रोमबाट किट्सलाई पच्छाउँदै लन्डनसम्म

- कृष्ण बजगाईं

‘यहाँ एक जना हुनुहुन्छ जसको नाम पानीमा लेखिएको थियो ।’ एक रोमान्टिक कवि आफ्नो समाधिस्थलको शिलामा उपरोक्त कुरा मात्र होइन आफ्नो नाम र जन्म मिति समेत गोप्य राखियोस् भन्ने इच्छा राख्छन् । उनकै इच्छा अनुसार बनाइएको समाधिस्थल संसारभरका कवि तथा साहित्यकारको तिर्थस्थलको रुपमा ख्याति कमाएको थाहा पाउँदा आश्चर्य चकित हुन्छु । नाम, दाम, पुरस्कार र सम्मानका भोका साहित्यकारहरु संसार प्रसिद्ध ती कविको समाधिस्थल पुगे भने तिनका मनमा कस्ता कुराहरु आउँदा हुन् ? मेरो मनमा अनेकन तर्कना चल्छन् । मलाई लागेको छ, ती कविको समाधिस्थलले लोभी र लालची साहित्यकारहरुलाई अवश्य गिज्याइरहेको हुनु पर्दछ ।
सन् २०१७ को अगष्टको पहिलो साता रोम सहरमा फुकाफाङ भएर बरालिरहेको थिएँ । मध्य दिउँसो चर्को घाममा पर्यटकिय आकर्षण ‘स्पेनिश स्टेप्स’ नामको ढुंगे सिँढी उक्लिरहेका पर्यटकको भिडलाई पच्छ्याउँदै थिएँ । स्पेनिश स्टेप्ससँगै जोडिएको भवनमा दुईजना बेलायती कविको नाम लेखिएको थाहा पाउने बित्तिकै मेरा पाइला रोकिए । अहा ! कवि जोन किट्स र शेलीको नामका स्थापना गरिएको म्युजियम ‘किट्स–शेली मेमोरियल हाउस ।’ मेरा आँखा त्यहीँ टाँसिए । बेलायतीको कविको नाममा इटालीको रोम सहरमा किन म्युजियम संचालनमा ल्याइएको होला ? केही अनुमान गर्न सकिन ।
‘स्वदेशे पूज्यते राजा, विद्धान सर्वत्र पूज्यते’ भन्ने कुरा कतै पढेको थिएँ । कविलाई विद्ववान मानिन्छ वा मानिदैन मलाई थाहा छैन । ‘कवि सर्वत्र पूज्यते’ भनेर कतै लेखिएको छ कि ? त्यो पनि मलाई थाहा छैन । तर इटालीमा बेलायती कविले पाएको सम्मान देखेर मन प्रफुल्ल भयो । दुःखको कुरा, समयको अभावले गर्दा म्युजियम अवलोकन गरेर कविसँग साक्षात्कार गर्ने अवसर गुमाउनु पर्यो । मन अलिक खल्लो भयो । एकछिन् स्पेनिश स्टेप्समा उभिएर म्युजियमलाई बाहिरबाटै हेरेँ । म्युजियमको भित्तालाई स्पर्श गरेँ । म्युजियमको रुपमा संचालित उक्त घरमा करिव एक वर्ष जति कवि किट्स बसेका थिए । र त्यहीँ उनको निधन भएको थियो । कविको स्मृतिमा रोम सहरमा संचालनमा ल्याइएको म्युजियम देखेपछि नै किट्सप्रति बढी आकर्षित भएँ । बेलायत फर्केपछि कवि किट्सका बारेमा खोजिनीति गर्ने निर्णय गर्दै स्पेनिश स्टेप्समा पाइला चाल्न थालेँ ।
सन् १९९४ देखि साहित्यिक पर्यटक भएर चीन, जर्मनी, बेल्जियम, लक्जेम्वर्ग, फ्रान्स, बेलायत, इटाली आदि देशको यात्रा गरिसकेको छु । गत वर्ष खुब यात्रा गरियो । आगामी दिनमा पनि साहित्यिक पर्यटन जारी नै रहने छ । मेरा पाइला यात्रा भनेपछि त्यसै उचालिन्छन् । यात्रामा पहाड, झरना, पार्क, समुद्र आदिमा रमाउनु भन्दा इतिहास, कला, संस्कृति, साहित्य आदिको खोजीनीति गर्न निस्कदा बढी आनन्दित हुने गरेको छु । यात्राले मेरो ज्ञानको दायरा फराकिलो बनाउँदै लगेको छ । जतिजति विदेशको यात्रा गर्दछु उतिउति आफ्नो देश चिन्दै र बुझ्दै जान्छु ।
बेलायतमा साहित्यिक पर्यटन शब्दावली खुब प्रचलित छ । र, यहाँ थुप्रै साहित्यिक पर्यटकहरु देखेको छु । साहित्यिक पर्यटन भन्नाले कुनै लेखक, साहित्यकारको जन्मस्थान, घर, डेरा र साहित्यकारको समाधिस्थलसम्मको यात्रालाई बुझाउँदछ । त्यति मात्र होइन कुनै उपन्यास वा कथाका काल्पनिक पात्र हुन् वा लेखक स्वयँ हिँडेको बाटो वा बास बसेको स्थानको भ्रमण समेत साहित्यिक पर्यटन अन्तर्गत पर्दछ । कसरी लेखकको निवास वा जन्मस्थानले तिनको लेखनमा प्रभाव पार्यो ? कसरी त्यस स्थानमा बसेर उच्चकोटी सिर्जना गर्न सफल भए भनेर साहित्यिक पर्यटकले अध्ययन गर्दछन् । लेखक र तिनका लेखनमा उल्लेखित स्थानका बारेमा सकेसम्म धेरै जानकारी लिन्छन् । वास्तवमा मैले साहित्यिक पर्यटनलाई बौद्धिक यात्रा मानेको छु । यस्ता यात्रामा मनोरंजन र आनन्द भन्दा पनि ज्ञान प्राप्तीको अभिलाषा हुन्छ । यस्तै चाहानाले मलाई साहित्यिक पर्यटक बनाएको छ । चीनमा कवि त्यू फूको निवास्थान, बेलायतमा शेक्सपियरको जन्मघर, आर्थर कोनन् डायलको काल्पनिक पात्र शर्लक होम्स हिँडेको बाटो, शर्लक होम्सको म्युजियम, चाल्र्स डिकेन्सको डेरा, जर्ज बर्नाड शको निवास, शरणार्थी भएर लन्डनमा बसेको सिगमण्ड फ्रायडको घरदेखि कार्ल माक्र्सको समाधिस्थलसम्मको यात्रा गरेको छु । र तिनका बारेमा नियात्राकृतिमा वर्णन गरेको छु ।
नेपालमा साहित्यिक पर्यटकहरु छन् कि छैनन् मलाई थाहा छैन । तर तिनले जाने ठाउँ भने मैले देखेको छैन । भएका केही ठाउँको न त प्रचारप्रसार छ, न त संरक्षण । सरकारसँग साहित्यिक पर्यटन विकाशका लागि कुनै सोंच छैन । तिनको संरक्षण गर्नु पर्दछ भन्ने चेत कसैसँग छैन । तर पनि परदेशको भूमिबाट मेरा आँखाले काठमाण्डौंलाई साहित्यिक पर्यटकिय स्थलको रुपमा विकाश गर्न सकिने प्रशस्त ठाउँ देखेको छ । नाम चलेका साहित्यकारहरु काठमाण्डौंमै आएर बसेका थिए । र अझै पनि बसिरहेका छन् । साहित्यिक पर्यटनको सुरुवात त्यहीँबाट गरे हुन्छ । पछि क्रमशः अरु स्थानमा विस्तार गर्दै लैजादा हुन्छ । त्यत्रो सम्भावना हुँदाहुँदै साहित्यिक पर्यटनको विकाश र प्रवद्र्धन गर्न किन कदम चालिदैन ? चीन र युरोपका देशहरुमा साहित्यिक पर्यटक भएर भ्रमण गरे पश्चात मनमा हरसमय उठिरहने यस्ता प्रश्नहरुले रन्थनिने गरेको छु ।
रोमबाट बेलायत फर्केपछि फेरि उही यान्त्रिक दिनचर्या सुरु भयो । बेलायतमा समय, परिवेश र बाध्यताले मानिसलाई ब्यस्त मात्र होइन दास बनाउँछ । त्यसमाथि पनि वर्षका अधिकांश चिसा दिनहरुले मानिसलाई कोठाभित्र खुम्च्याउने गर्छ । बिचरा चिसोको के कुरा गर्नु ? चिसो आफैं कठ्यांग्रिएर बस्न बाध्य हुन्छ । यसैबीच फरवरी महिनामा चिसोको कठोर साम्राज्य चलिरहेको बेला अचनाक एउटा खुशीको न्यानो घामले लन्डनमा पाइला टेक्यो । त्यसले तनमा उष्णता थप्यो । र फुरुङ बन्यो मन । त्यो खुशी कवि जोन किट्सलाई देखाउन ट्रेन चढेर साहित्यकार विजय सापकोटा र म उनको निवास तिर लाग्यौं ।
लन्डनमा अवस्थित ‘हेम्सटेड हीथ’ टे«न स्टेशनबाट बाहिर निस्कँदा धुम्म परेको अल्छिलाग्दो दिन थियो । फूर्तिलो मन लिएर स्टेशनबाट ‘किट्स हाउस’ तिर पाइला चल्न थाले । करिव पाँच मिनेटको पैदल यात्रामा उही जब्बरे जाडो अगिपछि लागि रह्यो । किट्स हाउस लेखेको सूचना पाटीको ठीक अगाडि पुगेर रोकिएँ । मेरा नजर चारैतिर दौडन थाले । कम्पाउण्ड भित्र दुईसय वर्ष भन्दा पनि पुरानो भवन कविको सम्झना बोकेर साहित्यिक पर्यटकहरुलाई स्वागत गर्न तम्तयार भएर बसेको देखेँ । यताका कवि तथा साहित्यकार त क्या भाग्यमानी ! नेपालका साहित्यकारहरुलाई सम्झँदै इष्र्यालु नजरले किट्स हाउसलाई हेर्न थालेँ ।
‘किट्स हाउस’लाई सिटी अफ लन्डनको रेखदेखमा म्युजियमको रुपमा संचालन गरिएको छ । तर त्यो निकै ठूलो मेहनत पश्चात मात्र म्युजियममा परिणत भएको संघर्षको कथा छ । उक्त भवन किनबेचका कारण विभिन्न व्यक्तिहरुको स्वामित्व परिवर्तन हुँदै आइरहेको अवस्थामा पछिल्लो पटकको घर धनिले त्यसलाई भत्काएर सोही ठाउँमा नयाँ मोडलको घर तयार पार्न खोजेका थिए । स्थानिय जनता र किट्सका प्रशसंकहरुको लामो संघर्ष र घोर विरोधका कारण कविको सम्झना नासिएर जान पाएनछ । कविका प्रशंकहरुले पैसा जुटाएर म्युजियमको रुपमा त्यसलाई स्थापित गरिछाडे । यस घटनाले आफ्नो देश नेपालका जिर्ण र उपेक्षित अवस्थामा रहेका कवि साहित्यकारका निवासलाई सम्झन्छु । जनस्तरबाट पहल थाल्ने हो भने सरकारलाई दवाब दिएर तिनका स्मृतिलाई ताजा राख्न सकिन्छ । यस्ता कार्यका लागि किन ढिला भइ रहेको छ ? अटेसमटेस भएर बसेका मेरा मनका असन्तुष्टिहरु किट्स हाउस अगाडि पो निस्कन थाले !
म्युजियमको रुपमा संचालित कविको निवास भित्र अवलोकन गर्नु अगि मेरो नियात्रासङ्ग्रह ‘भाया साक्रा’ सार्वजनिक गर्नु थियो । केही वर्षयता मेरा पुस्तकहरु कुनै अतिथि, सहभागी, मंच र माइक बिना म आफैंले सार्वजनिक गर्ने गरेको छु । ती पुस्तकहरु कवि, साहित्यकार, दार्शनिक आदिका निवासदेखि समाधिस्थलमा सार्वजनिक भएका छन् । यसरी पुस्तक सार्वजनिक गर्दा मलाई ठूलो सन्तुष्टी मिलेको छ ।
‘दाइ रेडी...।’ म तिर क्यामरा तेस्र्याउँदै विजयजीले लेघ्रो तान्नु भयो । मैले सन् २०१८ को फरवरीमा प्रकाशित दोस्रो नियात्रासङ्ग्रह ‘भाया साक्रा’लाई प्रेमपूर्वक दुई हातले उठाएर मेरो मुटुको समिपमा पुर्याएँ । मुटुले त्यसलाई सहर्ष स्वागत गर्यो । वास्तवमा उक्त कृति र मुटुबीच गहिरो सम्बन्ध छ । मुटुभित्रका सबै भावना र यात्राका अनुभूतिहरु उक्त पुस्तकमा पोखेको छु । क्लिक... क्लिक... क्लिक... क्यामराबाट एक दर्जन भन्दा बढी आवाजहरु निस्के । ती आवाज मेरा लागि मंगलधुनहरु थिए । दर्शक तथा स्रोताका तालीका गडगडाहाट थिए । यसरी ‘भाया साक्रा’ रोमान्टिक कविको निवासमा सार्वजनिक भयो । गर्वले ढक्क फुलेँ । विजयजीले मलाई बधाई दिनु भयो । आधा मिनेट भन्दा कम समयमा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । खुशीले गदगद भएँ । प्रसन्न मन लिएर हामी म्युजियमको कम्पाउण्ड भित्र प्रवेश गर्र्यौं ।
सन् १७९५, अक्टोवर ३१ का दिन लन्डनमा जन्मिएका किट्स हाल म्युजियमको रुपमा संचालित निवासमा जीवनको उत्तारार्धमा जम्मा दुई वर्ष भाडामा बसेका थिए । वास्तवमा त्यो घर किट्सका मित्र नाटककार चाल्र्स ब्राउनको थियो । उक्त निवासको अर्को कोठामा बस्ने युवती फेन्नी ब्रनसँग प्रेममा परेका कारण त्यस भवन ‘होम अफ रोमान्स’ उपनामले पनि चिनिन्छ । उतिबेलाका कवि, लेखक, गायक तथा संगीतकारहरु भेटघाट गर्ने र तिनका बारेमा चर्चा गर्ने थलोको रुपमा त्यस भवनले ख्याति कमाएको थियो । त्यही घरमा किट्सले आफ्नो जीवनकालको उत्कृष्ट रोमान्टिक कविता मात्र लेखेनन्, प्रगाढ प्रेममा परे । उनको प्रेम कस्तो थियो भन्ने कुरा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्रको बजार मुल्य र शब्दहरुबाट थाहा हुन्छ । त्यस प्रेमपत्रको एउटा शब्दको मुल्य हजारौं रुपैयाँ भन्दा कम छैन होला । पत्याउनै गाह«ो छ, पछिल्लो पटक उनको प्रेमपत्र अहिलेको सटही दर अनुसार एक करोड त्रिचालिस लाख नेपाली रुपैयाँमा लिलामी भएको थियो । सार्वजनिक रुपमा लिलामी भएको प्रेमपत्रको मुल्य नपत्याएर भो ? कविले के लेखेका थिए होलान् उक्त पत्रमा ? धेरै पहिलेदेखि मनमा खुल्दुली लागिरहेको छ ।
वास्तवमा त्यस निवासका दुई वर्ष किट्सको जीवनमा प्रेम र काव्य सिर्जनाको उर्वर काल थियो । किट्सलाई कविता लेख्न उर्जा दिने ऐतिहासिक महत्वको निवास भित्र पुग्न हामी छिट्छिटो पाइला चाल्दै थियौं । उसो त हामीलाई घर फर्कन हतार थिएन । किन हो कुन्नी, भित्र प्रवेश गर्न हामी त्यसै हतारिरहेका थियौं ।
चिकित्सा पेशा अध्ययन गरेर एक वर्ष सोही पेशामा अस्पतालमा काम समेत गरेका किट्स मेडिकल लाइन छाडेर पूर्णकालिन कवि बनेको अचम्म लाग्दो घटना छ । कवि लि हन्ट र शेली लगायतका मित्रहरुको सरसंगत र हौसलाका कारण किट्स मेडिकल पेशालाई तिलांजली दिएर कविता कर्ममा होमिएका थिए । कविता प्रति उनको त्यस्तो प्रेम थाहा पाउँदा म चकित हुनपुग्दछु । उसबेला धनिमानि कुलिन कविहरुको बोलवाला भएको समयमा आर्थिक अवस्था सामान्य भएका किट्स कुन शाहास र आत्मविश्वासका कारण पूर्ण कालिन कवि बन्ने जोखिम उठाए ? लाग्छ उनी कविता लेख्नका लागि नै जन्मेका थिए ।
बिडम्वना, जीवित हुन्जेल किट्सका कविता मन पराइएन । जब उनको निधन भयो, त्यस पश्चात मात्र उनको कविताको चर्चा हुन थाल्यो । उन्नाइसौं शताब्दीको अन्त्यसम्म त उनी चर्चाको शिखरमा रहे । र अहिले पनि उनको कविताको लोकप्रियतामा कमि आएको छैन । उनी सदाबहार कवि हुन् । संसारभरका विभिन्न विद्यालय र विश्वविद्यालयहरुमा उनका कविता पढाई हुन्छ । २६ वर्षको युवा उमेरमा निधन भएका कविका कविताले अहिलेसम्म संसारमा पारेको प्रभाव देखेर छक्क पर्दछु ।
शेक्सपियर, स्पेन्सर र मिल्टनबाट किट्स खुब प्रभावित थिए । कवि वर्डसवर्थका प्रसशंसक थिए । तर आफ्ना समकालीन कवि लर्ड बायरनसँग अस्वस्थ प्रतिस्पर्धा थियो । उनीहरु एकले अर्कालाई प्रतिद्धन्द्धी कवि जस्तै ठान्दथे । किट्सले एकपटक भनेका थिए–‘लर्ड बायरन र मेरो बिचमा ठूलो असमानता छ । उनी जे देख्छन् त्यसैको ब्याख्या गर्दछन्, म जे कल्पना गर्दछु त्यसको व्याख्या गर्दछु । मेरो काम अत्यन्त कठिन छ ।’ वास्तवमा उनका कविता पढ्दा थाहा हुन्छ उनी कल्पनाको बायुपंखी घोडामा सवार भएर लेख्दथे । उनका कविता पढेपछि हरकोही मुग्ध हुन्छन् । म चाहीँ प्रकृतिसँगको निकटता, कल्पनाशिलता र चित्रोपम शैलीका कारण उनका कविता पढेर आनन्दित हुने गरेको छु ।
प्रवेश शुल्क तिरेर म्युजियममा प्रवेश गरेपछि हाम्रा जिज्ञाशु नजर दौडन थाले । अवलोकन गर्दै जाँदा बैठक कोठामा पुग्यौं । किट्सलाई लेख्न उत्प्रेरणा दिने त्यही बैठक कोठा रहेछ । त्यहाँ राखिएको सोफामा बसेर किट्स झ्याल बाहिरको प्रकृतिमा विचरण गर्दथे । कविताका अनेक प्लटहरु त्यहीँ बनाउँदथे । बगैंचामा गएर प्रकृतिसँग साक्षात्कार गर्दथे । बेला बेलामा आफ्नो प्रेमको रोमान्टिक क्षण सम्झेर रमाउँदथे । कविता र सच्चा प्रेम बाहेक संसारका अरु कुनै वस्तु नदेख्ने किट्सको व्यवहार एक खालको पागलपन लाग्यो मलाई । सायद कवितामा उनले अर्जुनदृष्टि लगाएका थिए र त त्यसमा सफलता मिलेको होला भनेर अनुमान गर्दछु ।
केही वर्ष यतादेखि कविता भन्दा उनको प्रेमपत्रमा बढी आकर्षित भएको छु । किट्स हाउसमा उनको प्रेमपत्र प्रदर्शनीमा राखिएको कुरा समाचारपत्रमा पढेको थिएँ । उनको सुन्दर अक्षर र प्रेमिकालाई वशिभूत पार्ने शब्दको बान्की हेरेर जाने तिब्र इच्छाले म्युजियम भित्र मेरा नजर अस्थिर थिए । मेरा आँखा त्यस म्युजियमका अन्य वस्तुमा सरसर्ती मात्र नजर लगाउँदथे । खासमा म उनको प्रेमपत्र खोजिरहेको थिएँ ।
भुइँ तलाको कोठाका विभिन्न सामग्रीको अवलोकन गर्दै जाँदा त्यहाँ रहेका जोन किट्स र चाल्र्स ब्राउनको अर्धकदको शालिक अगाडि पुग्यौं । ती स्रष्टालाई नमन गर्दै तिनका नजिक उभिएर हामी दुईले फोटो लियौं । अहो ! मलाई त कवि किट्सकै समिपमा भए जस्तो अनुभूति भयो ।
त्यहाँबाट निस्केर हामी अर्को हलमा प्रवेश गर्यौं । कुना छेउमा राखिएको एउटा आगन्तुक पुस्तिकामा नजर पर्यो । नेपाल चिनाउने गरी कविका नाममा मैले केही वाक्य लेखेर हस्ताक्षर गरेँ । त्यो मेरो तर्फबाट कविलाई चढाइएको सम्मान थियो । मेरो कवि मन खुशीले उचालियो ।
उक्त हल विशेष गरि स्कूलका बच्चाहरुका लागि शैक्षिक क्रियाकलाप गर्नका लागि छुट्याइएको रहेछ । त्यहाँ आएर विभिन्न क्रियाकलापमा संलग्न हुने स्कूले बच्चाहरुलाई अवश्य पनि कविता लेख्ने प्रेरणा मिल्दो होला र त त्यहाँ कार्यक्रमको आयोजना गरिदो हो भनेर अडकल गर्दछु । सोही हलमा वयस्क कविहरुका लागि पनि बेलाबेलामा कविता गोष्ठी आयोजना गरिदो रहेछ । सो कुरा थाहा पाएपछि कुनै दिन सोही हलमा नेपाली भाषाको कविता गोष्ठी आयोजना गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । विजयजीलाई हामी नेपालीहरु पनि यहाँ आएर एकपटक कविता गोष्ठी आयोजना गर्नु पर्ला भनेर मेरो मनको कुरा सुनाएँ । सहमति जनाउँदै उहाँले टाउको हल्लाउनु भयो । त्यहाँ नेपाली कविता वाचन गर्न मेरो मन आतुर भएको छ ।
त्यसपछि हामी बेसमेन्टमा रहेको कोठा तर्फ लाग्यौं । बेसमेन्टमा पुगेर उनको बारेमा बनेको छोटो बृत्तचित्र हेर्यौ । त्यहाँ हेर्नु पर्ने खासै केही नभएपछि पहिलो तलामा उक्लियौं । पहिलो तलामा किट्सका कविताको अडियो निःशुल्क सुन्न पाइदो रहेछ । कविताको अडियो आरामदायी कुर्सीमा बसेर सुन्न पाईने कस्तो राम्रो व्यवस्था ! त्यति मात्र होइन ती कविताको पूर्ण पाठ समेत पढ्न पाइने र इच्छा हुनेले प्रिन्ट गरेर लैजान पाउने सुविधा देखेर खुशी लाग्यो । एकछिन् त्यहाँ बसेर मिठो स्वरमा वाचन गरिएको किट्सको एउटा कविता सुनेँ पछि त्यहाँबाट उठेँ । पछिसम्म मेरा कानमा उनका कविताका केही अंश गुन्जी रहेका थिए ।
हामी तीनवटै तलाको कुना काप्चा चाहरी सकेका थियौं । बेसमेन्ट, भुईं तला र पहिलो तलामा किट्स र उनकी प्रेमिकासँग सम्बन्धी विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए । त्यहाँ किट्सलाई स्मरण गराउने उनका पुस्तक, किट्सको पोट्रेट, पेन्टिङ, विभिन्न उपहार, उनको प्रेमिका फेन्नीलाई दिइएको इङ्गेजमेन्ट रिङ, उनले प्रयोग गरेका फर्निचरहरु आदि थिए । किट्सका मेडिकल सामग्रीहरु र उनकै हस्तलिखित मेडिकल नोटबुक, उनकी प्रेमिका फेन्नीको रिबन, स्कार्फ आदि देख्दा कवि र उनकी प्रेमीका त्यहीँ भए जस्तो पो अनुभूति भयो । ती सबै सामग्री हेरिसक्दा पनि कहीँ कतै कविको बहुमुल्य प्रेमपत्रको निशानी देखिएन । निराश भएपछि टिकट काउण्टरमा गएर महिला कर्मचारीलाई उक्त प्रेम पत्रका बारेमा सोधिखोजी गरेँ । विचरी भर्खर नियुक्त भएकी नयाँ कर्मचारी रहिछिन्, प्रदर्शनीमा राखिएको किटस्को हस्तलिखित मेडिकल नोट पो देखाईन । उनीबाट सही जानकारी नपाए पनि हामीले हरेश खाएनौं । हामीले उनको प्रेमपत्र पत्ता लगाएरै छाड्ने निर्णय गर्यौं ।
वास्तवमा उनका कविता र प्रेमपत्रबाट संसारभरका कवि र साहित्यकारहरुलाई मात्र होइन सामान्य व्यक्तिलाई समेत प्रेरणा मिलेको छ । उनका कविता र प्रेमपत्र यति लोकप्रिय छन् कि अंग्रेजी साहित्यमा तिनका बारेमा अति धेरै विश्लेषण गरिएको छ । यही त हो नि कविता र लेखनकलाको सफलता । उनको पाएको सफलताले मलाई बारम्बार झक्झकाउने गर्दछ ।
उनको प्रेमपत्र खोज्दै हामी दोह्रयाएर पहिलो तलामा पुग्यौं । अचानक त्यस म्युजियमका एक पुरुष कर्मचारी सामुन्नेको अफिस कोठाबाट निस्कँदै गरेको देख्यौं । उनलाई किट्सको प्रेमपत्रका बारेमा सोध्यौं । सुरक्षाको लागि उक्त प्रेमपत्र ब्रिटिस लाइब्रेरीको अभिलेखालयमा सुरक्षित राखिएको र कसैले हेर्न चाहे निःशुल्क हेर्न पाउने जानकारी दिए । उनको जवाफ सुनेर हामी निराश भयौं । हामीसँग तत्काल त्यहाँ जाने समय थिएन । कुनै दिन ब्रिटिस लाईब्रेरीमा गएर अवश्य उक्त प्रेम पत्र हेरेरै छाड्ने हामीले निर्णय गर्यौं । त्यसपछि तल उत्रियौं । वास्तवमा त्यस म्युजियममा हेर्नु पर्ने सबै वस्तु दोह्रयाएर हेरिसकेका थियौं । त्यसपछि हामी म्युजियमबाट बाहिरियौं ।
म्युजियमको बगैंचामा पाइला राख्यौं । यसो नजर लगाउँछु, लामो हिउँदको कठ्यांग्रिने जाडोको कारण बगैंचा उजाड थियो । चिसोले खाएका त्यहाँका बोटविरुवा र फूलका पोथ्राहरुले वसन्त खोजिरहेका थिए । वसन्त ऋतु आएपछि अवश्य पनि त्यस बगैंचामा सुन्दरता छाउँदो हो । कवि मनलाई रोमान्टिक बनाउँदो हो । नत्र कवि किट्सले त्यहाँ बसेर कसरी प्रकृति र प्रेम सम्बन्धी अति सुन्दर कविता लेख्न सक्दथे होलान् ? वास्तवमा त्यस बगैंचाबाट आउने चराका संगीतमय स्वर, त्यस वरपरका प्राकृतिक वातावरण, फूलका मादकता र फ्रेन्नीसँगको प्रेम उनलाई कविता लेख्न प्रेरणा दिने स्रोत थिए । हामी बगैंचा अवलोकनको क्रममा आरुबखडाको एउटा बुढो रुख अगाडिको सानो सूचना पढेर रोकियौं । त्यही आरुबखडाको रुख मुनि बसेर किट्सले उत्कृष्ट कविता ‘ओड टु नाइटिंगले’ लेखेका रहेछन् । यसो नजर लगाउँछु, बुढो आरुबखडाको रुख कविको प्रतिक्षा गरेर बसिरहे जस्तो लाग्यो ।
एक समय कवितामा जमेका तर हाल कविता लेखन भन्दा निबन्ध र आख्यानमा ब्यस्त विजयजी र म बगैंचाका चारकुनामा चक्कर लगाईरहेका थियौं । मेरो नजररले चाहीँ कविलाई कविता लेख्न उत्प्रेरणा दिने वातावरणको खोजि गर्दै थियो ।
‘दाइ, अब घर जाउँ । जाडो भयो ।’ विजयजीले भ्रमणको बिट मार्ने कुरा गर्नु भयो ।
‘एकछिन् घुमौं न । किन हतार ? के थाहा, यहाँ घुम्दा घुम्दै कविता पो फुर्ने हो कि ?’ मैले ठट्टा गर्दै भनेँ ।
‘अहिले त कविता भन्दा अरु तिरै ब्यस्त हुन थालेको छु । तत्कालै कविता लेखिन्न होला दाइ ।’ कविता प्रति उहाँको उदासिनता मेरो लागि अप्रत्यासित थिएन । केही समय यता उहाँसँगको बाक्लो उठबस्मा मैले उहाँको लेखन र रुची थाहा पाएको छु । किन साहित्यकारहरु कवितालाई साहित्यका अन्य विधामा उक्लने भर्याङ मात्र बनाउँदछन् ? किन खोलो तर्यो, लौंरो बिर्सियो गर्दछन् ? विजयजीलाई त मैले केही भनिन् तर आफ्नै मनलाई प्रश्न गरेँ ।
कवि किट्सलाई टिबी रोग नलागेको भए सायद सोही निवासमा बाँकी जीवन बिताउँदथे होलान् । उतिखेरको महामारीको रुपमा फैलिएको टिबी रोगको औषधी पत्ता लागेकै थिएन । डाक्टरहरुलाई त्यस रोगको कसरी उपचार गर्ने भन्ने केही जानकारी थिएन । किट्सलाई ज्वरो र रगत आउने खोकीले ग्रस्त पारेपछि चिसो बेलायत भन्दा न्यानो इटाली राम्रो हुन्छ भनेर डाक्टरले सल्लाह दिए । किट्सको इच्छा बिपरित उनका साथीहरुले चन्दा उठाएर उनलाई रोम पठाए । यहाँ निर हाम्रा रोमान्टिक धारका महाकवि देवकोटालाई जर्बजस्ती पागलपनको उपचार गराउन भनेर राँची पठाएको कुरा सम्झन पुग्छु । भनिन्छ, महाकवि देवकोटा कवि किट्सबाट पनि प्रभावित थिए । रोमान्टिक धारका दुबै कविलाई आफ्नो इच्छा विपरित उपचारको लागि विदेश पठाइएको गजबको संयोग देखेर छक्क पर्दछु । देवकोटा राँचीबाट फर्केर त आए तर किट्सको भने रोम पुगेको एक वर्षमै हाल म्युजियमको रुपमा संचालित स्पेनिश स्टेप्समा रहेको डेरामा निधन भयो । एउटा होनाहार कविको युवा अवस्था मै अवसान दुःखद घटना थियो ।
बगैंचाको अवलोकन पश्चात उनको स्मृतिलाई ताजा राख्ने उद्येश्यले म्युजियम छेउमा रहेको उनकै नाममा संचालित पुस्तकालय भित्र प्रवेश गर्यौं । पुस्तकालयको सामान्य अवलोकनपछि किट्सलाई स्मरण गर्दै बाहिरियौ । किट्सको नाममा संचालित म्युजियम र पुस्तकालयको अवलोकन पश्चात कवि किटस्सँग नजिकबाट साक्षात्कार भयो । उनका बारेमा धेरै कुरा थाहा पाएर दंग परेँ ।
जीवन कालमा जम्मा चौवन्नवटा कविता लेखेर अहिलेसम्म पनि चर्चामा रहेका किट्स भाग्यमानी कवि हुन् । करिव दुई सय वर्ष अगि दिवंगत भए पनि पटकपटक उनको पुनर्जन्म भएको छ । कवि किट्स फिल्म र उपन्यासहरुमा नयाँ जन्म लिएर आएको थाहा पाउँदा प्रसन्न हुनपुग्छु । केही वर्ष अगि जेन क्याम्पियनद्धारा लिखित तथा निर्देशित ‘ब्राइट स्टार’ नामक रोमान्टिक फिल्मले राम्रो चर्चा पाएको थियो । कवि किट्स र उनकी प्रेमिका फेन्नीको प्रेम कथामा आधारित फिल्मको निमार्णले कविको सम्मान मात्र गरेको छैन, उनीहरुको प्रेमलाई फिल्मले अमर बनाइदिएको छ ।
उता अमेरिकी लेखक डान सिमन्सद्धारा लिखित तथा प्रतिष्ठित पुरस्कार प्राप्त विज्ञान उपन्यास ‘हाइपरियन’मा कवि जोन किट्सलाई पुर्नजन्म दिएर रोचक कथा मार्फत प्रस्तुत गरेका छन् । एउटा लेखकले अर्का लेखक अर्थात कवि किट्सलाई आफ्नो लेखनी मार्फत पुनर्जन्म दिएर उनलाई ठूलो सम्मान गरेको ठानेको छु । त्यस्तै अर्का अमेरिकी लेखक टिम पावर्सको चर्चित तथा पुरस्कृत उपन्यासमा ‘द स्ट्रेस अफ द हर रिगार्ड’को पात्र जोन किट्स मात्र हैन उनका साथमा कवि पर्सी शेली र लर्ड बायरन पनि छन् ।
अहा ! फिल्म र उपन्यासहरुमा कवि लेखकलाई पुनर्जन्म दिने यो प्रयोग मलाई गजब रमाईलो लाग्यो । यस्ता प्रयोगले पाठकलाई जिज्ञाशु त बनाउँछ नै कवि, लेखक तथा साहित्यकारहरुलाई पनि अमर राख्दछ । यसले नयाँ पुस्तालाई तिनका बारेमा जानकारी प्रदान गर्ने मात्र होईन सम्मान गर्न पनि सिकाउँदछ । साहित्यप्रति रुची जगाउँदछ । देवकोटा, रिमाल, सम, बीपी कोइराला, सिद्धिचरण, भूपी, पारिजात, भानुभक्त, मोतिराम आदि स्रष्टाहरुलाई उपन्यास र कथामा पुनर्जन्म दिने प्रयोगवादी लेखकको अभाव नेपालमा देखेको छु । यस्ता गम्भिर, प्रयोगवादी र कालजयी लेखनका लागि लेखक र प्रकाशकहरुले काम थाले हुन्थ्यो नि ! घर फर्कदा ट्रेनको यात्राभरी यस्तै कुराहरु मनमा खेलिरहे ।

बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 जेठ, 2076

लेखकका अन्य रचनाहरु