हराएको चेक

- विजयराज आचार्य

“बाबु यो भूइँमा खसेको साबुनको खोल डस्बिनमा राखिदेऊ त,” धर्मराजले आफ्नो काखमा बसेर टि.भी मा कार्टुन हेरिरहेको छ वर्षे नाती सिम्रोनलाई अह्राए ।
स्रिमोन हजुरबाको काखबाट जुरुक्क उठ्यो र साबुनको खोल टिपेर डस्टबिनमा राखिदियो । त्यसपछि दौडिदै आएर हजुरबाको काखमा थ्याच्च बसेर कार्टुन हेर्न थाल्यो ।
“स्याबास ! नाती अब सधैँ यसै गरी भूइँमा खसेका फोहोरलाई डस्टबिनमा राखिदिनु है ।” धर्मराजले नातीको गालामा च्वाप्प म्वाइँ खाँदै भने ।
तीन वर्षको नातिलाई उनले धरै कुरा सिकाउन खोज्थे । कुन सामान कहाँ राख्ने भन्ने सिकाउने क्रममा उनले नातिलाई फोहोर राख्ने भाँडामा भुइँमा झरेका कागत राख्न सिकाउँदै थिए ।
धर्मराज विज्ञानका प्रोफेसर थिए । उनी बेलायतको अक्सफोर्ड विद्यालय जाँदै थिए । अफिसबाट उनले एक लाख रुपैयाँ पेस्की लिएका थिए । उनी चेक साट्न बैँक जान लागे थिए ।
चेक र अन्य कागतपत्र टेबुलमाथि राखेर उनी खाना खान गए । खाना खाएर फर्कँदा टेबुलमाथि चेक थिएन । उनले यताउति हेरे । लुगाको सबै खल्तीभित्र हेरे तर चेक भेटिएन । उनी आत्तिए । उनकी पत्नीेले पनि उनलाई चेक खोज्न सघाइन् । तर भेटिएन ।
नाति टेलिभिजन नजिकै खेलिरहेको थियो । धर्मराजले नातिर्लाइ सोधे, “बाबु, तिमीले चेक देख्यौ कि ?”
“यति सानो केटोलाई चेक भनेको के थाहा !” पत्नीले हाँस्दै भनिन् ।
“घरमा कोही आएको थियो कि ?”
“खै कोही पनि आएको छैन । कोठामा सिम्रोन बाहेक अरु कोही थिएन ।”
“उसैलाई फकाउँदै सोध्नुु पर्यो,” धर्मराजले भने ।
“सिम्रोन तिमीले टेबुलमाथि राखेको चेक देखेनौ ?” धर्मराजले सोधे ।
सिम्रोनले केही थाहा नपाएको झैँ आकाशतिर हेर्यो । धर्मराजले चेक जस्तै आकारको कागत देखाउँदै सोधे, “बाबु, तिमीले यस्तो कागत देख्यौ ?”
“भुइँमा खसेको कागत भन्नु भएको हो ?” सिम्रौनले उत्साहित हुँदै सोध्यो ।
“हो बाबु यस्तै कागत कहाँ छ ?”
सिम्रौन मुसुक्क हाँस्यो । उसले हजुरबाको औँला समात्यो र सरासर कोठाको कुनामा राखेको डस्टबिनतिर लगेर देखाउँदै भन्यो, “यो कागत भन्नु भएको हो ?”
डस्टबिनभित्र हराएको चेक देखेर दुबै जना दंग परे र नातिलाई जुरुक्क बोकेर माया गरे । अनि धर्मराजले कोठामा घुमिरेको बिजुली पंखा निभाइदिए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु