‘स्वेच्छा’का निवन्धपरक कथा

- भानु बोखिम

साहित्यीक विधाको वर्गिकरण देस वा महादेस अनुसार फरक हुन सक्छ । बदलिदो परिवेसमा वर्गिकरणको सुचीमा नयाँ बिधाहरु थपिन पनि सक्छन् । सामान्यतया, अहिले पनि वर्गिकरणको आधार पाश्चात्य साहित्य देखिन्छ । पाश्चात्य साहित्यले मुलत आख्यान, निबन्ध, कविता र नाटक गरेर चारवटा विधा तय गरेको छ । हरेक विधाका आ–आफ्नै विशेषता हुन्छन् । तर कुनै एक विधामा अर्काे विधाको विशेषता समिश्रण नभएको सृजना भने बिरलै भेटिन्छ । यस्तैमा हालै बजारमा आएको छ, निवन्धको गुण मिसीएको कथा संग्रह गुलाफसंगको प्रेम ।
गुलाफसंगको प्रेम संगिता स्वेच्छाद्धारा लिखीत कथा संग्रह हो । संग्रहमा समाहित २० वटा कथाले विभिन्न विषयलाई समेटेको छ । कथा संग्रहको अग्रपंत्तिमा राखिएको शिर्ष कथा नै स्वेच्छाको कथा लेखनको मानक हो । संग्रहभित्रका अधिकांस कथाहरु निवन्धपरक शैलीमा लेखिएको शिर्षकथाकै शैलीमा लेखिएका छन् । केही हदसम्म कथाको ‘मोड अफ राईटिङ’ चिन्तनपरक पनि छ । एउटा गुलावलाई मानविय गुण प्रदान गरेर त्यससंग जोडिएको भावनात्मक सम्बन्धको चिन्तन कवितात्मक र निवन्धातमक दुवै छ । समग्र कथामा निवन्धात्मक शैलीको लेखन नै अंगालिएको छ । आख्यान लेखनमा वस्तु र परिस्थितिको मिहीन चित्रण गर्ने गरिन्छ । पश्चिमा साहित्यमा बढी चल्तीमा देखिन यस्तो लेखन शैली पछिल्लो समय नेपाली लेखकको लागि पनि प्रीय बन्दै गएको छ । कथाकार संगिता स्वेच्छाले भने मिहीन चित्रण गर्ने शैली अपनाएकी छैनन् । मिहीन चित्रण शैलीको सट्टा, कथाकारले थोरै शब्दको प्रयोग धेरै कुरा भन्न खोजेका छन् । यसै कारण संग्रहमा समाहित कथा छोटा–छोटा छन् । तर कथाहरु छोटै भएपनि परिस्थीतिजन्य मनोविज्ञान उतार्न भने सफल छन् । पात्रको मनोदशा र श्वार्थको यथार्थ अभिव्यक्त छ कथाहरुमा ।
पछिल्लो समय कुनैपनि पुस्तकमा एकाध प्रुफ मिस्टेक भेटिनु सामान्य मान्ने बेला भईसक्यो । यस्तो समस्या एकाध पुस्तक बाहेक अधिकांसले झेल्दै आएका छन् । यो समस्या लेखकको क्षमता, शैली वा विचारसंग जोड्नपनि मिल्दैन । अन्य प्राविधिक हिसावले कथा संग्रहलाई गहन बनाउन प्रयास गरिएको छ । प्रत्येक कथासंग एउटा चित्र राख्न कामले कथालाई अझ रोचक बनाएको छ । विषयवस्तु आफैमा फरक फरक छन् । विभिन्न विशेषता बिच कथा संग्रहको सवल पक्ष भनेको कथाहरुका ‘प्लट ट्वीस्ट’ हुन् । जो कोही पाठकले कथा पढ्दै जादा त्यसको अन्त्यको पनि परिकल्पना गर्छ । यो आख्यान पढ्ने पाठकको स्वभाविक मनोविज्ञान पनि हो । आख्यानको पारखीले त यस्ता अनुमान अझ बढी गर्छन् । तर संग्रहमा समाहित अधिकांश कथाले कथाको अन्त्य बारे पाठकले लगाउने अनुमानलाई सत्य सावित हुन दिदैनन् । अधिकांश कथाको विषय वा पात्रको मनोविज्ञानले तय गरेको बाटोभन्दा फरक विन्दुमा कठा टुंगिन्छ । लेखकको यो शैलीले पाठकमा निरन्तर खुल्दुली जगाउँछ । पाठकलाई कथा यसरी अन्त्य हुन्छ होला भनेर सोच्ने सुविधा दिदैन । बरु कसरी टुंगिन्छ भनेर जिज्ञासा जगाई राख्छ । सामान्यतया मानिसको अडान र श्वार्थ फरक फरक हुन्छन् । मान्छेले बाहिर सबैले स्वीकार गर्ने ब्यवहार देखाउन खोज्छ । यथार्थमा आफुलाई फाईदा हुने काम मात्र गर्न खोज्छ । सबैलाई स्वीकार हुने व्यवहार र आफुलाई मात्र फाईदा हुने कामको तालमेल हुदैन । यहि कारण मानिस जे भनिरहेको हुन्छ, त्यो गरिरहेको हुदैन । यस्ता पात्रले गरेका व्यवहारपनि बाहिर अरुले देखे जस्तो गरि टुंगिदैन । कथाकारले पात्रको यहि मनोविज्ञान र परिस्थितिको परावर्तन ‘प्लट ट्विस्ट’को प्रयोगबाट चित्रण गरेका छन् । तसर्थ कथाको निर्माण जसरी भएको छ, त्यो अनुरुपको अन्त्य छैन कथामा । अनुमान गर्न नसकिने कथाको अन्त्यले कथालाई अझ पठनिय बनाएको छ ।
अधिकांश कथाले पुँजिवादी व्यवस्थाले विदेसीनेको मनोविज्ञानमा पारेको असरलाई चित्रण गरेको छ । पछिल्लो समय युरोप, अस्ट्रेलिया र अमेरिका जानु र उनीहरु जस्तै शुखसयलको चाहना राख्नु मध्यमवर्ग नेपालीको सपना बन्दै गएको छ । अधिकांस कथाले यसरी बिदेसिएका र उनीहरुको संसर्गमा आएका विदेसी पात्रहरुको भावना, व्यवहार र सपना कथाका विषयवस्तु हुन् । नेपालीका कथा छन् तर नेपालकै परिवेशमा लेखिका कथा भने तुलनात्मक रुपमा कम छन् । विदेसीनेको सपना र मनोविज्ञान फरक फरक छन् । तर सबै मनोविज्ञानको पछि एउटा साझा सपना र उदेश्य छ । उनीहरु देसमा रहदा भोगेका दुःखलाई जीवनको एक ईतिहासको रुपमा सिमित गर्न चाहन्छन् । जीवनमा शुख र समृद्धि फैलाउन चाहन्छन् । यो सपनाको पछाडि आउँदा कोही आफ्नै पहिचान मेट्न आतुर छन् । कोही जे हैन, त्यो भएको नाटक गरिरहेछन् । कोही भएको सम्बन्ध तोडेर नयाँ नाता जोड्ने प्रपञ्चमा छन् । यसले बन्द समाजमा गुम्सिएका नेपाली, खुला समाजमा पुगेपछि कसरी बदलिदै छन् भन्ने देखाएको छ कथाहरुले । मीठो सपनामा देखेर विदेसिएका नेपालीलाई उतैको रहनसहन प्रीय लाग्न थालेको छ । तर आफ्नो सँस्कृति र मान्यताको भारले कुल्चिन छोडेको पनि छैन । रहर र साँस्कृतिक संक्रमणको चंगुलले बोझिलो बनेको छ विदेसिनेको कथा । यिनै परिवेष अनुसार बदलिन खोज्ने मनोविज्ञान अनुरुपको पात्रको चरित्र–चित्रण गरेका छन् संगीता स्वेच्छाले । मान्छेको मनोविज्ञान समय र परिवेष अनुसार बदलिने हो । बन्द समाजमा माया, प्रेमको खुल्ला बहस सहज हुदैन । मन मिलोस् वा नमिलोस्, सम्बन्ध सात जुनीको भन्ने अभिव्यक्ति दिन्छन् । तर तिनै अभिव्यक्ति दिनेहरु खुल्ला समाजमा पुगेपछि प्रेमको आनन्द लिने प्रयासमा छन् । फरक संस्कृतिको अभ्यासमा हाम फाल्न, चाहेजस्तो सजिलो भने छैन उनीहरुलाई । सँस्कार र चाहनाको संक्रमणमा बाचेकाहरुको जीवन कथापनि उनीएर आएका छन् गुलाफसंको प्रेममा ।

कथाका धेरै सबल पक्ष छन् । यद्धपि यसले कथा लेखनको मुल शैली नसमात्नुचाहि यसको कमजोरी हो । आख्यानका मुल विशेषता भनेको समय, स्थान, घटना र पात्रको मिहीन चित्रण गर्नुपनि हो । लेखकले भन्ने खोजेको कुरा पाठकले शब्दले मात्र बुझ्ने हैन । पढ्दै क्रममा कथाले त्यसको सचित्र परिकल्पना पाठकलाई गराउन सक्नुपर्छ । तर यो पाटोमा कथा उति सबल देखिन्न । आफ्नो कथा लेखनको यो पक्षमा ध्यान दिए, संगीता स्वेच्छाका कथा थप उचाईमा पुग्नेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 7 जेठ, 2076

लेखकका अन्य रचनाहरु