कवि क्षेत्रप्रताप अधिकारीको ‘नानीहरूका सपना लेख’ कविता

- प्रा. डा. ऋषिराम शर्मा

सार
‘नानीहरूका सपना लेख’ कविता कवि क्षेत्रप्रताप अधिकारीले ‘गोपालप्रसाद रिमाल’ शीर्षकमा लेखेको कविता हो । यस कवितालाई शिक्षाशास्त्र स्नातक तहका पाठ्यक्रममा समावेश गर्दा ‘नानीहरूका सपना लेख’ भन्ने शीर्षक दिइएको छ । यस कवितालाई लयविधान, भाव र भाषाशैलीको अध्ययन गर्न वक्रता, रस, अलङ्कार जस्ता सिद्धान्तलाई उपकरणका रूपमा प्रयोग गरी कविताको लयविधान, भाव र भाषाशैली र विम्बालङ्कारपरक अध्ययन र विश्लेषण गरिएको छ, यसले एकातिर संस्कृत साहित्यशास्त्रले लय, भाव, भाषाशैली अध्ययनमा प्रचुर आधार प्रदान गरेको पुष्टि हुन्छ भने अर्कातिर लय, भाव र भाषाशैली तथा विम्बालङ्कारपरक अध्ययन गर्नका लागि संस्कृत साहित्यशास्त्र सक्षम छ भन्ने समेत पुष्टि हुन पुगेको छ । यस अध्ययनमा लय, भाव, भाषाशैली र विम्बालङ्कारका दृष्टिले प्रस्तुत कविता उत्कृष्ट छ भन्ने पुष्टि गरिएको छ ।
विशेष शब्द ः उत्सुकता, चिन्ता, सञ्चारी भाव, सञ्चरण, वक्रता, वर्णविन्यास वक्रता, श्रुतिरम्य ।
१. विषय परिचय
प्रस्तुत लेख कवि क्षेत्रप्रताप अधिकारी (वि.सं. १९९१–२०....) द्वारा विरचित ‘नानीहरूका सपना लेख’ भन्ने कविताको तŒवगत विश्लेषण गर्ने कार्यसँग सम्बद्ध छ । क्षेत्रप्रताप अधिकारी कवि र गीतकार हुन् उनका ‘रहर लागेर’ कविता सङ्ग्रह
(२०२४), ‘गामवेसीमा गीत’ कविता सङ्ग्रह (२०३४), ‘पहाडदेखि पहाडसम्म’ कविता सङ्ग्रह, ‘लाली गुराँस’ कविता सङ्ग्रह, ‘नफुलेका पूmलहरू’ कविता सङ्ग्रह, ‘मेरो अन्तिम कविता’ कविता सङ्ग्रह प्रकाशित छन् । उनको प्रस्तुत ‘नानीहरूका सपना लेख’ कविता ‘मेरो अन्तिम कविता’ कविता सङ्ग्रहमा सङ्गृहीत छ । प्रस्तुत कविता ‘गोपालप्रसाद रिमाल’ शीर्षक दिएर उनले रचना गरेका छन् । गोपालप्रसाद रिमालको चर्चित ‘आमाको सपना’ कविता अनुकूलको तर यही कवितालाई त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय वि.एड. तहको पाठ्यक्रममा शीर्षक परिवर्तन गरेर ‘नानीहरूका सपना लेख’ भन्ने शीर्षक दिई राखिएको छ । कवि अधिकारीको यस ‘नानीहरूका सपना लेख’ भन्ने कवितामा कविताका प्रमुख तŒवका रूपमा रहेका लयविधान, भाव र भाषाशैली तथा विम्बालङ्कारका दृष्टिले मात्र प्रस्तुत लेखमा अध्ययन गरिएको छ । यसका लागि वक्रोक्ति सिद्धान्तका वर्णविन्यास वक्रता, पद तथा वाक्य वक्रताको सिद्धान्तलाई मुख्य आधार बनाइएको छ ।
२. ‘नानीहरूका सपना लेख’ कविताको लयविधान
प्रस्तुत ‘नानीहरूका सपना लेख’ कविता अत्यन्त श्रुतिमधुर, साङ्गीतिक, लयात्मक छ । लय कविताको प्रमुख घटक हो । कवितालाई साहित्यका अन्य विधाबाट पृथक् तुल्याउने मुख्य तŒव नै लय हो । गद्य लयमा विरचित प्रस्तुत नानीहरूका कवितामा विभिन्न वर्णहरूको श्रुतिरम्य पुनरावृत्तिले जुन ध्वनन पैदा गरेको छ त्यसले नै यस कवितालाई लयात्मक तुल्याएको छ । कवितामा लय विभिन्न किसिमका वर्णहरूको समान एवं असमान आवृत्तिबाट पैदा हुन्छ । काव्यमा लय भनेको साधारणतया भाषिक ध्वनिबाट उत्पन्न हुने साङ्गीतिकता भित्र निहित मूच्र्छना हो (नेपाल, ई. २०११, पृ. १२७) । कुन्तकले वर्णविन्यासजन्य सौन्दर्यलाई एक वर्ण (फालि, जाली÷सरर, हरर), द्विवर्ण (देखि, देखे सरी), अनेकवर्ण (पल्याक पुलुक) वर्णहरूको आवृत्ति र तालनादि द्वित्व (त्त, ल्ल, न्न), वर्गान्तर स्पर्शी (ङ्क, ङ्ख, ञ्च, ञ्ज, ण्ट, ण्ठ, न्म, न्ज, म्फ, म्व) वर्णहरूको प्रयोगजन्य चारुतालाई वर्णविन्यास वक्रता भनेका छन् र यसैको प्रयोगबाट कविता काव्यमा एक प्रकारको माधुर्य, साङ्गीतिकता र लय सिर्जना हुन्छ । क्षेत्रप्रताप अधिकारीका कवितामा पनि यस्तो वक्रताजन्य लय माधुर्यको प्रयोग पाइन्छ, जस्तै ः
(१) त्यो हुरी भएर आयो ।
हामी पात भएर पछ्याइ रहेछौं ।
नानीहरूका सपना लेखिइरहेका छौं
(२) देश खस्न आँटेको छ
राम राम भन्नेहरू
काँध थाप्न सकेका छैनन्
(३) लेखेको भए भन
नलेखेको भए सुन
(४) देशमा व्याप्त तुवाँलो उडाएर
एउटा सुन्दर आकश देला भन्ने
र, आमाको सपना भन्दा सुन्दर
नानीहरूका सपना लेख ।
माथि दिइएको उदाहरणमा एकवर्ण, द्विवर्ण, अनेक वर्णहरूको आवृत्तिका कारण सम्बन्धित पङ्क्तिपुञ्ज लयात्मक एवं श्रुतिमधुर बनेका छन् । उद्धरण १ का पङ्क्तिहरूमा र, प, न वर्णहरूको आवृत्तिले लयमाधुर्य पैदा गरेको छ भने उदाहरण २ के ‘राम राम’ भन्ने पदावलीमा र म् दुई वर्णको एकपटक आवृत्तिका कारण श्रुतिरम्यता पैदा भएको छ । यस्तै उदाहरण ३ को ‘लेखेको नलेखेको’ भन्ने अंशमा ल, ख, क अनेक वर्णहरूको एकपटक आवृत्तिले उक्त पङ्क्तिपुञ्जमा मिठास पैदा भएको छ । उदाहरण ४ का पङ्क्तिपुञ्जमा ‘सुन्दर’ पदमा आएको ‘न्द’ वर्गान्त स्पर्शी वर्णका कारण उक्त पङ्क्तिमा श्रुतिनिनाद र साङ्गीतिक माधुर्य पैदा भएको छ । यसरी ‘नानीहरूका सपना लेख’ कवितामा एकातिर एकवर्ण, द्विवर्ण, अनेक वर्णको आवृत्ति, वर्गान्त योगी वर्णको प्रयोग तथा अर्कातिर सुकोमल, प्रसाद र माधुर्य गुणयुक्त वर्ण
(न, र, स, प, ख, द) को बढी प्रयोगका कारण उक्त कवितमा कोमल वर्णहरूको प्रयोगबाट लयविधान सशक्त बनेको छ ।
३. ‘नानीहरूका सपना लेख’ कविताको मूल भाव
‘नानीहरूका सपना लेख’ कवितामा चिन्ता र उत्सुकता जस्ता भावहरू सञ्चरित हुँदै देशभक्ति विषयक प्रेम (रति) भाव निकै सशक्त ढङ्गले अभिव्यक्त भएको छ । प्रेम (रति) भावका सहयोगी सञ्चारी भावहरू मध्ये चिन्ता (इष्टको अप्राप्ति तथा अनिष्टको प्राप्तिका कारण मनमा बारम्बार उठ्ने सोच), भाव र उत्सुकता (कुनै वस्तु प्राप्तिको लागि उत्कट इच्छा हुँदा उक्त वञ्छित वस्तु प्राप्तिमा अधैर्यताको स्थिति) भाव निकै तीव्र रूपमा सञ्चारित भएका छन् । त्यसैले यस कविताको मूल भाव देश र जनताको उन्नति र प्रगति प्रतिको गम्भीर चासो र उत्सुकता नै हो । यस कवितामा कविको चिन्ता भाव यसरी सञ्चारी भएको छ ।
तर, गोपाल दाइ
त्यो हुरीले त
देशमा व्याप्त तुवाँलो उडाएर
एउटा सुन्दर आकाश देला भन्ने
हाम्रो सपना पनि उडायो
यस कथनमा हुरीले देशमा व्याप्त तुँवालो उडाएर सुन्दर आकाश दिन्छ अर्थात् देशका दुर्दिन समाप्त भएर देशमा सुदिन आउँछन् भन्ने इष्ट वा अवाञ्छित प्राप्ति (एउटा सुन्दर आकाशको चाहना त्यो हुरीले उडायो) पो हुन पुगेको छ भन्ने चिन्ता गम्भीर रूपमा यसमा सञ्चारित भएको छ । देशको रथ हाक्ने सारथिहरूले देशलाई असल बाटामा गुडाउलान् भन्ने इष्सित वा वाञ्छित वस्तु हो तर ती सारथिहरूले रथलाई दुर्घटनातिर उन्मुख गराइरहेको र देशमा अनिष्ट निम्तिन लागेको गम्भीर चिन्ता भाव यी पङ्क्तिमा सञ्चरित छ ।
यतिबेला त्यो हुरी
हाम्रो घरको धुरी उडाइरहेछ
अनि त्यै हुरीको आड लागेर
चुरीफुरी गर्ने सारथि
हाम्रो रथका पाङ्ग्राहरू
भीरतिर गुडाइरहेछ ।
देशमा जसको नेतृत्वमा हुरी (क्रान्ति) आयो त्यही हुरीले जनताको घरको धुरी उडाउने र त्यही नेतृत्व पङ्क्तिले हाँकेको राष्ट्रको रथ भिरतिर गुडाउने जस्ता गम्भीर चिन्ता भाव यहाँ सञ्चरण भएको छ ।
यस कवितामा देश प्रतिको भक्ति र प्रेम (रति) भावको अर्को उत्सुकता सञ्चारी भाव पनि सशक्त रूपमा सञ्चरित भएको छ । कुनै वस्तुको प्राप्तिको लागि उत्कट इच्छा हुनु र उक्त वस्तु छिटो भन्दा छिटो प्राप्त गर्ने तीव्र लालसा हुनु वा उक्त वस्तु प्राप्त गर्न ढिलाई नसहनु यस सञ्चारी भावको मुख्य लक्षण हो । यस ‘नानीहरूको सपना लेख’ कवितामा पनि हुरी (क्रान्ति) आएपछि छिटोछिटो आर्थिक विकास होस्, जनता सम्पन्न होऊन् भन्ने तीव्र लालसा थिए तर ती पनि सबै तुहिए भन्ने भाव यसरी प्रकट भएको छ ।
नानीहरूका सपनामा
अलिकति गाँस, बास र कपासहरू थिए
अलिकति शान्ति र सुरक्षाहरू थिए
अलिकति ओखती र अक्षरहरू थिए
तर गोपाल दाइ
नानीहरूका सपना त
कुहिए चुहिए र तुहिए
तिमी एकपल्ट आऊ
र आमाको सपनाभन्दा सुन्दर
नानीहरूको सपना लेख ।
यसरी प्रस्तुत पङ्क्तिपुञ्जमा क्रान्तिपछि देशमा सबै तह र तप्काका जनतामा आमूल परिवर्तनको अपेक्षा थियो तर त्यो अपेक्षा पूरा हुन नपाएको सन्दर्भ उल्लेख गर्दै कविले गोपालप्रसाद रिमाललाई अब नानीहरूका सपना लेख्न अनुरोध गरेका छन् । किनकि क्रान्तिपछि नानीहरूले गाँस, बास, कपास, शान्ति, सुरक्षा, शिक्षा (अक्षरहरू) र औषधि पाउनु पर्ने जुन अपेक्षा थियो ती चिजको प्राप्ति दिलाई मात्र होइन पूर्णतः असम्भव जस्तो भइसकेको परिस्थिति छ, त्यसैले तिमीले लेखेको आमाको सपना अनुकूलको हुरी आए पनि यो देशमा त्यो हुरी परिवर्तनको हुरी नभई झन् विनाशको हुरी बन्न पुगेको छ, अतः देशमा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, शान्ति र सुरक्षा पूरा हुने गरी नानीहरूका सपना लेख्न अर्को हुरीको आमन्त्रण गर भनी यहाँ आह्वान गरिएको छ ।
यसरी प्रस्तुत कवितामा चिन्ता र उत्सुकताजस्ता सञ्चारी भावहरू सञ्चरण गर्दै कविले निकै सशक्त ढङ्गले देश र जनता प्रतिको प्रेम (रति) भाव प्रकट गरेका छन् ।
४. भाषाशैली तथा विम्बालङ्कार
प्रस्तुत ‘नानीहरूको सपना लेख’ कविताको भाषा सरल, शैली विशिष्ट एवं प्रसिद्ध कथनभन्दा व्यतिरेकपूर्ण छ भने अमूर्तको मूर्तीकरण, मानवेतरको मानवीकरण, सुन्दर रूपकविधान तथा विभिन्न प्रतीयमान अलङ्कारहरूको कुशल प्रयोगका कारण यो कविता निकै कलात्मक बनेको छ । यस कवितामा अमूर्तको मूर्तीकरण गर्ने मानवेतरको मानवीकरण गरी कथ्यलाई संवेद्य तुल्याउने कला जीवन्त रूपमा चित्रित छ, जस्तै ः
तर गोपाल दाइ !
नानीहरूका सपना त
कुहिए, चुहिए र तुहिए
यस कथनमा ‘सपना’ जस्तो अमूर्त वस्तुलाई मूर्त वस्तुका गुण र क्रिया
(कुहिने, चुहिने, तुहिने) सँग अन्वित तुल्याई मूर्तीकरण गरिएको छ र उपचार
(मूर्तको मूर्तीकरण), वक्रता र क्रियाको वैचिœययुक्त प्रयोग (कुहिने, चुहिने र तुहिने काम कर्ता सपनाद्वारा सम्पन्न असम्भव छ तर त्यसलाई सम्भव तुल्याउने चमत्कारपूर्ण प्रयोग) जस्तो कला यहाँ प्रयोग भएको छ । त्यसैगरी यहाँ रूपकालङ्कार वैचिœयको पनि निकै कलात्मक प्रयोग छ, जस्तै ः
गोपाल दाइ
त्यो आयो
हुरी भएर आयो
हमी पात भएर पछ्याइरहेछौं
आमाको सपना साकार भयो ।
यहाँ त्यो, हुरी, पात, आमाको सपना जस्ता पद पदावलीहरू उपमान हुन् र यी उपमानमा लोकतन्त्र (त्यो), आन्दोलन वा क्रान्ति (हुरी), जनता (पात) र लोकतन्त्रको प्राप्ति (आमाको सपना) उपमेय आरोपित छन् । यहाँ प्रकृतिका सरल, सुवोध्य एवं सहज सम्प्रेष्य विम्बहरू उपमान बनी उपमेयमा आरोपित भई रूपकालङ्कार सौन्दर्य सिर्जना भएको छ । यी अलङ्कार, वक्रता र विम्बहरूले कविताको कथ्य वा देश र जनताको प्रगति, उन्नति, समृद्धि सम्पन्नताको भावलाई सघन रूपमा प्रस्तुत गरेका छन् ।
५. निष्कर्ष
प्रस्तुत ‘नानीहरूका सपना लेख’ कविता लयविधान, भाव र भाषाशैली तथा विम्बालङ्कारका दृष्टिले निकै सुन्दर कविता हो । यसमा विभिन्न कोमल (एक, द्वि र अनेक) वर्णहरूको पुनरावृत्तिबाट उत्पन्न हुने भाषिक नादले श्रुतिरम्यता पैदा गरेको छ । त, ल, न जस्ता द्वित्व वर्णको आवृत्ति उनको यस कवितामा नभेटिए पनि उनका अन्य रचनामा यस्तो वैशिष्ट्य पाइन्छ । वर्गान्तस्पर्शी (न्छ) वर्णको प्रयोगले कवितालाई साङ्गीतिक तुल्याएको छ, भावविधानका दृष्टिले यसमा देश विषयक
(रति) प्रेम भावको अभिव्यक्ति छ । देशको दुर्दशा र लोकतन्त्रमा देखिएको विकृति प्रति चिन्ता भाव र देशका होनहार बालबालिका अर्थात् नानीहरूको सुन्दर भविष्यको सपना पूरा हुन विलम्ब हुन नहुने उत्सुकता भाव सञ्चरण भई देशभक्ति विषयक रति भाव यसमा निकै मार्मिक ढङ्गले व्यक्त भएको छ । सरल तर वक्रतायुक्त÷ प्रसिद्ध अभिधान भन्दा व्यतिरेकपूर्ण कथन अर्थात् विशिष्ट कथनगत भाषिक प्रयोगले यो कविता विशिष्ट बनेको छ । यसमा अमूर्तको मूर्तीकरण, मानवीकरण, रूपकविधान जस्ता विम्बालङ्कारयुक्त भाषिक चमत्कारले पनि यो कविता विभूषित नै छ । यसरी प्रस्तुत ‘नानीहरूका सपना लेख’ कविता सुमधुरलय, राष्ट्रभक्तिको भाव र सरल एवं विम्बालङ्कारयुक्त भाषाशैलीका कारण निकै सुन्दर रचनाका रूपमा देखा परेको छ ।
सन्दर्भ ग्रन्थ
अधिकारी, क्षेत्रप्रताप (२०७२), ‘गोपालप्रसाद रिमाल÷नानीहरूका सपना लेख’, मेरो अन्तिम कविता, काठमाडौँ ः साङ्ग्रिला पुस्तक प्रा.लि., पृ. १३२–३३) ।
उपाध्याय, केशवप्रसाद. पूर्वीय साहित्य सिद्धान्त. दोस्रो संस्क. काठमाडौं ः साझा प्रकाशन. २०४८ ।
तिवारी, रामचन्द्र. भारतीय एवम् पाश्चात्य साहित्यशास्त्र के रूपरेखा, इलाहावाद ः लोक भारतीय प्रकाशन. सन् २०१० ।
त्रिपाठी, राममूर्ति. भारतीय काव्य विमर्श. दिल्ली ः वाणी प्रकाशन. सन् २००९ ।
थापा, हिमांशु. साहित्य परिचय. काठमाडौं ः साझा प्रकाशन. २०५० ।
द्विवेदी, दशरथ. रसाभिव्यक्ति. वाराणसी ः विश्वविद्यालय प्रकाशन. २००७ इ. ।
विश्वनाथ, (सन् २००७), साहित्यदर्पण, व्याख्या. व्याकरण आचार्य शेषराज रेग्मी, वाराणसी ः यौखम्वा कृष्णदास एकादमी ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 12 आसाढ, 2076

लेखकका अन्य रचनाहरु