रुवाबासी

- विजयराज आचार्य

“ओए ! सलिना स्कुलभित्र रुन पाइन्न भनेको तँलाई थाहा छैन ? किन रोइरहेकी ?” मातृकाले झर्कदै सोधी ।
“रुन पनि नियम कानूनले छेक्छ र ?” सलिना झन् डाँको छाडेर रुन थाली ।
“खासमा तँ किन रोएकी सलिना ?” मातृकाले आँखाभरि आँसु टिलपिलाउँदै सोधी ।
“तेरोभन्दा मेरो नम्बर बढी आएकाले नी । सधैँ मेरो भन्दा तेरे बढी नम्बर आउँथ्यो । कति दुःख लागेको छ होला है तँलाई ।” बोल्दा बोल्दै सलिना हिक्क हिक्क गर्दै रुन थाली ।
यस पटकको परीक्षामा सलिनाले कक्षामा सँधै फस्ट हुने मातृकाको भन्दा धेरै नम्बर ल्याएकी थिई ।
सलिना रोएको देखेर मातृकाको पनि आँसु थामिएन । ऊ पनि डाँको छाडेर रुन थाली । कक्षाका साथीहरूले मातृका र सलिनालाई घेरेर रुनुको कारण सोधे र सम्झाउन खोजे । तर उनीहरूको रुवाइ थामिएन । त्यसपछि कक्षाका साथीहरू पनि मातृका र सलिनासँग स्वर मिलाउँदै डाँको छाडेर रुन थाले । कक्षाभित्र कोलाहलमय भयो ।
अरू कक्षाका विद्यार्थीहरू पनि “के भो ? के भो ?” भन्दै उनीहरूको कक्षामा आउन थाले । कक्षा बाहिर भीड बढ्दै गयो । स्कुलमा रुवाबासी मच्चिएको सुनेर वरिपरिका छिमेकीहरू पनि आउन थाले ।
“सबै जना एकै चोटि किन रोएको ?” सबैको यही जिज्ञासा थियो ।
कक्षाका अरू विद्यार्थीहरूको एउटै उत्तर थियो, “सलिना र मातृका रोएको देखेर रोएको ।”
सबैको ध्यान मातृका र सलिनातिर गयो । उनीहरू हिक्का गर्दै रुँदै थिए ।
अचानक उनीरु रुन छाडे । रुन्चे हाँसो हाँस्दै उनीहरूले एकअर्कालाई अँगालामा कसे । त्यसपछि हतारिँदै बाथरुममा पसे ।
केटीहरूको चाला देखेर सबै जना जिल्ल परे ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु