"गुलाफसँगको प्रेम"मा संगीता स्वेच्छा

- जय प्रकाश त्रिपाठी

नयाँ पुस्ताका साहित्यप्रेमीहरूका लागि सर्जक संगीता ‘स्वेच्छा’को नाम नवीन या नौलो नै लाग्न सक्छ । अझ नामको अघिल्तिर ‘डा.’ थपिएर प्रकाशित भएको कृतिले त पोख्त वा पारखी पाठकहरूसमेतलाई अलमल्याउन सक्छ । तर, अढाइ दशकभन्दा अघिदेखि साहित्य सिर्जनामा लागिपरेको स्रष्टाको नाम हो– संगीता स्वेच्छा; जो बेलायतको सर्रे युनिभर्सिटीबाट वातावरण सञ्चारमा विद्यावारिधिको उपाधि हासिल गरेपछि डा. संगीता स्वेच्छाको नामबाट चिनिन पुगेकी छन् ।

साहित्यिक कर्मप्रति अत्यन्त लगाव राख्ने उनै संगीता, जसले ‘टिनएज’मै ‘पखालिएको सिउँदो’ (उपन्यास) कृति प्रकाशनमा ल्याएर नेपाली साहित्याकाशमा आफ्नो एक अलग पहिचान बनाएकी थिइन् । आजभन्दा लगभग पच्चीस वर्षअघि, अनि जीवनको त्यो कच्चा उमेरमा परिपक्व भावले परिपूर्ण उपन्यास लेख्नु र त्यसलाई पुस्तकाकार दिनु कति कठिन र महत्वको सन्दर्भ थियो– समकालीन साहित्यकर्मीहरूले मात्र यसको गहनता एवम् गरिमा बोध गर्न सक्छन् ।

हो, उनै साहित्यानुरागी संगीता पुस्तकको रूपमा आफ्नो तेस्रो कृति लिएर यतिबेला नेपाली साहित्यप्रेमीबीच झुल्किएकी छिन्– ‘गुलाफसँगको प्रेम’ (कथासङ्ग्रह) को साथमा । यसबीच विभिन्न पत्रपत्रिका एवम् आमसञ्चारका अन्य माध्यमहरूमा संगीताका रचनाहरू निरन्तर प्रकाशित भएका छन् । मूलतः कविता र कथा स्वेच्छाको रोजाइको विधा बनेको बुझिन्छ । आख्यानकारको परिचय दर्बिलो तुल्याउँदै गरेकी संगीता आफ्नो दोस्रो कृति प्रकाशनको तयारीमा जुटिसकेकी छिन् भने उनको ‘गुलाफसँगको प्रेम’ (कथा–कृति)ले साहित्यानुरागीबीच यतिबेला चासो र चर्चा जगाइरहेको छ ।

बीसवटा कथाहरूको सङ्ग्रह ‘गुलाफसँगको प्रेम’मा समेटिएका कथाहरू प्रत्येकमा आ–आफ्नै मौलिकता र महत्व झल्किएको अनुभूति हुन्छ । आफूले व्यतीत गरेको मातृभूमिको माटोदेखि अध्ययन तथा पेसागत कर्मको सिलसिलामा गुजार्दै गरेका उन्नत विदेशी मुलुकहरूको परिवेशसम्मलाई समेटेर स्वेच्छाले आफ्ना कथा–कल्पनालाई शब्द–शिल्पको धागोमा उनेकी छिन् ।

प्रेम, समर्पण, मित्रता, तिक्तता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइलगायत विषयवस्तुमाथि केन्द्रित उनका कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रूपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत उनले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छन् । लेखिका स्वयमको शब्द सापटी लिएर भन्नुपर्दा समाजमा हुने घटनाहरू अनि ती घटनामा उत्रिरहेका चरित्रहरूको जीवनमा आएका उतारचढावलाई यस कथा सङ्ग्रहमार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

पुस्तकको शीर्षक रोजिएको ‘गुलाफसँगको प्रेम’ कथामा झाडीमा फक्रिएको गुलाफलाई बिम्ब बनाएर स्रष्टा स्वेच्छाले व्यक्तिको जीवन गुलाफकै सौन्दर्य, त्यसको कोमलता र ऊसँग हुने काँडाको सङ्गम हो भन्ने सिद्ध गर्न खोजेकी छन् । प्रेम भएकै ठाउँमा घृणा, ईष्र्या, वितृष्णा एवम् बदताको भावसमेत पैदा हुन्छ भन्ने यथार्थ उनले एक प्रेमीलाई पश्चातापको रापमा सेक्दै चित्रित गर्न खोजेकी छन् ।

त्यस्तै, ‘अपरिचित टेलिफोन नम्बर’ मार्फत उनले श्रीमतीसँग ‘डिभोर्स’ गरिसकेका पुरुषकी छोरीले आफू अलग्गै आमासँग रहे पनि बाबुप्रति दर्शाएको लगावलाई बडो रहस्यमयी किसिमले उतारेकी छन् भने ‘अव्यक्त इच्छा’ शीर्षकको कथामार्फत बाध्यताको सम्बन्धबाट जीवनमा खुसी नमिल्ने बरु अविवाहित रहेकै उचित हुने सन्देश प्रवाहित गरिएको छ । पारिवारिक सम्बन्ध र व्यक्तित्व विकासलाई यथोचित सार्थकता दिन नसक्दा डिप्रेसनमा पुगेकी नारीको मार्मिक व्यथा बोकेको छ यस कथाले ।

यसैगरी ‘हरिमायाकी बुहारी’ शीर्षकमा संगीताले नेपाली समाजमा जताततै भेटिने एक यस्तो महिला चरित्रमाथि व्यङ्ग्य प्रहार गरेकी छन् जो अर्काको चियोचर्चा र कुरा काटेर रमाउने गरेको छ र आफैँ उपहासको पात्र बन्न पुगेपछि चाहिँ खिस्रिक्क परेर खुम्चन्छ ।

यसैगरी, ‘नागरिकता’मार्फत लेखिकाले विदेशमा आफूलाई नेपाली भनी चिनाउन लाज मान्ने ढोंगी पात्रमाथि प्रहार गरेकी छिन् भने ‘बढ्दो सभ्यता’ शीर्षकको कथामा आधुनिकता र स्वतन्त्रताको नाममा समाज स्वच्छन्द र विकृत बन्दै गएको दुःखेसो पोखिएको छ । ‘आप्रवासी मुटु’ पनि यस सङ््ग्रहभित्रको एक मार्मिक कथा हो । प्रवासी जीवन बाँचेकाले विदेशका मूलवासीबाट खेप्नुपर्ने नियतिबारे बुझाउने चेष्टा यसमा गरिएको छ ।

राममाया, असम्झौताभित्रको सम्झौता, असाधारण मृत्यु, अर्थहीन पात्रहरू, एकाङ्कीपनले जन्माएको मानसिकता, आदर्शको सीमारेखा, लेरनका ड्याडीहरू, विखण्डित सपना, विचारहरूको द्वन्द्व, कथाकारको कथा र विछिप्त मनको डायरी यस कथा सङ्ग्रहभित्रका अन्य कथा शीर्षकहरू हुन् । हरेक कथाले एउटा–एउटा मर्म र सन्देश बोकेका छन् । आफ्ना रचनामार्फत डा. संगीता स्वेच्छाले कताकता व्यक्ति र समाजलाई सच्चिन–सुध्रिन र सभ्य–शालीन बन्न सन्देश प्रवाहित गरिरहेको प्रतीत हुन्छ ।

यस अर्थमा उनका साहित्यिक सिर्जनाहरू साहित्यिक भावले मात्र नभई जीवनको मूल्य–बोधका हिसाबले पनि उत्तिकै सार्थक छन् । बेलायती डायस्पोराबाट यसरी नेपाली साहित्यमा एउटा इँटा थप्ने जुन कर्म डा. संगीता स्वेच्छाले गरेकी छन्, यो प्रशंसनीय छ । यस्तै सत्प्रयासमा उनका हरेक कदमलाई सफलताले चुमिरहुन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु