कविता लेख्दा

- ईगम खालिङ

सुरजले बिहानदेखि रेस्टुराँमा बसेर चिया र चुरोट पिउँदै कविता रच्ने चेष्टा गरिरहेको छ। जति कविता कोर्दै जान्छ त्यो उति स्वत: कथा बन्दै जान्छ। उसले त्यसरी निकै समय बिताइसकेपछि आफूले पिएको चिया र चुरोटको रुपियाँ तिर्दै रेष्टुराँको मालिकलाई सोध्छ—

“नरिसाउनु होस् ल दाज्यु, तपाईँलाई एउटा कुरा सोध्छु—आज एकाबिहानै म यहाँ किन आए हँ?”

रेस्टुराँको मालिकले रिसाउँदै भन्छ—

“थाह छैन, तर तिमीले तीन कप चिया र चार गोल चुरोट पियौ अनि मेरा कतिपय गाहकहरुले बाँकीमा खाएको हिसाब लेख्ने खाताका चार-पाँचवटा पन्नाहरु बिगारेर खिर्कीबाट फ्याक्यौ। अरु त के भन्नु यसपालिको त छोड़ी देऊ पोहोर सालको बाँकी अझै पनि दिएको छैनौ!”

प्रत्योत्तरमा त्यति सुनिसकेपछि उ त्यहाँबाट अँध्यारो अनुहार लिएर निस्कन्छ र क्यापिटल हलको उकालै चौरस्तातिर लाग्छ। उ त्यहाँबाट निकैमाथि पुगेपछि रेस्टुराँको मालिक आफैसित गनगनाउँछ—

“हन कस्तो मान्छे? आफूले बाँकी खाएको त बिर्सियो-बिर्सियो तर आफू रेस्टुराँमा किन आएको त्यो पनि मैले पो बताइदिनु हरे! कस्ता-कस्ता मान्छेहरु जन्मन्छन्, यो संसारमा!”

चौरस्तामा एक फन्को घुमिसकेपछि उ एउटा बेन्चमा बसिरहन्छ। त्यहाँ त्यसरी घाममा रातो-पिरो भइञ्जेन बस्दा पनि उसलाई याद आउँदै-आउँदैन कि आज उ घरबाट बजार किन आएको छ। त्यहाँ पनि वाक्क लागेपछि उ ओह्रालो बजारतिर लाग्छ। अलिक तल आइपुगेपछि उसको दृष्टि साथीको घरमा पर्छ र त्यतैतिर जाने मन बनाउँछ।

साथी घरमा नै रहेछ। भेट हुनसाथ साथीले खुल्ला हृदयले बधाई दिँदै बैठक कोठामा बसाएर प्रशंसा गर्न थाल्छ—

“अस्ति ‘हिमालय दर्पण’ दैनिक समाचार पत्रिकामा तपाईँको कविता छापिएको रहेछ पढ़ेर साह्रो आनन्द लाग्यो। मलाई अहिलेसम्म त्यो कविताको ‘ह्याङ अबर’ भइरहेको छ । हन साथी, यति मिठो अनि उत्कृष्ट कविता कसरी रच्नुहुन्छ?”

सुरज नबोली कोठामा सजाएर राखेको लाफिङ बुद्धको मुर्तिलाई एकटक लगाएर हेरिरहन्छ। साथीकी श्रीमतीले एक कप तातो चिया टक्राउँदा मात्र उ झस्कन्छ। सुरजले चिया पिउनलाई चियाको कप के उठाएको मात्र थियो साथीले मुख बनाउँदै कुरा बढ़ाउन थाल्छ—

“म तपाईँलाई नै भेट्न आउनलाई तर्खर गर्दै थिएँ तर तपाईँ पो यहाँ ठ्याक्क आइपुग्नु भएछ, राम्रो भयो!”

सुरज केही नबोली चिया पिइरहन्छ। साथी फेरि नम्रभावमा बोल्न थाल्छ—

“हेर्नुहोस् न, नानीलाई यसपालि नयाँ स्कूलमा भर्ना गरेको बजेटले अलिक भ्याएन। त्यसैले तपाईँले अस्ति लानुभएको सापटी फर्काइदिनु हुन्छ कि भन्ने आशाले नि!”

त्यति सुन्नसाथ चियाको कपबाट चिया छचल्किने गरी टेबलमाथि जोरले राखेर उ त्यहाँबाट फुत्त बाहिर निस्कन्छ। साथी रिसले रातो भएर श्रीमतीलाई ट्वाल्ल हेरिरहन्छ।

त्यहाँबाट सदर अस्पताल हुँदै तल नयाँ सुपर मार्केत अघिको बस स्ट्याण्ड आइपुग्छ। त्यहाँ भीड़ रहेछ। भीड़लाई चिरेर हेर्दा उ छक्क पर्छ—अन्धाहरुले मधुर स्वरमा गाउँदै रहेछन्। उनीहरुको गीतमा डुबेर उसले त्यहाँ कतिपल्ट आँसु खसाल्छ अनि आफूसित रहेका एक-दुइवटा नोटहरु पनि त्यहाँ दान गरिराख्छ।

साँझमा ओल्याङ-टोल्याङ गर्दै घर पुग्छ। घरभित्र पलङमा सुतिरहेको बिरामी स्वास्नीलाई देख्दा पो उसलाई झसङ्ग भएर याद आउँछ: आज स्वास्नीलाई उपचार गराउन डाक्टरकहाँ लान्छु भन्ठानेर त्यही रेस्टुराँको मालिकलाई अलिकति सापटी माग्नलाई उ एकाबिहानै घरबाट निस्केको थियो।

अब बिरामी स्वास्नीलाई कुन मुख देखाउने भनेर उ लजाउँदै भित्र पसेपछि उसलाई एक प्रकारको चिसो पसिना आउँछ। सारा शरीर थरर काम्नथाल्छ। एउटा तातो लुगा झिक्नलाई बाकसतिर के लम्केको मात्र थियो उसको स्वास्नी उसको खुट्टा समाएर बिन्ति गर्न थाल्छ—

“दया गरेर, त्यो धन भने पनि इज्जत भने पनि एउटै मात्र रहेको मंगलसूत्र नबेचिदिनुहोस्!”

सुरजले स्वास्नीलाई कति सम्झाउँछ कि उसले मंगलसूत्र होइन तर एउटा तातो लुगा झिक्न त्यो बाकस खोल्न खोजेको हो भनेर। तर स्वास्नी भने पटक्क मान्दैन, बाकस पक्रेर मात्र रोइरहन्छ।

स्वास्नीलाई देखेर सुरजको मन चरक्क दुखेर आउँछ तर रुन भने पटक्क सक्दैन। उ उकुस-मुकुस मन लिएर फेरि एकपल्ट त्यही बीग बजार लाइन् रेस्टुराँमा पुग्छ। रेस्टुराँको बेन्चमा बस्ने बित्तिकै रेस्टुराँको मालिकले एक कप चिया र एक गोल चुरोट ल्याएर टेबलमाथि राखिदिन्छ। उसले लज्जित भावमा हातको इशाराले आफूसित रोकड़ा छैन भन्छ। मालिकले पनि इशाराले नै फोकटमा खाऊ भन्छ।

केही बेरपछि उ एकोहोरो भएर घोरिएको देखेर रेस्टुराँको मालिकले त्यो बाँकीमा खाएको हिसाब लेख्ने खाताको एउटा पन्ना च्यातेर उसको अघि राखिदिँदै इशाराले भन्छ—

‘लेख्नुहोस्!’

उसले साँच्चै लेख्ने मन बनाउँछ। त्यो दिनभरि आफूसित घटेका घटनाहरु समेटेर एउटा कथा लेख्ने अठोत गर्छ। तर जति कथा लेख्दै जान्छ त्यो उति स्वत: कविता बन्दै जान्छ। उ आफैसित वाक्क भएर त्यहाँबाट बाहिर निस्कन्छ। रेस्टुराँ छेवैको मैला बग्ने नालीमा त्यो आफ्नो आदर्श बोकेको कलम फ्यात्त फ्याकी राखेर पुऩ: एकपल्ट उकालै चौरस्तातिर लाग्छ।

राति सुरुवाल भिझ्नेगरी बेस्सरी रक्सी पीएर आउँछ र भानुभक्तको सालिगनेर चिसो बेन्चमा लमतन्न पल्टिर रातभरि नाना थरीको गनगनाइरहन्छ।

बिहान आठ बजेतिर उ बिसञ्चो शरीर लिएर धरखरिन्दै ओह्रालो बजारतिर झर्छ। चोक बजार अघिको समाचर पत्रिका बेच्ने पसलअघि जबरजस्ती ठिङ्ग उब्छ र सारा गोजीहरु काम्ने हातहरुले छामछुम पार्छ। तर गोजीहरुमा भने एक रुपियाँ छैन त्यो देखेर पत्रिका पसलेले एउटा समाचार पत्रिका उतिर सारिदिन्छ। पत्रिका खोलेर सकी नसकी हेर्दै जाँदा उ आफैसित तर्सन्छ—उनको ‘कविता लेख्दा’ शीर्षक कविता ‘साहित्य परिक्रम’ स्तम्भमा छापिएको रहेछ। कविता नपढ़ी पत्रिका त्यही छोड़ी राखेर उ सरासर घर लाग्छ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 24 भाद्र, 2076

लेखकका अन्य रचनाहरु