साहित्यकार कृष्ण बजगाईंसँग कुराकानी

- सुमी लोहनी

डायोस्पोराका चर्चित तथा सक्रिय साहित्यकार कृष्ण बजगाईं धरानमा जन्मनु भएको हो । सपरिवार बेलायतमा बसोवास गर्नु हुने बजगाईंले बेल्जियम र बेलायतमा गरि २० वर्ष बिताउनु भएको छ । वि.सं. २०३६ सालमा स्कूलको कार्यक्रममा बाल कविता लेखेर साहित्य तर्फ आकर्षित हुनु भएका बजगाईंका रचना वि.सं. २०४१ देखि विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदै आएका छन् । लेखन, सम्पादन, प्रकाशन र संगठनमा उत्तिकै सक्रिय बजगाईंका भाया साक्रा(नियात्रासङ्ग्रह २०१८), युरेसियाको स्पर्श(नियात्रासङ्ग्रह २०१७), कवच (लघुकथासङ्ग्रह २०१६), कमरेड भाउजू(कथासङ्ग्रह २०१५), रोडम्याप(लघुकथासङ्ग्रह २०१०), स्रष्टा र डिजिटल वार्ता(साहित्यिक अन्तर्वार्तासङ्ग्रह २०१०), हिउँको तन्ना (हाइकुसङ्ग्रह २००९) यन्त्रवत्(लघुकथासङ्ग्रह २००७) प्रकाशित भएका छन् । उहाँले विगत १४ वर्षदेखि नेपाली साहित्यको वेब पत्रिका समकालीन साहत्यि डट कम (www.samakalinsahitya.com) को प्रकाशन तथा सम्पादन गर्दै आउनु भएको छ । उहाँ प्रधान सम्पादक भएको नेपाली साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ बेलायतबाटै प्रकाशित भइरहेको छ ।
साहित्यकार बजगाईंले नारायण जयन्ता लिटरेरी वेब जर्नालिज्म एवार्ड, अमेरिका (२००९), देवकोटा शताब्दी सम्मान, नेपाल (२००९), डायास्पोरा नृपध्वज पुरस्कार, अमेरिका (२०११), भानुभक्त द्विशताब्दी स्वर्ण पदक, नेपाल (२०१४), सुप्रमा साहित्य पुरस्कार, बेलायत (२०१६), सत्यमोहन जोशी शताब्दी पदक, नेपाल (२०१६), वैजयन्ती स्रष्टा सम्मान, नेपाल (२०१६) आदि पुरस्कार तथा सम्मान पाउनु भएको छ । उहाँको एउटा नियात्रा लुम्बिनी बौद्ध विश्वविद्यालयको स्नातक तहको अनिवार्य नेपालीमा पढाई हुन्छ ।
उहाँले समकालीन साहित्य प्रष्तिष्ठान बेलायतको स्थापना गरेर अध्यक्षको नेतृत्व गरिहनु भएको छ । त्यस्तै लघुकथा समाज नेपालको अन्तर्राष्ट्रिय संयोजकको रुपमा पनि जिम्मेवारी पुरा गरिरहनु भएको छ । यसभन्दा पहिले उहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रीय कार्यसमिति, वासिङ्टन डी.सी, अमेरिकाको वरिष्ठ उपाध्यक्ष (२०१०–१२) र केन्द्रिय महासचिव (२००८–१०), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमको संस्थापक अध्यक्ष (२००७–११) हुनुहुन्थ्यो । साहित्यकार बजगाईंसँग सुमी लोहनीले गर्नु भएको कुराकानी ।

कति भयो तपाईं विदेश जानु भएको ? विदेशबाट हेर्दा नेपाली भाषा साहित्यको अवस्था कस्तो देख्नु हुन्छ ?
बेल्जियम र बेलायत गरि १८ वर्ष भयोे मेरो बसाई । मैले हेर्दा नेपाली भाषा साहित्यको अवस्था पहिलेको तुलनामा धेरै राम्रो भएको देखेको छु । साहित्यिक पत्रिका र वेब पत्रिका प्रकाशन तथा त्यसको निरन्तरता देख्दा सन्तोष गर्ने ठाउँ छ । नयाँनयाँ लेखकहरु आएका छन् । साहित्यका पाठक पनि बढेका छन् । पुस्तक प्रकाशन गर्ने व्यावसायिक प्रकाशन गृहहरु थपिएका छन् । पहिलेको तुलनामा नेपाली भाषा साहित्यको अवस्था सन्तोषजनक छ ।

तपाईंले त्यसो भने पनि आजकल नेपाली भाषा संकटमा रहेको अनुमान गरिन्छ ? केही हदसम्म यो कुरा सत्य हो । राजनैतिक पार्टी र देशका नीति निर्माताले गर्दा पठनपाठन र सरकारी कामकाजबाट नजानिदो तरिकाले विस्तारै नेपाली भाषाको प्रयोग कम गर्ने वातावरण बनाउँदै लगिएको जस्तो देख्छु । केही समय अगि नेपाली हिज्जेमा हेरफेर गरेर भाषाको भाँडभैलो मच्चाइएको थियो । त्यो भाँडभैलो मानक नेपाली भाषा अभियानको आन्दोलनले मत्थर मात्र भएको अनुमान गरेको छु । उता स्नातोकोत्तर तहमा नेपाली विषय पढ्ने विद्यार्थीको अभाव हुन थालेको खबर छ । यो राम्रो संकेत हैन । यही स्थिति रहे कैयौं क्याम्पसको नेपाली विभाग खारेज हुने अवस्था आउन सक्छ । एफएम र टिभीमा बोलिने अशुद्ध भाषाको प्रभाव नयाँ पुस्तामा पर्न थालेकोले अविभावकहरु चिन्तित भएको पाएको छुु । अर्को तिर संसारका भाषाको इतिहास हेर्दा ठूला भाषाले जहिले पनि साना भाषालाई मासेको देखिन्छ । किलर ल्याङवेजको रुपमा अग्रपंक्तिमा रहेको अंग्रेजी भाषाबाट नेपाली भाषा खतरामा परेको छ । खुला सिमाना, समान संस्कृति र चलचित्र आदिका कारण हिन्दी भाषा हाम्रो परिपे्रक्षमा दोस्रो किलर ल्याङवेजको रुपमा आएको छ । त्यसमा पनि संसदमा समेत जर्बजस्ती हिन्दी भाषा घुसिसकेको छ । प्रत्यक्ष र परोक्ष रुपमा यी दुई ठूला भाषाबाट नेपाली भाषाकालाई जोगाउनु परेको छ । यस्ता कुरामा नेपाली भाषा प्रेमीहरु र सरोकारवाला सबैले बेलैमा सचेतता अपनाउनु जरुरी छ ।

नेपाली साहित्य विश्व साहित्यको तुलनामा कुन ठाउँमा छ ? संसारका हरेक भाषामा लेखिएका साहित्य विश्व साहित्य हुन् । तसर्थ नेपाली साहित्य पनि विश्व साहित्य नै हो । विश्व साहित्यको तुलना भन्नाले कुन देशको र कुन भाषासँगको साहित्य हो भनेर सोध्नु पर्ने हुन्छ । मेरो अनुभवमा नेपाली साहित्य अन्य देशका साहित्य भन्दा कम छैन ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नु पर्दछ ? नेपाली साहित्यको अन्र्तराष्ट्रियकरण गर्नलाई सबै भन्दा पहिले अनुवाद त्यसमा पनि स्तरिय अनुवाद गर्नु पर्दछ । अहिलेलाई नेपाली साहित्य अंग्रेजीमा अनुवाद गर्न सकियो भने त्यसलाई विश्वका अन्य भाषामा लैजान सजिलो हुन्छ । तर अंग्रेजीमा अनुवाद गरिएका केही कृतिहरु हेर्दा नेपाली साहित्यको हुर्मत नै लिएको देख्छु । राम्रो र स्तरिय अनुवाद गर्न सकिदैन भने अनुवाद नगर्नु नै बेश हुन्छ । अनुवादित कृतिहरुको बितरण र बजारिकरण मुख्य काम हुन् । यसो गर्न सके मात्र नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण हुन सक्छ ।

तपाईं लामो समयदेखि अनलाइन साहित्यिक पत्रकारिता गरिरहनु भएको छ । यसका बारेमा केही बताई दिनु हुन्छ कि ?
आज भन्दा १४ वर्ष अगि मैले बेल्जियमबाट समकालीन साहित्य डट कम नामक नेपाली भाषाको विशुद्ध साहित्यिक डिजिटल पत्रिकाको प्रकाशन तथा सम्पादन कार्य सुरु गरेको थिएँ । म स्थायीरुपमा बेलायत सरेर आएपछि पनि बेलायतबाटै त्यसलाई निरन्तरता दिएको छु । यस पत्रिकालाई पाठकहरुले अत्यन्त मन पराउनु भएको छ । यस डिजिटल पत्रिकालाई नेपाली साहित्यको अन्तर्राष्ट्रिय विस्तारको एउटा सानो पाइलाको रुपमा लिने गरिएको छ ।

तपाईको विचारमा नेपाली साहित्यलाई वेब र मिडियाको जमानामा कसरी अगाडि बढाउनु पर्ला ?
समयसँगसँगै मानिसको रुची, बानीबेहोरा र जीवनशैली पनि परिवर्तन भएको छ । संसारभरका विभिन्न सूचनाहरु कम्प्युटर, स्मार्ट फोन, ट्याब्लेट आदिमा एक क्लिक मै तुरुन्त उपलब्ध हुन्छ । आजकल मानिसहरु त्यसैमा घण्टौं बिताउन थालेका छन् । त्यसलाई धेरैले प्रयोग गर्न थालेकोले नेपाली साहित्यका त्यहाँ उपलब्ध हुने व्यवस्था मिलाउनु पर्दछ । धेरै भन्दा धेरै साहित्यिक वेब पत्रिकाहरु संचालन ल्याउनु पर्दछ । अझ विधागत साहित्यिक वेब पत्रिकाको प्रकाशन गर्न सके त्यो झन् प्रभावकारी हुन्छ । अब नेपालबाट कागजमा मात्र छापिने गरेका विशुद्ध साहित्यिक पत्रिकाहरुलाई पनि इन्टरनेटमा राख्नु पर्दछ । जसले गर्दा विभिन्न स्तर र विषयका नेपाली साहित्य धेरै भन्दा धेरै पाठक समक्ष पुग्दछ । र साहित्यप्रति पाठकको रुची झन् बढ्ने छ । अर्को तर्फ दैनिक, साप्ताहिक तथा पाक्षिक समाचार पत्रिकाका सम्पादक÷प्रकाशहरुलाई नेपाली भाषाका साहित्यिक रचनाहरु नियमितरुपमा प्रकाशन गर्नका लागि अनुरोध गर्नु पर्दछ । त्यसो गरेमा नेपाली साहित्यका पाठकका संख्या मात्र बढ्ने होइन राम्रा लेखकहरुको उदय हुने छ ।

साहित्यमा इन्टरनेटले कस्तो पारेको प्रभाव छ ?
समग्रमा साहित्यमा इन्टरनेटको प्रभाव राम्रो छ । छापा पत्रिका प्रकाशनको प्राविधिक पक्ष लामो, झण्झटिलो र खर्चिलो हुन्छ । तर साइबर साहित्य हरेक हिसाबले सस्तो, छिटो र छरितो हुन्छ । अर्को तर्फ छापा पत्रिका जस्तो यसमा पेजको सिमा नहुने भएकोले जति पनि रचना राख्न सकिन्छ । यसले गर्दा छापा पत्रिकामा पहुँच नभएका नयाँ लेखकहरुको उदय हुने गरेको छ । र ती लेखकहरु एकैपटक संसारभरका पाठककहाँ पुगेका छन् । अर्को तर्फ लेखकहरुले पाठकसँग प्रत्यक्ष संवाद गरेर आफूलाई परिमार्जित गर्न र पाठकका रुची बुझ्न सक्छन् । इन्टरनेटमा तुरुन्त साहित्य उपलब्ध हुने हुनाले यसले पाठकको रुची जगाएको छ । इन्टरनेटमा रमाउने नयाँ पुस्ता समेत साहित्य प्रति आकर्षित हुन थालेका छन् । अतः पाठकको बदलिदो रुची अनुसार लेखकले पनि आफूलाई नयाँ प्रविधि र साधनको प्रयोगमा अभ्यस्त गर्नु पर्दछ । साइबर साहित्यमा पाइला हाल्नै पर्दछ ।

आजकल फेसबुकको लोकप्रियताले गर्दा फेसबुके साहित्यकार भरमार देखिएका छन् । यसको कस्तो असर होला ?
सम्पादकको हस्तक्षेपबाट मुक्त हुने भएकोले फेसबुकमा साहित्य लोकप्रिय भएको छ । एकै पटकमा लाखौं पाठकसम्म लेखक पुग्न सक्छन् । आफ्नै कुरा गरौं, मैले करिव ४ वर्ष अगि सुरु गरेको समकालीन साहित्य प्रष्ठिान बेलायत नामक फेसबुक ग्रुपमा अहिले नै २ लाख ४१ हजार भन्दा बढि सदस्य भइसकेका छन् । दैनिक रुपमा ३–४ सय सदस्य बढिरहेका छन् । लेखकका सिर्जना एकैपटकमा त्यति धेरै पाठकका नजर पुग्नु भनेको लेखकका लागि अत्यन्त खुशीको कुरा हो । अझ नयाँ लेखकका लागि ठूलो अवसर हो । तर फेसबुकमा लेखक आफैं नै सम्पादक हुने भएकोले ‘आफ्नो हात जगन्नाथ’ पनि हुने गरेको पनि छ । फेसबुकमा साहित्यको नाममा जथाभावी कुराहरु पनि आइरहेका छन् । यसलाई लेखकले बाहेक कसैले नियन्त्रण गर्न सक्दैन । मेरो विचारमा यसमा लेखक भन्दा पाठकको जिम्मेवारी बढी हुन जान्छ । पाठकले लेखकलाई सही प्रतिक्रिया दियो भने मात्र लेखकले आफ्नो धरातल थाहा पाउँदछ । सोसल मिडियालाई पाठक र लेखक दुबैले इमान्दारितासाथ सदुपयोग गर्नु पर्दछ । यदि दुबै पक्ष इमान्दार भएनन् भने लेखक बिग्रन्छन्, पाठक निराश हुन्छन् र साहित्य प्रति वितृष्णा बढ्न सक्छ ।

साइबर स्पेशको फैलाव र सोसल मिडियाले गर्दा संवाद र सम्पर्कको परिभाषा बदलिएको छ । यसलाई तपाईंले कसरी लिनु भएको छ ?
निश्चय पनि साइबर स्पेशको फैलावले गर्दा मानिसहरुले संवाद र सम्पर्कको तरिका परिवर्तन गरेका छन् । चिठीपत्रको प्रयोग न्युन हुन थालेको छ । इमेल, म्यासेन्जर, च्याट, भिडियो च्याट आदिले चिठीपत्रलाई विस्थापित गरिसक्यो । पोस्ट कार्डको ठाउँ इ–कार्डले लिएको छ । संसार भरका हुलाक सेवा संकटमा परेका छन् । आजकल साथीभाइ र आफन्तलाई प्रत्यक्ष भेट्न भन्दा सोसल मिडियामा भेटेर त्यहीँ कुरा गर्नेको संख्या बढ्दो छ । रियल फ्रेन्ड बनाउनु भन्दा भच्र्युअल फ्रेन्ड बनाउनमा मानिसहरु लागिपरेका छन् । प्रविधिले गर्दा परम्परागत संवाद र सम्पर्कको धरातल कमजोर भएको छ । सम्वाद र सम्पर्कको नयाँ युग सुरु भएको छ । अब यसको विरोधमा लाग्न वा विकल्प खोज्नु सकिदैन । नचाहेर पनि यस खालका सम्वाद र सम्पर्कमा रहनु हाम्रो बाध्यता भएको छ ।

बदलिँदो परिप्रेक्षमा किताब विस्थापित हुने सम्भावना कतिको देख्नु हुन्छ ? मेरो विचारमा प्रविधीले ल्याएको क्रान्तिलाई आत्मसात त गर्नै पर्दछ । किताबको बिकल्पको रुपमा आएका इबुक्स र किन्डल जस्ता सामग्रीको उपयोग बढ्दो छ । त्यसले किताबको संख्या अवश्य घटाउला तर किताबलाई विस्थापित गर्न सक्दैनन् । किताब पढ्दा जस्तो आनन्द अरु कुनैमा छैन ।

के साहित्यकार राजनीतिबाट निरपेक्ष भएर रहनु पर्दछ ? मेरो विचारमा साहित्यकार राजनीतिबाट निरपेक्ष हुन सक्दैन । समाजको अंग भएकोले कुनै न कुनै पार्टी वा विचारधाराको समर्थक वा अगुवा हुन सक्छ । तर उसको साहियिक रचनाहरु भने राजनीतिबाट निरपेक्ष हुनु पर्दछ ।

त्यसो भए के लेखकले कुनै विचारधारा स्वीकार गरेर लेख्नु हुँदैन ? मानिस विवेकशिल प्राणी भएकोले हरेक मानिसका विचारहरु हुन्छन् । त्यसमा लेखक जस्तो सचेत र बुद्धिजीवी वर्गको विचार नहुने कुरै हुँदैन । लेखनमा विचार भनेको जीवन र कर्मको बारेमा एउटा दृष्टिकोण दिनु हो, त्यो त हुनैपर्दछ । तर लेखनमा आउने विचारधाराले कुनै मत वा सम्प्रदायका बारेमा वकालत गर्नु हुँदैन । मत भन्ने बित्तिकै राजनैति, धर्म, जाति वा क्षेत्रियताका कुरा आउलान् । यदि साहित्यमा ती कुरा भित्रिए भने नारा बन्न पुग्दछ । त्यसले लेखक र पाठक दुबैलाई घाटा हुन्छ ।

तपाईंहरुले लेख्ने साहित्यलाई डायोस्पोरिक साहित्य भनिरहनु भएको छ । डायोस्पोरिक साहित्य भनेको के हो ?
लेखनमा जन्मभूमि र कर्मभूमि दुबै प्रभाव परेको साहित्य नै डायोस्पोरिक साहित्य हो । आफ्नो देश छाडेपछिको पीडा र नयाँ देशमा बसेपछिका अप्ठ्यारा, त्यस देशको संस्कृति तथा समाजले उसको जीवनमा पारेको प्रभाव कुनै न कुनैरुपमा साहित्यमा प्रतिविम्वित भएका हुन्छन् । विदेशमा चाहे जतिसुकै वर्ष बसुन तिनले लेखेका सबै साहित्य डायोस्पोरिक साहित्य हुँदैन । डायोस्पोरिक साहित्यको आफ्नै भाषा, शैली र विशेषता हुन्छन् । डायोस्पोरिक साहित्य अलग्गै स्वादका हुन्छन् ।

अहिले तपाईंको पछिल्लो नियात्राकृति ‘भाया साक्रा’ अत्याधिक चर्चामा छ । ‘भाया साक्रा’ भनेको के हो ?
मूर्ति पुजक रोमनहरुले आजभन्दा करिव २७ सय वर्षअगि रोम सहरमा अवस्थित रोमन फोरमका मन्दिरहरुमा जान बनाईएको मार्गको नाम ‘भाया साक्रा’ हो । ‘भाया साक्रा’ शब्दलाई नेपालीमा अनुवाद गर्ने हो भने त्यसको अर्थ हुन आउँछ पवित्र मार्ग । रोममा उतिबेलाका तिर्थयात्रीहरु हिँड्नका लागि बनाइएको त्यस पवित्र मार्गमा मैले पनि पाइला टेक्ने सौभाग्य पाएको थिएँ । सोही मार्गको नाममा कृतिको नाम राख्न चाहेँ । आखिरमा मैले भ्रमण गरेका अन्य स्थानसम्म पुग्न विभिन्न मार्ग हुँदै गएँ । ती मार्ग पनि मेरा लागि पवित्र मार्ग सरह हुन् ।

के कस्ता कुराहरु ‘भाया साक्रा’ नियात्रासंग्रहमा समावेश गर्नु भएको छ ?
दुई हजार वर्ष भन्दा पुराना इटाली, बेल्जियम र बेलायतका ऐतिहासिक, धार्मिक, पुरातात्विक र साहित्यिक महत्वका स्थलको भ्रमण गरेपछि तयार पारेको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ हो । यससङ्ग्रहमा ती देशका कला, साहित्य, संस्कृति, इतिहास, दर्शन आदिका रोचक र खोजमूलक जानकारीहरु समावेश छन् । यस नियात्रासङ्ग्रहका अधिकांश विषयमा पहिलो पटक नेपाली साहित्यमा कलम चलाएको छु । पाठकहरुले नियात्रा पढ्दै जाँदा कहिले नसुनेका र नपढेका नविनतम् जानकारी प्राप्त गर्नु हुने छ ।

तपाईका नियात्रा लेखनका विशेषताहरु बताई दिनुहुन्छ कि ?
म आफू लामो समयदेखि विदेशमा बसेको हुनाले विदेशकै बारेमा मात्र नियात्रा लेख्ने गरेको छु । त्यसमा पनि विदेशका इतिहास, कला, साहित्य र संस्कृति जस्ता विषयमा नियात्रा लेख्न मन पराउँछु । यात्राका क्रममा देखे, भोगेका रोचक कुराहरु नियात्रा मार्फत नेपाली साहित्यका पाठकलाई दिने मेरो प्रयास हुन्छ । त्यसका लागि म विशेष अनुसन्धान गरेर लेख्ने गर्दछु । मेर हरेक नियात्रा पढिसकेपछि पाठकहरुले साहित्यको रसस्वादनसँगसँगै नविन जानकारी पाउनु हुन्छ । शब्दहरु जोडजाड गरेर शाब्दिक मायाजालमा पाठकलाई अल्मलाउनु भन्दा ज्ञानको सागरमा पाठकले डुबुल्कि लगाउन भनेर विशेष खोज अनुसन्धान साथ लेख्ने गर्दछु ।

तपाईँको विचारमा नियात्रा के हो ?
लेखकले आफूले यात्राका क्रममा देखेभोगेका विभिन्न दृश्य, प्रसङ्ग, घटना, अनुभव आदिलाई निजात्मकले भरी सुरुचीपूर्ण शैलीमा बर्णन गरिएको र साहित्यिकताले भरिएको गद्यकृति नै नियात्रा हो । यात्राका कोरा विवरण र टिपोटलाई नियात्रा भन्न मिल्दैन । ती त यात्रावृतांत मात्र हुन् ।

नियात्रा तिर कसरी आकर्षित हुनु भयो ?
वि.सं. २०५४ सालमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो(सिआरआई)को निमन्त्रणामा दुई साताका चीन भ्रमण गर्ने अवसर प्राप्त भएको थियो । आमन्त्रित जर्मन नागरिक र मेरो लागि एक एक जना दोभाषे पनि उपलब्ध गराईएको थियो । सौभाग्य कस्तो मिल्यो भने मेरो दोभाषे चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली विभागका पूर्व प्रमुख तथा पत्रकार यु फुङ हुनुहुन्थ्यो । दुई साता बेइजिङ, छन्दु, सिगात्से र ल्हासा सहरका यात्रामा चौविसै घण्टा उहाँ मेरै साथमा हुनुहुन्थ्यो । उहाँले मलाई बारम्बार भन्ने गर्नु हुन्थ्यो–‘बजगाईंजी चीन यात्राको अनुभव लेख्नु पर्छ है ।’ नभन्दै ‘ग्रेटवाल नचढेको ब्यक्तिलाई बहादुर भनिदैन’ भन्ने यात्रासंस्मरण २०५५ सालको कान्तिपुर कोशेलीमा प्रकाशित भयो । कविता र कथामा रमाई रहेको मलाई त्यहाँबाट पाएको प्रतिक्रियाले उर्जा थप्यो । त्यहीँबाट मेरो नियात्रा लेखनको यात्रा सुरु भयो ।

यात्रा पश्चात नियात्रा लेख्न हुन्छ कि नियात्रा लेख्न यात्रा गर्नुहुन्छ ? नियात्रा लेख्नै भनेर मैले आजसम्म यात्रा गरेको छैन । वास्तवमा म यात्राप्रिय ब्यक्ति हुँ । पहिलेदेखिको मेरो एउटा बानी छ, नयाँनयाँ कुरा थाहा पाउन खोज्नु र नयाँ ठाउँ घुम्नु । त्यसले गर्दा मलाई यात्रा गर्न उत्पे्ररित गरिरहन्छ । जब यात्रामा पुगेको स्थान र विषयले मेरो मन र मस्तिष्कलाई स्पर्श गर्दछ तब म तरंगित हुन पुग्दछु । त्यहाँका अनुभूतिहरुलाई लिपिबद्ध गर्न थाल्दछु । त्यसपछि नियात्रा तयार हुन्छ ।

लेख्नलाई कस्तो परिवेश चाहिन्छ ?
मेरो हकमा भन्नु हुन्छ भने लेख्नलाई परिवेश खोज्न थाल्यो भने सिर्जना तयार हुन सक्दैन । मैले जे जति लेखेको छु, हतार र धपेडीमा लेखेको छु । कामको व्यस्तता, थकाई, पारिवारिक जिम्मेवारी, सामाजिक सम्पर्क र साहित्यिक संगठनका काम जस्ता विविध कार्यले समयको अभाव हुने गरेको छ । त्यही भागदौड जिन्दगीबाट अलिकति आफ्नै समय चोरेर लेख्ने गर्दछु । लेखनको पहिलो ड्राफ्ट ट्रेनको यात्रा, अफिसको लन्च ब्रेक, बिहानी पख, मध्य रात कुनै पनि बेला हुन सक्छ । अलिक फुर्सद पाएको समयमा त्यसलाई फाइनल टच दिन्छु । यसरी मेरो लेखन कार्य सम्पन्न हुने गरेकोले परिवेश खोज्ने समय नै हुँदैन ।

समकालीन लेखनमा तपाईंको भूमिकालाई कसरी मुल्यांकन गरिएको छ ? वास्तवमा म लामो समयदेखि विदेशमा रहेकोले मेरो बारेमा नेपालको के कसरी मुल्यांकन गरिएको छ मलाई थाहा छैन । तर पाठकबाट पाएको प्रतिक्रियाबाट के अनुमान लगाउन सक्दछु भने पाठकहरुबाट मेरो राम्रै मुल्यांकन भएको छ । तर समालोचक र पुरस्कारदाताहरुको नजरमा अलिक परेको छैन जस्तो लाग्दछ ।

तपाईं नेपालमा हुँदा नै साहित्यमा कलम चलाउनु हुन्थ्यो । यता कि उता लेख्न सहज लाग्यो ?
साहित्य लेखन आफैमा कठिन काम हो । स्वदेश र परदेशमा साहित्य लेखनको तुलना गर्ने हो भने अवस्था, अवसर र वातावरणको हिसाबले फरक अवश्य छ । मैले भोगे अनुसार परदेशमा चाहीँ साहित्य लेखन अलिक कठिन कर्म हो । प्रथमत परदेशमा समयको अभाव हुन्छ । दोस्रो कुरा परदेशमा लेख्ने वातावरण कम हुन्छ । साहित्यिका पुस्तक र पत्रपत्रिका सहजै उपलब्ध हुदैनन् । मूलधारको साहित्य कता गइरहेको छ केही थाहा हुँदैन । आफूलाई मार्गनिर्देशन गर्ने गुरु र अग्रजहरुको अभाव महशुस हुन्छ ।

नेपाली साहित्यमा लागेर कतिको सन्तुष्ट हुनुहुन्छ ? सानै उमेरदेखि साहित्यमा रुची भएकोले गर्दा मलाई लाग्छ मेरो रगतको नशानशामा नेपाली साहित्य दौडिरहेको छ । सायद सोही कारणले होला परदेशको भागदौड र धपेडीमा पनि साहित्यका लागि आजका मितिसम्म लेखन, संगठन र प्रकाशन कार्यका लागि दौडि रहेको छु । कुनै इच्छा र फलको आशा नराखी निस्वार्थ साहित्यमा समर्पित भएको समग्रमा सन्तुष्ट छु । म खुशी नै छु ।

साहित्यमा लाग्न चाहाने नयाँ पुस्तालाई के भन्न चाहनुहुन्छ ? रातारात कुनै पनि ब्यक्ति साहित्यकार हुन सक्दैन । अरुको देखासिकी गर्ने फेशनको रुपमा साहित्यलाई लिनु हुदैन । साहित्य रहर र लहडको रुपमा कहिले पनि लेख्न सकिदैन । साहित्यमा निरन्तरता दिन र लेखकको रुपमा स्थापित हुन अलिकति प्रतिभा र धेरै चाहीँ अध्ययन र साधना चाहिन्छ । अध्ययन र साधना गर्नका लागि आफूसँग प्रसस्त समय र धैर्यता छ भने मात्र साहित्यमा लाग्नु पर्दछ । कमजोर लेखक हुनु भन्दा उच्चकोटीको साहित्यिक पाठक हुनु बेश हो । कमजोर लेखकले भन्दा असल पाठकले नेपाली साहित्यको हित गर्दछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु