म भगवान मान्दिन

- गोपाल झापाली

म भगवान मान्दिन
किनकी हजुरले महान् विज्ञान सिकाई बक्सियो,
अन्धविश्वास भन्दा बिज्ञानमा विश्वास राख्न भनि बक्सियो
मैले लुरुलुरु मान्दै आएको हो नि त,
त्यसैले म भगवान मान्दिन, हजुर ।

म धर्म मान्दिन
किनकी हजुरले धर्म भनेको त अफिम हो भनि बक्सियो नि त
मूर्ती पूजा भन्दा साक्षात मान्छेको पूजा गर्न सिकाई बक्सियो नि त
मैले आज सम्म मानेको पनि हो नि हजुर
त्यसैले म अधर्मी हुँ, म धर्म मान्दिन ।
हजुरनै मेरो श्रीनाथ, हजुरनै साक्षात प्राणनाथ
हजुरका दुईथान पाउ यता ल्याईबक्सियोस्
म साष्टाङ्ग दण्डवत गर्न आतुर छु,
मलाई मुक्ति दिईबक्सियोस्
निराकार, अदृश्य भगवान कहाँ खोजौ, हजुरनै मेरो संसार
त्रिलोक घुम्नु भन्दा हजुरकै वरिपरि पाँच फेरो लाउँछु
हजुरकै भजन गाउँछु, हजुरकै सानिध्यमा रमाउँछु
ढुंगा होईन म मान्छे पुज्छु
अरु होईन, हजुरनै पुज्छु ।
किनकी,हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।

हजुरलाई बोक्दा काँध खुईलिएको कथा गर्ने पनि छन्,
हजुरलाई लुकाउँदा आँफ्नै आँखा फुटेको सुनाउने पनि छन् ।
हजुरलाई प्रभावमा पार्लान्, हजुरको मन जित्लान
हजुर त कोमल हृदयको मान्छे
नौनी जस्तै पगाल्न सक्लान् ।
होस पु¥याई बक्सियोस्,
म त हजुरकै कमारो, हजुरकै दासी, हजुरकै कमैया
जे भनेनै खुस, हजुरनै विधाता, हजुरनै मन्दिर, हजुरनै गजुर
किनकी, हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।

त्यो पाखो भित्तोको वन ठेगान लगा मर्जी भयो,
बेपत्ता उर्लने खोलो र बगर बाँध आदेश भयो,
पाखुरे, तिघ्रे तन्नेरीले काम काटेनन्, समुद्र कटा आदेश भयो,
नाक पसार्दै दौडने गैडाको के काम ?
मान्छे देख्दा तिथोरीहाल्ने भालु को के खाँचो ?
हजुरका बिरुद्ध चिया गफ लाउने अनि छाला चिर्दा चिच्याउने ?
त्यस्ता जाबो मान्छे भन्नै नसुहाउने मान्छेको पनि के गणना ?
साराका सारा ठेगान लगाउन हुकुम भयो
म चरण परिहालेँ, हुकुम शिरोपर गरि हालेँ,
मलाई के बक्सन्छ प्राणनाथ यसपाला ?
पोहोरको जस्तै एयरपोर्टको टेण्डर कि, युरोप भ्रमण ?
केहि त निगाहा होस्, हे नाथ,
किनकि, हजुरले फर्मान बक्सिएको, मैले लुरुलुरु मान्दै आएँ,
त्यसैले म भगवान मान्दिन, हजुरलाईनै हजुर ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 आसाढ, 2076

लेखकका अन्य रचनाहरु