भौँ-भौँ

- ईगम खालिङ

पौष महिनाको एउटा अति जाँड़ो दिनमा एकजना परूषमान्छेले लप्चुको एउटा रेस्टुराँमा बसेर चिया पिइरहेको थियो । अचानक उसको नजर रेस्टुराँबाहिर उभेर घाम तापिरहेकी एउटी तरूणी केटीमाथि पर्छ ।

केटीले उसलाई नै एकटक लगाएर हेरिरहेकी जस्तो लागेर उ अलिकति मुसुक्क हाँस्छ । केटी भने एकटक लगाएर न्यानो घामको आनन्द लिइरहन्छे । उ एक्कासी उठेर केटीको सामु जान्छ र आफ्नो अनुहाराकृति कुनै एउटा सुधो कुकुरको जस्तै बनाएर अनुहारमानै भौँ-भौँ गर्छ ।

केटी तर्सिएर थरर काम्दै आफ्नो गाडीतिर लाग्छे । त्यो पुरूषमान्छे भने भित्र पसेर अत्तालिन्दै एउटा सिगरेट सल्काउँछ । केही समयपछि दुवैको गाडी पालैपिलो छुट्छ ।

त्यस दिनको ठीक दुइ दिनपछि दार्जीलिङ शहरस्थित नारायण दासको मिठाई दोकानमा त्यो मान्छेले आफ्ना श्रीमती र सानो छोरोसित कचौरी-चाट खाइरहेको बेलामा अस्तिको त्यही केटी सरासर आएर उसको अनुहारमानै भौँ-भौँ गर्दै खितिति हाँसिराखेर त्यहाँबाट निस्कन्छे । हेर्दै गरेको कुनै एउटा भिडियो अचानक ट्याक्क रोकिएझैं रोकिएर उ अक्क-न-बक्क बसिरहन्छ । उसको होश उड़ेर जन्छ कि उसकी श्रीमती कहिले छोरालाई लिएर त्यहाँबाट गई पत्तो पाउँदैन ।

बाहिर गएर उसले बेसुरमा एउटा सिगरेट सल्काउँछ । उसलाई अघिदेखि हेरिरहेको छेवैको पान दोकाने भैयाले अलिकति हिचकिच्याउँदै उसलाई भन्छ, “सर, तपाईँले सिगरेट उल्टा सल्काउनु भएकोछ !”

उसले रातोपिरो भएर दोकानेलाई हपारेझैं भन्छ, “मैले उल्टै सल्काएको, तपाईँलाई केको समस्या, तपाईँ आफ्नो काम गर्नुहोस् न !” उनी त्यहाँबाट गइसकेपछि दोकाने भैयाले आफैसित मनमनमा खुशी हुँदै आफैलाई एकपल्ट भौँ-भौँ गर्छ। केही बेरपछि उ सुपर मार्केट आघिको गाडी राख्ने ठाउँमा पुग्छ तर त्यातिबेलासम्म पनि उसले निर्णय लिनैसक्दैन कि आज आफ्नो घर जाने हो कि ससुराली ।

राति टूँ-टूँ गरेर नयाँ नम्बरबाट फोनमा मेसेज आउँछ—“गुड् नाइट् एण्ड भौँ-भौँ !” तर उसले त्यसको उत्तर नदिने निर्णय लिन्छ। सुटुक्क मेसेज मेटाएर आफैलाई भन्छ, “हेत्, अहिले त भौँ-भौँ लेख्न पनि डर लाग्यो !”

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु