सहयोग

- बद्री अधिकारी

कहिलेकाहीँ कसैले आफूमाथि प्रयोग गरेको वाक्य र शब्दले लगातार पछ्याइरहने गर्दो रहेछ । कसैको गफ गर्ने शैली सारै मनमोहक हुँदो रहेछ । कसैको स्वर र शैली पट्यारलाग्दो झर्को लाग्दो । जीवन भोगाइको क्रममा कैयौँ पटक यस्ता कुराहरूसँग साक्षतकार भयो होला, मलाई हेक्का भएन । ऊसँग भएको संवाद घटनाले मलाई निमेषभर नछोडी पछ्याइरहेको थियो । जेहोस् म मनोसंवाद गर्न विवश भइरहेकी थिएँ । यस्तो मनोसम्वादले शरीरमा थकावट उत्पन्न हुँदो रहेछ । उसको बोलीमा मिठास र आत्मीयता झल्किरहेको थियो । बीरगन्जदेखि इटहरीसम्मको यात्रा छिटै सकिएझैँ लागेको थियो । बसको डवल सीटमा ऊ र म थियौँ । म झ्यालपट्टि बसेकी थिएँ । मैले झ्यालबाट बाहिरको मनमोहक दृश्य हेरेको बेला उसका आँखाले नजानिँदो पाराले मेरो शरीरको अवलोकन गरिरहेको मलाई भान भइरहेको थियो । गर्मीको मौसम भएकाले शरीरमा मोटा कपडा थिएनन् । ऊ निकै आकर्षक देखिन्थ्यो । व्यक्तित्व पनि राम्रै थियो । चौडा छाती, बलिष्ठ पाखुरा, गहुँगोह्रो शरीर, ओँठमाथि सामान्य जुँगा, मिलेको अनुहारमा सामान्य युवतीलाई आकर्षण गर्न सक्ने क्षमता उसमा देखिन्थ्यो । उसले आफूलाई चोर दृष्टिले हेरेको देख्दा मेरो मनको कुनामा उसप्रति रीस पनि उठ्दै थियो । घरिघरि उसका र मेरा आँखा चार हुन्थे । यस्तो प्रक्रिया यात्रामा कैयौँपटक दोहोरिँदै थियो । उसको र मेरो यो खेलले पहिला पहिला त मलाई अप्ठ्यारैमा पा¥यो । तर क्रमशः दोहोरिँदै जाँदा मेरो मनले एक प्रकारको रमाइलो अनुभव गरिरहेको थियो । पथलैयामा केही समय बस रोकियो ।
“पानी पिउँनुहुन्छ ?”
“...............” मैले पुलुक्क उसलाई हेरेकी थिएँ । उसका आँखाले पानी पिउन मसँग अनुरोध गरिरहेका थिए, ओठमा मन्द मुस्कान बोकेर । मैले नबोलीकन हात लम्काएँ । फ्रिजबाट भर्खरै निकालेको सिलप्याक बोतल रहेछ । तिर्खा लागेकोले मैले झण्डै आधा बोतल पानी पिएछु ।
“तपाईंलाई पो पानी नपुग्ने हो कि ?”
“पुगिहाल्छ, तृष्णाको निश्चित सीमा हुँदैन यो मान्ने वस्तु हो ।”
“तपाईं कहाँसम्म जानु हुन्छ ?” मैले उसको गन्तव्य स्थान जान्न चाहेँ ।
“दमकसम्म ।”
“दमक मै हो घर ?”
“हजुर ।”
“................”
मलाई मौन देखेर उसले मेरो बारेमा बुझ्ने उत्सुकता देखायो— “तपाईंको घर ?”
“इटहरी ।” मैले जवाफ फर्काएँ ।
“मेरो नाम कौशल, तपाईंको ?”
“नीलिमा”
“साह्रै राम्रो नाम रहेछ ।”
“........................।”
यसरी हामीबीचमा वार्तालाप सुरु भएको थियो । हामीले एकअर्कालाई आफ्नो बारेमा बताएका थियौँ । उसको आफ्नै घरमा भाइसँग साझेदारी किराना पसलको होलसेल दोकान रहेछ । व्यापारको सिलसिलमा बीरगञ्ज आएको रहेछ । एउटा छोरा रहेछ पाँच वर्षको । उसले मेरो वर्तमान बुझ्न चाह्यो । मैले किन किन उसलाई ढाँट्न सकिनँ । उसको आत्मीय प्रर्दशनले गर्दा म यथार्थताको घेराभन्दा बाहिर जान सकिनँ । मेरो वर्तमान सुनेर ऊ निकै गम्भीर भएको थियो । उसले आत्मीयता प्रदर्शित गर्दै मेरो हौशला बढाउने प्रयास गरेको थियो ।
“नीलिमाजी जीवन झेल्ने क्रममा उतार चढाप भइरहन्छ । तर आफ्नो जिम्मेवारी, कर्तव्य र उत्तरदायित्वको जानकारी राख्ने मान्छेले नै जीवनको वास्तविक सुख प्रांप्त गर्न सक्छ , तपाई धैर्य धारण गर्नुहोस् भविष्यमा तपाईले श्रीमानको भन्दा बढी सुख प्राप्त गर्न सक्नु हुनेछ ।”
“विलासी सामग्रीले भरिभराउ भएको गगनचुम्भी घरमा सुखको ऐश्वर्य प्राप्ती हुन्छ र छाप्रोमा दुःखको जालो हुने होइन किनकी सुखलाई नापजोख गर्ने मानिसको आ—आफ्नै खाले मन हुन्छ त्यसमा पनि मसँग सीप छ उसको सहारा बिना पनि जीवन धान्न कठिन हुँदैन ।”मैले आफ्नो दृढता यसरी प्रदर्शित गरेँ उसका सामु ।
“तपाईंको भनाइमा दर्शन लुकेको छ, म तपाईंको हिम्मतको प्रशंसा गर्दछु ।”
“दार्र्शिनकको दर्शन होइन यो मेरो अनुभव मात्र हो ।” मैले भनेकी थिएँ । यसरी हामीहरू बाटाभरि एक अर्कासँग गफ गर्दै आएका थियौँ । साँच्चै भन्नुपर्दा उसका हरेक विचार शब्दहरूले म प्रभावित भएकी थिएँ । ऊ पनि मेरो कुराले प्रभावित भयो कि भएन निक्र्यौल गर्न सकिरहेकी थिइनँ ।
मेरो श्रीमानले अग्रेंजी साहित्यमा डिग्री गरेको थियो । उसको र मेरो नाता गाँसिएको सात वर्ष बितिसकेको थियो । विवाह गरेको दुई वर्षमा माथिल्लो अध्ययनका लागि ऊ अमेरिका हानिएको थियो । अहिले त उसले उतैको नागरिकता पनि पाइसकेको छ । अमेरिकाको बासिन्दा भएपछि उसले मलाई बिर्सियो । मेरो मायाले उसलाई तान्न सकेन न उसले मलाई नै बोलाउन सक्यो । गाइँगुइँ हल्ला सुनिन्थ्यो उसले उतैकी केटीसँग विवाह ग¥यो रे.! खोइ लोग्ने मानिस कति चाँडै बदलिँदा रहेछन् । यहाँ बस्दाको उसको वरव्यवहारले त त्यस्तो होलाझैँ लागेको थिएन । नलागेर के गर्नु हुने कुरा भैसकेको थियो ।
“नीलिमा म तिमीबिना कसरी अमेरिकामा अडिन सक्छु, नागरिकता पाउने वित्तिकै तिमीलाई बोलाउनेछु ।” उसले भनेका यी वाक्यहरूलाई सम्झँदा उसको मुख लोपार्न मन लाग्दथ्यो । उसले भनेका शब्दहरू सबै आडम्बरीमात्र थिए । मैले चिठी पठाएर उसलाई म तिम्री मान्छे हुँ भनेर आभास दिलाउने प्रयास गरेँ तर व्यर्थ । मेरो चिठ्ठी उसले पढ्यो कि पढेन म जाँन्दिनँ । एकपटक परिचय भएको मानिसले पनि चिठ्ठी पठायो भने प्रतिउत्तर पाउँछ । म त झन उसले मनपराएर बिबाह गरेकी श्रीमती । म ऊसँग दुई वर्षसँगै बसेकी कस्तो निष्ठुरी ! ससुरा थिएनन् ।
सासूले ऊसँग फोनमा — “तैँले के गरेको ?” भन्दा ऊ झर्किन्थ्यो । आखिर वाक्क भएर म माइत आएँ । नेपाली महिलाहरू आफ्नो घरबाट तिरस्कृत भएपछि त्यही एउटा सहारा हुँदो रहेछ माइतीघर । बुटिक र व्युटीपार्लरको काम सिकेकीले माइतीमै बसेर इटहरी बजारमा पसल चलाएकी थिएँ । मलाई आफ्नो पेट पाल्न गाह्रो थिएन । कमाइ राम्रै भएकाले माइतीलाई पनि सामान्य सहयोग पु¥याउँदै थिएँ । माइतीका लागि म बोझ नभएकीले माइतीहरू पनि मसँग खुसी नै थिए । बीरगञ्ज मावली पुगेर फर्कंदा कौशलसँग भेट भएको थियो । लोग्ने मानिसप्रति ममा घृणा हुँदाहुँदै पनि मैले कौशलमाथि दूव्र्यवहार गर्न सकिनँ । हो कुनै नारी विशेषको कमजोरी नभएर उसको आत्मीय व्यवहारको मजवुती हुन सक्छ । जेहोस् म आफँैभित्र त्यसखाले कारण खोज्न विवश भैरहेकी थिएँ । किन हो किन कौशलको सभ्य र शिष्ट व्यवहारले मलाई आकर्षित गरिरहेको थियो । हामी दुवैले एकर्काको मोवाइल नम्बर पनि साटासाट गरेका थियौँ ।
मेरो श्रीमान् विवेक ! कस्तो विवेकहीन ? विवेकले लत्याएपछि कौशल नै त्यो पहिलो पुरुष थियो जसले मेरो दिमागको एउटा कुना ओगट्न सफल भएको थियो । यो ओगटाइलाई के भन्ने ? आर्कषण ! या नारी पुरुषबीच उत्पन्न हुने प्रेम ? वा मभित्र रहेको पुरुषको साहारा पाउने दमित तृष्णा ! मैले यकिन गर्नै सकिनँ । मेरो दिमागमा उसको सम्झना बारम्बार आइरहेको थियो ।
पार्लरको सामान खरिदका लागि दमक जानुपरेकाले काम अह्राएर बाहिरिएँ । बसमा कुनै परिचितसँग गफ गर्न जुरेन । कौशललाई दमक आउँदै छु भनेर फोन गरूँझैँ लाग्दै थियो । छि ! उसले के सोच्ला ? बिचारको खेती दिमागद्वारा सञ्चालित हुँदो रहेछ । दिमागले फोन गर्न निर्देशन गरेन । दिमागमा विवाहित पुरुषको बारेमा कुरा खेलेकोले म आफू आफैँसँग रिसाउँदै थिएँ । टाउको
झड्कार्दै उसको बिचार पछ्याउथेँ । प्रयास विफल भैरहेको थियो । उसको मुहार आँखाअगाडि नाँच्न थाल्दथ्यो । म मनोसंवाद गर्न थालेँ । “पुरुषको सामीप्यताका लागि मेरो शरीर छटपटाएको हो !“ पाँच, छ वर्षसम्म पनि पुरुष स्पर्श नपाउँदा मलाई यस्तो भएको थिएन । आफूसँग म आफैँ लजाउँछु । सायद गालामा लाली पनि चढ्यो होला । किन किन कौशलको वलिष्ठ शरीरसँगको हँसिलो मुहार आँखाअगाडि नाँचिरहेको थियो । उसको आत्मीय बोली, अनुभवी विचार परोपकारी भावनालाई नसम्झी म बस्न सकिरहेकी थिइनँ । साँच्चै उसमा मानिसलाई आफूतिर आकर्षित गर्ने चुम्बकीय शक्ति थियो । यस्तो शक्ति विरलै मानिसहरूमा पाइन्छ । आफूभित्र भइरहेको उथलपुथलले होला निधारमा चिट्चिट् पसिना आएझैँ लाग्यो । हातको रुमालले निधारको पसिना पुछेँ ।
“उर्लाबारी, उर्लाबारी, ........।”
खलाँसीको स्वरले म झस्किएँ . एकाग्रता भङ्ग भयो । मैले वरिपरिका सीटमा बसेकालाई हेरेँ । कसैले आफूलाई ध्यान दिएको नपाएपछि म ढुक्क भएँ । ‘मानिसलाई वनको बाघले भन्दा मनको बाघले खान्छ भनेको साँच्चै रहेछ ।’ दमक आइपुगेकोले म बसबाट उत्रिएँ । पार्लर र बुटीकको सामान दमकमा केही सस्तो पाइन्थ्यो । इण्डीयन गुड्स भन्सार छलेर ल्याएकोले होला । म पसलतिर लागेँ ।
मेरो समानदूरीमा पछाडिबाट आएर मोटरसाइकिल अडियो ।
“हेलो ! नीलिमाजी !”
“कौशलजी तपाईं ! “म आश्चर्यचकित भएँ, आफ्नो नजिक उसलाई देखेर ।
“के का लागि आउनुभएको ? एकपटक पनि फोन गर्नु भएन नी ?
“पार्लरको सामाग्री खरिद गर्न, तपाईले गरेको भए हुँदैनथ्यो र ?
“फोन गर्दा पैसा लाग्दथ्यो नि त, खाना खानुभएको छैन होला ?” उसले ठट्टेउली स्वर उकल्यो ।
“खाएर हिँडेकी ।”
“म खाना खान घरतिर हिँडेको । जाऊँ उतै गफगाफ पनि हुने मेरो घर पनि देखिने । ”
“........................”
मैले उसलाई पुलुक्क हेरेँ । घरमा गए उसकी श्रीमती पनि देख्न पाइने । लालचले मान्छेलाई डोहो¥याउने काम गर्दोरहेछ । मलाई पनि उसकोमा जाऊँजाऊँ लागिरहेको थियो । जाने हत्तारो गरेमा उसले आफ्नो बारेमा के ठान्ला भन्ने चिन्ताले पनि सताउँदै थियो । ममा दुविधा उत्पन्न भैरहेको थियो ।
“के सोचिरहनुभएको ? हिँड्नु न एकछिन त हो ।” मलाई मौन उभिएको देखेर उसले पुनः कर ग¥यो ।
“अलि हतार थियो, अर्को दिन फुर्सद मिलाएर आउँछु नि ।”
“नजिकै त हो, धेरै समय लाग्दैन ।”
उसको आग्रहलाई अस्वीकार गर्ने ममा साहस थिएन भने अर्को तिर उसकी श्रीमतीलाई हेर्ने चाहले मलाई सताइरहेको थियो । चाहना पूर्ति हुने सम्भावित बाटोलाई मानिसले रोज्दो रहेछ । ‘के निहुँ पाऊँ, कनिका बिकाऊँ ।’ उत्कण्ठालाई दबाउन नसकेर म उसको मोटरसाइकलपछाडि बसेँ ।
कल्पनासम्म नगरेको कुरा यथार्थ भई ठिङ्ग आफूअगाडि उभिँदा मानिस किम्कर्तव्यविमुढ हुँदो रहेछ । म पनि त्यसबखत त्यस्तै भएर असमञ्जसमा परेकी थिएँ । कौशलकी श्रीमतीलाई देख्ने बित्तिकै म छक्क परेकी थिएँ । अनुपमा हो उही अनुपमा । बी.ए.सम्मको पढाइ हामीले सँगै पढेका थियौँ । त्यसपछाडि उनको विवाह भएको थियो । मावली गएकीले म विवाहमा जान पाएकी थिइनँ । साथीहरू भन्थे “केटो साह्रै राम्रो पाएकी छे ।” धेरै समयपछाडि उनीसँग भेट भएकाले म हर्षित भइरहेकी थिएँ । उनमा विवाहपछाडि धेरै परिवर्तन आएको रहेछ । उनको अनुहारमा त्यो हर्ष, चञ्चलता, उमङ्ग, उल्लास देखिँदैनथ्यो । उनको मुहारमा असैह्य पीडाका रेखाहरू सल्बलाई रहेका थिए ।
धेरै समयको अन्तरालमा अकस्मात भेटिएको मन मिल्ने साथी देख्दा म खुसीलाई दबाउन नसकेर करिबकरिब चिच्याएँ—“अनुपमा अकस्मात आज कैयौँ दिनपछि तिमीसँग भेट भयो ।” तर उनी बिना उत्सुकता मौनसँग सोफामै बसिरहिन् । उनका आँखाबाट आँसु बगेर गालासम्म आइरहेको थियो । क्वारक्वारती उनी मलाई हेरिरहेकी थिइन् । उनी मेरो खुसीमा सामेल हुन सकिरहेकी थिइनन् । मानौँ, उनी कुनै मुर्ति हुन् । उनीबाट कुनै प्रतिक्रिया नपाएकोले मैले आश्चर्य मानेर कौशललाई हेरेँ ।
“नीलिमाजी बस्नुहोस् ! म बिस्तारमा सबै कुरा भन्नेछु । अनुपमा तपाईंकी साथी भएकोमा म ज्यादै हर्षित भएको छु ।” कौशलले मलाई अनुपमा बसेको सोफातिर बस्ने सङ्केत गर्दै भन्यो ।
म बसेर बैठक कोठाको अवलोकन गर्न थालेँ । बैठक कोठामा कौशलसँग आफ्नो लोग्ने विवेकको फोटो एउटै फ्रेममा झुण्डिएको देखेर झन म छक्क परेँ । मैले आश्चर्य मानेर एकोहोरो फोटो हेरेको देखेर होला कौशल भन्दै थियो – “नीलिमा विवेक र म डिग्री लेभलसम्म सँगै पढेका मिल्ने साथी थियौँ । अहिले साथी अमेरिका बस्छ, घरिघरि नेटमा गफ हुन्छ । तपाईं त उसलाई चिनेझैँ गरेर एकोहोरिनु भयो त ?”
“........“के भनौँ के नभनौँ ? दैवको लीला कस्तो अचम्मको ! जसलाई म भुल्न लागेकी थिएँ । उसको फोटोले मलाई सम्झन विवश पारिरहेको थियो । भाउन्न भएर आएकाले मैले आफ्ना दुवै हातले
टाउको समाएँ । म छट्पटाउन थालेँ । मलाई हत्तारो हुन थाल्यो त्यहाँबाट हिँड्नलाई । केही नभनी उठेर जाँदा पनि कौशलको आत्मीयताप्रति अनादर हुन सक्दथ्यो । के गरौँ के नगरौँ ! विवेकप्रतिको क्रोधले कौशलप्रति अनादर गर्ने ममा कुनै अधिकार थिएन । त्यो मानवीयता पनि ठहरिँदैनथ्यो । कौशल र विवेकको नेटमा गफ चल्छ भन्ने सुन्दा कौशलसँग थुप्रै कुरा भनौँझैँ लागिरहेको थियो । जेहोस् मलाई उठेर हिँड्न उचित लागेन । कौशललाई ढाँट्न पनि पाप हुन्छ झैँ लागिरहेको थियो । साँच्चै भन्नुपर्दा म मर्दै बाँच्दै हुँदै थिएँ ।
कौशल र अनुपमासँग विदा मागेर घर फर्किएँ । कौशलले बसस्टेण्डसम्म पु¥याइदियो । उनीहरूलाई मनको पीडा सुनाउन पाएकीमा आफू हल्का महसुश गरिरहेकी थिएँ । तर मनको एक कुनामा उत्पन्न हुँदै गरेको खुसी गुमाएझैँ पनि लागिरहेको थियो । अनुपमाको अवस्थालाई देखेपछि उनीभन्दा आफू सबल नै छु झैँ लागेको थियो । उनको दुःख पीडालाई नजिकबाट देखेपछि मभित्र एक प्रकारको साहस उम्रिरहेको थियो । हो अनुपमालाई सम्झँदा मेरा चक्षुहरू रसाउँथे । उनलाई एउटा कुराको सुख थियो । हरेक आइमाइले त्यो सुख चाहन्छे । त्यो हो श्रीमानको माया.। कौशल उनलाई औधी माया गर्दथ्यो । उनको हरेक चाहना आवश्यकताको ख्याल राख्दथ्यो । उनीबाट पर्याप्त मात्रामा सहयोग नपाउँदा पनि कौशलको माया मेरो श्रीमानको जस्तो छद्मभेषी थिएन । त्यस्तो जीवनसाथी पाउन भाग्यमा लेखेको हुनुपर्दोरहेछ क्यारे ! भाग्य वास्तवमै हुन्छ क्यारे ! भाग्यलाई प्रयत्नले विकसित गर्न सक्छ तर बदल्न सक्दैन । यो मेरो बिचार हो । यसमा सबैले सहमति जनाउनुपर्छ भन्ने होइन ? अनुपमा प्यारालाइसिसको शिकार भइछन् । बायाँ भाग चल्दैनरहेछ, छोरो जन्मेपछि बोली पनि गुमेर वास्तवमै मुर्ति नै भएकी रहिछन् । तथापि श्रीमानको मायामा कुनै कञ्जुस्याइँ थिएन । कौशलले मेरो श्रीमानको जस्तो व्यवहार देखाएको छैन । यस्ता पुरुष विरलै पाइन्छन् यस धर्तीमा । यिनीहरूलाई ईश्वरको रूपभन्दा पाप नलाग्ला । मलाई कौशलभित्र ईश्वरीय अलौकिक शक्ति भएकै जस्तो लागिरहेको थियो । म हिँड्ने बेलामा अनुपमाको आँखाबाट आँसु बरर झरेका थिए । उनका आँखामा उब्जेको भावलाई अध्ययन गर्दा उनी मसँग थुप्रै पीडा साटासाट गर्न चाहन्थिन्झैँ लाग्दथ्यो ।
कौशलले बाटामा मसँग सोधेको थियो– “अमेरिकाबाट फर्केर विवेक तपाईंसँग बस्ने गरी आयो भने ?”
“त्यो सम्भव छैन, उसले निलो आँखा भएकीलाई छाड्न सक्ने कुरै भएन.। दोषबिना नै उसले मलाई परित्याग गरेपछि पुनः मसँग घरजम गर्ने प्रस्ताव नै राख्न सक्दैन ।”
“असम्भवलाई सम्भव पार्ने प्रयत्न गर्नुपर्छ, बिना प्रयासको खेती कहाँ सप्रिन्छ र ।” कौशल मलाई सान्त्वना दिन खोजिरहेको थियो ।
“कौशलजी अर्थविहीन कुरामा समय खेर फाल्नु बुद्धिमानी हुँदैन ।”
“नीलिमा ! तिम्रो उससँग सिन्दुरको साइनो छ नेपाली नारीहरू सिन्दुरदाताको जस्तोसुकै पापलाई पनि क्षमा गर्न सक्दछन् ।” तपाईंबाट तिमीको सम्बोधन साथ मन्दमन्द मुस्कुराउँदै थियो ।
मानौँ, उसले मेरो अन्तर्मनको विवेकप्रतिको चाहयुक्त भावलाई अनुमान गरिसकेको छ र मेरो मरिसकेको आशालाई जगाउँन खोज्दैछ वा बफादार साथीको कर्तव्य निर्वाह गर्न खोजिरहेछ । म बाटो बिराएकी गाई जस्तै भै सकेकी थिएँ । म उसलाई हेरेर अनुमान गर्न खोजिरहेकी थिएँ । म यकिन गर्न सकिरहेकी थिइनँ ।
“...............” मैले बोलेर जवाफ गरिनँ । ‘तित्राको मुखै वैरी’ भन्ने उक्तिलाई सम्झिएर चुप लागिरहेँ । बसको यात्राभरि मेरो दिमागमा कयौँपटक कौशलले जगाइदिएको विवेक एउटा कुनादेखि अर्को कुनासम्म मडारिरहेको थियो । उसको मडराइले म भित्रभित्रै थङथिलो हुँदै थिएँ ।
बेलुकीको खाना खाएर पलङमा पल्टिरहेकी थिएँ । निद्रादेवी मसँग रिसाएकी थिइन् क्यारे । खाना नरूचे पनि पेटमा भोक थिएन । दिमागमा प्रसस्त कुराहरू सल्बलाई रहेका थिए । मेरो दिमागले मसँग प्रश्न गरिरहेको थियो—‘विवेक तँलाई सम्झेर आयो भने तँ के गर्दछेस् ?’ मभित्र पीडा उत्पन्न भयो । मभित्र त्यस्तो भैदिए हुन्थ्यो भन्ने लालच पनि उत्पन्न हुँदै थियो । विवेकले पनि मुखले त मलाई कहिल्यै नराम्रो भनेको थिएन । जुन समयसम्म मसँग रहेको थियो । मैले कहिल्यै गुनासो गर्ने मौका उसले दिएको थिएन । मैले उसलाई दोष लगाउने ठाउँ थिएन । हो, विवेक अमेरिका पुगेपछि बदलियो । सायद त्यसमा उसको मात्र दोष थिएन । वातावरण, रहनसहन र उसभित्र रहेको जवानीको जोश पनि दोषी हुनुपर्छ । पश्चिमी मुलुकमा यौन स्वतन्त्रता हुन्छ र नीलो आँखावाली गोरी मैमले माकुराले आफ्नो आहारलाई बेरेझैँ बेरेकी होली ? शरीरलाई सही स्थानमा प्रयोग गर्न नजान्ने अशिक्षित थिएन ! म बेकाममा अरूलाई दोष थुपारेर आफ्नो मान्छेको दोष पन्छाई रहेछु । अपराधिलाई निरापराधी भन्न मिल्दैन ! यो मेरो कल्पना मात्र हो । वास्तविकतासँग साक्षतकार गर्ने कल्पनामा हिम्मत हुँदैन । म फजुलमा आफ्नो दिमाग किन घोटिरहेकीछु ? मीठो कल्पनाले सत्यलाई छेक्न सक्दैन । ‘हत्केलाले सूर्य कसैले छेक्न सकेको छ र ? छेकेँ भन्नु त केवल छेक्नेको भ्रम हो । म यसरी मनोसंवाद गर्दै पलङको एक छेउ र अर्को छेउ गरिरहेकी थिएँ । समय बितेको ज्ञान भैरहेको थिएन । बढी कुरा खेलेकाले पेट पोलेजस्तो भैरहेको थियो । लघुशङ्काले च्यापिरहेको झैँ हुँदैथियो । समयले कसैलाई पर्खँदैन ।
दमक गएको पनि हप्ता दिन बितिसकेको थियो । मेरो छट्पटाइको ज्ञान कसैलाई थिएन र मैले पनि कसैलाई मतियार बनाएकी थिइनँ । मतियार बनाउने कुरा पनि थिएन । पार्लरमा काम गर्ने युवती र ग्राहकहरूले.‘आजकल तपाईंलाई के भएको छ ? दुब्लाउँदै जाँदै हुनुहुन्छ त, सञ्चो छैन कि कसो ?’ सोध्ने गर्दथे । “केही भएको छैन, सञ्चै छु ।” म यसरी पन्छिने प्रयास गर्दथेँ । अरूलाई ढाँटे पनि म आफूले आफैँलाई ढाँट्न सकिरहेकी थिइनँ । साँच्चै भन्नुपर्दा ममा एक प्रकारले मनोरोग लागिसकेको थियो । अतीत र वर्तमानमा म यसरी भाँैतारिइरहेकी थिएँ । हरपल हरक्षण मभित्र भित्रै छट्पटाई रहेकी थिएँ । स्वार्थी विवेक ! म उसलाई धिक्कार्थेँ । दिमागको कुना कुनामा मडारिँदै गरेको श्रीमान विवेकलाइ यशुख्रिष्टलाई काँटी ठोकेझँै भित्तामा लगेर ठोकेर चैनको श्वास फेर्दथेँ । निमेष भरमै पुनः ऊ
मेरो अगाडि याचनाको मुद्रामा उभिने गर्दथ्यो । म छट्पटिन्थेँ, तड्पिन्थेँ र आत्तिन्थेँ । दिनहरू यसरीनै मुस्किलले बितिरहेका थिए । रात झन् बित्न गाह्रो हुन थालेको थियो ।
अचानक मोवाइलको घण्टी बजेकोले म झस्किएँ । मोवाइल उठाएर हेरेँ कौशलको फोन रहेछ । कौशलले यति राति किन फोन ग¥यो होला ?
“हेल्लो.नमस्कार” मैले शिष्टाचार देखाएँ ।
“नीलिमा फोन त चाँडै उठायौ, निदाएकी थिइनौ कि कसो ?”
“झकाउन लागेकी रहेछु ।”
“एउटा खबर छ सुनाऊँ कि ?”
“मेरो !” मैले उत्सुकता देखाएँ ।
“हो तिम्रै हो, तिमीलाई राम्रो लाग्ने हो कि होइन ?”
“भन्नु न, राम्रो भए पनि नभए पनि खबर त सुन्नै प¥यो ।
“राम्रो खबर लागे मलाई के बक्सिस दिन्छ्यौ त ?” फोनमा उसको हल्का हाँसो मिश्रित स्वर सुनियो ।
“म जस्तो सानी मान्छेसँग तपाईलाई दिने के पो छ र खोइ !” मैले आश्चर्य ब्यक्त गरेँ ।
“नीलिमा ! तिमी मभन्दा सानी नै हौ । साँच्चै भन्नुपर्दा तिमी मेरी बहिनीकी उमेरकी भएकीले बहिनी सोसरह हौ, मैले तिमीलाई केही भन्ने र अह्राउने अधिकार ममा हुन्छ कि हुँदैन ?”
“ म के भनौँ ? तपाईं स्वयम् जानीफकार हुनुहुन्छ । खबर चाहिँ के हो ? भन्नु न ?” ममा उत्सुकता बढ्न थाल्यो । खबर सुन्नका लागि म हत्तारिएँ ।
“तिमीलाई एउटा कुरा सोधूँ, नढाँटी भन्ने हो ?”
“प्रमिस ! म तपाईंसँग कुनै कुरा पनि लुकाउँदिनँ ।”
“रातको १२ बजेसम्म पनि तिमी निदाएकी छैनौँ ! के आजकाल विवेकको सम्झनाले सताउन थाल्यो कि कसो ?“
“धत् ! तपाईं त कस्तो फजुलको गफाडी मान्छे । चाहिँदो–नचाहिँदो गफ गर्ने ।” उसले आफ्नो चोरी पक्डेकाले मलाई लाज लागिरहेको थियो ।
“नीलिमा म पनि मानिस हुँ । मानिस भएको नाताले केही कुरालाई अनुमान गर्न सक्दछु, यदि तिम्रो दिमागको कुनै कुनामा अझै विवेक बसेको छ भने र उसको गल्तीलाई तिमी क्षमा गर्न सक्दछौ भने ऊ आफ्नो भूलको प्रायश्चित स्वरूप बाँकी जीवन तिमीलाई सुम्पन चाहन्छ रे, तिम्रो के छ मनसाय ?“
“..................“म आश्चर्यचकित भएँ । झन्डै मेरो हातको मोवाइल खस्यो । खोइ के भनौँ, नभनौँ । जीवन हारेर पनि जित्न लागेकी थिएँ । खुसी भनौँ या दुःखी ? समर्थन गरौँ या विरोध ?
“नीलिमा ! मैले सोधेको प्रश्नको त जवाफ दिइनौ त ?”
“.......................।” म केही बोल्न सकिनँ ।
मेरो स्वासको गति र मुटुको चाल बढ्दै थियो । धेरै समयसम्मको दुःख भोगाइको कारणले कठोर भएको मन पग्लँदै थियो । सुख प्राप्तिको संकेतले गर्दा आँखा रसाउँदै थिएँ । रूनु कि हाँस्नु, दोधारमा परिरहेकी थिएँ तापनि जवाफ त दिनै थियो–“खोइ दाइ ! यत्तिका दिनसम्म उसले मलाई सम्झिएन, फेरि उसले गोरी मैयाँलाई छोड्न सक्छ र ?” मैले मसिनो स्वरमा यति मात्र भन्न सकेँ ।
“तिमी त्यसको चिन्ता नगर, विवेकलाई पुनः तिमी आफ्नो जीवनमा प्रवेश गराउन सक्छ्यौ कि सक्दिनौ ?”
“.......................” म निर्णयको अन्तिम किनारमा पुग्न सकिरहेकी थिइनँ । आफ्नो भलो चिताउने दाइलाई ढाँट्न सक्ने क्षमता पनि थिएन । दाइसँग रिसाउने ममा साहस पनि थिएन । उहाँले मेरो उजाडिइसकेको जीवनलाई पुनः बसाउन ठूलै कसरत गरेको हुन सक्छ र गर्दै पनि हुनुहुन्छ ।
“नीलिमा ! निर्णय लिन अप्ठ्यारो भयो ? पश्चाताप गर्नु भनेको सजाय भोग्नु हो । कुनै पनि पापको प्रायश्चित हुन्छ । म के भनौँ बहिनी तिमी अज्ञानी होइनौ र छैनौ पनि” ।
“दाइ ! फुटेको सिसालाई जतिसुकै जोडे पनि दाग देखिदैन र ?”–मैले रुन्चे स्वरमा प्रतिप्रश्न गरेँ । साँच्चै मलाई भक्कानो छुटेर आइसकेको थियो । म सुक्सुकाउन थालिसकेकी थिएँ ।
“बहिनी सिसाको दाग नपुरिएला तर मनको दाग पुरिन सक्छ । यो त आफ्नो हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो र विवेकको गोरी मैयासँग डिभोर्स भएको एक वर्ष भैसकेको रहेछ । तिमीसँग सिधै आफूले प्रस्ताप राख्न नसकेर उसले मसँग गुहार मागेको मात्र हो । मैले त केवल तिमीलाई सहयोग मात्र
गर्न सक्छु, यसै गर भनी निर्णय लाद्ने हंैसियत र अधिकार ममा कहाँ छ र !”–दाइको दुःखित स्वर कानमा ठोकिएकोले म मर्माहत हँुदै थिएँ । मलाई डाँको छोडेर रून मन लागिरहेको थियो ।
मैले आत्तिँदै भनेँ– “दाइ, तपाईं त्यसो नभन्नुहोस् । तपाईंको पवित्र सहयोगलाई म जीवनभर भुल्न सक्दिनँ । आखिर अस्ति तपाईंले नै भन्नुभएको होइन र ? ‘नेपाली नारीहरू सिन्दुरदाताको जस्तोसुकै पापलाई पनि क्षमा गर्न सक्दछन् ।’
“त्यसो भए म यसलाई तिम्रो स्वीकृति सम्झौँ ?” दाइको हँसिलो स्वर मेरो कानमा ठोकियो ।
“खोइ कुन्नि त दाइ ।” लाज र खुसीले गर्दा म बढी बोल्न सकिरहेकी थिइनँ तर स्वरमा खुसी छल्किरहेको थियो ।
“बहिनी ! तिमीलाई केही समयपछि उसले फोन गर्नसक्छ । प्रतीक्षा गर्दैगर, बाई .............!”
दाइको स्वर सँगसँगै विवेकको मुहार आँखा वरिपरी घुम्न थालेकोले खुसीले मेरो मन नाँच्दै थियो । हर्षका आँसु झर्ने क्रम शुरू भैसकेको थियो । भविष्यको मीठो कल्पनाले मेरो शरीर फूलको थुङ्गाजस्तो हलुङ्गो भएको थियो । अतीतको पीडालाई भुलिसकेकी थिएँ । मेरा कानहरू फोनको घण्टी सुन्न चनाखो भैरहेका थिए । म मनमनै दाइलाई मुरीमुरी धन्यवाद दिइरहेकी थिएँ । सहयोगी दाइ पाएकोमा गर्वले छाती फुलिरहेको थियो । सिरान नजिक रहेको मोवाइलको घण्टी बज्न थाल्यो । विवेकसँग कसरी कुरा गर्ने भन्ने विचार गर्दै अतीतका आनन्ददायी पलहरूको स्मरण गर्दै हर्षकासाथ मैले मोवाइलतिर हात लम्काएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु