भ्रष्टाचारी, अनैतिक, झुठ नेताहरुको सामु ऊ त एकजना सानो प्रतिनिधि पात्र मात्रै हो।
सायद समय यस्तै छ अनि देशको बातावरण पनि यस्तै छ, जति ठूलो र चर्को स्वरमा भाषण गरेर विपक्षीलाई गाली ग-यो त्यति प्रसिद्ध भइन्छ, सबैले चिन्छन, इज्जत गर्छन। जति धेरै झुठो आश्वाशन दिन सक्यो उति नै जनताले बिश्वास गर्छन। जति धरै आन्दोलन गर्न सक्यो, जति धेरै सडकका रेलिंग भाँच्न सक्यो, जति धेरै टायर बाल्न सक्यो अनि जति धेरै बन्दहरु सफल पार्न सक्यो त्यति छिटो राजनीतिक सफलताको सिढी चढ्न सकिन्छ।
हुन त उसले पनि त्यहि गरेको थियो कुनै समय। तर जीवनको उत्तरार्धमा जब उसले जीवनको महत्व र मूल्य बुझ्यो, राजनीतिक नेताको रुपमा आफ्नो कर्तब्य बोध भयो अनि उसलाई सद्बुद्धि पलायो। त्यसपछि उसले बिस्तारै अनैतिक काम गर्न छोड्यो। ठेकेदारहरुले ब्रिफकेशमा ल्याएको पैसाका मुठा फिर्ता पठायो, नातेदारहरुबाट छोराछोरीलाई जागिर लगाइदिन भनेर आएको बिन्तीलाई अस्विकार ग-यो। बिदेशी हरुको टट्टू बनेर उनीहरुको इशारामा नाच्न इन्कार ग-यो, बिरोधीहरुलाई गालीगलौज गर्न बन्द ग-यो, आफ्नो स्वार्थको लागि नैतिकता बेच्न छोड्यो, तस्करहरुलाई गाली गर्न थाल्यो, काला बजारिहरुसंग सम्बन्ध तोड्यो, भ्रमित कुराहरु गरेर जनतामा विभाजन ल्याउने काम गर्न छोड्यो। तर ती सबै कुकर्म छोडेर सच्चा राजनीतिज्ञ भएर काम गर्न थालेको केहि महिनामै उसलाई जेल यात्रा गर्नु प-यो। तिनै भ्रष्ट ठेकेदार र कर्मचारीहरु थिए जसले कुनै समय ठेक्कापट्टा मिलाउन उसको खुट्टै चाट्नु परे पनि चाट्ने जस्तो गर्थे, तिनै काला बजारीहरु र तस्करहरु थिए कुनै समय करौडौ बोकेर उसलाई भेटी चढाउन उसको घरमै धाउँथे, तर उसले नैतिकताको राजनीति गर्न थाले पछि अदालतमा उनीहरुले नै उसलाई आफूहरुसंग पैसा लिएको, कमिसन लिएर ठेक्का मिलाएको, कालाबजारीहरु र तस्करलाई संरक्षण दिएको जस्ता बयान दिएका थिए।
हाम्रो संस्कृति नै भैसकेको छ कि जति ठूलो भ्रष्ट्राचारी भयो, जति ठूलो गुण्डा भयो, जति धेरै अनैतिक भयो, जति ठूलो झुठ कुरा गर्न सक्यो उति नै ठूलो नेता भईदो रहेछ, उति नै ठूलो पद र सम्मान पाइदो रहेछ। उसलाई पनि पहिले हेक्का भएको भए सायद ऊ पनि त्यो तर्फ लाग्ने थियो, ऊ अझ ठूलो सम्मानको भागिदार हुन्थ्यो।
यदि अन्य ठूला कहलिएका नेताहरु जस्तै ठूलो भ्रष्ट्राचारी, हत्यारा, धेरै नैतिक पतन भएको अनि सरासर झुठ बोलेर जनताको आँखोमा छारो हाल्न सकेको भए ऊ पनि आज जेल बाहिर हुन्थ्यो होला, कुनै दिन उपप्रधानमन्त्री या प्रधानमन्त्रि हुन पाउथ्यो होला। त्यतिबेला शक्तिमा भएको बेला अलि ठूलो भ्रष्ट्राचार किन गरिएन होला, किन धेरै मान्छे मारिएन होला, किन ठूला ठूला झुठ बोलिएन होला, किन असम्भव आश्वासन दिईएन होला अनि के मति बिग्रेर नैतिकताको राजनीति गर्न थालियो होला भनेर पश्चातापमा डुब्नु बाहेक उसंग के नै उपाय बाँकी रह्यो र?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु