"टाँकीका फूलहरू"लाई केलाउँदा

- प्रा. डा. के.आर. खम्बू

टाँकीका फूलहरू शीर्षक भएको पुस्तक सुन्दानैआकर्षित भइयो । त्यसपछि त हेर्ने कुतुहल जागेर आयो । पत्र पत्रिका, रेडियो तथा अनुहारिकाको पेजहरूमा पनि यसको बखान ‍एकपछि अर्को देख्न थालियो ।अनि मनको औडाहालाई तहलगाउन पुस्तकका लेखक दाजु गुरुङलाई अनुहारिकाको समाचारक (मेसेन्जर) मार्फत सम्पर्क बढाएर उक्त पुस्तक पढ्ने आफ्नो पनि उत्कट चाहना रहेको जाहेर गरेँ ।नभन्दै लेखकज्यूले धरानबाट पठाइएको जानकारी पाइयो । त्यसपछि पढ्ने खुसी र आशामा प्रतिक्षारत रहेँ । प्रतिक्षाका दिनहरू लामा हुन्छन् भन्थे, तर एक हप्ता, दुई हप्ता गर्दै महिनै बित्न लाग्दा पनि पठाइएको पुस्तक आइ पुग्दैन । धर्यताको बाध फुट्ला जस्तै हुन लागेर पुनः लेखकज्यूलाई नै खै गर्छु । त्यसपछि भने केही दिन भित्रै आइ पुग्छ अनि तुरुन्त पढ्ने वातावरण मिलाउन तिर लाग्छु
जीवनसँगी शुभले टाँकीका फूलहरूलाई एकपछि अर्को गरी टिप्न थाल्छिन् । म छेउमा बसी एकाग्र चिन्तन भइ हरेक फूलका पत्रदललाई केलाउन ध्यानमग्न भइ सुन्न थाल्छु ।आहा मैले सोचेको गाउँघरमा रहरलाग्दो गरी टम्म फूल्ने टाँकीका फूलहरू त कहाँ रहेछ र ! यो त नेपाली दाजुभाइ दिदी बहिनीहरू सोषण, अन्याय, अत्याचार सहनु नसकेर वा लहैलहैमा लागेर वा बाउको पराक्रमको ब्याज साध्न वा झिलिमिली सहरमा रमाइलो जीवन बिताउने सपना बोकेर विदेश जाँदा पाइने अकल्पनीय भुक्तमानको सजिव चित्र पो रहेछ ।आफ्नो देशमा कराशे बारीमा झार उखेल्न अल्छी गर्ने हातहरूले बिरानो देशको बिकास निर्माण गर्न भने झम्पल, गइती, बेल्चा आदि चलाउन तम्सेका युवाहरूका मन भरीका बहहरू पो रहेछ । पाखुरा र पिठ्यूँ भरी घामको डाम बोकेका अनि हत्केलाभरी ठेला उठेका कथाहरू रहेछ । यस्तो श्रम शक्तिको बलिदान टाँकीको फूल अङ्कित विदेशी नोट टिप्न नै रहेछ । यसरी स्वदेशको विवशता अनि विदेशको बाध्यता भित्र रुलमुलिएका छन् हरेक थुङ्गा टाँकीका फुलहरू ।
यो टाँकीका फूलहरू नामक पुस्तक भित्र जम्मा आरम्भः, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साझ, मिलिनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनखरी ओइलाएपछि, चोइसाम, मङ्किहिल, मोइसम, सरी, मर्निङ वक, ब्लक, बाटो बिराएको मान्छे, र आफ्नो कुरागरी जम्मा१८ थुङ्गाहरू छन् । सुरूको आरम्भ र अन्तीमकोआफ्नो कुरा स्वयम् लेखककै आत्मकथाको ओरी-परी घुमेको देखिन्छन् भने बाँकी सबै भोगेका, देखेका, सुनेका, घटना क्रमहरूलाई आधार बनाइ लेखिएका अति मार्मिक कथाहरू छन् ।
आरम्भतिरको कथा स्वयम लेखकले हङकङे सप्निल संसारपरिकल्पना गर्दै आइ पुगेर झिलमिलि हेरी सक्दा नसक्दै समुन्द्रको टापुलाई पुरेर ठूलो एयरपोर्ट बनाउने कामदार हुन बाध्य भएको कुरा उल्लेख गर्दै बखान गरिएको स्वप्निल संसार झूटो भएको यथार्थता देखाउनु भएको छ । अनि मैना पुगेपछि पहिलो पल्ट ठेला उठेका हत्केलाले टाँकीको फूलअङ्कित नोट समाएको कम पिडायुक्त अभिव्यक्ति छैन । नेपालको विश्वविद्यालयबाट उच्च शिक्षा पास गरी कुनै शैक्षिक संस्थाको प्रशासक भएर रातो कलम चलाएको मान्छे अर्काको देशमा सिट्ठीमा दगुर्ने मजदुर भएको सम्झिदै आत्मग्लानीले थिलथिलो बनेका छन् । प्रशासन जहिको भए तापनि जनतामाथि हैकम चलाउने अङ्गको रूपमा रहने कुरा भिसा नवीकरण गर्ने कार्यालयले गर्ने व्यवहारलाई लिएर ‘बिर्सिएको मान्छे’ कथा लेखिएको देखिन्छ । मोनिका कथा बेइमान विदेशी होइन स्वदेशीहरू नै हुदारहेछन भन्ने कुरा बृटिश-गोर्खासेनाको सिपाईले हङकङमा घरेलू काम गर्ने फिलिपिनो युवतीलाई बिहा गरी अलपत्र पारेर पलायन भएको घटनालाई लिएर प्रमाणित गरिएको छ । । यसैगरी कति उज्वल भविष्यको सपना बोकेर पुगेकी एक लाहुरे परिवारकी चेली त्यहाँ पुगेर आधुनिकताको पर्दा उघारिदा बिस्तारी निशाचर पेसा अपनाउन बाध्य भएको कुरा बिर्सिएको साझमा दर्शाइएको छ । यसैगरी चोइसाम भन्ने कथाले उहिले बेलायती उपनिवेश कालमा गोर्खा सैनिको परिवार बसोबास गर्ने गोर्खा भिलेजको आफ्नै संस्कार संस्कृति रहेको बारे बताएको छ र त्यहाँको नामी सागलाई स्थानीय क्यान्टोनी भाषामा चोइसाम भनिने कुरा कलात्मक रूपमा प्रस्तुत गरिएको छ । यसैगरी नेपाली गोर्खाली श्रमिकहरू हप्ता भरी कठिन परिश्रम गरी बिदाको दिन सबै घुम्न आउने एउटा खुल्ला सार्वजनिक पार्क रहेछ मोङ्कीहिल । हरेक व्यक्तिले आफ्ना चिनारीका अघि हप्ता भरीको दुख-सुख पीर-मार्का भनेर हल्का हुने ठाउँ यो मङ्कि हिलको बारे लेखकले धेरै पल्ट धेरै प्रसङ्गहरूमा चर्चा गर्नु भएको छ । मोइसम भन्ने कथामा पात्रहरू बीच बडो मनोविज्ञानात्मक द्वन्द्व भएको देखिन्छ, पहिला पात्र अर्पनाले बाध्य भइ मोइसम भन्छिन भने पछि लेखकले कुरा बुझेर आफै मोइसम(माफ गर) भन्दै कथाको बिट मारिन्छन् ।
यसैगरी नेपालबाट बैध, अबैध, क्रितिम साइनो लगाई वा छिमेकी देश भारतको बाटो प्रयोग गरी विदेशिने युवा युवतीहरूले कल्पनातित संसारखोज्दै पुग्दा आफ्नो सोचाइको विपरित हङकङे सभ्यताबोकेको रातोभाले रेस्टुरामा सरण लिन बाध्य हुन पर्ने परिस्थिति मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
सतासी मामा र मुन्ना चौधरी दुई कथाहरूले भने पाठकहरूको मन प्रसस्त ओगट्न सफल बनेको छ । यी दुबै कथा बस्तुहरूले नेपालको सिङ्गो सामाजिक संरचनालाई देखाउँदै परिवर्तनका जति लहर आए तापनि कुसंस्कार वा अन्धविश्वाश रही रहेकोले सामाजिक संस्कार उही रहेको कुरा देखाइएको छ । नओइलिने सुनखरी फूलमा एक उदाहरणीय चेलीको कथा राख्दै ‘आफू भलो त जगतै भलो’भन्ने उक्तिलाई प्रमाणित गरिएको छ भने मोर्निङ वकमा कहिलेकाही असमझदारी हुँदा पारिवारीक कस्तो समस्या खडा हुन्छ र समाधान पनि कसरी हुन सक्छ भन्ने दृष्टान्त पनि दिन चुकेको पाइन्न । बाबु आमाको रेखदेख भन्दा टाढा रहेका सन्तानको हविगत कस्तो हुन्छ र कुन अवस्थामा पुगेर टुङ्गिन्छ भन्ने कटु उदाहरण ब्लक नामक कथामा प्रष्ट्याइएको छ । ‘बाटो बिराएको मान्छे’मा बिदेशमा ह्याप्पि न्यू इयर मनाउने क्रममा जब सुनिताको बोली खुल्छ अनि आफू भ्रमित भएको थाहा पाउदा चीसोह्याप्पि न्यू इयर भएको अमिलो अनुभूति पनि पस्केका छन्।
यसरी कुनै कथा कम महत्वका लाग्दैन । हरेकले एउटा न एउटा बिर्सन नसकिने तर पाठ सिक्न पर्ने परि घटनालाई इङ्गित गरेको पाइन्छ । लेखकले कुनै रहरले लेखियो क कुनै लहडले लेखियो भने तापनि हरेक कथाले जीवनमा अपरिहार्य रूपमा आइ लाग्ने आक्रोश, बेदना, समस्या, समाधान, मुस्कान, आँशु, छटपटि, मनोविज्ञान, उद्वेग आदि सबै समेटिएका छन् । यी कथाहरूले स्वदेशमा होस वा विदेशमा नकार्नै नसकिने कटु सत्य घटनाहरूलाईउजागर गरेका छन् । लेखकले इमानदार भएर कुनै कुरा लुकाउने वा दूरूह बनाएर पाठकको मथिङ्गल बिगार्ने काम गरेका छैनन् । सजिलो तर चोटिलो कवितात्मक भाषा प्रयो गरिएकोले पुस्तकको हरेक पानाले पाठकको मन तानी रहन सफल बनेको छ ।
यस्तै सफल डाइस्फोरिक साहित्यीक कीर्ती आज भन्दा चार वा पाँच वर्ष अघि वरिष्ठ साहित्यकार कृष्ण वजगाई द्वारा लिखित ‘कमरेड भाउजू” नामक पुस्तक पढेको थिएँ ।उक्त पुस्तकले पनि यस्तै युरोपियन देशहरूमा अनेक पेशा र व्यवशायमा हण्डर खादै भौतारी रहेका हजारौं नेपालीहरूको व्यथालाई उजागर गर्दै लेखिएको थियो । नेपालको अर्को परम्परागत गन्त्व्य भनेको दक्षिण-पूर्वी एसियाली देशहरू हुन् । यी देशमा गएका नेपाली श्रमिकहरूको वास्तविक अवस्था कस्तो छ र कसरी काम गरेर रोजगारी कमाइ रहेका छन् भन्ने कुरा तथ्य र सत्य रूपमा आएको थिएन । तर अर्का वरिष्ठ साहित्यकार दाजु गुरुङले बडो साहसी रूपमा अहिलेसम्म लुकेर वा छिपेर रहेका हङ्कङे अध्यारा पाटोलाई पनि उदाङ्ग पारेर सबैका सामु देखाइ दिएका छन् । यी दुबै पुस्तकका कथावस्तुहरू नेपालबाट थाल्नी हुँदै विदेशी भूमिमा पुगी रहश्योद्घाटन भएर समापन हुन पुगेका छन् । मैले पढेका मध्य यी दुई पुस्तकहरू नै डाइस्फोरिक साहित्यको प्रतिनिधित्व गर्ने आधारभूत पुस्तकहरू बनेको मैले महसुस गरेको छु । किनभने यी दुबै पुस्तकहरूले आफ्नो रगत पसिना बगाइ पेट पाल्न बिदेशिने लाखौ नेपाली श्रमिक दाजुभाइ दिदी बहिनीहरूको जीवनसँग गाँसिएका प्रतिनिधि मूलक कथाहरू बोकेका छन् ।
अन्तमा यस्तो अमूल्य र अमर कीर्ती लेख्नु भइ नेपाली समाजलाई ठूलो गुण लगाउनु भएकोमा साहित्यकार तथा लेखक दाजु गुरूङलाई हृदयदेखिनै धन्यवाद दिन चाहन्छु ।अन्त्यमा नेपाली युवा- युवतीहरूले विदेश जान अघि एकपल्ट यो पुस्तक पनि पढे नौलो भूमिमा टेक्दा केही मार्ग दर्शक बन्न सक्ने छ भन्ने ठान्दछु।

भद्रपुर-८, क्याम्पस मोड, झापा(नेपाल)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 31 जेठ, 2076

लेखकका अन्य रचनाहरु