नेपाली भाषाको भारतीय साहित्य - समसामयिक अध्ययन

- नवीन पौड्याल

१. नेपाली भाषाको भारतीय साहित्य –
नेपाली साहित्य अब विश्व साहित्यको रूपमा विस्तारित भइरहेको छ। नेपाली साहित्य नेपाल र भारतबाहेक अब अमेरिका, क्यानाडा, युरोपलगायत खाडी देशतिर पनि फैलिन थालेको छ। नेपाल र भारत-बाहेक अन्यत्रबाट पनि नेपाली पुस्तक पत्र पत्रिका आदि देखा पर्न थालेका छन्। २० अगस्ट, १९९२ मा लोकसभामा भारतको सम्विधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यताको मस्यौदा पास भएको हो र यसको लगत्तै ३० अगस्टमा यसलाई राष्ट्रपतिबाट स्वीकृति पाएको हो। भारतको साहित्य अकादमी, बुक ट्रस्ट अव् इन्डिया, भारतीय भाषा संस्थान आदि सरकारी निकायहरूमा स्थान ओगटेको छ। भारतमा पनि नेपाली भाषा-साहित्य अन्य भाषा-साहित्यसरह विकसित भएको देखिन्छ। यसको समुचित संवर्द्धन र विकासका निम्ति भारत सरकार र राज्यका सरकारहरूले परियोजनाहरू, सुविधा, सहुलियत प्रदान गरिरहेका छन्, दायित्व निर्वाह गरेकै छन्।
२. भारतीय नेपाली साहित्यमा लेखन आरम्भ र कालविभाजन-
भारतीय साहित्यको रूपमा नेपाली साहित्य पनि विकसित छ। भारतमा नेपाली भाषा र साहित्यको विकासको आफ्नै परम्परा, इतिहास, स्वरूप, ढाँचा र मौलिकता छ। अझ दार्जिलिङ सिक्किममा नेपाली जाति एक ढिका भएर भाषा साहित्य सेवामा संलग्न रहिएको देखिन्छ। यहाँ राई, लिम्बू, तामाङ, शेर्पा, मगर, गुरूङ, लाप्चे, भोटे, बाहुन, छेत्री, कामी दमाई सब एक ढिको भएर नेपाली साहित्यको समान रूपमा सेवा र योगदान दिएका छन्। यसर्थ, यहाँको नेपाली साहित्यमा सबैको समावेशी लेखन शुरूदेखि विद्यमान छ। आजभन्दा शय वर्षभन्दा अघिदेखि नेपाली भाषा र साहित्य साझा बनिसकेको देखिन्छ। सबैको योगदान बराबर रहेको छ। भारतका अन्य जाति र समुदायका बहुसङ्ख्यकका चेपारामा गोर्खाली सन्तान आफनो अस्तित्व जोगाउने क्रममा विभिन्न सङ्घर्ष गर्नुपरेको छ। यसको सोझो प्रभाव साहित्यमा परेको पाइन्छ। यसकारण यहाँको नेपाली साहित्यको मूल स्वर नेपालको भन्दा भिन्दै प्रकारको पाइन्छ।
साहित्यको कालविभाजन गर्नु मनासीब हुँदैन। वास्तवमा यो अखण्ड हुन्छ। यद्यपि यसभित्र रहेका युगीन विम्ब, विश्वमा आएको वैचारिक परिवर्तन, नयाँ नयाँ लेखन पद्धतिको अन्वेषण, शैली सचेतता आदिका कारण यसको स्वरूप र प्रवृत्तिमा केही पार्थक्य पाउन सकिन्छ। सय वर्ष र पचास वर्षअघिको तुलनामा आजको सामाजिक, राजनैतिक, आर्थिक परिवेश र अवस्था भिन्नै छ। लेखकले आफ्नो कृतिमा आफु बाँचेको समयको केही न केही प्रकाश पारेको हुन्छ। यसकारण शुरूदेखि हालसम्म जति पनि भारतीय नेपाली साहित्यमा जति मोड, उपमोड, वैभिन्यता, संश्लिष्टता आए तिनलाई लिएर समग्र एउटा कालविभाजनको रेखाङ्कन गर्न सकिन्छ। अतः भारतीय नेपाली साहित्यलाई स्थूल रूपमा वर्गीकरण गरी तीनवटा चरणमा छुट्याङन सकिन्छ- प्रथम चरण- प्रारम्भिक काल (शुरूदेखि सन् १९६० सम्म), दोस्रो चरण- विकास काल (सन् १९६१ देखि १९९९) र तेस्रो चरण – समसामयिक धारा (वि सं. २००० देखि हालसम्म)। यी तीनवटा चरणहरूली पनि प्रवृत्ति, उपप्रवृत्ति, धारा उपधारामा उपचरणहरूमा विभाजन गर्न सकिन्छ। यद्यपि यस आलेखको उद्देश्य तेस्रो चरणको समग्र रूपमा अधययन प्रस्तुत गर्ने रहेको छ।
३. भारतमा नेपाली साहित्यको केन्द्रहरू –
भारतमा मुख्य गरी दार्जिलिङ, सिक्किम, असममा नेपाली साहित्य लेखिन्छ। यीबाहेक कोलकाता, दिल्ली र देहरादून-भाक्सूमा पनि फाटफुट रूपमा नेपाली साहित्य लेखन देखा पर्छन्। यस पत्रमा भने दार्जिलिङ, सिक्किम र असम मात्र मुख्य गरी अध्ययनको क्षेत्र रहेको पाइन्छ। दारजिलिङ भन्नाले दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलगडीदेखि लिएर डुवर्सलाई पनि यसभित्र नै नेपाली साहित्यिक मानचित्रमा राखिन्छ। डुवर्समा बाग्राकोट, वीरपाडा, सामसिङ, जयगाउँ, दलसिंहपाडा आदि मुख्य मुख्य ठाउँमा नेपाली साहित्य प्रचलित छ भने यीबाहेक अन्यत्र पनि फाट्टफुट्ट रूपमा देखिन्छन्। असम भन्नाले यहाँ भारतको पूर्वोत्तर प्रान्त मूल रूपमा असम, मेघालय, मणिपुरमा नेपाली भाषा साहित्य थोरै मात्रामा विकसित देखिन्छ भने मिजोराम र नागाल्याण्डमा पनि फाट्टफुट रूपमा नेपाली साहित्य विकसित छ। देहरादुन र भाक्सूबाट नेपाली साहित्य अत्यल्प अस्तित्वमा देखिन्छ।
५. भारतमा नेपाली भाषा पठनपाठनको स्थिति -
भारतमा नेपाली भाषा-साहित्यको पठन पाठनको परम्परा सय वर्ष पुग्न लागेको छ। सर्वप्रथम अँग्रेज शासनको समयमा दार्जिलिङका शिशुहरूका निम्ति नेपाली वर्णमाला पठाउन थालियो। हिन्दी र नेपालीको एउटै देवनागरी लिपि हुनाले हिन्दी पठाउँदा नेपाली वर्णमाला पनि स्वतः पाउन थालिएको मानिन्छ। पादरी गङ्गाप्रसाद प्रधानले शिशु कक्षाका बालक-बालिकाको निम्ति पाठ्यपुस्तक तयार पारेका थिए। मेट्रिकमा नेपाली पठन-पाठनका निम्ति पारसमणि प्रधानले आवेदन गरेपछि कलकत्ता विश्वविद्यालयले सन १९१८ मा मान्यता दिएको हो। त्यसपछि क्रमशः सन् १९३५ सालमा उच्चतर माध्यमिक र सन् १९६२ देखि स्नातक तहमा नेपाली पठन पाठन शुरू भएको थियो। सर्वप्रथम उत्तर बंगाल विश्वविद्यालयले सन १९६९ मा नेपाली विषयमा अनर्सको पनि पठनपाठन दार्जिलिङ सरकारी कलेज शुरू गरेको थियो। सन् १९७७ देखि भने यहींबाट नेपालीमा स्नातकोत्तर तहमा पठनपाठन शुरू भएको हो। हालमा नेपाली विषयमा उच्च अध्ययन गर्ने मुख्य केन्द्रहरूमा उत्तर बङगाल विश्वविद्यालय, काशी हिन्दू विश्वविदयालय, सिक्किम विश्वविद्यालय आदि प्रमुख रूपमा देखा पर्छन्। सर्वप्रथम उत्तरबंगाल विश्वविद्यालयबाट नै नेपाली विषयमा एम फिल र पीएच.डी शुरू भएको हो। यसैगरी केन्द्रीय भाषा संस्थान मैसूरको गौहाटी केन्द्र र गौहाटी विश्वविद्यालयमा अनेपालीभाषी विद्यार्थीलाई डिप्लोमा तहमा नेपाली पढाउने व्यवस्था छ। यसअघि नेपालमा आफ्नै शिक्षा बोर्ड नहुँदा पटना विश्विद्यालय र इलाहावाद विश्वविद्यालयमा नेपाली भाषा पठाउने व्यवस्था थियो।
६. भारतमा नेपाली समसामयिक लेखन –
समसामयिक भनेर यहाँ सन् २००० देखि यताको समयलाई लिएको छ। समसामयिक कालमा विज्ञानको चमत्कार, सुचना प्रणालीको क्रान्तिकारी पदक्षेप, इन्टरनेटको व्यापक प्रभाव, विश्वग्रामको अवधारणाको विकास, आप्रवासनमा अधिक सुविधा र वृद्धि इत्यादिका कारणले साहित्यको प्रवृत्ति र स्वरूपमा परिवर्तन आएको देखिछ। अब साहित्य पढिने मात्र नभई हेरिने, सुनिने भएको छ। अन्य कलाको हाराहारीमा साहित्यले पनि आफुलाई अध्यावधिक गर्दै लगेको पाइन्छ। अब साहित्यमा चोखो एउटा विधाको रूपमा रहेको छैन, विधाभञ्जन, पठनको विपठन, अर्थकेन्द्रभञ्जन, अर्थबहुलता इत्यादि नयाँ परिपाटी बनेका छन्।
५.१. कविता- भारतमा नेपाली साहित्यमा कविता नै बढी लेखिएको र यही नै बढी विकसित भएको पाइन्छ। दार्जिलिङ सिक्किमबाट कविता विधा सबैभन्दा बढी विकसित देखिन्छ। २००० देखि हालसम्म नेपाली कविताले ठुलो विकास गरेको पाइन्छ। कवितामा युगजन्य पीडा, मानसिकता, देशको वर्तमान अवस्थाको प्रतिबिम्बन, देशमा आफ्नो आस्तित्विक पहिचानको समस्या र पीडाको उदगार, समय परिस्थितिको बदलिँदो अवस्थाको चित्र, मानवताको ह्रास, नैतिक-चारित्रिक पतन, मानवीय कमजोरी इत्यादि जस्ता कुराहरू हामी पाउँछौं। यताका समसामयिक कवितामा महाकाव्य, खण्डकाव्य, लामो कविता जस्ता स्वरूप प्रायः त्याग गरेको छ भने फुटकर कविता, मुक्तक, युग्मक, गीत, गजल, तीहक, हाइकु, नज्म, रूबाइ र एकहरफे कवितासम्म फस्टिएको पाइन्छ। रोमान्टिसिजम्‌ लेखन पूर्णरूपमा त्याज्य नभए तापनि आंशिक रूपमा भने पाइन्छ। प्रगतिशील चेतना, प्रयोगात्मकता, मिश्रितता, शैली सचेतता, बहुअर्थी, बहुलापिता, प्रशस्त मात्रामा पाइन्छन्। वर्तमान जीवनशैली, साइबर संस्कृतिले ल्याएको सुगमता र जटिलता, व्यावायिक भूमण्डलीकरण, नवऔपनिवेशवाद, उत्तरसंरचनावाद, नारीवादी चेतना आदि जस्ता नयाँ नयाँ अवधारणाबाट उब्जिएको मानव चेतनाबाट उद्बुध भावना आजको कविताको मूल विषय बन्नपुगेको छ। शैलीगत सचेतता, अनुवाद, विश्व साहित्यको स्वरूपगत परिवर्तन आदिबाट पनि दार्जिलिङ-सिक्किमे कविता प्रभावित देखिन्छ। सिक्किमबाट छन्दोवद्ध प्रभावकारी कविता लेख्ने गरेको पनि पाइन्छ। चक्रपाणी भट्टराई, भवानी घिमिरे, टार्जन भट्टराई, प्रकाश भट्टराई, राजेन शिवाकोटी आदिले छन्दोबद्ध कविता लेख्ने गरेको पाउँछौं।
मनप्रसाद सुब्बा र रेमिका थापाको किनारावाद, सुधीर छेत्रीको विचलन, बासुदेव पुलामी र अन्यको समावेशी, राजा पुनियानीको हस्तक्षेप आदि जस्ता नयाँ कवितात्मक अभियानलाई अघि बढाइएको पनि पाइन्छ। नरेशचन्द्र खाती, राजेन्द्र भण्डारी, मोहन ठकुरी, जीवन नामदुङ, विचन्द्र, कालुसिंह रनपहेंली, सञ्जय बान्तवा, अबीर खालिङ, मनप्रसाद सुब्बा, विन्द्या सुब्बा, ज्ञानेन्द्र खतिवडा, रेमिका थापा, सुधीर छेत्री, केवलचन्द्र लामा, डिकु मुखिया, प्रवीण राई जुमेली, बीरू बाङदेल, वीरभद्र कार्कीढोली, नगेन्द्र गोर्खा, विन्द्या सुब्बा, विनोद छेत्री, विनोद प्रधान, किशोर छेत्री, उपमान बस्नेत, कर्णबहादुर चामलिङ, महेन्द्र स्याङ्बो, राजा पुनियानी, टिका भाइ, जय क्याक्टस, मिलन बान्तवा, सुरेन्द्र थीङ, लेखनाथ छेत्री, महेश दाहाल, मनोज बोगटी आदि सक्रिय रूपमा कविताको साधना गरेका पाउँछौं। प्रकृतिका विभिन्न विम्ब, विषयगत विभिन्नता, युगजनित विषमता, व्यङ्ग्यात्मकता वैपरित प्रस्तुति आदि यहाँका कविताका प्रवृत्ति हुन्। कविता अब हेरिने वस्तुका रूपमा पनि विकसित भएको पाइन्छ। वाचनको माध्यमबाट कवितालाई आमसमाजमा रूचिकर बनाउन नयाँ नयाँ उपाय गरिएको पनि पाइन्छ। २०१६ देखि अभिसङ्गी भन्ने नयाँ अभियान शुरू भएको छ। यसको माध्यमबाट कविताको वाचनको भिडियो सिडी पनि निस्केका छन्। यसको नेतृत्व दार्जिलिङकी पवित्रा लामाले गरेकी छन् भने उषाकिरण सत्यदर्शी, कृतिका दाहाल, विक्की थापा आदि सक्रिय बनेका छन्। कवितालाई नयाँ उँचाइ, आम रूचिको वस्तु बनाएको पाइन्छ। कविताको विषय र प्रस्तुतिगत व्यापकता बढेको छ।
असममा पनि नेपाली कविताको फाँट विस्तार भएको छ। असमीय भाषाको साहित्यको परिवेश पाएको नेपाली कविताले पनि त्यसकै समानान्तर हुन पाएको देखिन्छ। नव सापकोटा, भविलाल लामिछाने, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, खडकराज गिरी, मोहन सुवेदी, गोमा शर्मा आदि मुख्य रूपमा सक्रिय छन्।
कविताका उपविधाहरू कविताभित्र उपविधाका रूपमा रहेका गीत, गजल, हाइकु, रूबाइ आदि पनि दार्जिलिङ-सिक्किममा विकसित भएको देखिन्छ।
५.१.१. गजल - अरबीबाट मूल रूपमा उत्पन्न गजलले फारसी हुँदै भारतमा विकास गर्ने अवसर पायो। शुरूमा प्रेमपरक भावमा रहेको गजल अब समसामायिक युगीन समस्याहरूमाथि बढी मुखरित हुनपुगेको देखिन्छ। २००० देखि यता दार्जिलिङ-सिक्किम र असमबाट गरी लगभग पचासवटा जति गजलसङ्ग्रह प्रकाशित भएको देख्न पाइन्छ। यद्यपि अधिकाङ्श गजल लेखन र प्रकाशन दार्जिलिङबाट भएको छ भने असमलगायत अन्य पूर्वाञ्चल क्षेत्रबाट पनि केही गजलसङ्ग्रह प्रकाशित छन्। भारतका गजलले सम-सामायिक युगीन समस्या, राजनैतिक चेतना, जातीय अस्तित्ववादी चेतना, विसंगतिमाथि व्यङ्ग्य दिन सक्षम बनेको पाइन्छ। सञ्जीव छेत्री, सन्तोष गुप्त, शैलेन्द्र समदर्शी, सरिता समदर्शी, क्षेत्र प्रेम मुखिया, सुवास श्रेष्ठ, अनिल छेत्री, वीरेन्द्र खँडका, अर्पण सोङदेन, छुदेन काबिमु, खुसेन्द्र राई, जस योञ्जन प्यासी, दीपक ढटाल जलन, गोविन्दे, डिल्लीप्रसाद अधिकारी, कमल रेग्मी, रोशन राई, निर्दोषिका तामाङ, सञ्जोक खवास, धीरेन्द्र सङ्घर्ष, स्वर्णिम लिम्बू, कर्ण विरह, महेश दाहाल आदि गजल लेखन क्षेत्रमा मुख्य गरी लागेका देखिन्छन्। अझ सुवास श्रेष्ठ, शैलेन्द्र समदर्शी, सरिता समदर्शीले गजललाई नयाँ उँचाइ प्रदान गरेका छन्। सुबास श्रेष्ठले अरबी बहरमा पनि गजल लेख्ने गरेको पाइन्छ भने बालगजल पनि लेखेका छन्।
५.१.२. गीत - दार्जिलिङ-सिक्किम र असमबाट गीत लेखन पनि निकै विकसित देखिन्छ। २००० देखि यता साहित्यिक विधाका रूपमा गीत निकै अघि बढेको छ। यताका गीतले प्रेमका विविध उद्गारका साथै जातीय अस्तित्वको चेतना, सांस्कृतिक आन्दोलनको संवाहक, प्रगतिशील चेतना, सुधारोन्मुख सन्देश, प्रकृति र मानवीय सम्वेदनाका बीचको संयोजन आदि देख्न पाइन्छ। रूद्र पौड्याल, सि. के. श्रेष्ठ, नन्द हाँगखिम, पुरण गिरी, जस योञ्जन प्यासी, पुष्कर पराजुली, कमल रेग्मी, नगेन्द्र गोर्खा, दिलीप लोरूङ, पवन चामलिङ, योगेन्द्र घतानी, अमर रसाइली, मधुसूदन लामा, तुलसी घिमिरे, सुकराज दियाली, मैतराज राणा, अजीत बस्नेत आदि गीत लेखनमा सक्रिय देखिन्छन्।
१.३. रूबाइ, युग्मक, मुक्तक र हाइकु - दार्जिलिङबाट रूबाइ पनि फस्टिन लागेको देखिन्छ। नयाँ पुस्ताका कविहरू आफ्नो प्रतिभालाई विभिन्न तवरमा अभिव्यक्ति दिने क्रममा रूबाइ लेखनतर्फ पनि अग्रसर देखिन्छन्। चार पंक्तिको यस्तो कवितामा भावगत सघनता, संवेदनको संश्लिष्टताका कारण थोरैमा धेरै भन्न सामर्थ्य राख्ने गरेको पाइन्छ। महेश दाहाल, कर्ण विरह, क्षेत्र प्रेम मुखिया आदि यसतर्फ सक्रिय देखिन्छन्। यता कालुसिंह रनपहेंलीले दुईहरफे युग्मक लेखनमा नेतृत्व गरिरहे छन्। दुई पंक्तिमा ज्ञान, दर्शन, अनुभव र शिक्षालाई गहन र प्रभावकारी ढङ्गमा अभिव्यक्ति दिनसकेका छन्। मुक्तक पनि निकै लेखिएको देखिन्छ। तेजमान बराइली, राजेन्द्र भण्डारी, कृष्णराज घतानी, विचन्द्र प्रधान आदिले मुक्तकलाई नयाँ उँचाइ प्रदान गरेका छन्। जापानी शैलीको हाइकू पनि यदाकदा लेखिने गरेको पाइन्छ। बी. पी. मल्ल यसतर्फ निरन्तर सक्रिय देखिन्छ। उनको अनुभूत क्षणहरूको बोध हाइकुसङ्ग्रह प्रकाशित देखिन्छ। एक हरफे कवितामा लेखनमा राजा पुनियानी, अमर बानियाँ लोहोरो देखा पर्छन्। मदहोस मदहोस भएर भन्ने मुक्तक (दुई भाग) सङ्ग्रहमा विचन्द्र प्रधानले मदिरालाई लिएर विभिन्न भावसित यसलाई ईश्वरीय चेतना र अध्यात्म भावसित जोडेका छन्।
५.२. कथा - कवितापछि नेपाली कथाले भारतमा निकै विकसित हुने अवसर पाएको देखिन्छ। कथाका नयाँ नयाँ बान्की, स्वरूप र प्रवृत्तिगत विभिन्नता देखा परेका छन्। कथाले नयाँ स्वर कथ्य र पद्धति पाएको देखिन्छ। दार्जिलिङ, सिक्किम र असममा नयाँ कथासङ्ग्रह निरन्तर रूपमा प्रकाशित भएको देख्न पाइन्छ। नवोदित र सिद्धहस्त सबै कथाकारहरूले कथालाई आ-आफ्नो भाव, शैली, पद्धति, स्वरूप, ढाँचा, आकार र अभिव्यक्ति दिएर कथा लेख्ने गरेका छन्। अघिल्ला पिँढीका हाइमनदास राई किरात, इन्द्रबहादुर राई, गुप्त प्रधान, प्रेम प्रधान, शरद छेत्री, महानन्द पौड्याल, सानु लामा, प्रदीप गुरूङ, थिरूप्रसाद नेपाल, भीम दाहाल, विन्द्या सुब्बा, लक्खीदेवी सुन्दास, समीरण छेत्री प्रियदर्शी, ज्ञान सुतार, देव भण्डारी, धनहाँग सुब्बा, धनवीर पुरी, आदि अझै आफुलाई समयअनुसार कथालेखनमा अद्यावधिक गर्दैआएका छन् भने नयाँ हाँचका धेरै कथाहरू उदय भएका छन्। राजबहादुर राई, देव भण्डारी, प्रदीप गुरूङ, विनोद प्रधान सोरकी, उदय थुलुङ, नीना राई, मीङ लिवाङ, शमसेर अली, राजेन मोक्तान, साङ्मु लेप्चा, रेणुका विष्ट, छिरिङ पान्जो शेर्पा, कमल चामलिङ, इन्द्रमणि दर्नाल, आर्य लामिछाने, धन निर्दोष सुब्बा, बीरभद्र कार्कीढोली, विजय सुबेदी, खुसेन्द्र राई, कालुसिंह रनपहेंली, कमला आँसु, माधव बुढाथोकी, भानु छेत्री, नीरज थापा अयोग्य, सिद्धार्थ राई, हरिश मोक्तान अल्लरे, सञ्जय विष्ट, प्रवीण राई जुमेली, सुरज धड्कन, प्रकाश हांगखिम, निमा निची शेर्पा, आदिका कथाहरूमा युगीन समस्याका विभिन्न पक्षहरूको उद्घाटन, शैलीगत सचेतता, विविध विषयपरकता, मानवीय संवेदना इत्यादिलाई कथात्मक स्वर प्रदान गरेका छन्। असमतिरबाट लीलबहादुर छेत्री, खडगबहादुर कौशिक, ज्ञानबहादुर छेत्री, भीम धमाला, शान्ति थापा, इन्दुप्रभा देवी, देवेन सापकोटा, रूद्र बराल, रेवतीरमण तिम्सिना आदि मुख्य रूपमा सक्रिय छन्। तिनमा असममा बस्दाका सामाजिक, राजनैतिक, आर्थिक, भौगोलिक समस्याहरू बढी केन्द्रित देखिन्छन्।
५.३. उपन्यास - सन् पचासदेखि नब्बेको दशकसम्म दार्जिलिङमा नेपाली उपन्यासले जुन तीब्रता र विकास पाएको थियो, त्यसको तुलनामा वर्तमानमा नेपाली उपन्यास टाक्सिएको देखिन्छ। उपन्यासको संख्या घटेर निकै तल पुगेको छ। अघिका उपन्यासकारहरू निस्ताएर बसेका छन् भने झैं भान हुन्छ। सन् २००० देखि हालसम्म लगभग बीस-पच्चीस उपन्यासको संख्या पुर्‍याउन पनि हम्मे पर्ने अवस्था छ। थोरै लेखिए पनि यस चरणमा नारीवाद, विसंगतिवाद, प्रगतिवादी र प्रयोगवादी उपन्यासहरू लेखिएका पाइन्छन्। नारीवादमा विन्ध्या सुब्बा र पुष्प राई, प्रयोगवादको रूपमा सूत्रउपन्यासलाई प्रदीप गुरूङ र कुशल छेत्रीले अघि बढाएका छन्। प्रगतिवादी उपन्यास लेखनमा रमेश कँडरिया, भीम दाहाल, आदि विज्ञान उपन्यासमा प्रेम प्रधान र मुक्तिप्रसाद उपाध्याय आदि देखा परेका छन्। सिक्किमबाट भने भीम दाहालका यौनमनोवैज्ञानिक उपन्यासका रूपमा अभीष्टको खोज तथा उनका प्रगतिवादी उपन्यासहरू द्रोह, विद्रोह आदि देखा पर्छन्। रमाकान्त गुप्त, रत्न फुँयेल, देव भण्डारी, कमल चामलिङ, राजबहादुर राई, सृजना दिलपाली, पारसमणि शम आदिका रोमान्टिक उपन्यास देखा परेका छन्। जातीय अस्तित्व, वैश्विक चेतना सांस्कृतिक पक्षहरूको उद्घाटन इत्यादि चरणका दार्जिलिङे नेपाली उपन्यासको मूल प्रवृत्ति हुन्। संसारमा चलेका नयाँ आख्यान लेखनलाई आत्मसात गरेर पनि लेखिएका पाइन्छन्। कतै बालश्रम, कतै पर्यावरण चेतना कतै, नारीवाद जस्ता भावधारालाई पनि वर्तमान उपन्यासहरूले आफ्नो कथ्य बनाएको देखिन्छ। सत्तरी-अस्सीको दशकमा रहेको लोकप्रिय वा व्यावसायिक उपन्यास लेखन पनि समसामयिक चरणमा आएर रोकिएको छ।
५.४. नाटक - दार्जिलिङ-सिक्किमले समसामयिक नेपाली नाटक लेखनमा भने निकै प्रगति गरेको पाइन्छ। नाटकका विभिन्न तकनिकी, पद्धति, प्रदर्शन ढाँचा, शैलीगत वैविध्य आदिका क्षेत्रमा नाटक निकै मात्रा विकसित छ। विभिन्न नाट्य मण्डली, नाटक प्रतियोगिता, नाटक प्रशिक्षण कार्यशाला, सामाजिक र साहित्य संघ संस्थाले नाटकलाई विकास गराउन ठुलो योगदान दिएको पाइन्छ। रङ्गमञ्च नाटक, सडक नाटक, खुल्ला रङ्गमञ्च नाटक, रेडियो नाटक आदिका रूपमा नाटकको प्रदर्शन गरिन्छ। दार्जिलिङमा नेपाली नाटकमा एकनिष्ठ रूपमा अघि बढ्ने नन्द हांगखिम, लक्ष्मण श्रीमल, पूर्ण गुरूङ निरूपण, राजु प्रधान हिंमाशु, सि. के. श्रेष्ठ, ललित गोले, शशि सुनाम, किरण ठकुरी, मोहन थापा, मोहन-पुकार, डी. पी. रायमाझी, इन्द्रमणि दर्नाल, सतीश छेत्री, मुक्ति उपाध्याय बराल, जीवन गुरूङ, पी अर्जुन, अरूणप्रकाश राई, ओमनारायण गुप्त, टेम्पो लेप्चा, सरोज राणा आदि सक्रिय देखिन्छन्। सिक्किमबाट चुनीलाल घिमिरे, हेमन्त गिरी, थमन नौबाग, ध्रुव लोहागन आदि नाटककारका रूपमा सक्रिय छन्।‘ ऐनामा हेर्दा रामसाइँली’, ‘सलाम रेलीमाइ”, ‘भानु र पाला’, ‘परालको आगो पार्ट 2, ‘फ्रन्टियर’, सुनको औंठी, ‘बस्तिन म यहाँ’ आदि नाटकहरू लोकप्रिय बनेका हुन्। असमबाट पनि नेपाली नाटकको ठुलो विकास भएको छ। असमको भ्राम्यमान नाटक ठिएटर लालीगुराँसले ठुलो स्थान लिएको छ। विनोद खनाल, राम दाहाल, पृथु भट्टराई आदि मिलेर गठित लाली गुराँस समूहले असमका विभिन्न स्थानमा नाटक प्रदर्शन गरेको पाइन्छ। विष्णु सोनार, मिजोरामकी लक्ष्मी मिनूको पनि कर्तव्य भन्ने नाट्यसङ्ग्रह प्रकाशित छ।
५.५. निबन्ध - अन्य विधाका तुलनामा दार्जिलिङ सिक्किमबाट मूल आत्मपरक निबन्ध लेखन निकै पछि परेको छ। निबन्धकारले यद्यपि सामान्य आत्मपरक निबन्धसँगसँगै यस विधाभित्र रहेको केही उपविधाहरू जस्तै नियात्रा, हास्य-व्यङ्ग्य, संस्मरण, जीवनी, राजनैतिक लेख, समसामयिक विचारात्मक चिन्तनगत लेख आदि भने विकसित नै देखिन्छ। संस्कृतमा एउटा भनाइ छ- गद्य कवीनाम् निकष बदन्ति अर्थात् गद्य लेखन नै मानिसको सीपको कसी हो। यसभित्र ज्ञानका, दर्शन्, वैचारिक चिन्तन, तर्क, कलाकारिता आदि सबै झल्काउन सकिन्छ। दार्जिलिङमा नेपाली निबन्धलाई राजनारायण प्रधान, इन्द्रबहादुर राई, रामलाल अधिकारीले अघि बढाएका हुन्। यीबाहेक टिकाप्रसाद राई, नन्द हांगखिम, शरद छेत्री, विन्द्या सुब्बा, शान्तिराज शर्मा, बी एस राणा, सन्तोष आले, भीम दाहाल, जीवन नामदुङ, हर्कबहादुर छेत्री, रूपेश शर्मा, अजय खँड्का आदिका विभिन्न विषयमा विचारोत्तेजक निबन्ध प्रकाशित देखिन्छन्। असमतिरबाट लीलबहादुर छेत्री, ज्ञानबहादुर छेत्री, राज नेपाल,खगेन शर्मा, खडगबहदुर कौशिक, वृजलाल कट्टेल, चन्द्रकुमार शर्मा, कुलप्रसाद सेढाइँ, छविलाल उपाध्याय आदि सक्रिय छन्। निबन्धकै उपविधाभित्र रहेको संस्मरण लेखन पनि निकै रोचक, अनुभवपरक, ज्ञानवर्द्धक हुन्छ। महानन्द पौड्याल, नरबहादुर दाहाल, नन्दलाल रसाइली, वीरभद्र कार्कीढोली, केदार गुरूङ, आदि सक्रिय देखिन्छन्। दैनिक र मासिक पत्र-पत्रिकाहरूमा राजनैतिक चिन्तनपरक विचारात्मक निबन्धात्मक लेख लेख्ने प्रशस्त छन्।
भारतमा नेपाली नियात्रा लेखनले पनि अग्रासन पाएको छ। स्वदेश र विदेश भ्रमण गर्दा विविध अनुभव, ज्ञान, शिक्षा र अनुभूतिलाई लेखकले रागात्मक अभिव्यक्ति, मानवीय भावना, संवेदना शैलीगत वैचित्र्य आदि दिएर नियात्रा लेखेको हुन्छ। सलोन कार्थक, सानु लामा, एम बी प्रधानले नियात्रा लेखनलाई निकै एकनिष्ठताका साथ अघि बढाएका छन् भने चूडामणि दाहाल, मीङ लिवाङ, महानन्द पौड्याल, चन्द्र कुमार राई, के पी मल्ल, गीता उपाध्याय, जयनारायण लुइँटेल, लावण्य देवी, जगन्नाथ उपाध्याय आदि पनि यसतर्फ सक्रिय देखिन्छन्। हाँस्य – व्यङ्ग्य लेखन पनि अघि बढेको देखिन्छ। समाजका विकृति, विंसगति, राजनैतिक कुसंस्कार र विकृतिमाथि व्यङ्ग्यात्मक ठुङ हान्दै तिनको आवश्यक सुधारको कामना गरी लेखिएका हास्यपरक निबन्ध निकै लोकप्रिय रूपमा पाइन्छ। सानुभाइ शर्मा, कृष्ण प्रधान, प्रदीप कँडेल, हीरा छेत्री, सि के श्रेष्ठ आदि हास्य-व्यङ्ग्य लेखनमा सक्रिय देखिन्छन्।
५.६. समालोचना - दार्जिलिङको परिप्रेक्ष्य नेपाली समालोचना भने निकै अग्रगतिमा रहेको पाइन्छ। वैश्विक रूपमा विद्यमान समालोचनाका नयाँ नयाँ पद्धति, सिद्धान्त, प्रणाली, अवधारणालाई दार्जिलिङे-सिक्किमेली नेपाली समालोचनाले निकै समात्ने गरेको पाइन्छ। सैद्धान्तिक र प्रायोगिक समालोचनाका विभिन्न पक्ष र सिद्धान्त, पद्धतिहरूलाई आधार लिएर समालोचना लेख्ने समालोचक प्रशस्त मात्रामा छन्। समालोचनाका विभिन्न फाँटहरू जस्तै सैद्धान्तिक समालोचना, तुलनात्मक समालोचना, प्रगतिवादी समालोचना, इतिहासपरक समालोचना, मनोविश्लेषणात्मक समालोचना, विधागत समालोचना, शैली-वैज्ञानिक समालोचना, पर्या-समालोचना, अन्तर्पाठात्मक समालोचना, व्यक्तिकेन्द्री समालोचना, कृतिकेन्द्री समालोचना, भाषाकेन्द्री समालोचना, शैक्षणिक वा प्रयोजनपरक समालोचना, प्राज्ञिक समालोचना, नारीवादी समालोचना, भयवादी समालोचना, अभिघात सिद्धान्त, किनारीकृत, सांस्कृतिक अध्ययन आदि दार्जिलिङ-सिक्किमबाट लेखिदै गरेको पाइन्छ। नेपाली समालोचनाको शिखरपुरूष इन्द्रबहादुर राईले समग्र रूपमा नै नेपाली समालोचनालाई नेतृत्व गरेका छन्। उनले नै नेपाली समालोचनाको दिशा निर्देशन, सम्भावना र नेपाली मौलिक मानदण्डको खोजी गरिआएका छन्। पृष्ठ पृष्ठ, अर्थहरूका पछिल्तिर, लेखहरू र झ्याल आदि जस्ता समालोचना ग्रन्थ नेपाली साहित्यले उत्तरआधुनिकता, विनिर्माणवाद, पाठनिष्ठ समालोचना पाएको देखिन्छ। समसामयिक नेपाली समालोचनामा उत्तर आधुनिकतालाई उनले निकै आधार दिने काम गरेका छन्।
अघिल्लो पिँढीका इन्द्रबहादुर राई, कुमार प्रधान, राजनारायण प्रधान, प्रतापचन्द्र प्रधान, घनश्याम नेपाल, मोहन पी दाहाल, महानन्द पौड्याल, लक्खीदेवी सुन्दास, पेम्पा तामाङ, जस योञ्जन प्यासी, जीवन नामदुङ, गुप्त प्रधान, शरद छेत्री, अर्जुन प्रधान आदि अग्रपंक्तिमा रहेका छन् भने नव पुस्ताका समालोचकहरू पनि निकै आशालाग्दो गरी समालोचना लेखनमा सक्रिय छन्। सन् २००० देखि दार्जिलिङ – सिक्किममा नेपाली समालोचनाका लगभग चौंसठ-पैंसठवटा पुस्तककाकार रूपमा समालोचनाका कृतिहरू प्रकाशित देखिन्छन्। विधापरक, शैलीवैज्ञानिक, संकेतपरक, सांस्कृतिक, भाषाकेन्द्रित, क्षेत्रकेन्द्रित, व्यक्तिकेन्द्रित, कृतिकेन्द्रित, पाठनिष्ठ इत्यादि जस्ता समालोचना पनि लेखिदै छन्। इन्द्रबहादुर राईद्वारा प्रतिपादित लीलालेखन सिद्धान्त पनि अब समालोचकीय आधार बनेको छ र यसलाई अघि बढाउन उनीबाहेक अन्य समालोचक पनि अघि सरेका छन्। पुष्प शर्मा, सञ्जय बान्तवा, कविता लामा, जय क्याक्टस, सुधीर छेत्री, इन्द्रबहादुर छेत्री, विनेश प्रधान, राजकुमार छेत्री, नवीन पौड्याल, कबीर बस्नेत, योगेश खाती, रेमिका थापा, बासुदेव पुलामी, निमा निची शेर्पा, देवचन्द सुब्बा, योगेश पन्त, भूपेन तामाङ, सपन प्रधान, महेश दाहाल, सुमन बान्तवा आदि समालोचनाका विभिन्न फाँटमा सक्रिय देखिन्छन्। अब विधाकेन्द्रित समालोचना क्षेत्र जस्तै उपन्यास समालोचनामा प्रतापचन्द्र प्रधान, मोहन पी. दाहाल, घनश्याम नेपाल, गीता छेत्री, वीणा हांगखिम, नवीन पौड्याल, दिल श्रेष्ठ, नाटक समालोचनामा कृष्णराज घतानी, राजु प्रधान हिमाङ्शु, लक्ष्मण श्रीमल, रूद्रराज मास्के, योगेश खाती आदि, कविता समालोचनामा मनप्रसाद सुब्बा, पेम्पा तामाङ, दिवाकर प्रधान, शरद् छेत्री, सञ्जय बान्तवा, पुष्प शर्मा, सुधीर छेत्री, रेमिका थापा, जय क्याक्टस, कबीर बस्नेत, टेकबहादुर छेत्री, शैलीका छेत्री आदि। कथा समालोचनामा राजकुमार छेत्री, शरद छेत्री, सुधीर छेत्री, प्रेम प्रधान, जीवन नामदुङ, सुजातारानी राई, रूपेश शर्मा, नवीन पौड्याल आदि सक्रिय देखिन्छन्। यसैगरि निबन्ध समालोचनामा विनेश प्रधान, कविता लामा, घनश्याम नेपाल, मुक्तिप्रसाद उपाध्याय यदाकदा देखिन्छन्। गजल समालोचनाको क्षेत्रमा शैलेन्द्र समदर्शी, सुबास श्रेष्ठ, नवीन पौड्याल, दिवाकर प्रधान आदि सक्रिय छन्। समालोचनाको माध्यमको रूपमा साहित्येतिहास पनि लेखिएका छन्। घनश्याम नेपाल, मोहन पी दाहाल, शान्तिराज शर्मा, दीपक तिवारी, मेघनाथ छेत्री, असीत राई, प्रेम प्रधान, जीवन नामदुङ, नरेशचन्द्र खाती आदि साहित्येतिहासपरक समालोचनामा सरिक छन्। ममता लामा, गोपालप्रसाद दाहाल, रूद्रराज मास्के, सुकराज दियाली, मेहरमान सुब्बा, महेश प्रधान, अर्जुन प्रधान, डि. के. श्रेष्ठ, एन. पी. थापा, राजकुमारी दाहाल, रूद्र पौड्याल, सबिता थापा संकल्प आदि समालोचना लेखनमा देखिन्छन्।
असमलगायत अन्य पूर्वाञ्चल क्षेत्रबाट थोरै मात्रामा पनि नेपाली समालोचना लेखन कार्य भइरहेको छ। असमका केही समालोचकहरूमा ज्ञानबहादुर छेत्री, खेमराज नेपाल, इन्दुप्रभा देवी, शान्ति थापा, मोहन सुवेदी, खगेन शर्मा, गोमा अधिकारी, छविलाल उपाध्याय, दैवकीदेवी तिम्सिना, लक्ष्मण-प्रसाद अधिकारी आदि सक्रिय छन्। यद्यपि असम र अन्य पूर्वाञ्चलमा नेपाली समालोचनाले खासै उल्लेखनीय उन्नति गरेको पाइन्न।
५.७. बालसाहित्य - भारतमा नेपाली बालसाहित्यले पनि निकै प्रगति गरेको छ। बालवालिकाका बालोपयोगी पाठ्यपुस्तक निर्माणदेखि सामान्य बालसाहित्यलेखन प्रकाशन पनि देख्न पाइन्छ। विगतमा पारसमणि प्रधान, नैनसिंह योञ्जनले जुन सिर्जनात्मक काम गरेका छन्, तिनका तुलनामा हलमा बालसाहित्य लेख्नेहरू थोरै छन्। भीम प्रधान, स्नेहलता राई, मुक्ति उपाध्याय बराल, मुन्नी सापकोटा आदिले बालसाहित्यमाथि केही उल्लेखनीय कृति प्रकाशित गरेका छन्। यद्यपि बालसहित्यको सिर्जना भने सन्तोषजनक छैन। साहित्य अकादमी नयाँ दिल्लीले बर्सेनी प्रदान गर्न बालसाहित्य पुरस्कारको निम्ति नेपाली साहित्यबाट कृति चयन गर्दा सङ्ख्यात्मक र गुणात्मक दुवै पक्षमा कमजोरी देखिन्छ।
५.८. अनुवाद साहित्य – अनुवादको क्षेत्रमा पनि भारतको नेपाली साहित्य अघि बढेको छ। यद्यपि गहन अध्ययन गरिहेर्दा भारतमा स्रोत भाषाको रूपमा हिन्दी र असमीयबाट नै बढी मात्रा अनुवाद भएको पाइन्छ। यी दुइ बाहेक अन्य भाषाबाट द्वितीय स्रोतका रूपमा अँग्रेजी भाषाबाट अनुवाद भएका छन्। हाम्रो छिमेकी भाषा बाङ्लाबाट भने थोरै मात्रामा अनुवाद भएका छन्। हालसम्म रविन्द्रनाथ ठाकुरको गीताञ्जलिको तीनवटा नेपाली अनुवाद पाइन्छ भने उनका अन्य कृतिमा दुइ उपन्यास र तीनवटा नाटकको अनुवाद भएको पाइन्छ। हिन्दीबाट नेपालीमा अनि नेपालीबाट हिन्दीमा अनुवादका केही काम भएको छन्। अनुवादलाई टेवा दिन साहित्य एकादमीले अनुवाद पुरस्कार पनि वितरण गर्दछ। यसमा अन्य भारतीय भाषाबाट नेपालीमा अनूदितमध्ये एउटालाई सर्वोकृष्ट मानेर पुरस्कृत गर्दछ। हिन्दी, असमीय, अँग्रेजी र बंगलाबाहेक अन्य भारतीय भाषाबाट भने थोरै अनुवाद भएका छन्। उपन्यास र कथासङ्ग्रह भने बढी मात्रामा अनूदित छन्। थोरै मात्रामा नेपाली कृतिहरू पनि हिन्दी, असमीय, अँग्रेजी र हिन्दीमा अनवाद भएका छन्। बिर्ख खँड्का डुवर्सेली, अनमोल प्रसाद, घनश्याम नेपाल, सुवास दीपक, खगेन्द्र प्रधान, जयन्तकृष्ण शर्मा, जितबहादुर सोनार, रूद्र बराल, भक्तसिंह ठकुरी, शङ्कर प्रधान, मणिका मुखिया आदिका अनुवाद कार्य उल्लेखयोग्य छन्। यद्यपि नेपालीका राम्रा राम्रा कृतिहरू अन्य भाषी पाठकले पढ्न पाएका छैनन् अनि अन्य भाषाका राम्रा राम्रा कृति पनि नेपालीभाषी पाठकले पढ्न पाएका छैनौं।
६. भारतमा वर्तमान नेपाली साहित्यिक पत्र-पत्रिका - भारतीय नेपाली साहित्यको श्रीवृद्धि, संवर्द्धन र प्रवर्द्धनका निम्ति साहित्यिक, दैनिक इत्यादि पत्र-पत्रिकाहरूको पनि ठुलो भूमिका देखिन्छ। यसका साथै कुनै पत्रिकाले कुनै एउटा विधा विशेष, कुनैले व्यक्तिविशेष आदिलाई अगाडि ल्याएर प्रकाशित गर्दा ती ती विधा वा व्यक्तिको प्रवृत्ति केलाउन सहयोग पुगेको देखिन्छ। चरित्रको समालोचना अङ्क, प्रक्रियाको सिक्किमेली कविता अङ्क, अन्तर्राष्ट्रिय कविता अङ्क, निर्माणको सिक्किम वाङ्मय अङ्क, दियालोको इन्द्रबहादुर विशेषाङ्क, परदेशीको महानन्द पौड्याल, एम एम गुरूङ र हाइमन दास राई किरात विशेषाङ्कहरू आदि मुख्य रूपमा देखिन्छन्। प्रक्रिया, सन्धान, नेपाली जर्नल, नेपाली अकादमी जर्नल, अभिज्ञान, स्रष्टा, दियालो, साहित्य सङ्केत, निर्माण, चासो, चौबन्दी, कनका, अनुसन्धान, नवागमन, अनुशीलन, प्रेक्षण, विचलन, हिमालयन जर्नल आदि जस्ता साहित्यिक मूल्यका पत्रिकाहरूले नेपाली साहित्यको विकासमा ठुलो योगदान दिएको पाइन्छ। यस्ता पत्रिकाबाहेक मासिक रूपमा साहित्यिक भेलाले पनि साहित्यलाई टेवा दिने काम गरेको पाइन्छ।
७. भारतमा नियमित साहित्यिक भेला कार्यक्रमहरू - दार्जिलिङ सिक्किममा नेपाली साहित्य लखनलाई थप उर्जा दिइरहन, नयाँ पुस्तालाई साहित्यिक परिवेश दिएर लेखनमा उत्साह दिन, समाजमा आम मानिसहरूलाई साहित्यमा चासो बढाउन मासिक रूपमा भेला कार्यक्रम राखिने गरेको पाइन्छ। केही यस्ता मासिक साहित्यिक भेलाहरूमा कालिम्पोङको बसिबियाँलो, गान्तोकको प्रतिभा मिलन, चिया कविता, खरसाङको साहित्य सङ्गम, सालबारी सिलगडीको शब्द समय, बाग्राकोटको साहित्य परिक्रमा, सिङ्ताम सिक्किमको बसिबियाँलो, पेदोङ कालिम्पोङको हाम्रो चौतारी, दार्जिलिङको खुल्ला साहित्यिक गोष्ठी मञ्च, जोरथाङ-सिक्किमका सृजनशील साहित्य लेखन मञ्च, कफी कविता, खरसाङको सुनौं-सुनाऊँ र मासिके मन्थन, बिजनबारीको प्रतिभा प्रेरणा परिषद्, रिनाक-सिक्किमको प्रतिभा मञ्च, मिरिकको साहित्य सुनौं, सोनादाको मासिक साहित्य मऩ्थन प्रमुख हुन्। कालिम्पोङको बसिबियाँलोले एक शय अस्सीभन्दा बढी प्रकरण पूरा गरिसकेर समाजमा साहित्यप्रति रूचि जगाउने परिवेश सिर्जना गरेको छ।
८. भारतमा नेपाली साहित्यको प्राप्ति र सीमा – भारतीय साहित्यको रूपमा नेपाली साहित्यले आफ्नो प्रगति गरेको छ। यद्यपि जति विकास हुनुपर्ने त्यति हुन सकेको छैन। यहाँ तीन तीन विश्वविद्यालय अनेक महाविद्यालहरूमा नेपाली भाषा र साहित्यको उच्च अध्ययन गरिन्छ, जति उच्चकोटीको लेखन अध्ययन हुनुपर्ने हो, त्यति हुनसकेको छैन। यहाँका सर्जकहरू विश्वसाहित्यसित कति प्रभावित, अनुप्रेरण, अनुशरणमा चलेका छन्, विश्वमा चलेका साहित्यिक सिद्धान्त, प्रणाली, प्रभावसित कति रूझेका छन्, सो पनि अध्ययन गर्नुपर्ने देखिन्छ। यहाँका सर्जकहरू लैङ्गिक अध्ययन, साँस्कृतिक अध्ययन, दलित चेतना, किनारीकृत चेतना आदिसित कति परिचित र सचेत छन्। यहाँ गर्नुपर्ने धेरै काम गर्नुपर्ने छन्। हामी त अन्य विकसित भारतीय साहित्यको काँधमा काँध आउनुपर्नेछ, त्यतिकै अद्यावधिक गर्दैलानुपर्ने, अझै सक्रिय हुनपरेको छ। इन्द्रबहादुर राईले जुन नेपाली साहित्यको मौलिक मानदण्डको गोरेटोको खोजीको काम गरेका छन्, त्यसलाई लिएर अघि बढाउन पर्ने देखिन्छ। हामीले उनलाई शिरमा राखेर हाम्रो साहित्यको मार्ग प्रशस्त गर्नुपरेको छ।
९. उपसंहार - भारतीय नेपाली साहित्यको एउटा मुख्य थलोको रूपमा दार्जिलिङ देखा पर्छ भने सिक्किम पनि हाराहारीमा देखिन्छ। यहाँबाट सबैभन्दा बढी नेपाली कविता विकसित भएको पाइन्छ। यसका हाँगाबिँगाका रूपमा रहेका गजल, गीत, रूबाइ, हाइकु आदि पनि निकै फस्टिएको पाइन्छ। कथा विधा पनि उत्तिकै अग्रणी रूपमा लेखिने गरेको पाइन्छ। यी दुईका तुलनामा अन्य विधा भने केही पछि परेको पाइन्छ। यताबाट नेपाली उपन्यास र निबन्ध टाक्सिएको देखिन्छ। यद्यपि नाटक र समालोचना भने निकै अग्रणी नै पाउन सकिन्छ। अघिदेखि नै लेख्दै आएका पुराना लेखकहरूलाई पालो दिन नयाँ हाँचका लेखकहरूको पनि नयाँ जोस, शैली, स्वरूप स्वर, बान्की, ढाँचा र रूचि लिएर लेखनमा सक्रिय देखिन्छन्। दार्जिलिङ सिक्किमको नेपाली साहित्य लेखनमा केही कमी कमजोरी पनि नपाइने होइन। पुस्तक बिक्रीमा ह्रास, पुस्तकको अभाव, पुस्तक विक्रेताहरूको अभाव लेखकहरूमा निरन्तर साधना, अध्ययन र अभ्यासको कमी पनि देख्न पाइन्छ। समग्रमा भारतीय नेपाली साहित्य टाक्सिएको पनि छ, उक्सिएको पनि छ। यही दुई टाक्सिएको र उक्सिएको बिचमा भारतको नेपाली साहित्य चेप्टिएको छ। जे होस, भारतको नेपाली साहित्य लेखन निकै स्तरीय, सबल, उँचाइपूर्ण र आशालाग्दो नै छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु