जून र नानीहरू

- ईगम खालिङ

एक साँझ, म निकै थाकेर घर आएको थिएँ। थकान मेट्नलाई म खिड्कीको छेउमा गएर बसेँ। मलाई साँझमा खिड्कीबाट रमिता हेर्न खूब मनपर्छ। घाम रातो भएर क्षितिजतिर बिलाउन लागिरहेको, पहेंलो क्यान्भसमा रातो रंगले कता कता पोतेको जस्तो आकास, क्षितिजसम्म तन्किएका पहाडहरू, फेदमा बगिरहेका चाँदीजस्ता खोलाहरू अनि चिसो सिरेटोले घरि घरि अनुहारलाई छुने एक प्रकारको रमाइलो वातावरणमा अचानक मेरो ध्यान स्कूलबाट आएर डाँड़ामा भाँड़ा-कुड़ी खेल्न छाड़ेर आकासबाट हेरिरहेको जूनलाई उफ्री उफ्री कराउने नानीहरूतिर गयो। मैले अझै ध्यानसित सुन्ने कोशिस गरेँ, तिनीहरू यसरी कराइरहेका थिए—

“ए जून-बोप्पा, हामी भाकोमा आउन!
ए जून-भगवान,
हामीसित खेल्न आउन!
हामी, तपाईँलाई थुप्रै मिठाई दिन्छौं!”

कति नानीहरू उफ्री उफ्री स्वर सुकिन्जेल आकासतिर फर्किएर कराइरहेका थिए अनि कति चाहिँ आक्रोशित भएर रून खोज्दै थिए। ती नानीहरूले जूनलाई साँच्चै बोलाइरहेका थिए। त्यसरी बोलाउँदा पनि जून नआएकोमा उनीहरू निराश भएर एकार्कासित नबोली एक एक गर्दै आ-आफ्ना घर जाना थाले। त्यतिबेलासम्म घाम डुबिसकेको थियो र चारैतिर निकै अँध्यारो पनि भइसकेको थियो।

नानीहरूका त्यस्ता व्यवहार अनि तिनीहरूका आँखामा भएका भावुकताले मेरो मुटु दुखेर आयो। मलाई पनि त्यो डाँड़ामा गएर उफ्री उफ्री चिच्याउन मन लाग्यो, जूनलाई डाँड़ामा बोलाउन मन लाग्यो। एउटा सानो केटोले ढुंगाहरू बटुलेर एउटा अनौंठो रिससत जूनलाई आकासतिर हान्दैरहेछ। म छक्क परेर त्यसलाई कराएँ—

“ए केटो! के गरेको?”

त्यो केटो चुपचाप हातको ढुंगा फ्याँकेर आँसु पुछ्दै सरासर आफ्नो घरतिर लाग्यो। म नबोली त्यसलाई नै हेरिरहेँ—अलिक पर पुगेर त्यसले आफ्नो दाहिने हातको बुढ़ी औंला देखाउँदै मलाई भन्यो—

“कट्टील अंकल, म तपाईँसित बोल्दिन!”

त्यति भनि राखेर अँध्यारोमा त्यो केटो त्यहाँबाट हरायो। मेरो मनमा एकप्रकारको भाव उत्पन्न भयो। त्यतिबेला मैले जूनलाई एकपल्ट आकासतिर हेरेँ—जून ङिच्च हाँसिरहेको रहेछ। त्यो एउटा रातभरि मलाई निन्द्रा लागेन, कतै जून त्यो डाँड़ामा आइपोहाल्छ कि जस्तो लागिरह्यो।

भोलिबिहान उठ्ने बित्तिकै खिड्कीबाट डाँड़ातिर हेरेँ—त्यो जून त्यहाँ थिएन। एक-दइ भुस्याहा कुकुरहरू आरामले सुतिहरेका थिए।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 5 श्रावण, 2076

लेखकका अन्य रचनाहरु