हाइकुमा खुलेका रामबहादुर श्रेष्ठ

- प्रा. डा. कपिल लामिछाने

फुटकर कविता र हाइकु लेखनबाट नेपाली साहित्यमा आफ्नो पृथक् पहिचान बनाइसकेका रामबहादुर श्रेष्ठ एक स्वाभिमानी र लगनशील साहित्यस्रष्टा हुन् । सन्तमाया र गङ्गाबहादुर श्रेष्ठका जेष्ठ सुपुत्रका रूपमा २००७ जेठ १२ गते बागलुङको कम्पुटोलमा जन्मेका श्रेष्ठ लामो समयसम्म निजामती सेवामा संलग्न भए भने यता आएर उनी सेवानिवृत्त जीवन सहकारी सेवा र साहित्यसिर्जनामा लगाइरहेका छन् । २०२८ सालदेखि कविता लेख्न थाले पनि उनका कविताको प्रथम सङ्ग्रह २०६३ मा आएर जिन्दगीका प्रयासहरू शीर्षकमा प्रकाशित भएको पाइन्छ । त्यसको लगत्तै २०६६ मा उनको दोस्रो कवितासङ्ग्रह अस्ताउन लागेको सुस्ता प्रकाशित भएको हो । फुटकर कविता र हाइकु लेखनमा लागिरहेका श्रेष्ठका हाइकुहरूको सङ्ग्रह हो यो, खै कहाँ खोजूँ ?
हाइकु कविताको लघुतम अर्थात् सबैभन्दा सानो रूप हो । यसको स्रोत जापानीे भाषासाहित्य भए पनि प्रयोगाधिक्यले गर्दा यो अब नेपाली पनि भइसकेको छ । यसमा पहिलो र तेस्रो पङ्क्तिमा पाँचपाँच र दोस्रो पङ्क्तिमा सात अक्षर गरी सत्र अक्षरको एक पङ्क्तिपुञ्ज हुन्छ । निश्चित अक्षर र हरफ भएकाले यसलाई यसभन्दा बढी फैलिने र खुम्चिने ठाउँ हुँदैन । प्रचलनअनुरूप यसमा प्रणय, प्रकृति, ऋतु आदि कथ्यविषय हुन्छ भने यता विषयमा विस्तार हुँदै आएको छ । बिम्बात्मकता, प्रतीकात्मकता, व्यङ्ग्यात्मकता र सङ्क्षिप्तता आदि यसका मौलिक परिचय हुन् । यसमा सङ्क्षिप्तमा विशिष्ट अनुभूतिको अभिव्यक्ति हुन्छ, थोरैमा धेरै भनिएको हुन्छ ।
यस्तो हाइकुको आरम्भ नेपालीमा शङ्कर लामिछानेबाट भएको हो भने क्षेत्रप्रताप अधिकारी, रामकुमार पाँडे, अभि सुवेदी, विष्णुबहादुर सिंह, कृष्ण बजगाईं, चेतनाथ धमला, पोष चापागाईं, इरान राई, खनाल रेवतीरमण, शान्तिनारायण श्रेष्ठ, प्रेम छोटा, सोनु गुरुङ, डीबी पुन, खगेन्द्रप्रसाद बस्याल, हृदय लेकाली, आर.डी. प्रभास चटौत, कपिल लामिछाने, रामप्रसाद अर्याल आदिले यसलाई विस्तार गर्दै आएका छन् । अहिले यही बाटोमा खै कहाँ खोजुँ ? लिएर रामबहादुर श्रेष्ठ देखापरेका छन् ।
रामबहादुर श्रेष्ठका यी हाइकुमा कथ्यवस्तुको पौल छ । प्रणय, प्रकृति, ऋतु आदि विषय हुनु हाइकुको खास पहिचान भए पनि श्रेष्ठले त्यस चौकिल्लाको साँघुरो घेरालाई मिचेका छन् । उनका हाइकुमा प्रणय र प्रकृतिका साथै राष्ट्र–राष्ट्रियता, समकालीन विसङ्गति, सहकारी, अर्थनीति, ज्येष्ठता (वार्धक्य), विभिन्न असन्तुष्टि, प्राकृतिक स्रोतसाधनको दुरुपयोगप्रति चिन्ता आदि विषय भएबाट यस भनाइको पुष्टि हुन पुग्दछ ।
हाइकुकार श्रेष्ठले प्रेमलाई अधिकतर प्रस्ट रूपमा र अंशतः व्यञ्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । जस्तै –
वसन्त ऋतु
एक बैंसालु सँगै
व्यतीत रात (१४१)

सुन्दरीसँग
नजरमा नजर
मुस्कान मात्र (१४२)

स्वादिलो ओठ
लिपिस्टिकको चुस्की
मुखै रसिलो (१४३)

मायाको चिनो
फूल हो कि मुस्कान
निस्वार्थ प्रेम (१४४)

म एक्लै यहाँ
उनी एक्लै छन् त्यहाँ
भेटै नहुने (१३७)

यहाँ (१३७ मा) मिलनभन्दा पनि बिछोडमा तड्पेको पीडा व्यक्त भएको छ । प्रेमका हाइकु लेख्ने हुँदा उनका कतिपय हाइकुमा यौनले पनि स्थान पाएको छ । जस्तै –

सम्भोग क्रिया
अतृप्त यौन तृष्णा
क्षणिक ज्वाला (९१)

मन्द मुस्कान
लोभिलो वक्षस्थल
दृष्टि गोचर (९२)

यस्तै (९३), (९४), (९५), (९६), (९९), (१००), (१०१), (१०२) आदि हाइकुमा पनि त्यस्तै पाइन्छ । थप केही उदाहरण –
भयो विवाह
भएन इच्छा पूर्ति
पारपाचुके (२६९)

निस्वार्थ प्रेम
दिने अरुलाई नै
कुरामा मात्रै (२६८)
प्रेम जीवनको शाश्वत सत्य हो । गहिरिएर हेर्दा प्रेम नै जीवन र जीवन नै प्रेम हो । प्रेमका विविध रूप–स्वरूप हुन सक्दछन्, तर प्रेम नभए जीवन हुँदा पनि हुँदै र रहँदा पनि रहँदैन । हाइकुकार श्रेष्ठले प्रेमलाई त्यति महŒवका रूपमा अभिव्यक्ति नदिएका भए पनि उनका हाइकुमा प्रेमले स्थान पाएको छ । खासगरी प्रेम र प्रेमका नाममा हुने यौनजन्य आकर्षण–विकर्षणलाई उनले चोटिलो रूपमा प्रस्तुत गरेका छन् ।
देशले तीन खम्बे अर्थनीति अख्तियार गरेपछि सहकारीको व्यापक विस्तार भइआएको छ । हाइकुकार श्रेष्ठ स्वयम् सहकारी क्षेत्रमा संलग्न छन् । सायद त्यसैले सहकारितालाई पनि उनले हाइकुको कथ्यविषय बनाएको पाइन्छ । म होइन हामीको भावना, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारी, आत्मनिर्भरता र स्वायत्तता आदि सहकारीका मूल मर्मलाई उनले आफ्ना हाइकुमा प्रस्तुत गरेका छन् (८४–९०) । एक उदाहरण –
खुला सदस्य
भेदभाव रहित
जिम्मेवारिता (८४)

गुन्दै–बुन्दै जाँदा रामबहादुर श्रेष्ठले यहाँ आर्थिक अवस्थाको चित्रण पनि गरेको पाइन्छ । युवा जमात विदेश पठाएर रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र धान्नुपर्ने अवस्थाप्रति उनी चिन्तित देखिन्छन् (३११) । प्रकति हाइकुको एक प्रमुख कथ्यविषय हो भने अन्य कथ्यविषयलाई प्रस्तुत गर्न बिम्ब र प्रतीकका रूपमा पनि प्रकृतिलाई अवलम्बन गर्न सकिन्छ । श्रेष्ठले छिटपुट मात्रामा मात्र यस्तो गरेका छन् । जस्तै –
लालीगुराँस
हेर्दै मनमोहक
राष्ट्रिय फूल (१६४)

जल भण्डार
नदी खोला हजार
अँधेरी बास (२३३)

यहाँ अपार जलस्रोत भईकन पनि अँध्यारोमा बस्नुपर्दाको पीडा समेत व्यक्त भएको छ ।
श्रेष्ठले श्रमको मूल्य बुझेका छन् । माहुरीले श्रम, सीप, लगाएर सहकार्य गर्ने हुँदा महको स्वाद लिन पाएको (७९), कमिलाले भविष्यका लागि वर्तमानमा लस्कर लागेर लगनशील भई लागिरहेको (८०) कुरालाई उनले मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।
लोकसंस्कृति हाम्रो परम्परा र पहिचान हो । केही हाइकुमा यसले पनि स्थान पाएको छ । सारङ्गी, मादल आदि हाम्रा परम्परागत हुन् (२६४) । नौमती र पन्चेबाजा हराएका थिए भने तिनको प्रयोग पुनः हुन थालेको छ (२६३) । यसमा लेखकले प्रसन्नता प्रकट गरेका छन् ।
अस्ताउन लागेको सुस्ता (२०६६) बाट राष्ट्रवादी कविव्यक्तित्वका रूपमा उदाएका श्रेष्ठका रचनामा त्यस भावनाले निरन्तरता पाएको छ । उनका कतिपय हाइकु राष्ट्रिय स्वाभिमानसँग जोडिएर आएका छन् । देशको सीमा अतिक्रमण हुँदा सुरक्षणका लागि कसैले पनि अग्रसरता नलिएको देखेर उनी चिन्तित भएका छन् । केही उदाहरण –
देशको सीमा
खम्बा नै ढल्यो
हिम्मत छैन (१४८)

महामानव गौतम बुद्ध र उनले जन्म लिएको पावन लुम्बिनी विश्वविख्यात छन् । यसलाई कथ्यविषय बनाएर पनि उनले हाइकु बनाएका छन् (१४९–१५४) । सगरमाथा जस्तो संसारको सर्वोच्च शिखर र बुद्धभूमि यहीँ भएर पनि हाम्रो समुन्नति हुन नसकेकोमा यहाँ उनले दुखेसो प्रकट गरेका छन् । जस्तै –
सगरमाथा
बुद्ध जन्मेको देश
भिक्षां मे देही (१५७)

देश र जनताको विकास गर्ने सूत्र राजनीति हो, तर त्यो आफैँ भ्रष्ट, निर्देशित र विकलाङ्ग बन्न पुगेको छ । कवि श्रेष्ठ पनि राजनीतिको यो अवस्थाबाट चिन्तित बनेका छन् । केही उदाहरण –
पक्षी विपक्षी
सबैको एउटै लक्ष
मिलेर भक्ष (७४)

जो आए पनि
सबै कानै चिरेका
झोलै भिरेका (७७)

गिट्टी बालुवा
नदीजन्य सम्पत्ति
बन्यो हलुवा (११५)

अस्तित्वहीन
नेताहरूको बोली
झूटको खेती (१७५)

कुरै नमिल्ने
राष्ट्रिय सहमति
सबै विमति (१७६)

यहाँ छिमेकीको कुटिल चालप्रति व्यङ्ग्य छ भने छिमेकीका इसारामा नाच्ने नेतागणप्रति पनि व्यङ्ग्य छ । जस्तै –
छिमेकी भैया
शिर निहुराउँदै
हात पसार्दै (१८६)

तत्तत् थइया
जे गरे सोध्नै पर्ने
छिमेकी भैया (२१७)

राष्ट्रिय खेल
चरम लुटतन्त्र
यसैमा मेल (१८८)

यहाँ (१८८ मा) आफ्ना सुविधा बढाउन र राष्ट्रलाई दोहन गर्नमा राजनीतिक नेताको मेलमिलाप हुने तर राष्ट्रनिर्माणका सवालमा एकताबद्ध नहुने यथार्थलाई प्रस्तुत गरिएको छ । विगतमा सत्ता समीकरणका निमित्त सांसद खरिद गर्नेसम्मका कुचाल भए । कविलाई त्यसमा कत्ति पनि चित्त बुझेको छैन । जस्तै –
खरिद विक्री
दसैंका बोका जस्ता
नेताजीहरू (१९५)

विगतमा कुनै एक दलको बहुमत नहुँदा पालैपालो सरकारमा जाने जुन काम भए त्यसबाट पनि श्रेष्ठको चित्त बुझेको छैन । जस्तै –
पालैपालोले
देश बनायो कालो
गणिती खेल (२०२)

राष्ट्रिय खेल
दलीय भागबन्डा
आफ्आफ्नै मान्छे (२०६)

सत्ताका लागि मिल्दोजुल्दो राजनीतिक सिद्धान्त हुनेहरूका बीचमा गठबन्धन हुनु स्वाभाविक मानिन्छ । त्यस्तो जहाँ पनि हुन्छ । यहाँ त विपरीत–विपरीतका बीचमा समेत गठबन्धन हुन पुग्यो । जस्तै –
गठबन्धन
टाउको मोल तोक्ने
टाउको जोड्दै (२०३)

राजनीतिक कारणले विगतमा मुलुकमा हत्याहिंसाको अवस्था आइलाग्यो । कविले हत्याहिंसालाई ठट्टाका रूपमा नलिन (१५) र त्यसबाट आफ्नै दाजुभाइको विनाश नहोस् भन्ने चाहना राखेका छन् (१६) ।
ज्येष्ठ नागरिकसँग व्यावहारिक अनुभवका अनन्त पुलिन्दा हुन्छन् । युवा जोसमा तिनको सम्मिश्रण वा घुलन गर्न सक्ने हो भने त्यो अत्यन्त फलदायी हुन आउँछ । आफू स्वयम् ज्येष्ठ नागरिक भएपछि हाइकु लेखिरहेका श्रेष्ठले एकातिर ज्येष्ठतालाई बुढ्यौली ठान्दै असन्तुष्टि र निराशा व्यक्त गरेका छन् (१०५), (१२०), (१२२) भने अर्कातिर उसका योगदानको सराहना गरेका छन् ।
यहाँ आधा आकाश अर्थात् नारीलाई कथ्यविषय बनाई हाइकुको रचना भएको पाइन्छ । नारी र पुरुषको उत्पत्ति उसैगरी भएकाले यसमा विवाद गर्न नहुने उनको राय छ (१२७) । साथै यहाँ नारी वा महिलाले भोकै बसेर हरितालिका व्रत बसेको (१२८), रातभर दर खाएर पेट भर्ने र भोलिपल्ट नाचगान गर्ने गरेको (१२९), सारी र चोलो नेपाली नारीको खास पहिचान रहेको (१३०) बताइएको छ ।
हाइकुकार मुख्यतः हरेक विभेदको विरोध गर्दै समतामूलक समाजको स्थापना भएको देख्न चाहन्छन् । महिलालाई तेत्तीस प्रतिशत छुट्याउने प्रचलनप्रति उनको व्यङ्ग्य छ । जस्तै –
तेत्तीस कोटी
तेत्तीस प्रतिशत
द्यौता कि नारी (३२१)

नारीले पुरुषका खुट्टाको जल खाने सामन्तकालीन प्रथाको उनले खिल्ली उडाएका छन् । जस्तै –
खुट्टाको जल
प्रतिव्रताको धर्म
नारीको कर्म (३१७)

रामबहादुर श्रेष्ठको साहित्यसाधना लामै समयदेखिको हो । सरकारी जागिरबाट निवृत्त भएपछि त उनी खुलेर समर्पित भएर साहित्य र सहकारीमै लागेका छन् । रूपन्देहीको सेरोफेरोमा हुने साहित्यिक कार्यक्रममा उनी पुगेकै हुन्छन् । त्यहाँ फुटकर कविता या हाइकु सुनाएकै हुन्छन् । यति भईकन पनि साहित्येतिहास लेखक र समालोचकका दृष्टिमा आफू कम परेकोमा उनको गुनासो छ । त्यो गुनासो यहाँ कतिपय हाइकुका माध्यमले पनि अभिव्यञ्जित भएको पाइन्छ । जस्तै –
खै कहाँ खोजूँ
हराएको आफ्नै नाम
खोज्दै हैरान (१)

काम आफूले
सम्मान अरुलाई
आश्स्वत मात्रै (२५)

यौटाले छर्ने
बाली खाने अर्कैले
जुँगा मुसार्दै (४१)

कतिपय स्थानमा लुकेका रामबहादुर श्रेष्ठ यी हाइकुमा भने खुलेको पाइन्छ ।
हाइकु छोटो वा सङ्क्षिप्त भईकन पनि कसिलो चोटिलो आफैँमा पूर्ण स्वतन्त्र लयात्मक संरचना हो । पहिलो र तेस्रो हरफमा पाँच–पाँच र दोस्रो हरफमा सात अक्षरको गरी जम्मा १७ अक्षरमा यसको संरचना पूर्ण हुन्छ । यसो भन्दैमा जेतेमेते जोडेर पाँच–सात–पाँच गरी सत्र अक्षर पु¥याउँदैमा त्यसले हाइकुको हक पाउन सक्दैन भन्ने कुराको हेक्का हाइकु लेख्नेले राख्नैपर्दछ । यसमा पहिलो हरफमा विषयको उठान हुन्छ, दोस्रो हरफमा त्यसको विस्तार हुन्छ र तेस्रो हरफमा पहिलो हरफमा उठाइएको र दोस्रो हरफमा विस्तार गरिएको कथ्यविषयको प्रभावकारी बैठान गरिएको हुन्छ । तेस्रो हरफमा यसको चरम हुन्छ र चरममै सकिन्छ । यसको वैशिष्ट्य यही हो । विषय भन्ने कुरा समयानुसार परिवर्तन हुन सक्दछ, जस्तो कि गजलमा भएको छ, तर यसको संरचना त रहनै पर्दछ । नत्र त्यो हाइकु नभएर खाइकु अर्थात् खै के खै के ? हुन जान्छ । यस कोणबाट हेर्दा यहाँका सबै पङ्क्तिपुञ्ज हाइकुको दर्जामा पुग्न सकेको पाइँदैन ।
हाइकु–लेखनमा रामबहादुर श्रेष्ठ धेरै पछिमात्र लागेका हुन् । जीवनको उत्तरार्धमा हाइकु लेख्न थाले पनि श्रेष्ठका यी हाइकुमा प्रेम वा प्रणयको तीव्र अभिव्यक्ति छ, राजनीतिप्रति वितृष्णा र सामाजिक विकृति–विसङ्गतिप्रति आक्रोश व्यक्त भएको छ । मूल्यवृद्धि र गरिबीको कारक भ्रष्ट राजनीति हो भन्ने उनको ठम्याइ छ । राष्ट्रप्रति सम्मान र प्रेम छ । बिग्रेका बाटाहरू, भत्केका घर र मनहरू, चुनाउका बेलामा मात्र जनताका घरदैलोमा फर्कने नेताहरूप्रति पनि उनले व्यङ्ग्य गरेका छन् । अतः उनका हाइकुमा प्रेम वा प्रणय, प्रकृति, ऋतु आदिका अतिरिक्त अनेक कथ्यवस्तुलाई समेत समेटिएको छ । केही हाइकुमा औच्चार्य अक्षर घटीबढी छन् । तसर्थ भविष्यमा परिष्कार र परिमार्जनका लागि पर्याप्त स्थान देखिन्छ । फेरि पनि प्रस्तुतिको सरलताले गर्दा श्रेष्ठका हाइकु चोटिला र पठनीय बन्न पुगेका छन् ।
---
भैरहवा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

लेखकका अन्य रचनाहरु