अनुकरण

- प्रा. डा. कपिल लामिछाने

विद्यालयमा राष्ट्रिय गौरव विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । जेहेन्दार र उत्कृष्ट छात्रछात्राले भाग लिएका थिए । तिनै मध्येबाट अझ उत्कृष्ट छानिएका दस छात्रछात्राको फाइनल प्रतियोगिता तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो । समारोहमा प्रमुख अतिथिका रूपमा शिक्षामन्त्री उपस्थित थिए । प्रतियोगीहरूले वक्तृत्वकला प्रदर्शन गरे ।
अन्तिममा पालो आयो देशबन्धुको । उसले जातीय, क्षेत्रीय, भौगोलिक, भाषिक, प्राकृतिक, जैविक विविधिताले युक्त आफ्नो देश आफ्नो गौरव भएको; सगरमाथा, बुद्ध, जनक, अरनिकोको देश आफ्नो आदर्श भएको, वीरतापूर्ण इतिहास बोकेको देशको आफू नागरिक हुन पाउँदा आफूलाई गौरव लागेको, देश नै आफ्नो एक मात्र अस्तित्व र पहिचान भएको भन्दै बडो भावुक मुद्रामा धाराप्रवाह वक्तृत्व प्रस्तुत ग-यो ।
मन्त्रीजीले बेलाबेलामा ताली ठोके । उनी जुरुकजुरुक भए ।
देशबन्धु प्रतियोगितामा प्रथम भयो । तालीका गडगडाहटका बीचमा मन्त्रीले पुरस्कार दिए, सम्मान गरे र हात मिलाए ।
उनले भने– म तपाईँको विचार, आदर्श र वक्तृत्वबाट सारै प्रसन्न भएको छु । भन्नुहोस् म तपाईंलाई के सहयोग गर्न सक्छु ?
– गर्नुहुन्छ ?
– पक्का गर्छु ।
देशबन्धुले भन्यो– त्यसो भए मलाई विदेश पठाइदिनुस् ।
मन्त्री रनभुल्लमा परे ।
उनले भने– त्यो त कोसिस गरुँला, तर तपाईंले अघि स्पिचमा त ...?
देशबन्धुले भन्यो– तपाईंहरू यहाँ कस्ताकस्ता भाषण गर्नुहुन्छ र वहाँ कस्ताकस्ता काम गर्नुहुन्छ । त्यसबाट मैले पनि त केही सिक्नै प¥यो नि । विद्यार्थीको जातै सिक्ने ।
--

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 8 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु