अफर लेटर

- नम्रता गुरागाईं

“सबैकुरा हेर्दा हाम्रो अफिसको लागि तं नै उपयुक्त लागेकिले तंलाइ जागिरको अफर गर्ने भर्यौ, ह्रयुमन रिसोर्समा केही काम वांकी छ, थोरै अपडेट गरेको मात्र, केही दिनमै म डिटेलमा इमेल पठाउंछु” भन्दै एकाबिहानै भर्खर अन्तरवार्ता दिएको कम्पनीबाट इमेल आयो ।
ए के भन्छ यो ? साच्चै हो त ? के मैले अब जागिरकालागि दिनको ३ घण्टा गाडी चलाउन नपर्ने भयो त ? साच्चै नभए के त ? आफनै मनमा कुरा खेले । १७ घण्टाको उडानपछि भर्खर घर पुगेकी मान्छेलाइ त्यतिकै जिस्क्याएको मात्र त पक्कै होइन होला । अन्तरवार्ता सकेर हिडने बेलामा मैले ३ हप्ताका लागि आजै बाहिर जांदैछुपनि भनेकै थिएं । के यिनिहरु मप्रति सकारात्मक भएकै हुन त ? कुरा अगाडि नबढेको भए यसरी इमेल नै आउने थिएन नी ? आफुले आफैंलाइ ढुक्क बनाउंदै फोनमा शरदजीसंग आफना खुशी बाडें । नजिक जागिर हुने आशमा हामी दुबै रमायौं र अर्को इमेलको प्रतिक्षामा बस्यौं । छोराको बिबाहको जोडजाममा ब्यस्त दिदीलाइ थोरै भएपनि सघाइदिन थालें । इमेलमा आएको आशाको त्यान्द्रोले खुशी हुंदै हिडाइरहयो । टुंगो नभइसकेको कुरामापनि कति धेरै विश्वास लुकेको हुनेरहेछ । समय पाउने वित्तिकै त्यही अपडेट हेर्छु र आफै खुशी हुन्छुु ।
इमेलको अपडेट पर्खदा मेरो बारेमा बोलिदिने मान्छेहरु संझन थालें । केहीदिन अघिमात्र “ए तेरोबारेमा फलानाले मलाइ फोन गरेको थियो, मैले आंखा चिम्लेर लिए हुन्छ भनिदिएं, पहिलो शुभचिन्तकको म्यासेज आयो । आशाको घुटको घुटुक्क निलें । फेरी “ ल अग्रिम शुभकामना”,े दोस्रो शुभचिन्तकको म्यासेज आयो । दोस्रो त झन नराम्रो भन्ने मान्छे नै होइन ! यो पल्ट त आशाको ठुलै घुटको घुटुक्याएंं लौ जा त ! घरमा भतिजाको बिहाको रमझम छ, भालुको मन खनिउमाथि भनेझैं आफुभने हिडने दिन बिहान दिएको अन्तरवार्ताको कुरा र आफनो बारेमा बोलिदिने मान्छेले पठाएका आशाका सम्देसहरु सम्झेर ढकमक्क फुलिसकेंछु । मन बिबाहको रमझम छोडेर सुटुक्क नयां ठाउंको नयां अफिस भित्र र बाहिर गर्न थाल्यो । दुइजनाको म्यासेज पछि नै आशाको विरुवामा पात पलाइसकेका थिए । यसैबेला “पहिला मसंग काम गरेको आधारमा राम्रै फिडब्याक दिएको छु, मलाइ तेरो नयां रिजुमी पठाइदे है “ भन्दै तेस्रो शुभचिन्तकको इमेल आयो । अब त झन उफ्रिउं कि नाचौं जस्तो भयो ।
तीनजनालाइ फोन गरे भनेपछि केही राम्रै कुरा सुन्न पाउंछेस होला, बुझिस केटी!! भन्न थाल्यो एकमनले । उत्तिनै बेला धेरै नफुर्की टुंगो नलागुन्जेल? भन्यो अर्को मनले । सतहबाट अलिकति गहिराइमा गएर मनमा कुरा खेल्न थाले । के यिनिहरु मप्रति सिरियस नै हुन त ? शुरुदेखि नै संयोगहरुपनि अचम्मसंग मिलेका थिए । अन्तरवार्ता दिनलाइ मिति तोक्न फोन गरेको दिन थेंक्सगिभिंगकोको विदामा न्युर्योक शहरमा घुमीरहेकी थिएं । ट्र्रेनभित्र सिग्नल काटिएर आएको फोनको घण्टीको आवाजमा न मैले उसले बोलेको बुभें न उसले मैले बोलेको नै । केही नलागेर मैले टे्रनबाट बाहिर निस्केपछि आफु बाहिर भएको म्यासेज पठाउंदा उसले उतिबेलै अन्तरवार्ताको लिनलाइ मिति तोकेर पठाएको थियो । पढदै गएं डिसेम्बर ५ तारिखका बिभिन्न समयका अन्तरवार्ताका समय तालिका रहेछन । परेन फसाद अब !! ५ तारिखमा त नेपाल जाने टिकट छ, कसरी जाने त अन्तरवार्ता दिन ? भुतले खाजा खाने बेला भनेको यही होला । बुढाबुढी म्यासेज पढेर एकछिन मुख हेराहेर गर्यौ । अनुरोध गर्दा अलिकति अगाडि सारिदेला कि ? के भनेकी मात्र थिएं, नभन! पहिलेदेखि नै के बार्गेन गर्नु ? जस्तो हुन्छ त्यस्तै देउ, बुढाको सिधा उत्तर आयो । के भनेर जवाफ पठाउने होला, म एकछिन अलमल्ल परें । यसो एकछिन गमे....यस्ता नाथे अन्तरवार्ता कति भए कति ! “अच्छ्उि खाएं बच्छ्उि खाएं झुसे बारुलो” संग के को डर ! यो फेरी अर्कोपल्ट न हो, जेसुकै होस त्यही दिन दिन्छु भनेर तीनवोटामध्ये सबैभन्दा पहिलो ८ः१५ समयलाइ छानेर हुन्छ भनिदिएं ।
मिति तोकेपछि पढनु त पर्याे, के कस्तो तयारी गर्ने हो थाहा छैन । कस्तो रिजुमी पठाएकी थिएं र अन्तरवार्तालाइ बोलायो त्योपनि हेक्का भएन । के के जानेको हुनुपर्छ त्यो पनि विर्र्सिएर उनिहरुको वेबसाइटमा पसें । वेबसाइटबाट त्यो जागिरको विज्ञापन निकालिसकेछन । केही नलागेर मलाइ फोन गर्ने मान्छेलाइ जागिरको इन्फरमेसनलागि अनुरोध गरें । उसले तुरुन्तै पठाइदियो । जागिर प्रकृति हेर्छु, त्यहां लेखेको कुरा आधाजसो त मैले जानेकै छैन । हे फसाद कस्तो तयारी गर्ने होला चिन्ता लाग्न थाल्यो । एकमनले भन्यो आ... दिइरहेको अन्तरवार्ता त हो नि, जस्तो छु त्यस्तै जान्छु । अर्को मनले हुदैन! शिकार खेल्न जाने हतियार बिर्सने गर्नु हुन्छ ? उनिहरुले भनेका कुरा अलिअलि भएपनि जानेर गए नयां केही भइहाल्छ कि? के थाहा ! राम्रो तयारी गरेर जा...? भन्यो र सोही अनुरुप म अलिअलि घोत्लिन थालें । उनिहरुले मागेका कुराहरु केही खोजिनिति गरें । केही जानेजस्तै भयो तर अन्तरवार्ताको दिन जतिजति नजिक आयो उतिउति आफूलाइ आएका कुरा सबै बिर्र्र्सिएजस्तो लाग्न थाल्यो । डिसेम्बर ५ को बिहान त जांच दिनुअघिको खाली दिमाग फेरी एकपल्ट खाली भयो । कामका अनुभबहरुको सम्झना जिरोमा सर्न थालेपनि अन्तरवार्ता दिने उत्साह बोकेर घरबाट हाइवे ६४ पश्चिमतिर लागें ।
हाइवेमा १८ माइल गएपछि त एक्जिट देखाइहाल्यो । मेरिबासै यति नजिकै जागिर भए त म उडेरै आउंथे होला.... भन्दै रहरका घुटका घुटुघुटु निलिरहें । ओहो....एक्जिट लिएको २ माइलमै जिपिएसले अफिस नै देखाइहाल्यो । गाडीलाइ दिएको ठेगाना अनुसार अफिसको पछाडिको पार्किगंलटमा पुगेर पार्क गरें । भेटन दिएको समय भैसकेको रहेनछ, एकछिन बाहिरै बसें । एउटी अपरिचित महिलाले शुभविहानको हार्दिकता साटतै भित्र आउन अनुरोध गरीन । हार्दिकता साटेर मपनि उनका पछि लागें । उनले भित्र एकछिन उभिन अनुरोध गरीन । यहि बेला ला आज फेला परिस केटी, खा न अब खुदो ! मनमनै भनें । अन्तरवार्ताको भुतले खेदेर बढेको मुटुको ढुकढुकी घटेको भा ता मार्दिनु ! तंलाइ पाता त कस्तैनन नि आज ? नआए आंउदैन भन्देन के को टयाकटयाक गरिरहेकी भन्छु म, मुटुले माने पो ।
केही समयपछि म मेनेजर भन्दै अर्को मान्छे चिनजान गर्न आयो । उसले मलाइ अन्तरवार्ता लिने कोठामा जान अनुरोध गर्याे । म खुरुखुरु उसका पछि लागें । २०, २५ पाइला हिंडेपछि एउटा ठुलो कोठा आयो । त्यो उनिहरुको मिटिंग गर्ने कोठा अरे । एकापट्टिको कुर्सीमा मलाइ बस्न अनुरोध गर्दै उ अर्कापट्टि कुर्सीमा बस्यो । अब औपचारिक कुरा शुरु गर्ला भनेको त ४,५ पन्नाको डकुमेन्ट पो झिक्यो र यसको कुनै ठीक र बेठीक उत्तर छैन तर यस्तो समस्या आयो भने तैंले कसरी समाधान गर्छेस, समाधान गर्ने उपायहरु दे, म एक घण्टामा अरु ३ जना स्टाफहरुसहित आउछु एकैचोटी भन्यो । उ उठेर हिंडिपनि हाल्यो । यसो हेर्छु काम त नितान्त नौलो छ, हे फसाद ! कहांबाट र कसरी शुरु गर्नु मैले ? कति अप्ठयारो चाहिं दिएछ त भातेले? म रनभुल्लमा परें । मेरा अहिलेसम्मका कामका अनुभबहरु सबै फेल भएझैं लाग्यो । तैपनि हरेस चाहिं नखाएस केटी भन्दै आफैले आफैलाइ थुम्थुम्याउदै दिएको डकुमेन्ट दोहोर्याएर पढन थालें । दुइतिनपल्ट पढेपछि बल्ल गांठी कुरा अनुमान गरें र त्यही अनुसारको तरिका तीनपन्ना लेखिदिएं, लु खा त मेरो के जान्छ ! नभन्दै एकघण्टापछि उ आयो । उसका अघिपछि अरु तिनजनापनि आए । ल अब कठघरामै उभ्याउने भए मोराहरुले ! वान टु वान भए त जान्याथ्यो । अब वान टु फोरलाइ के गर्ने हो थाहा छैन । ए मोरा... तेरो पिडालुबारी त फांडिदिएको थिइननी ! यत्रा मान्छे किन लिएर आइस? मनमनै भने । उनिहरु चारैजना एकातिर बसे म अर्कातिर । चारजना देखेर उढन लागेको सातोलाइ बल्लबल्ल समातेर ल्याएं र धार्जे भएर बसें । उनिहरुले पालैपालो आफनो परिचय दिएपछि मेरो पालो आयो । बल्ल अलि सहज लाग्यो । आफनो परिचय दिइसकेपछि पत्रकारले झै चारतिरबाट प्रश्नहरुले घोच्न थाले । कुनै कुनै प्रश्नले त कान वारपार नै गरे, तैपनि वांकी अरु राम्रै भए । अप्ठायारा प्रश्नहरुले दांतमा ढुंगा लाग्न खोज्दा बल गरेर थोरै डिटुर (घुमाएं) गराएं तर धेरैजसो आफनो दैनिक काममा परेका समस्यासंग मिल्दाजुल्दा भएकाले उत्तर दिंदा आफनैं धित मरेजस्तो भयो । सन्तुष्टिको पींध थोरै भएपनि भरिएछ पो त्यतिबेला त । स्याबास केटी यति भएपनि बोल्न सकिस भन्दै आफैले आंफैलाइ धाप मारें भित्रभित्रै ।
प्रश्नहरु सोधेर दिमाग खानुसम्म खाए चार प्राणीले । आफनो त उत्तरको ट्यांकी नै रितिएछ । अब अरु सोधे भने के भन्ने होला, सोच्दै थिएं । धन्न उनिहरुकापनि लिएर आएका प्रश्नहरुपनि सकिएछन । कस्तो मिलेछ त ! होलसेलमा अन्तरवार्ता त राम्रै पो भयो । ए गांठे ! मेरो यत्रो महत्वपुर्ण समय यसै खेर जाला त ? आशाको मुना पलाउंदै गयो । दुइघण्टा भन्दा लामो केरकारपछि बल्ल छोडे । त्यही बेलामा आफु तीनहप्ताका लागि बाहिर जाने योजना सुनाएं । उनिहरुले शुभयात्राको कामना सहित मलाइ विदा गरे । बाहिर आएर लामो श्वास फेरें । गाडीभित्र पसेर फेरी एकपल्ट ति चारैजनाको अनुहारहरु संझें । उनिहरुले सोधेका प्रश्न र मैले दिएका उत्तरको लेखाजोखा गरें । कता कता आशाको डोरी बाट्न पो थाली गोज्यांिग्रले त ।
दिउसोको टिकट छ नेपाल जान, आफुभने बिहानभरी अन्तरवार्तामा । सामान कति भयो, के के छुटेको छ केही थाहा छैन, मान्छे त पिट्सबोरोमै बसिराछे, ब्यस्तपनि कति चाहिं हो ? घडीले १० भन्दा धेरै बजाइसकेकोले हतार हतार गाडी स्टार्ट गरें । तुरुन्तै घर आइपुगेकिले बाटो सम्झिएरपनि मनमा नजिक जागिर हुने सम्भाबनाका छालहरु आउंदै जांदै गर्न थाले । मेरो जागिरका लागि दिनको तीन घण्टाको लामो हिडाइको थकाइ मलाइ मात्र नभएर परिवारका सबैलाइ लागेकै थियो त्यसमापनि ३ महिना घुम्न आउनुभएकी दिदीलाइ झन धेरै देखिन्थ्यो । ढोकाबाट छिर्नेवित्तिकै खाना मैले पकाइसकें, कस्तो भयो त अन्तरवार्ता ? दिदीको प्रश्नको आजचाहिं राम्रै उत्तर दिनुपर्यो भन्ने लागेर “मोराहरुले आश पो देखाए दिदी ! केही होला कि“ भनि दिएं । “लौ वा नजिकै भइदिए मलाइपनि सन्तोष लाग्ने थियो” भन्दै दिदी लामो श्वास तानेर भात पस्किन थाल्नु भयो ।
घरभित्र पस्नेवित्तिकै अन्तरवार्तामा बस्ने सबैलाइ धन्यवाद दिएर एउटा इमेल खसालें । बल्ल लानेकुरा सम्झना आउने थाल्यो । ४ वजेको उडान भएकोले ३ घण्टा अगाडिनै एयरपोर्टमा पुग्नुपर्ने नियम छ । पहिलोपल्ट छोराछोरी छोडेर जान लागेकि छु । अध्यारैमा स्कूल हिंडेका उनिहरुलाइ एकपल्ट नहेरी कसरी जानु ! पर्खिनलाइ समय छैन । उसै त छोराछोरीले ३ दिन अघिदेखिनै मेरो उडने समय हेरेर “माम्मु हामीले वाइपनि बिहानै भनेर स्कूल जानुपर्ने भयो नि!” भनेको वाक्य दुखिराखेको छ झन हेर्न पाइनभने कति दुख्ला भनेर उनिहरुलाइ स्कूलमा लिन आउंछौ भनेकि थिएं । नछुटाइनहुने सामानहरु एकपल्ट हेरेर चांढै नै हामी घरबाट निस्कियौं । दुइटा केटाकेटीको स्कूलमा निस्कदा थोरै समय खर्च भएपनि समयमा नै एयरपोर्ट पुगियो ।
लगेज जोखेर पठाइदिएपछि छुटिटने समयका मिनेट मिनेट हामी कुरा गरेर बस्यौं । नभन्दै भित्र जाने बेला आइहाल्यो । मात्र विदाइका हात हल्लिए मन हल्लिन मानेन । मुटुका टुक्राहरु एकाएक आफूबाट छुटिटएजस्तो भयो । खुट्टा मात्र हिंडे मन हिडेन । दुबैतिरको भाबुक मन आंखा पुगेरे छायो । दुखेको मनलाइ त्यही “केही समय” भन्ने औपचारिकताले सेक्दै अघि बढें । सेक्युरिटीको ढोकामा पुगेकी मात्र के थिएं, अफिसरहरु देखेर आंशुले भरिएका आंखा एकाएक सुके । एकछिन अगाडिसम्म पग्लिएको मनपनि जमेर ढिको भयो । लान नहुने केही छ कि छैन? अफिसरका प्रश्न सुनेपछि सानो हेण्डक्यारीमा हालेका सामानहरु एक एक गर्दै उठेर आंखा अगाडि आउन थाले । सामन नदिउन्जेल केही नभएपनि डरको पारो तलमाथि गरिरहयो । सामान लिएपछि केही नभएपनि धन्न भन्नुजस्तो कस्तो डरलाग्दो वातावरण ! आफुले मिलाएर राखेका सामान सबै विगारिदिएपनि त्यहां केही नभेटिनुनै ठुलो कुरा भयो । सबैथोक लिएर पछाडि फर्कदा नानीहरु हेरिरहेका रहेछन । परबाट फेरी विदाइको हात हल्लाएर हामी जहाज उडने गेटतिर लाग्यौं । गेटमा पुगेर उनिहरुलाइ फोन गरें । मलाइ हसाउंदै शुभयात्रा मामु भने । उनिहरुले भनेको शुभयात्रा फेरी घांटीमा पुगेर अडिकिरहयो धेरैबेरसम्म ।
सकुशल घर पुग्ने ध्याउन्नले होला यात्राबाहेक अरु केही सम्झनामा आएन । त्यसो त ट्रान्जिटमा बसेको बेला दिदीको थकाइलाइ बिर्साउन आकाश पाताल जोडने गरी गफ नझिकेकोपनि होइन । संगै आउनु भएको साथीको बुवाको भोक तिर्खा नहेरेकोपनि होइन तर जति कुरा गरेपनि पर्खाइ सधै सोचेकोभन्दा लामै हुने । दुबइको पट्यार लाग्दो लामो ट्रान्जिट बल्लबल्ल कटेकोले काठमाडौकालागि उडन तरखर गर्न थाल्यौं । आफनो माटोमा टेक्नलाइ हतारिएका पाइलालाइ १४ घण्टाभन्दा ४ घण्टा विताउन गाह्रो भइरहेको थियो । नभन्दै अवतरण गर्ने समय आयो । सांझ झमक्क परिसकेकोले काठमाडौले बत्ति बालिसकेछ । बाहिर भतिजो अंकुर हामीलाइ पल्याकपुलुक हेरिरहेका रहेछन । ३ दिनको लामो यात्रालाइ धन्यबाद दिंदै हामी एयरपोर्टबाट बाहिरियौं ।
अफर लेटर आउने झिनो आशाले गर्दा म त सोच्दा सोच्दै कहां पुगेछु कहां । कसरी आउला, कस्तो आउला, मनमा नानांभाति कुरा खेल्न थाले । मान्छे काम गर्न तयार छु ! काम गर्न जाने ठाउपनि देखिसकें ्! घर र काम गर्ने ठाउंको दुरीपनि भनेजस्तै नजिक छ ! अब त्यही नाथे अफर लेटर आउन त बांकी छ नि ! कसो नआउला त हैन?

नर्थक्यारोलाइना, अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु