आगो

- देविका तिमिल्सिना

आज पहिलो पल्ट मुना घर जाँदैछे । घर अर्थात दैलो पिँडी पोत्नु पर्ने । भात–भान्सा, पानी–घाँस गर्नुपर्ने घर अर्थात पहाड घर दैलेख । उनका निश्चल आँखाहरुमा कतै कौतुहलता भेटिन्छ त कतै रमाइलो र कतै लाग्छ परिवारका सासू ससुरा, देवर, नन्द जेठानी आदि बारेको भय र नयाँ परिचयमा फेल हुने त्रास ।
मैले सुर्खेतको बस चढ्नु अघि हिजो भनेको थिएँ –मुना ! हामी परम्पराको रंगीन संक्रमणमा बाँचेको छौँ । यो राजधानी भन्दा धेरै पछाडि एउटा वस्ती लुकेको छ । त्यो बस्ती जसलाई हामी दुर्लुङ भन्छौँ । त्यही दुर्लुङ डाँडोमा एउटा संसार छ । रातो माटोको त्यो डाँडामा मैले जन्म लिएपछि धेरै माटोहरु हुर्कने क्रममा खेलाएको थिएँ । त्यो माटोसँगको मेरो प्रेम अत्यन्त आत्मीय छ । हामी परम्परा भोग्दै यहाँसम्म आएका हौं । मलाई लाग्छ तिमी जस्ती दुईचार अक्षर पढेकी केटीले त्यहाँको उँचनीचतालाई संक्रमणको कडीमा हेर्नेछ्यौ ।
अहिले मुना सुर्खेतको सम्मबाट उकालो चढ्दै छे । उनका गालामा रगत सोहोरिएको छ । उनलाई अलि ढाडस होस् र चाँडै नथाकोस् भनेर बोलाउँदै भन्छु –मुना अलि विस्तारै हिंड । हामी गुँरासेसम्म पुग्ने न हो आज । आजलाई त्यति हतार मान्नु पर्दैन ।
ऊ माथिबाट फर्केर उकालो उक्लिरहेको मलाई हेर्दै थचक्क रुखको जरामा बस्छे । केही असजिलो लागेर होला कुर्थाको फेरो मिलाउँछे र हाते व्यागबाट रुमाल झिकेर पसिना पुछ्दै भन्छे–आहा ! यो जंगलको उकालो, स्वच्छ हावा र चकमन्नता, विजय ! साँच्चै मलाई रमाइलो लागिरहेछ ।
–मलाई तिमी घरमा पनि नामै काढेर बोलाउँछ्यौ ? गाउँमा त यस्तो मन पराउँदैनन् मान्छेहरु, म ऊसँग बस्दै भन्छु ।
मुना के कम थिई र उल्टै मलाई भनी, विजय कुनै दिन तिमीले भनेको थियौ–हामी परिवर्तनको संघारमा छौँ । जो संघारमा हुन्छ उसले दैलो खोल्नु पर्छ । त्यो हाम्रो युगको दैलो हामी आफैले खोल्नु पर्छ ।
–भन त विजय ! सामाजिक परिवर्तनका लहरहरु ल्याउन हामीले आन्दोलनमा भाग लिएका होइनौं र ? अधिकार प्राप्तिको त्यो आन्दोलनमा हामी गाँसियौ । हामीले पंरम्पराको सिक्री तोड्यौं । पञ्चायतको दासयुग हामीसँग हार मान्न वाध्य भयो । समाजमा नयाँ कुरा लान हिच्किचायौं भने कसरी नयाँ युग ल्याउने ? परिवर्तनको सम्वाहक भएर अग्रपङ्तिमा उभिन तयार मान्छे हुँ । म तिमीलाई विजय तिमी नै भन्छु । समाजसँग सामना गर्न तयार छु ।
यसपटक म केही बोलिनँ । मुनाले मानौँ मेरै कुरा दोहो¥याइ रहेकी छे । मैले भाषणमा बोलेको कुराहरु उसले टिपेकी हो । भाषणमा केही सन्देश्हरु आमरुपमा लैजानु र व्यवहारलाई तदनुकूल फेर्नु अति जटिल छ । मैले अझैँ उसलाई सम्झाउन बाँकी नै छ ।
मुना एकोहोरो टोलाएर सुर्खेतको दृश्यहरु हेरिरहेकी छे । रुखको माथिल्लो हाँगाबाट माकुरो झुण्डिदै आउँछ र उसको माथका कपालहरुमा जालो बुन्दै रुखको फेदमा चढ्छ । उसका सफा कपालमा माकुराका जालाहरु रौँसगै तरंगित हुन्छन् । माकुरो कपालमा हुँदा मैले भनिदिएको भए, ऊ तर्सिने थिई । अब माकुरो रुखको फेद चढ्दै छ । म हातले जालोहरु टिप्दै भन्छु–माकुराले तिम्रो कपालमा जाल विछ्याएर गयो । यी हेर त !
ऊ अत्तासिएर कपाल टक्टक्याउँदै भन्छे–छ्या ! माकुराले त छेर्छ रे । केटाकेटीहुँदा हामीलाई बाबाले भन्नु हुन्थ्यो । माकुराले छे¥यो भने जिउ भरी फोका उठ्छ ।
आश्वस्त पार्दै म भन्छु–हिडौ अब ! म तिम्रो साथ छु र यतिबेला कसैले तिमीलाई केही गर्न सक्दैन । जाबो वनको माकुरोले झन् के गर्न सक्छ ? उ हेर त ! अघि नै रुख चढी सक्यो त्यो त ।
हामी उकालो पार गरेर द्यौराली बजार दुई घण्टामै पुगिसकेका थियौं । एउटा होचो पराले छाप्रोभित्र पसेर मैले व्याग विसाएँ । वेन्चमा अलिकति ठाउँ छोडेर मुनालाई बस्ने इशारा गरेँ । ऊ पनि बसी । हामीले निशब्द आफ्ना आँखाहरु त्यो छाप्रे होटलमा डुलायौँ । ऊ केही धकीरहेकी थिई । बढ्दो स्वाँ स्वाँ लाई कमगर्दै मैले भनें–हामी दही खाउँ है ? यहाँको दही नामूद हुन्छ मुना !
सूर्य ओरालो लागिसक्दा पनि गुराँसे पुग्न सकिएन । मुनाका पाइलाहरु अगाडि बढ्नै नचाहे झँै लाग्थ्यो । जीवन भोग्न कति कठिन छ पहाडमा काठमाडौँकी एउटी चेली पहिलो पटक अनुभव गर्दैछे । तर ऊ भित्रको जब्बर साहस र आँट भने डग्मगाएको थिएन । टर्चलाईटको मन्द प्रकाशमा हिंड्दै गर्दा कहिले ढुङ्गयानमा पाइताला परेर लड्न खोज्दै र हातले टेकेर गल्छयौंडाका अजङ्गका ढुङ्गाहरु पारगर्दै मौनमौन मुना हिडिरहेकी छे । म विस्तारै विस्तारै पाइला चालेर उसलाई कहिले हात र कहिले कुममा समाउन दिंदै देब्रे हातमा टर्च बोकी साथ दिंदैछु । जंगलमा स¥याक सुरुकको आवाज आउँदा उ टक्क अडिएर भन्छे– विजय ! जंगली जनावर लाग्छ यहाँ ?
–अहँ लाग्दैन ।
–मलाई त खूब प्यास लाग्यो । पानी पिउन पाए पनि हुने ।
पहाडी श्रृखलाको एउटा कुइनेटो देखाउँदै म भन्छु–उ ! त्यही हो गुराँसे । अब बीसै मिनेटमा हामी पुग्छौँ ।
गुराँसे पुगेर होटलमा खाना बनाउन भनें । ऊ भने पानी पिउन थाली । मैले होटलवालासँग कोठाको कुरा गरें । उसले माथिल्लो तलामा जान भन्यो । खाना तयार भएपछि बोलाउनु भनेर चोटामा उक्लियौं । मुना केही नबोली ओछ्यानमा ढली ।
भोलिपल्ट बिहानै हिंड्ने योजनामा राती मुनालाई ज्वरो आएकोले केही ढिलाइ भयो । विष्णुपादुका नपुगुन्जेलको एकोहोरो ओरालो र मुनाको गलेको शरीर सम्झेर एकछिन त बेकार आइयो जस्तो लाग्यो तैपनि तीन दिन लगाएरै भएपनि एकचोटी त घर जानै प¥यो भन्ने सोचें । आमा बा र बहिनीहरु दशैंको रमझम र टिकामा पनि आएन भनेर पीर मान्लान भन्ने लाग्यो ? बिहे गरेको खबरसम्म उनीहरुले पाएका हुन् तर को सँग ? के जातसँग ? कस्ती केटीसँग ? त्यो कौतुहलता हुन सक्छ परिवारमा भन्ने सोच्दै हिंडें । बल्लतल्ल तेस्रो साँझ घर पुगियो ।
गलेको अनुहार र घरको सहमति नलिई विहे गरेकोमा के प्रतिक्रिया हुने हो भन्ने काँतर मन लिएर पिढींमा टेक्यांै । बा कम्बरमा खुर्पेटो हल्लाउँदै घाँसको भारी लिएर करेसातिरबाट आउनु भयो । घाँसको भारी बिसाएर म तिर हेर्नु भयो । मुना पिढींको फलैचामा गएर अडेस लाउँदै लामो श्वास फेरेर बसी । मैले बाको गोडामा ढोग दिदै मुनालाई भनें–मेरो बा ! उ अलि सर्तक भई र –“बुबा दर्शन” भनी ।
बूढा मान्छे जिल्ल परेर केही बोलेनन् । बहिनी र आमाले मेरो स्वर सुनेर होला बाहिर आए । भाउजु पनि ढिब्री हातमा लिएर आउनु भयो । मैले सबैलाई ढोग भेट गर्दै मुनालाई पनि चिनाइ दिएँ । मुनाले उही पारामा सबैलाई हात जोड्दै “दर्शन” भनी । सबैजना मुनाको वरिपरि झुम्मिएर हेर्न लागे । मुनाको कुर्था सुरुवाल, हेड वाइन्ड, हर्स टेल कपाल र सिउँदोमा सिन्दूर र गलामा पोते नदेखेर होला आइमाईहरु अलि पर गएर खासखुस् गर्न थाले । भिंmगटी घरे माइला बा र जेठा बाका सन्ताहरु पनि आइपुगे । घरको छिडी र चोकभरि मान्छेहरु आउँदै थिए । सबैसँग म भलाकुसारीका लागि सोध्थें तर कोही केही जवाफ दिदैनथे । बाहरु पनि चोकको अलि पल्तिर डिलमा बसेर खस्याक खुसुक गर्न लागे । उनीहरुको के कुरो भयो कुन्नि सबै जना आ–आफ्नो घरतिर लागे ।
यिनीहरुलाई यहीँ फलैचामा ओछ्यान लगाइदिनु र खाना यहीँ लगाइदेओ । दमै कामीलाई त साँझ हुँदो आएमा बास दिनुपर्छ–भन्दै बा केही नबोली भित्र छिर्नु भयो । आमा पछ्यौरीले आँसु पुछ्दै अर्को कुना लागेको देखें । बहिनी र भाउजु हामीलाई एकोहोरो हेरिरहेका थिए । जुरुक्क उठेर आमाको कुम समाउँदै आफूतिर फर्काएर सोधें–के भयो आमा ? मैले क गल्ति गरे ।
आमाले मुनातिर हेर्दै सुँक्क सुँक्क गरि नै रहनु भयो । अब बुझ्नु पर्ने कारण त स्पष्ट नै थियो र त्यो कारण मुना नै थिई । तैपनि मैले आमासँग प्रश्न गरें–मैले आफैले रोजेर बिहे गरेकोमा तपाईहरु रिसाउनु भएको हो ?
होइन–आमाले आफूलाई संहाल्दै भन्नुभयो–गाउँ भरी तैंले बिहे गरेको खबर नरकान्ते बूढाको जेठाले सुनायो । जात मिल्ने पानी चल्ने जातसँग बिहे गरेको भए त के हुन्थ्यो र ! नष्ट हुने गरी अछूतसँग बिहे गरेको भनेर बाले चिन्ता लिनु भयो ।
–आमा ! मुनाको जात मानन्धर हो । पानी नचल्ने जात होइन । नेवार जातसँग पानी चल्दैन ?
–भो नढाँट मलाई ! कसाइनीसँग बिहे गरेर कूलधर्म सबै नष्ट गरिस् । तँ जस्तो छोरो जन्मनु भन्दा त बरु कोख नै बाँझो रहेको भए हुन्थ्यो । हे भगवान !
“कसले भन्यो म...” मुना अलि तन्केर बोल्न खोज्दै थिई । मैले उसलाई बिचैमा रोकें । आमालाई सबै विस्तार खाना खाइसकेपछि गरौँला भनेर भित्र लगें ।
विजय ! नटेक मेरो दैलोमा बा पूजाचौकाबाटै कराउनु भयो । म फरक्क फर्केर बाहिर निस्कें । दुबै घूँडा मुनि टाउको राखेर मुना रुँदै थिई ।
गाउँमा परिवर्तनको लहर यसरि आउँछ ? –मैले प्रश्न गरें ।
छोड तिम्रो कुरा विजय ! जसले घर परिवारमा चेतना दिन सक्दैन, घर परिवारलाई बदल्न सक्दैन, त्यसले देशमा के को आमूल परिवर्तन गर्न सकछ ? –मुना रिसाई ।
–व्यवहार र सिद्धान्तलाई घोलेर नहेर । कहिले काहीं यसलाई भाँचेर जोड्न जान्नु पर्दछ । शान्त होऊ ! भोलि सबै कुरा ठीक हुन्छ । म विस्तारै उहाँहरुको मन पगाल्छु ।
मायाले होइन ! विचारले मन पगाल–दार्शनिक पारामा उसले भनी ।
भोलिपल्ट विहान हाम्रो घरमा गाउँका सबै भेला भए । मुना नेवार जातकी हो भन्ने ठहर गरे । तर विजयले कूलको विगार गरेकोले कूल थाम्न अर्को बिहे सजातीय कन्यासँग गर्नु पर्ने निर्णय सुनाएपछि मुनाको धैर्यको बाँध टुट्यो । ऊ जुरुक्क उठेर बोल्न थाली–हामीले मन मिलेर विहे गरेका हांै । विजयले अर्को विहे गर्ने कल्पना नगर्नोस् तपाईहरु । यो निर्णय फिर्ता लिनु पर्छ । विजय तिमी किन बोल्दैनौ ?
म कुनै हालतमा अर्को विहे गर्दिनँ । मलाई यो निर्णय आधारहीन लागेको छ । कूल थाम्न मुनाबाट जन्मने सन्तानले नै सक्छन् । कथित सजातीय वधु मलाई आवश्यक छैन –विजयले आप्mनो निर्णय सबैलाई सुनायो ।
त्यसो भए तिमीहरुले गाउँ छोडेर जाओ । तिमीहरु समाज भाँडा रहेछौ । यो गाउँमा तिमीहरु बस्यौ भने हाम्रा छोरा छोरीहरु बिग्रने छन् । कूल धर्म सनातनी चाडपर्वहरु चली आएका चलनहरु सवै नष्ट भएर जानेछ – गाउँका ठालू बोले ।
हामी यही गाउँ घरमा सबैलाई राम्रो काम गर्न सिकाउँदै बस्छौ । बिहे गर्नु र मन लागेको साथी रोज्नु सबैको अधिकार हो–मुनाले भाषणको शैलीमा भनी र अझै चिच्याउँदै कराई–यो हाम्रो घरको पारिवारिक मामिला हो । तपाईहरु आफ्नो घर जानोस् । अर्काको घर परिवार भाँड्ने अधिकार तपाईंहरुलाई छैन । जात भातका कुरा गर्नु भयो भने हामी कानुनी कारवाही चलाउनेछौं । त्यसपछि थाहा हुन्छ को जान्छ गाउँ छोडेर । म अहिल्यै प्रहरी चौकीमा गएर उजुरी दिन्छु ।
गाउँका बूढाहरु मुनाको आक्रोश र बोलीबाट केही तर्किए । मुना भित्र हुत्तिदै पसी र हातमा बली रहेको दाउराको ठूटो लिएर आई र ठालू बूढासँग भनी –समाउनुस् यो आगोलाई ! तपाई ठूलो जातको मान्छेलाई यो आगोले पोल्दैन् ।
उसले उगुल्टो सोझ्याउँदै नजिक नजिक गएपछि बूढाहरु फटाफट फटाफट आँगनबाट निस्केर बाहिरतिर लागे । अरु गाउँलेहरु पनि किं कर्तव्यविमूढ भई सबै एकएक गरेर उठेर गए । त्यसपछि घरका मानिसहरुले कुनै प्रतिक्रिया जनाएनन् । मुना आफ्नो व्याग र सामान लिएर घर भित्र छिरी ।
विजयका बाबु पुजाचौकामा चण्डी पाठ गर्न थाले – या देवी सर्वभूतेषु शक्तिरुपेण संस्थिता नमस्तष्यै नमस्तष्यै नमस्तष्यै नमोनमः ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु