केवलचन्द्र लामाको “घर”मा

- राजु “हिमांशु”

कवित्वबीजं प्रतिभानम्-वामन
(अर्थात् कवित्वको बीज हो प्रतिभा)
स यत्स्वभाव:कविस्तदनुरूपं काव्यम्- राजशेखर
(अर्थात् कविको जस्तो स्वभाव हुन्छ,त्यस्तै उसको कविता हुन्छ)
No man was ever yet a great poet; without being at the same time a profound philosopher- Coleridge
(अर्थात् पारङ्गत दार्शनिक नभएसम्म कुनै पनि व्यक्ति कहिले पनि महान् कवि भएनन्)

उपर्युक्त विद्वानका उपर्युद्धृत कथनबाट प्रतिभा,स्वभाव र दर्शन कवितालेखनको निम्ति महत्त्वपूर्ण हुँदोरहेछ भनी बुझिन्छ। कविमा निहित गुण रहेछ प्रतिभा ।कविको स्वभावको छाप परेको हुँदोरहेछ कवितामा । महान् हुनुलाई तत्त्वज्ञ हुनुपर्दोरहेछ कवि । यो एउटा सोच हो । जे होस्,
प्रतिभा,कल्पनाप्राचुर्य,साधनाद्वारा संस्पर्शित भएर व्यक्ति कवि बनेका हुन्छन्। सबै कवि होइनन् त्यसैले ।
सौन्दर्य र आनन्द हुनुको साथै सांस्कृतिक र नैतिक मूल्यप्रति अत्यधिक आग्रह रहनु पनि जीवनलाई विकसित र सुन्दरीकृत पार्नु नै हो कविताद्वारा । यतिले मात्र पुग्दैन र कविता जनमानसमा सचेतता जाग्रत गराउने माध्यम पनि बन्छ । मानवमूल्यहरूका संरक्षण र सत्कारका निमित्त पनि कविता अग्रसारित देखिन्छ ।
John Bartonले भनेका छन् –“No poem is easily grasped. So why should any reader expect fast results.”
कविता सहजै बुझ्न सकिने विधा होइन । द्रुत परिणाम निस्कँदैन कवितापठनपछि । लाक्षणिक अर्थयुक्त कविता बहु अर्थीय हुन्छ। सरल भाषाशैलीमा लिखित कविता पठनमा सरल र सम्प्रेष्य लागे तापनि अर्थमा गाम्भीर्य निहित हुनसक्छ ।यसैले कवितात्मक प्रस्तुतिमा बहु अर्थ रहेको पाइन्छ । सीधा भनिएको कुरोले अर्कै अर्थ बोकेको हुन्छ कवितामा । कविता सबैले मन पराउँछन् भन्ने ग्यारण्टी छैन । सायद कतिलाई चिनी, कतिलाई खोर्सानी,कतिलाई खल्लो,कतिलाई चिराइतोजस्तो लाग्न सक्छ कविता। न्यायधीश भएका छन् पाठकहरू । अन्तिम निर्णय कस्तो हुन्छ? मान्नैपर्ने हुन्छ।
John Bartonले त यतिसम्म भनेका छन् –“Who is the ideal reader? God only knows. उनले यसो पनि भनेका छन्- “Some readers allow their prejudices to blind them. A good reader knows how to disregard inappropriate responses.
जे जस्तो रूप-प्रारूप भए तापनि कविताले मनलाई नै स्पर्श गर्छ । मन नछोएसम्म कविताको कर्तव्य पूरा हुँदैन । यसैले पनि कविता मनको व्यापार हो । शाब्दिक खेलमात्र नभएर कविता आनन्दको भेल पनि हो। सरलतामा अर्थ तरल भएर सललल बग्छ । दिमाग सुकाउँदैन,दुखाउँदैन। क्लिष्टतामा ठोस अर्थ निहित भए तापनि त्यो फुटाउने समय अहिले पाठकसित हुँदैन र नबुझिने भएर अपठनीय बन्छ कविता । तर पठनीय र मनलाई एउटा मिठास दिँदै स्पर्श गर्ने कविता पनि लेखिन्छ,मन पराइन्छ,घरीघरी पढिन्छ।
भारतीय नेपाली कविताविधाको परिप्रेक्ष्ययमा कुरा गर्नुपर्दा वर्तमानमा राम्रो,सरल,स्पष्ट,मन छुने कविता कोर्ने असल कविताकारहरू धेरै छन्। तीमध्ये एक हुन्- केवलचन्द्र लामा ।
२२ नोभेम्बर १९६७ मा दार्जिलिङमा जन्मेका केवलचन्द्र लामाले बी॰ एस्सी गरे। यिनका मातापिताका नाम मैती वाइबा अनि कुमारचन्द्र लामा हुन्। यिनका पिता कुमारचन्द्र लामा दार्जिलिङका एकजना सिद्धहस्त नाटककार,पोख्त निर्देशक अनि अभिनेता थिए । असीको दशकमा कुमारचन्द्र लामाले रामलाल अधिकारीकृत नाटक “अभियान”-लाई आवश्यक सम्पादन गरी पी॰ डब्लू॰ डी ॰, दार्जिलिङको तत्त्वावधानमा मञ्चित गर्दा त्यस नाटकमा नवीन कलाकारको रूपमा केवलचन्द्र
लामाले सफल अनि अति स्वाभाविक अभिनय गरेका कुरा ”घर”-को प्रकाशकीयमा प्रकाशक मधुसुदन बिष्टले उल्लेख गरेका छन् ।
ई० सन् १९६७ को नोभेम्बर महिना भारतीय नेपाली साहित्यको निम्ति खुबै महत्त्वपूर्ण
रहेछ । कारण २२ नोभेम्बर १९६७मा दार्जिलिङमा बहु आयामिक प्रतिभासम्पन्न केवलचन्द्र लामाको जन्म भयो भने यही साल अर्थात् सन् १९६७को २९ नोभेम्बरमा सुप्रतिष्ठित कवि अनि कथाकार उदय थुलुङको जन्म मङपुमा भयो। यिनले बी॰एस्सी (अनर्स) गरे ।
सपनाले देखेको बिपनालाई कविता मान्ने एवं सौन्दर्यको पोट्रेट र आनन्दको भाकालाई कविता ठान्ने कवि हुन् केवलचन्द्र लामा । सौन्दर्य योग आनन्द योग अनुभूति बराबर कविता केवलको । हरक्षण कविताबिना बस्न नसक्ने ,कवितामा कवितासित नयाँ कुरा गर्ने,कवितामा चित्र, चित्रमा कविता कोर्ने,कविताको निम्ति मरिमेट्ने प्रतिभाशाली कवि हुन् केवलचन्द्र लामा। भाषिक सरलता र कवितात्मक तरलता अङ्गीकार गरी सललल बग्ने कवि हुन् केवल ।
कवि केवलचन्द्र लामाका चारवटा कविताकृति प्रकाशित भइसकेका छन् । ती हुन् –
“खण्ड-अखण्ड”, (खण्ड-काव्य-सन् १९९१),”केवलय”(कवितासङ्ग्रह-१९९३),”आँखेझरी”(कवितासङ्ग्रह- सन्२०११) अनि “घर”-(शृङ्खला कविता-२०१३)।यिनको “घर” साझा पुस्तक प्रकाशन,दार्जिलिङबाट सन् २०१३मा प्रकाशित भएको छ । जय “क्याक्टस”-द्वारा भूमिका लेखिएको “घर”-लाई शृङ्खला कविता भनेर घोषित गरिएको भए तापनि यसले एउटा खण्डकाव्यकै प्रारूप बोकेको छ । “घर”-मा चित्रात्मक शैलीमा चित्रहरूसित कविता चित्रित हुन पुगेको छ । घरका बहु आयामिक रूपहरू काव्यिक सौन्दर्यले सुसज्जित छन् । मानवीकृत घरभित्र म शृङ्खला कवितामात्र पाउँदिनँ तर भेट्छु हाइकुको रूपजस्तो ,टाङ्काको अनुहारजस्तो भएका कविताहरु पनि। यद्यपि ती हाइकुहरू,टाङ्काहरू होइनन् आकारमा त्यस्ता देखिए पनि ।
घर शीर्षकयुक्त र विषयक रचनाहरू, कृतिहरू धेरै छापिएका होलान्। तर मलाई थाहा
भएअनुसार घर शीर्षक राखेर सग्लो पुस्तक छपाउनेहरुमा नेपालबाट परशु प्रधान, भारतबाट सूरज “धड़कन”,मुक्तिप्रसाद उपाध्याय र केवलचन्द्र लामाका नामहरु उल्लेख्य छन् ।नेपालका सुप्रतिष्ठित वरिष्ठ साहित्यकार परशु प्रधानले नयाँ प्रयोग गर्दै धेरै कृतिहरू सिर्जना गरी नेपाली साहित्यमा अर्पण गरेका छन् । आख्यानकारको रूपमा सुचर्चित परशु प्रधानले विशेष कथा र उपन्यास विधामा नौलो प्रयोग गर्दै कथासङ्ग्रह र उपन्यासहरू लेखेका छन् । विविध विधामा कलम चलाउने प्रधानका कथोपन्यासहरू हुन् – सीताहरू (वि॰सं॰२०६४),र घर (वि॰सं॰२०६८),। उनको “घर” कथोपन्यासभित्र काठमाण्डूका नेपाली समाजका बीसवटा घरहरूको कथा समाविष्ट भएको छ । उनले घर १, घर २ गर्दै बीसवटा घरका कहानीहरू लेखेका छन्। यता भारतमा “घर” शीर्षक बोकेर सूरज “धड़कन” देखा परेका छन्। सूरज “धड़कन”-को “घर”(कथासङ्ग्रह)-ले सन् २०१३ मा युवा साहित्य अकादमी पुरस्कार जितिसकेको छ। यसरी नै घर शीर्षक बोकेर नाटकमा मुक्तिप्रसाद उपाध्याय देखा परेका छन् । उनको “घर” सन् २०१४मा प्रकाशित नाट्यकृति हो । कवितामा “घर” शीर्षक बोकेर केवलचन्द्र लामा देखा परेका छन् । यसरी नेपालमा घर शीर्षकयुक्त कथोपन्यास छापियो भने भारतमा नेपाली साहित्यको कथा,कविता र नाटक विधामा “घर” शीर्षकयुक्त तीनवटा पुस्तक प्रकाशित भए ।
नेपाली बृहत शब्दकोशमा घरको अर्थ यसरी दिइएको छ – (१) गारो लगाई छानु हालेर बनाएको मानिस बस्ने ठाउँ,गृह,आलय,भवन,निकेतन,निवासस्थान,आवास(२)खाना,कोठा(थर्की आदिको) (३)कुण्डलीमा ग्रहको आफ्नो राशि स्थान(४)गृहस्थीको व्यवस्था,गृहस्थी(५)पतिगृह। यी पाँच अर्थहरूमा सबैले सीधै बुझ्ने घरको अर्थ हुन्छ मानिस बस्ने ठाउँ ,निवासस्थान। तर केवलचन्द्र लामाको “घर” घरमा नै बसिरहने घर छैन । यिनको घर सुटिङमा जान्छ । सपनालाई पासो थप्नु जान्छ । बिहानै दामी गाड़ी चढ़ेर कारख़ाना जान्छ पुँजीपति घर । घरले सुट फेर्छ । साडी फेर्छ । घर काममा जान्छ । गीत गाउँछ । के हुँदैन र केवलको “घर”-मा? शब्दकोशमा परिभाषित घरभन्दा भिन्दै देखापर्छ केवलचन्द्र लामाको “घर”। यिनको घर प्रतीकहरू भएर डुलिबस्छ । यिनको “घर”-भित्र पिकासो शैलीका जस्ता सुसज्जित छन् चित्रहरू पनि घरको बहु आयामिक रूप-स्वरूप अङ्कन गर्दै । “घर”-ले भन्छ –

ठिहीका सिर्कुनाले पिटेका
घरका सुम्लाहरू सुमसुमाउँदै
आगो ठूलो बल्छ
जिन्दगीको न्यानो हस्ताक्षर जस्तै (पृष्ठ ७२)

“घर रुन्छ।
घर मीठो रुन्छ। (पृष्ठ ६८)

उज्यालोमा देखिन्छ
घरको दुख्ने करङ
कफ अड्केको छाती
ख्वाम्मै काटिएको नङ
उप्केको उजिरा
उज्यालोको ऐनामा छर्लङ्ग देखिन्छ
घरको गुप्तरोग । (पृष्ठ ५९ )

एकदेखि एकचालीससम्म अर्थात् एकचालीसवटा शृङ्खलाहरूमा लेखिएका छोटा कविताहरूको सङ्ग्रह हो “घर” अनि केवलचन्द्र लामाको यस “घर”-भित्र घामको विविध रूप पाइन्छ । कविले घामलाई मानवीकृत पनि पारेका छन्। “घर”-मा घाम विरामी हुन्छ ,बूढ़ो हुन्छ , खिन्न हुन्छ,लखतरान बन्छ । के हुँदैन घाम? घामबारे सङ्ग्रहको छैटौँ कविताले भन्छ –

खियासरिको क्लिपले चेपेको छ एउटा घाम
आकाशकों पन्नामा ।
सोह्रौँ कवितामा डुब्न लागेको घामको चित्र खिँचिन्छ यसरी –

छताछुल्ल छ विरामी घामको
रगतका फाल्साहरू
घरमाथिको आकाशमा ।
......................
दिनभरि आकाश जोत्ने घाम बूढ़ा खिन्न छ ।
अवकाशग्रहण गरेर घर छोड़िजाँदैछ बूढ़ा घाम ।
दिनभरि छिचोलेको टन्टलापुर सपनाको किताब
अन्तिम खेपलाई दोहो-याउँदैछ बूढ़ा घाम ।

एकाइसमा घाम बिउँझन्छ कविको नजरमा यसरी –
नगरपालिकाको
मैला बोक्ने ट्र्याक्टरको
काखी गन्हाउने हल्लाखल्लाले
तर्सेर बिउँझन्छ घाम
तर्सेर उसको हातबाट
उज्यालोको रित्तो बोतल झरिफुट्छ ।
घामको कानको जाली फुट्छ
हर एकाबिहानै ।

यसरी “घर”-भित्र घामको प्रसङ्ग छ । प्रतीक छ। घर र घाममाझ आवश्यक संसर्ग देखाउँछन् कवि । घर र घाम शब्द अनेकौं पल्ट दोहोरिएर कवितांश बने पनि पठनमा अरुचिकर हुँदैनन् ती । कवि केवलको कलमको जादु हो । घामको प्रसङ्ग र रूप कवि केवलको दोस्रो कविताकृति “”केवलय”-भित्र पनि थुप्रै छन् । शुश्रुषा(२), शीलभंग,ऋतु-महासम्भोग,सपनाको आँखैभरि विपना,बिहानका भ्यालेन्टाईन रंगहरू प्रभृति “केवलय”-मा सङ्कलित कविताहरूमा घामको रूप र प्रसङ्ग थुप्रै छन् । हेरौं नमूना –
बालखा घामका नरम औंलाहरूले
उठाएर आकाश तिम्रो
बिहान यौटा मेरो घर आयो ।
(बिहानका भ्यालेन्टाईन रंगहरू-बाट )
औ-
मेरी मायालु धरती !
...........
बेस्करी चिथोरेछ तिम्रो गीलो वर्ण-
बेस्करी मुछेछ तिम्रो किशोर पालुवा-
- घामको बुढ्याइँले
...........
रात छिलेर /बिहान को सफा,सेतो,छाला
मुसार्न ओर्ह्लेका रहेछन् दम्भी घामहरू ।
............
ए/आसक्त घाम
तेरो आकाश मेरो कोठाभित्र छैन
(ऋतु-महासम्भोग-बाट)

मीठो लाग्छ केवलचन्द्र लामाको भाषाशैली। चित्ताकर्षक पनि लाग्छ । सललल बग्ने शैलीमा लिखित कविताहरूले मन छुन्छन्। दिमागलाई झसङ्ग पार्छन्। सञ्चो पनि पार्छन्। यिनका
“खण्ड-अखण्ड” र “केवलय”-का कवितांशलाई हेरौं -
“कसैले खोजिदिनू
मेरो हराएको छोरो,
उसको वासस्थान,
किनभने-
अस्पतालको कुनै दुख्ने पलङमाथि
एबोर्सन भएको मेरो उमेर,
हेर्न आउने आँखाहरूको भीड़बाट
मैले हेरेको-
हाम्रा मृत्युहरूले जिन्दगीको पृष्ठभूमि खोज्दैरहेछन् ।“
(‘खण्ड-अखण्ड’-बाट )
अब “केवलय’-मा सङ्कलित कविता ‘एक चोइटा पूर्णे”-को कवितांशलाई हेरौं-
“कति तरुणी कागहरू बाइफाले होलान्।
कति भँगेरी उताउली होलान्।
घरका दाज्यू-भाइले गाली गर्दा हुन्।
कति भँगेराहरू अटेरी होलान्।
बूढापाका भँगेराहरू अर्ती दिँदा हुन्।
कुन चैं चञ्चले कागलाई
कुन चैं बैंशालु काली काग मनपर्छ होला।
कुन चैं लजीली भँगेरीले
घरधन्धा हतार हतार सिध्याएर
कुन चैं राम्रे भँगेरालाई
कुन चैं हाँगामा पर्खन्छे होली।
कुनै काग मातेर स्वास्नी कुट्दैन।
कुनै भँगेरीले आँखा लाउँदिन।
कुनै बलियो कागले
बिरामी कागको हाँगा बेच्दैन।
फल पाके सबैलाई
फूल फुले सबैलाई।
मान्छे बाँच्ने बस्ती यस्तै हुनु नि।
मान्छे बस्ने गाउँ यस्तै हुनु नि।
अब ‘घर’-भित्रका प्रभावोत्पादक भाषाशैलीको नमूना हेरौं-
“बिखालु बर्खाका फौजले
छानुमा ढुङ्गामूढा गरेको गरेकै छ।
चोटसरि खिर्कीको आँखामा
हुस्सेले पट्टी बाँधिदिएको छ।
घरको पानीपेटभरि
पानीले पिटेकासुम्ला नै सुम्ला छन्”। (चारबाट)

“दाँत नमोलेको हावाले
फुकेर निभाएको छ
देउताथानको दीयो।“ (पाँचबाट)

“दाँत फुक्लेको खिर्कीबाट हाम् फालेर
घर भाग्छ।
..........
घरबाट घर भागेपछि
तरकारीबाट नुनिलो सुवास भाग्छ।“(चौधबाट)

केवलचन्द्र लामा बोलचालको भाषा मनपराउँछन्। बोल्दा निस्किने,उच्चारण हुने शब्दलाई सुन्दर ढङ्गमा प्रयोग गर्छन् कवितामा। गीत र कवितामा अनुकरण शब्दको मिठो प्रयोग गर्ने जादुगर कवि हुन् केवलचन्द्र लामा। अन्य भाषाहरूमा नपाइने तर नेपाली भाषामा पर्याप्त पाइने शब्दहरूलाई कवि केवलचन्द्रले आफ्ना कविताहरूमा सुन्दर प्रकारले प्रयोग गरेका छन्।टिलिक्क,गजधम्म,ढकमक्क,
फतक्क,छर्ल्याम-छुर्लुम,गुम्लङ,धपक्क,ख्वाम्मै,झ्यार्रझुर्र,गुटुमुटु,उख्लिएको,मरेकाटे,फुइँकेर,आदि शब्दहरू
पसेर आस्वादनीय बनेका छन् यिनका कविताहरू।
कवि केवलचन्द्र लामा भित्र अर्को सशक्त प्रतिभा निहित पाइन्छ । यिनी कुशल चित्रशिल्पी पनि हुन्। धेरै सर्जकका पुस्तकहरूका आकर्षक आवरणचित्र बनाइदिने चित्रकार हुन् कवि केवलचन्द्र लामा। मेरो पहिलो कवितासङ्ग्रह “यो निगूढ़ कुरा होइन”-को आवरण चित्र एकै वचनमा दुई दिनभित्रै बनाई दिएका हुन् यिनले । त्यसपछि “अन्वेषण” मञ्चित एकाङ्कीसङ्ग्रहको आवरण पनि बनाइदिए यिनले । कवि र चित्रकार केवलचन्द्र लामामा अझै अर्को सशक्त प्रतिभा पनि देखिन्छ । यिनी एकजना कुशल नाट्य अभिनेता पनि हुन्। अझै यिनी शिक्षक हुन्।गीतकार हुन्। कुशल कार्यक्रम सञ्चालक ,उद्घोषक पनि हुन् यिनी । यसरी केवलचन्द्र लामा बहू आयामिक व्यक्तित्वका धनी भएर सुप्रतिष्ठित छन्।
युगपरिबोध गिरी पुरस्कार र भाइचन्द स्मृति पुरस्कार प्रापक यति राम्रा र सशक्त कविको सुचर्चा कम्ती भयो कि जस्तो लाग्छ । यिनका कविताकृतिहरूका विवेचना,विश्लेषण, मूल्याङ्कन पनि यथेप्सित भएका छैनन्-लाग्छ । केवलचन्द्र लामाजस्ता चित्रशिल्पीद्वारा सृजित चित्रहरूको पनि अलग्गै प्रदर्शनी हुनुपर्ने हो- लाग्छ। कवितामा चित्र र चित्रमा कविता कोर्नसक्ने प्रतिभा र क्षमतायुक्त कवि केवलचन्द्र लामाका काव्यकृतिहरूबारे कमै लेखेका छन् समालोचकहरूले । लेख्नेले तर राम्रै लेखेका छन् – लाग्छ । यिनको पहिलो प्रकाशित कृति खण्डकाव्य “खण्ड-अखण्ड” सम्बन्धी सम्यक समालोचना लेखेका छन् डा0 दिवाकर प्रधानले । “खण्ड-अखण्ड”-लाई लामो कविता मानेर डा0 प्रधानले लेखेका छन् यस्तो – “१॰ व्यक्ति व्यञ्जक खण्ड-अखण्डमा सामाजिक समस्याहरूप्रति कवि केवल व्यक्तिको वैयक्तिक प्रतिक्रिया पाइन्छ । वैश्विक तनाउ र देशको अव्यवस्थाप्रति कवि-मन उद्विग्न भएको छ। आत्मकथा भने जस्तो तर अन्त्यहीन कथा छ र कवितामा पनि अकविताका लक्षणहरू समेटिएका छन्। अलेखन(anti creation) जस्तो स्थिति पनि देखा पर्दछ । विकीर्ण र विशृङ्खलित चिन्तनलाई शृङ्खला दिने प्रयास छ ।
२. ‘खण्ड-अखण्ड’ कवितामा जम्मा छ खण्ड छन्। ती छ: वटै खण्डको दीप्तिले सतत –शृङ्खला समेटेका हुनाले त्यो अखण्ड पनि छ। खण्डनीय अखण्डको क्रम अन्तर्गत स्थापित गराउनुले कवि केवलचन्द्र लामाको कवित्वको प्रौढता परिबोध गर्दछ । खण्ड र अखण्ड बीच आत्मा र परमात्माको,कवि र कविताको सम्बन्ध देखापर्छ । देख्नमा खण्ड खण्डित नै भए पनि त्यो अखण्डकै व्यापकता हो। खण्डलाई अखण्डमै देख्नु र पाउनुपर्ने दर्शनद्वारा कवि प्रभावित रहेको सत्य उनैद्वारा उद्धृत ईशोपनिषदको पद्यले उद्घाटित गर्दछ।“(हेर्नू- कविताका कुरा,जनपक्ष प्रकाशन,गान्तोक,
सिक्किम,२०१३)
केवलचन्द्र लामाभित्रको कविलाई राम्ररी चिन्ने अर्का राम्रा कवि छन् कवि किरण कुमार राई ।
उनी केवलचन्द्र लामाको कविताबारे लेख्छन् – “आजको यो भौतिक युगले हामीलाई अन्योलमा पारिरहेको जटिल समयमा उनका कविताहरूले आनन्दको खुराक प्रदान गर्नेगर्छ, उनका कविताहरू पढेर हामी मक्ख पर्नेगर्छौँ,दङ्ग हुनेगर्छौँ। कवितामा प्रयुक्त मिथक,प्रतीक र बिम्बहरूले हामीलाई त्यो प्रदेशमा पुर्याउने गर्छ जहाँ हामीले आफ्नो सुमधुर अतीत छोड़ेर आएका छौँ। उनको कविता पढ़दा हामीलाई सुमधुर गीत सुनिरहेको जस्तो प्रतीत हुन्छ,एउटा मीठो धुनमा रूमल्लिरहेको जस्तो अनुभव हुन्छ। उनी एक अध्ययनशील व्यक्ति हुन्। पाश्चात्य अनि पूर्वीय दर्शनहरूसित उनको गहीरो सम्बन्ध छ,उनका काव्यकृतिहरूमा ती सबै प्रतिबिम्बित भएको पाइन्छ । उनका कवितामा हाम्रै आँगन वरिपरिका दृश्यावलीहरूले प्रश्रय पाएको भेटिन्छ।“(हेर्नू “शब्दसित साइनो गाँस्दै”,श्याम ब्रदर्स प्रकाशन,दार्जिलिङ,२००२)
महत्त्वपूर्ण हुन्छ घर। भनिन्छ—एक अर्कालाई मनुष्यता सिकाउने पाठशाला हो घर। महात्मा गाँधीले १५-११-१९२०को दिन गुजरात महाविद्यालयको उद्घाटनमा भाषण दिँदा भनेछन्—“हिन्दुस्तानको हरेक घर विद्यापीठ हो,महाविद्यालय हो,आमा-बाबा आचार्य हुन्। आमा-बाबाले आचार्यको यस्तो काम छोड़ेर आफ्ना धर्म छोड़िदिएका हुन्। “
घर मानिस बस्ने ठाउँमा नभएर परिवारकों समूह बस्ने सजिलो,सुरक्षित अनुभूति पाइने निवासस्थान पनि हो,जहाँ ‘केही’ निर्मित,प्राप्त र विकसित हुन्छ। त्यो ‘केही’-को प्राप्ति,निर्माण र विकासमा लागिपर्दा घरले दु:ख पनि पाँउँछ,सुख पनि पाँउँछ। कवि केवलको “घर”-ले पनि त्यस्तै ‘केही’ खोज्छ,सोच्छ र मुखरित गर्छ।
रामधारीसिंह ‘दिनकर’-को काव्यिक उद्गार “जलकर चीख उठा, वह कवि था,साधक जो नीरव तपने में “-ले कविहरू जलेर साँच्चै चिच्याउँछन्। लागथ्यो। तर कविहरू आगोले मात्र जल्दैनन्। अपितु चक्षुमार्गबाट सोझै मनमा भित्रिएको कारूणिक र त्रासदीय दृश्यले, मानसिक रिक्तताको अनुभूतिले,ऐकान्तिक जलनले जलेर कवितामा चिच्याउँदा रहेछन्। यस्तो अनुभूति र जलनदेखि सायद कवि केवलचन्द्र लामा असामीप्यमा रहन सक्दैनन्।
“खोई त भिटामिनको गुलियो क्याप्सुल
मेरा बा’आमाका दुख्ने करङलाई
सपनामै भा ‘पनि ???”
--(रिक्तक, केवलय)

जलनहरू कति छन् छन् “केवलय”-मा। पीरहरू,घाउहरू कति छन् छन् केवलको “घर”-मा पनि।

“साँझछेक मुसारिरहन्छन् गीतहरूले
आफ्ना घाउहरू
आफै भाँचिएर”
--(घर,सातबाट )

“कमेजको फेर समातेर रोएको चियागाछ
र रुला रुलाजस्तो त्यो डल्ले खोर्सनीको बोट।
रेडियोमा गानाजस्तै बज्दैछ याद नेपथ्यमा ।
बोजूको चुरा बज्दैछ नेपथ्यमा ।
केको दाग हँ यो घरको भित्तामा ?
आँसुले चिथोरेको ? बोजू बितेको सालको ?”
--(घर,छत्तीसबाट )

“भर्खर झुल्केको गीतले पस्किन्छ
भोकको पर्परी भुटुन र तिक्खर अचार
अभावले मुख बराएको निस्तो जिन्दगीलाई”
--(घर,उनन्चालीसबाट )

मान्छेले भोगेको तीतो वास्तविकता मीठों लाग्छ “घर”-मा। त्यहाँ बस्नेहरू दुख्छन् भक्कु। पढेर पाठक भने मजा मान्छन्। जादुगर कवि केवलको चल्छ त्यसरी जादुगरी कवितामा। ७५ पृष्ठले बनिएको “घर”-भित्र कवि केवलले एकचालीस कविताद्वारा देखाउँछन् भावगत र कलागत अनगन्ती म्याजिक ट्रिक्स । शब्दशिल्पी र चित्रशिल्पी केवलचन्द्रको टडकारो देखिन्छ शैल्पिक पक्ष। भावको प्रकर्ष पनि लोभनीय पाइन्छ। कवि र चित्रकार प्रतिभा एकाकार भएरै त्यसो भएको हुनुपर्छ “घर”-भित्र।
सुप्रतिष्ठित कवि अनि समालोचक जय ‘क्याक्टस’-ले भिन्न तर चित्ताकर्षक शैलीमा केवलचन्द्र लामाको “घर”-को भूमिका लेखिदिएर शृङ्खला कविता भानिएको “घर”-लाई पढूँपढूँ लाग्ने बनाइदिएका छन्। उनले लेखेका छन्—“सङ्केत=घर,सङ्केतक=भाषा र साङ्केतिकता=समय, सभ्यता,संस्कृति,स्थिति,मनस्थिति,व्यवहार,वृत्ति.........अनेकानेक भएर अनन्त पुग्छ। यही सञ्जालभित्र छ त्यो अर्थबाहुल्य,अनिर्धार्य अनि अनन्तता । केवलको ‘घर’ विविध ‘रूप’को छ – फेरि गाउँ-बस्तीको गोर्खे घर,किसानको घर,भूतपूर्व सैनिकको घर॰..... थुप्रै अरू पनि। ‘डिकोड’ गर्दै गए भेटिन्छन् अरू अरू पनि । लेखिएका छन्। देखिएका छन्(Aporia) ती सबै ‘भाषा’मा एक पछि अर्को।
भेट्न त्यो घर,पाठकले अघिबाट (शुरूदेखि),पछिबाट,बीचबाट,कहींबाट पनि ‘कविता-पठन’गरी स्वेच्छाले पुग्न सक्छन्। खण्ड-खण्डमा विभक्त अखण्ड(Broken Series) ‘खण्ड-अखण्ड’को ‘केवलय’ हो यो नयाँ ‘घर’। साँचो कवितालय पनि।“(हेर्नू , ‘भूमिका(?)मा, घरबाट)

केवलचन्द्र लामाको “घर” पठनीय छ , सङ्ग्राह्य छ । अब पाठकले पढ़िदिनुपर्यो केवलको “घर” र अन्य कविताकृतिहरु । पढेर रसास्वादन मात्र होइन मूल्याङ्कन पनि गरिदिनुपर्यों केवलले जन्माएका काव्यिक सौन्दर्यको।
भारतीय नेपाली साहित्यका एकजना सशक्त कवि केवलचन्द्र लामाको कवितालेखनले निरन्तरता कायम राख्दै नयाँ नयाँ काव्यकृतिहरू धेरै जन्माउन सकोस्। कविताशिल्पी र चित्रशिल्पी केवलचन्द्र लामालाई हार्दिक शुभकामना । अस्तु।


डाउहिल,खरसाङ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 जेठ, 2076

लेखकका अन्य रचनाहरु