एक दिन

- कबिन बस्नेत

हरेक बिहान
पट्यारलाग्दो सिनेमाको पर्दा उघ्रेझैं
उघ्रिन्छन् निस्तेज आखाॅहरू
भत्काउँदै सपनाहरूको बाँध
जब बजारिन्छु म
विपनाको ढुङ्गय्यान धरातलमा
प्रश्नहरूको शुली बिझ्न थाल्दछन्
शरशय्यामा निस्लोट
भिष्मको पिडा सहन नसकेर
होमिदिन्छु पुनः आफैंलाई जीवनको महासमरमा
कतै बिक्छु कि म पनि !
केही बिक्छ कि मेरो पनि !
सपनाहरूको बिस्कुन
झाक्रो फिजाएर उभिइरहन्छु
समयको राजमार्ग छेउ
घात-प्रतिघात ,
प्राप्ति-अप्राप्ति,हरुबिच
बाॅकटे हान्दै
पुनः पिसिदै जान्छु घुनजस्तै
पुनः पोखिदै जान्छु
पुनः रित्तिदै जान्छु
राजा शिबिको नियति
पुनः लुटाउदै जान्छु आफ्नै मासु
र,
दिनभरिको निचोड
एक धर्सो विसङ्गति
कोरेर आफ्नै निधारमा
अत्तालिएर
तह लगाउन नसकेर
एक उत्ताउलो साँझ
फर्किन्छु
टाउको लुकाउँदै
रातको अंगालोमा ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076

लेखकका अन्य रचनाहरु