मान्छे चिन्नु खसी किन्नु

- ईगम खालिङ

हामीले मान्छे चिनेनौं त्यसैले अरिजिनल (मौलिक) खसी किन्न सकेनौं । डुप्लिकेट खसीलाई अरिजिनल सम्झेर बाँचिरह्यौं । फेरि अरिजिनललाई डुप्लिकेट मानेर आफै लट्टिरह्यौं । त्यो सम्झेर ल्याउँदा मलाई पछुतो भइरहन्छ । त्यसैले माथिको शीर्षक ‘मान्छे चिन्नु खसी किन्नु’ मेरो निम्ति एउटा उखान मात्र नभएर मेरो मनभित्रको एउटा अमेट धोका बन्न पुगेको छ ।

हामी जहिले पनि उल्टा बुझ्छौं । हामीलाई अरूले बुझाइदिएका कुरा मन पर्छन् अनि सठीक बुझाइदिएका ठान्दछौं । हामीले कहिल्यैं सत्य र वास्तविक्ता खुट्याउनलाई आफ्नो दिमागको प्रयोग गर्दैनौं । प्रश्न र तर्कद्वारा खास कुराको निचोड़सम्म (टुङ्गोसम्म)पुग्ने कोसिस गर्दैनौं । हामी जहिलेपनि पूर्वग्रहित बाँचिरहेका हुन्छौं । म कुन संदर्भमा कुरा गर्दैछु भनेर तपाईँहरू छक्क पनि पर्नु भयो होलान् । हुन त, म उखानकै संदर्भमा कुरा गरिरहेको भए तापनि अलिकति चाहिँ अप्रत्याक्षरूपमा हाम्रा वर्तमान राजनैतिक अनि सामाजिक अवस्थाको संदर्भमा पनि कुरा गरिरहेको छु । हामीले ‘मान्छे चिन्नु खसी किन्नु’ भन्ने उखानलाई कहिल्यैं पनि आत्मसात् गरेर बुझ्न र बुझेर व्यावहारिक्तामा प्रयोग गर्ने कोसिस गरेनौं । गरेको भए आज भारतवर्षमा हाम्रो यस्तो स्थिति हुने थिएन होला । यो मेरोनिम्ति व्यक्तिगत तवरमा एउटा दुर्भाग्य नै ठान्दछु ।

खसी किन्नु खोजेर मात्र हुँदैन खसी किन्नु भन्दा अघि हामीले खसी बेच्ने व्यक्तिलाई राम्ररी चिनेको, जानेको र बुझेको हुनुपर्छ । बेच्ने मान्छेलाई राम्ररी नजानी खसी किन्नु व्यर्थ हो । डुप्लिकेट खसीले हाम्रो रहर केही हदसम्म पूरा गर्न सक्ला तर पूर्ण आत्म-सन्तुष्टि भने दिन सक्दैन । आत्म-सभिमान दिन सक्दैन । त्यो कसरी भनेर केसैले मलाई सोध्छ भने म भन्छु: दुप्लिकेट खसी किनेर पाल्दा अरिजिनल खसी चिन्ने र पाल्नेहरूले हामीलाई खिसी गर्नेछन् । दुर्बल बुद्धि भएका ठान्नेछन् । हामी जति नै रोई-कराई गरौं न डुप्लिकेट कुनै अवस्थामा अरिजिनलमा परिवर्तन हुँदैन । हुन त डुप्लिकेट र अरिजिनल छुट्याउने समाधनका विधिहरू छन् । तर समाजमा सबैले डुप्लिकेटलाई अरिजिनल मान्छन् भने मेरो भन्नु केही छैन । बिशेष त्यो एउटा समाजको परिधिभित्र । कारण कुनै पनि वस्तुको मान्यता समाजिक मान्यतामा निर्भर गर्दछ । एउटा समाज, राज्य र देशले मान्दैमा डुप्लिकेटलाई अरिजिनल कहिल्यैं मान्न सकिन्दैन । तर अरिजिनल नै छैन अथवा मासियो भने कसको के लाग्छ । त्यस्तो स्थिति आइहाले चित्त बुझाउनु पर्ने हुन्छ ।

जसरी गधा मलेर घोड़ा हुँदैन त्यसरी नै डुप्लिकेट मलेर अरिजिनल हुँदैन । जबसम्म अरिजिनल बाँचिरहन्छ तबसम्म डुप्लिकेट कुनै अवस्थामा पनि अरिजिनल हुँदैन । जबसम्म समस्त मानव समाजले निश्चितरूपमा सर्वमान्यता दिँदैन डुप्लिकेट तबसम्म डुप्लिकेट नै रहन्छ । ‘रहन्छ’ भन्छ भने कि त अरिजिनल रहन्छ कि त डुप्लिकेट तर दुवै एउटा वस्तुमा आवस्थित रहन्दैन । त्यसैले अरिजिनललाई डुप्लिकेट अनि डुप्लिकेटलाई अरिजिनल सहजै मान्न मिल्दैन । मनिनै लियौ भने पनि त्यो अरिजिनल र डुप्लिकेटको दोष होइन । त्यो त हाम्रा बुद्धि र जानेन्द़हरूको कमजोरी हो । त्यो वस्तुसित होइन तर हामीसित हुन्छ । हामी सक्षम नहुनु हाम्रो दुर्बलता हो । कुनै पनि प्रकारको दुर्बलता अज्ञान्ताको प्रतिक हो ।

खसी किन्न चाहने ब्यक्तिको कि त ब्यक्तिगत आवश्यक्ता हुन सक्छ कि त उद्धेश्य तर खसी बेच्ने मान्छेका हजार उद्धेश्यहरू (अनि कौशलताहरू) हुन्छन् । खसीलाई चिनिसकेपछि खसी बेच्ने मान्छेलाई पनि चिन्नु अति जरूरी छ । खसी बेच्ने ब्यक्तिले हामीलाई नाना थरीका कुराहरू गरेर झुक्याउन सक्छ । भावना र बुद्धीमा प्रभाव पारी हाम्रो सोझोपनको फाइदा उठाउन सक्छ । हामी साह्रै भाविक र तातो बुद्धीका छौं । त्यसैले होला, यस उखानले हामीलाई नै हेरिरहेको जस्तो लाग्छ। आफ्नो मन्छे होस् या अर्का मान्छे कसैले पनि ठग्नसक्छ भन्ने खतराको पूर्वसंकेत चुपचाप दिइरहेको जस्तो लाग्छ ।

कहिले काहीँ जुन देखिन्छ त्यो साँचो हुँदैन अनि जुन साँचो हुन्छ त्यो देखिन्दैन । त्यसैले साँचो खसी किन्न खोज्ने ब्यक्तिले अलिक मेहनत गर्नुपर्ने हुन्छ । जोसुकैबाट जे पायो तै लिएर अरिजिनल खसी ल्यायौ भन्नु नानीहरू भाँड़ा-कुड़ी खेलेको जस्तो मात्र हुनेछ । भोजमा डुप्लिकेट खसी काटेर अरिजिनल खसी खायौ भन्दै नाँच्नेहरू त झन् बेचिपठाउने ब्यक्तिको निम्ति हाँसोका पात्रहरू मात्र हुन् । उनीहरूलाई मात्र “राम ! राम !” भन्न सकिन्छ ।

यदि मैले कुनै खसी किन्न चाहने ब्यक्तिलाई कतै ठ्यक्क भेटाई हालेमा म उनको कानमा यस उखानलाई अलिकति संशोधन गरेर सुनाइदिने थिएँ—“मान्छे अनि खसी दुवै चिन्नु तब पो किन्नु” । कान सुन्दैन रहेछ भने पनि ठिकै छ किनकि त्यस्तो कान नसुन्ने ब्यक्ति कहिले काहीँ भेट्न सकिन्छ तर कान सुनेर पनि नसुनेको जस्तो गर्छ भने म उखानलाई लुकाएर उसलाई साँच्चैको (अरिजिनल) नमस्कार ठोकिदिन्छु । नमस्कार ठोकेर ठोक्न सकिन्छ होला तर उखान लुकाएर कहाँ लुकाउन सकिन्छ र । फेरि ब्यक्तिको मानसिकता परिवर्तन नगरी उखान संशोधन गरेर केई हुने होइन । उखान सुन्न चाहने र बुझ्ने ब्यक्ति नचिनिकन जो कोहीलाई सुनाउनु खोज्नु अरिजिनल र डुप्लिकेटमाझको पार्थक्य खुट्याउन नसक्नु समान हो । त्येसैले निधारमा हात राखेर आफैलाई भन्नुपर्ला—“ थुक्क ! मान्छे चिन्नु खसी किन्नु ।”

दार्जीलिङ--७३४२०९

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु