बुद्धल्यान्ड टु स्विजरल्यान्ड र यात्रास्पर्श अवधारण

- दीपक सुवेदी

गतिमा नै शक्ति छ, बग्दो पानीबाटै ऊर्जा प्राप्त हुन्छ । यात्रा बग्दो पानी जस्तै हो, जसमा शक्तिको स्रोत लुकेको हुन्छ । जुन जातिले जति यात्रा ग¥यो, त्यो जाति नै संसारमा सभ्य, सुसंस्कृत र समृद्ध देखापर्दछ । यात्राबाटै भूगोल र इतिहास आदिसँग सम्बन्धित नयाँ नयाँ वस्तु, स्थान र दृश्यज्ञानका द्वारहरु खुल्दछन् । जसरी क्रिष्टोफर कोलम्बसले समयको अनकण्टारमय दुरूहतामाझ पनि यात्रा नगरेका भए उसैबेला अमेरिका पत्तै लाग्दैनथ्यो होला । एडमण्ड हिलारीले आफ्नो जीवनको आरोहअवरोधमा सगरमाथाको चुचुरो चुम्ने धृष्टता नगरेका भए आज यो गौरवमय इतिहास अर्कैका नाममा हुन्थ्यो होला ।
यात्रा साहित्यको प्रारम्भिक इतिहासलाई हेर्नु पर्दा ग्रीसका यात्रु तथा भूगोल विद् पौसानीयसलाई जान्छ । उनले ग्रीसको बारेमा शताब्दीताका हेलामडोस पेरिजेरसिस भन्ने किताबमा ग्रीसको बारेमा वर्णन गरेको पाइन्छ । त्यो नै पौराणिक तथ्य सावित भएको छ । पछि आएर यात्रा साहित्य मध्ययुगीन चीनको सोङ् राजा (९६०–१२७९) का समयमा लोकप्रिय भएको देखिन्छ ।
भनिन्छ, नेपाली साहित्यमा शुरूमा लेखिएका यात्रा निबन्धहरू यात्रा विवरणमात्र हुन् । त्यसमा लेखकको निजी अनुभव र अनुभूतिभन्दा भ्रमण गरिएका स्थान, भेटिएका व्यक्ति र गरिएका कुराकानीका प्रसङ्गहरू ज्यादा पाइन्छन् । १५५० तिरको यात्रा विवरणलाई पूर्ण रुपमा आधार बनाएको राजा गगनीराजको यात्रा नै पहिलो उपलब्ध यात्रा मानिन्छ । यसपछि लगभग ३६० वर्षको अन्तरालमा जङ्गबहादुरको बेलायत यात्रा (१९१०, सं. कमल दीक्षित) फेला पर्दछ । साहित्यको आरनमा हेर्दा यसले निकै ठूलो र फराकिलो भूमिका निर्वाह गरेको देखिन्छ ।
नियात्रा शब्द नेपालीमा मात्र प्रयोग भएको पाइन्छ । यसको सैद्धान्तिकीकरण गर्ने बालकृष्ण पोखरेल हुन् । उनले वि. सं २०२५ मा प्रकाशित तारानाथ शर्माको बेलायततिर बरालिँदा पुस्तकको भूमिकामा सर्वप्रथम यस शब्दको प्रयोग गरेका गरेका थिए । यसले वि. सं. २०४० मा मात्र बृहत् नेपाली शब्दकोशमा प्रवेश पाएको देखिन्छ ।
नियात्रा शब्दको व्युत्पत्ति यात्रा निबन्धबाट भएको हो । निबन्ध शब्दबाट नि उपसर्ग झिकी यÞात्रा शब्द लगाएर यात्रानिबन्धको अर्थमा नवनिर्माण गरिएको शब्द हो । निबन्धमा झैँ यसमा पनि निजात्मक अनुभूतिको उपस्थिति रहनु आवश्यक हुन्छ । यात्रा विवरण दिँदैजाँदा आफ्ना रागात्मक अनुभूति र संवेदनालाई समेत अभिव्यक्ति दिदैँ आत्मपरक शैलीमा चमत्कारिता सहित लेखिने नियात्रा हो ।
आजको युग सुहाउँदो स्थापित मूल्य, मान्यता, प्रणाली, सिद्धान्त, शिल्प शैली नवीनता, कलात्मकता, गतिशीलता, वैज्ञानिकता आदिमा समुचित विकास हुँदै पश्चिमी परम्पराले प्रवेश गरेको र समसामयिक युगसँग सम्बन्ध राख्दै आफ्नै ढाँचामा प्रकट भएको यस युगसम्म आइपुग्दा यस विधामा धेरै परिवर्तन भएको पाइन्छ । यसै सन्दर्भमा केदार संकेतले यस नियात्रालाई फरक मतका साथ यात्रास्पर्श भनेकाछन् ।
केदार संकेतले बुद्धल्यान्ड टु स्विजरल्यान्ड (२०७५) पुस्तकमा भनेका छन्– “साहित्यमा यात्रा साहित्य नयाँ विधा भने होइन । मात्र समयको कालखण्डमा यो विघटन, विनिर्माण हुँदै यसमा नौलो रुप लिएर उदय हँुदै गएका मात्र हुन् । हामीले (रामकृष्ण आँकाला, विश्वासद्वीप तिगेला, उत्तम कातिँच, लारा “लक्ष्मी” राई र केदार संकेत) विश्व साहित्यमाझ फेरी यात्रा निबन्धलाई यात्रा स्पर्शको नामकरणले नेपाली साहित्यलाई एक नितान्त नयाँँ रुप दिँदै वि.स. २०६७ सालमा यात्रा स्पर्शको पहिलो अवधारणा वि Þके पाण्डेद्वारा सम्पादित, वर्ष ७, अंक २३, नोभेम्बर ९, २०१० मा बेलायतमा प्रकाशित गरी सकेकाछौँ ।”
भनिन्छ– यात्रा गर्दा मान्छे मजैसँग हराउँछ र त्यही समयमा उसले आफूलाई अर्कै स्वरुपमा भेट्छ पनि । यसरी भेटिनुको कारण उसको मनमा सङ्कलित अनुभव एवम् अनुभूतिको भण्डार नै हो । त्यसले नयाँ जीवनको नियात्रा लेखिसकेपछि मात्र मूर्तता प्राप्त गर्छ । यात्रालाई साहसिक विचरणका रुपमा लिने केदार सङ्केतको बुद्धल्यान्ड टु स्विजरल्यान्ड १४ वटा नियात्राहरुको अभिव्यञ्जनात्मक सङ्कलन हो । यात्राका सन्दर्भमा आएका कटुमधु अनुभवलाई रसात्मक अनुभूतिमा घोलेर अभिव्यक्ति गर्ने कलात्मक भ्रमण पनि हो । यही कलात्मक भ्रमण संकेतका यात्रास्पर्शमा पाउन सकिन्छ । केदारले यात्राका क्रममा भेटिएका र पाएका अनेकौँ सूक्ष्म सूचनाहरु समेत उल्लेख गरेको संग्रह हेर्दा लाग्छ, यो यात्रास्पर्श सत्य तथ्यहरुको संकलन पनि हो ।
यात्रा भनेपछि हुरुक्कै हुने संकेत सहरको यात्रालाई पटक्कै मन पराउँदैनन् । यात्रामा संकेत मन पराउँछन् त पहाडका खोला, भँगाला, कुलेसा अनि उकाली र ओह्रालीहरु । उनी भन्छन्– “यात्रामा झरीले निथ्रुक्कै रुझाओस् । भुईंकुहिरोले नछोपेको पहाड के पहाड ? यो जगत् वरिपरि जे छ, त्यो सर्वोपरि वस्तुसँग नाङ्गो स्पर्श होस् । घाम र जून त मेरा प्रिय ग्रहहरु हुन् । किनकि यी ग्रहसँगसँगै कुनै दिन धर्तीमुनि लुक्नु त छँदै छ । मलाई यस्तै यस्तै लाग्छ, यात्राभित्र तैरिँदा ।”
यात्रा गर्नु भनेको एकैपटक बाहिरको सुन्दर जीवनलाई सुमसुम्याउनु र आफैँभित्रको विशाल संसारमा प्रवेश गर्नु पनि हो, बुद्धल्यान्ड टु स्विजरल्यान्डका नियात्राहरुले यस्तै फरक जीवन र नवीन संसारको कलात्मक उत्खनन गरेका छन् । उनका नियात्राहरुमा पहाड र हिमालको प्रभाव ज्यादा छ तर पनि उनले बुद्धल्यान्ड लुुम्बिनीको यात्रालाई पनि विशेष महत्वका साथ स्थापित गरेका छन् ।
यात्रा सप्पैमा आनन्दको अनुभूति हुन्न । तर हामी सबैले भन्ने गरेको छौँ यात्रामा आफ्नै एक नितान्त हुन्छ । देखेर, भोगेर, छामेर, अनुभवीय अनुरुपता स्वरुप विचार, रुप भावना, भित्री वस्तुताको खोज र प्रभावका कारण र अनुभूतिहरुसँग वय खेल्दै यात्रामा भेटिएका रोमाञ्चक दृश्य र घटनासँग साक्षात्कार हुँदै एक परिवेशबाट अर्काे परिवेश, एक गाउँबाट अर्को गाउँ, एक देशबाट अर्को देश, अर्काे कुनै पनि देशको भूगोल, त्यहाँको जीवनशैली, संस्कृति, राजनीति, आर्थिक, रहनसहनहरुलाई एक यात्रीले शब्दमा, डकुमेन्ट्री, चलचित्रका पर्दामा, चित्रमा एक गहिरो अनुसन्धानात्मक हृदयमा उब्जेका–भावविभोरलाई वर्णन गर्नुनै यात्रा स्पर्श हो ।
अर्थात विचार, भावना, भित्री वस्तुताको खोज र उक्त ठाउँको प्रभाव गरी चार तत्व मिमांसा सम्प्रेषण भएको हुनुपर्छ भन्दै केदार संकेतले तामेडाँडाको तामा खानी, बेलायतको वेल्समा गोरा पण्डितहरु, नयाँघरेसँग नाल्दुङ्को खोर्याङ भीरमा, बुद्धल्यान्ड टु स्विजरल्यान्ड, केफालोनियामा ओलिभ टिप्दा, दुबईको पेरोनी, मुक्तिनाथको मखलर, बेल्जियमको वनमा हराउँदा, पेरिसको झुप्सीमा, बुर्जखालिफामा तिन कवि, एभरेष्ट बेस क्याम्प, हाउली तालको माछा, महारानीको दरबार र स्विजरल्यान्ड त नेपाल जस्तै शीर्षकमा जीवनलाई सुमसुम्याएका छन् ।
यात्रासँग जोडिन रुचाउने परिचय बनाएका केदार संकेतको भाषा सरल, सहज र मन लोभ्याउने छ । भाषा सरल हुनु, शैलीमा रमणीयता रहनु, अभिव्यक्तिमा गहनता लुक्नु नै उनको लेखनशैलीको विशेषता हो । स्वदेशको यात्रा गर्दा उनको मुटु देशप्रेमले उम्लिन्छ र अतीत प्रेमले भक्कानिन्छ । यात्राले दिने सूचना, सन्देश र सिर्जनात्मक छापको उदात्त लेखनकलामा यो कृति रचनाबद्ध छ ।
आफुले यात्रा गरेको स्थानको बाहिरी र स्थूल पक्षको मात्र वर्णन नगरी त्यहाँको जनजीवन, मानसिकता र देशकै समग्र मनोभावको सूक्ष्म निरीक्षण गरी आफ्नो मनोराग समेतको अभिव्यञ्जना गरिएको पाइन्छ । सरल ढंगले आफ्ना अनुभूति पोख्न सिपालु केदारले आफ्ना यात्रास्पर्शमा विदेशको वर्णन रमाइलो ढंगले पोखेका छन् । यिनका यात्रास्पर्शमा जिज्ञासापूर्ण, भावसंयोग, भावपूर्ण, तार्किकता, रोचक विषयवस्तुको प्रस्तुति र जीवन्तता पाइन्छ ।
संकेतले पाठकलाई पनि आफुसँगसँगै लगेर गएझैँ रागात्मक, आत्मीयता, पाठकसित एकालापीय ढाँचामा भावना, चरित्र, दृश्यका लहरमा पाठकलाई बाँध्न, डो¥याउन र घुमाउन सबल, सक्षम र सफल छन् । यात्राका अनुभूतिको प्रस्तुतिकरण, जानकारी र संस्मरणको सम्मिश्रण, सूक्ष्म निरीक्षणबाट पाएको ज्ञानको अभिव्यक्ति आदि जस्ता कुरा नै केदार संकेतको बुद्धल्यान्ड टु स्विजरल्यान्ड यात्रास्पर्शको लेखनगत उपलब्धी हो ।

गौरादह, झापा

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु