पानीमाथि पानीमुनि

- श्रीओम श्रेष्ठ रोदन

दश मिनेट पनि लागेन हामीलाई वाटफोर्ट हाइस्ट्रिट स्टेशनमा पुग्न । स्टेशनमा मर्मत कार्य चलिरहेको रहेछ । साँझसम्म रेल सेवा बन्द गरिएको सूचना बाहिर नै देखिने गरी राखिएको थियो । तर यही स्टेशन हुँदै जाने आउने रेल सेवा भने चलिरहेको छ । यस स्टेशनमा ओर्लने र चढ्ने यात्रुका लागि मात्र सुविधा बन्द गरिएको रहेछ । लण्डनमा पार्किङको समस्या हुने भएकोले भूमिगत रेलबाट जानलाई नियात्राकार कृष्ण बजगाई र म इन्टु मल हुँदै यहाँ आइपुगेका थियौँ ।
आकाश राम्रोसँग खुल्न सकेको छैन आज । हो कि होइन जस्तो गरेर छिटफुट पानी परिनै रहेको छ ।
‘अब अर्को स्टेशन जानुपर्ने भो । तर केही छैन ,यहाँबाट दुईतले बस चढेर जान्छौँ हामी ।’ जानकारी गराइहाल्नुहुन्छ कृष्णजी ।
बस चढ्ने ठाउँमा पुगेको मिनेटभरमै आइपुग्छ दुईतले बस । बसको ढोका खोलिनासाथ हामी भ¥याङ चढेर माथिल्लोे तलामा उक्लन्छौं । सबैभन्दा अगाडिको कुर्सीमा गएर बस्छौं । अग्लो ठाउँमा बसेपछि सबैतिर देखिन्छन् । दुईतले बसबाट म बेलायतका सडक,सरसफाइ,ट्राफिक व्यवस्था,सवारी साधनको अनुसाशन,पेटीमा हिँड्ने पैदल यात्रुहरु,बाटाछेउका पसलहरुलाई हेर्छुु । वरपर देखिएका हरियाली ,आकर्षक ठूलाठूला भवनहरु ह्ेर्छु । बस विस्तारै गुडिरहेको र ठाउँठाउँको स्टेशनमा रोकिने गरेकोले आँखाहरु हतारिन परेका छैनन् ।
‘ अब अर्को स्टेशनमा ओर्लन्छौ हामी ।’ अगाडि बढिरहेको बसमा जानकारी गराउनु कृष्णजी । म ओर्लन तयार भएर बस्छु । यो जानकारी ओर्लनको लागि मात्र हो जस्तो लाग्दैन मलाई । आफू ओर्लनु पर्ने ठाउँमा पहिले नै तयार हुन सकेन भने बस धेरै समय रोकिनु पर्ने हुन्छ । बस धेरै बेर रोकिंदा अन्य यात्रुको समय खेर जाने हुन्छ । आप्mनो कारणले अरुलाई अलिकति पनि डिस्टर्ब गर्नु हुँदैन भन्ने भावना हो यो । सार्वजनिक स्थल ,सार्वजनिक सेवामा सानासाना कुरामा पनि ध्यान पु¥याउनु पर्छ भन्ने चेतना नै हो । मुलुकको विकास र समृद्धिका लागि सबैभन्दा पहिले नागरिकको चेतनाको स्तर नै बढ्नु पर्छ भनिएको त्यतिकै होइन ।
बसबाट ओर्लेर केही बेरमा नै हामी स्टानमोर स्टेशनमा पुग्छौं । सडकबाट भूमिगत रेल चढ्नका लागि जमिनबाट विद्युतीय भ¥याङ हुँदै तल झर्छौं । रेल चढ्न टिकटको लागि प्रयोग गर्ने कार्ड दिनुभएको थियो कृष्णजीले । रेल चढ्नलाई त्यसभन्दा अगाडि विद्युतीय तगाराहरु राखिएका हुन्छन् । त्यसलाई पार गर्नुका लागि टिकट वा यस्ता कार्ड सङ्केत गरेको निश्चित ठाउँमा छुवाउनु पर्छ । त्यसपछि मात्र ढोका खोल्छ र रेलमा जान पाइन्छ । कृष्णजी र म फरकफरक तगारोको ढोका खोलेर रेल आउने ठाउँतिर जान्छौं ।
बेलायतमा रेल शुरु हुँदा सन्को १८२५ थियो । त्यसैले विश्वकै पहिलो रेल यातायात बन्यो । भूमिगत रेल पनि १८६३को पहिलो महिनाबाटै सन्चालनमा आएको थियो । अहिले भूमिगत रुपमा झण्डै ५५० वटा हुँइकिँदो रहेछ । जसमध्ये एउटामा हामी चढ्न आएका छौँ । चार सय दुई किलोमिटर भूमिगत रेलबाटो बनेको रहेछ । बेलायतभरि १६हजार ५०० किलोमिटरको ट्रयाक रहेको बेलायतको रेलले करिब पौने दुई अर्ब यात्रु बोक्ने गर्दा रहेछन् । हामी पनि त्यो सङ्ख्यामा समेटिएको हुनुपर्ने ठान्छु म ।
हामी पुगेको एकडेढ मिनेटमा नै रेल कुद्दै आइपुग्छ । आज सोमबारको दिन , सप्ताहन्तपछिको कार्यालय दिन भएकोले रेल भरिभराउ छ । बस्ने ठाउँ कतै छैन । भीडमा उभिएरै बस्छौंँ अरु धेरै जना जस्तै । त्यति टाढाको पनि होइन रहेछ हाम्रो वेस्ट मिनिस्टरसम्मको यात्रा ।
हामी फेरि विद्युतीय भ¥याङको सुविधा उपयोग गरेर सडकमा पुग्छाँैं । जमिनमुनिको यात्रामा खास कुनै फरक अनुभूति नभए पनि खुला आकाशमुनि आइपुग्दा प्रकृतिको वास्तविक स्वाद पाएजस्तो लाग्छ मलाई ।
खुल्न नसकेको आकाशले पनि आप्mनै प्रकारको मज्जा दिएको छ । नजिकै टेम्स नदी बगिरहेको छ । नदी सफा छैन । पानी धमिलो छ तर फोहोर र दुर्गन्धित छैन हाम्रा वाग्मती र विष्णुमतीजस्ता । नदीमाथि जहाजहरु ओहरदोहर गरिरहेका छन् । टेम्सको किनारामा एउटा क्रुज रोकिरहेको छ । मौसमले साथ नदिएको दिन भन्छन् यताकाहरु तर पर्यटकहरु भने उत्साह र जिज्ञासाले उज्याला भएका देखिन्छन् । म आफू पनि त्यस्तैे अनुभव गरिरहेको छु ।
क्रुज रोकिराखेको ठाउँ नजिकै टिकट काउन्टर छ । टिकट किन्नेहरु लाइन लागेका छन् । हामी पनि त्यसैमा जोडिन्छौ । काउन्टरमा पुगेपछि कृष्णजीले दुई वटा टिकट लिनुहून्छ ग्रिनविच मिडटाइमसम्मको क्रुज चढ्ने । टिकट लिएपछि फेरि क्रुुुज चढ्ने लाइनमा बस्छौँ । रोकिरहेको क्रुज यात्रु चढाएर अगाडि बढ्छ । यात्रु चढाउने ठाउँ पाउनासाथ अर्को क्रुज आइपुगिहाल्छ । केही यात्रु ओर्लिन्छन् ,केही आप्mनै सिटमा बसिरहन्छन् । ओर्लनेहरु सकिएपछि चढ्नेहरुको पालो आँउछ । लाइनमा हामी अगाडि नै भएकाले छिटै चढ्न पाउँछौंँ ।
कारबाट गएको भए पनि हुन्थ्यो लण्डन ,रेलबाट गए पनि हुन्थ्यो ,बसबाट गए पनि हुन्थ्यो । तर क्रुजबाटै जानका लागि कथाकार भाउजू सुन्जु बजगाईले सल्लाह दिनुभएको थियो । यसैले नै अहिले म पहिलो पटक क्रुजसंगको अनुभव गर्न पाइरहेको छु ।
पानीमा धेरै पटक ठूलासाना डुङ्गा चढेको छु । तीन दशक जति अगाडि कलकत्ताबाट बङ्गलादेशसम्म पानीजहाजको पनि अनुभव गरेको छु । तर पहिलोपटक क्रुजसँगको कौतूहल र रोमान्चक यात्रामा छु । म अनुभूतिलाई आत्मसात् गर्न खोजिरहेको छु । दौडिएर छतमा पुग्छु । एकनास चलिरहेको हावाले पहिलो स्पर्श गर्छ ।
नदेखिएको घाम । नदी दायाँबायाँका गगनचुम्बी कलात्मक महलहरु । पानीमा दौडिरहेका जहाजहरु । यी सबै हेरिरहनेहरुलाई पनि हेर्छु । फोटो खिचाइरहनेहरु ,खिचिरहनेहरुका अनुहारका खुशी हेर्न खोज्छु । मनको मिटर पढ्न खोज्छु । तर सबैले सबैतिर मेरा दुई आँखा मागेजस्तो लाग्छ । सबैलाई बिर्सिएर म आफैलाई हेर्छु , सँगै हुनुभएका मित्रलाई पनि बिर्सन्छु र एक्लो भएजस्तो हुन्छु ।
क्रुजमा राखिएका कुर्सीहरु सबै भरिएका छन् । ठूलो रेष्टुरेन्टमा जस्तै बीचबीचमा टेबुल पनि छन् । वरिपरिका सिसाका झ्यालमुनि पनि बस्ने व्यवस्था छन् । क्रुजभित्र पस्ने ठाउँमा बाँयापट्टि माथिल्लो तलामा जाने भ¥याङ छ । नजिकै खानेकुराको पसल छ । त्यसको छेउमा शौचालय छ ।
बस्नका लागि बीचतिर मात्र हामी कुर्सी पाउँछौ ,त्यहाँ बस्नुभन्दा माथिबाट चारैतिर हेर्न छतमा जान्छौँ । त्यहाँ पनि छतैभरिका कुर्सीहरु लगभग पुरै भरिएका छन् । क्रुज अगाडि बढ्न थालेपछि एक जना कर्मचारी माइकबाट बोल्न थाल्छन् । उनी नदीका दायाँबायाँ देखिएका ठाउँ ,भवनहरुका बारेमा बयान गरिरहेका छन् । केही बेरमा अलिअलि पानी पर्न थाल्छ । केही मानिस यताउति चलमलाउँछन् मात्र । पानीमाथिको यात्रामा आकाशको पानीले हामी बीचमा पर्छौँ । तल पानी ,माथि पानी ।
अब भने आकाशबाट पानी दर्किन थाल्छ । मानिसहरु फेरि सलबलाउन थाल्छन् । छाता हुनेहरु खोलेर ओढ्न थाल्छन् । माइकबाट बाृेलिरहेको आवाज बन्द हुन्छ । हामीसँंग छाता थिएन हतारेर तल ओर्लन्छौंँ । तल ढुक्कले धेरै जना भ्mयालबाट पानी परेको हेरिरहेका छन् । कोही फोटो खिचिरहेका छन् । कोही ल्यापटपमा चलिरहेका छन् । कोही मोबाइलको खेलमा रमाइरहेका छन् । कोही गफमा व्यस्त । कोही मायाप्रेममा । हामी भने आँखा बाहिर डुलाउँदै गफ गर्दै पानीयात्राको दूरी घटाइरहेका छौंँ ।
मौसमको कहीँ पनि भर हुँदैन । तर यहाँ बढी नै विश्वास नहुँदो रहेछ क्यारे । हुन पनि केहीबेरमा पानी रोकिन्छ । हामी फेरि माथि उक्लन्छौं । आकाश त कालै छ ,फेरि परिहाल्ने तयारी गरिरहेजस्तो आकाश ।
क्रुजले फ्याल्दै गरेको टेम्सको पानीलाई प्रदुषित हुनबाट जोगाइएको जानकारी गराउनु हुन्छ कृष्णजी । उहाँ भन्नुहुन्छ ,आजभन्दा पचास वर्षअघि टेम्स पूरै प्रदूषित थियो । यहाँ कुनै पनि प्रकारको जीव बाँच्न सक्थेनन् । तर अहिले जुनसुकै पनि पानीजीव बाँच्न सक्ने अवस्थाको बनाएको छ ।
के हाम्रो बाग्मतीको पनि दिन यसरी नै फर्किन सक्ला ? कृष्णजीको प्रश्न र मेरो मनको आवाज एकैपटक प्रकट हुन्छ । मानिसले चाह्यो भने असम्भव के पो हुन्छ र । हामी कहाँ पनि पाँच वर्षदेखि बाग्मती सफाइ अभियान चलिरहेको छ । केही शुद्धिकरण पनि भइरहेको छ । तर बाग्मतीलाई टेम्सकै अवस्थामा पु¥याउनको लागि हामी सबैको चेतनाको स्तर नै उठ्नु पर्छ जस्तो लाग्छ । नभए अहिले जस्तै हप्तामा छ दिन बाग्मतीको उपेक्षा गर्ने ,अरुको आँखा छलेर फोहर पनि फालिदिने । अनि हप्तामा एक दिन सफाइ अभियानको टिसर्ट लगाएर सेल्फी खिचेर कसरी हुन्छ अभियानको सार्थकता ।
बाग्मती देख्ने बूढाबूढीको के कुरा गर्नु ? हामी पनि बाग्मतीको सग्लो पानीमा माछा माथ्र्याँैं । पौडी खेल्थ्र्याँै । खटिरा आउँथेन । पौडी खेल्दा कतिपटक नजानेर पानी खाइन्थ्यो, बिरामी परिन्थेन । दशैंँमा जमरा राख्नका लागि प्रत्येक वर्ष बालुवा लिन जान्थ्यौंँ । नौरथाभरि बिहानबिहानै गएर नुहाउँथ्यौंँ । त्यस्तो बाग्मती कथाजस्तो बनेको छ । अहिले बाग्मतीलाई छुन पनि सकिँदैन । नजिकै पुग्दा पनि दुर्गन्धले दुख दिन्छ ।
के बाग्मती आफै फोहरी भएको हो र ? होइन । चेतनशील भनिएकाहरु हामी,सुग्घरी भनिएका हामीहरु नै हौँ बाग्मतीको अस्तित्व समाप्त पार्ने । त्यसैले बाग्मतीलाई बाग्मती नै बनाउन अरु होइन हामी नै लाग्नुपर्छ ।
टेम्सको पानीमा यात्रा गराइरहने ‘सिटी क्रुज’ एकनासको गतिमा अगाडि बढिरहेको छ । नदीका दायाँबायाँ ठूला र आकर्षक भवनहरु छन् । नदीमा ससाना डुङ्गाहरु पनि आआफ्नै गतिसँग अगाडि बढिरहेका छन् । अगाडि बढिरहँदा ठूलो र राम्रो डिजाइनको पुल नजिकै पुग्छौंँ । एउटा पुलमुनिबाट निस्कन्छौँ र फेरि अर्को पुल पनि पार गछौँ । क्रुजका गाइड देखिएका दृश्यहरुको वर्णन गरिरहेका छन् ।
नदी धेरै ठूलो होइन । तर उपयोग भने ठूलै किसिमले भइरहेको छ । पर्यटकका लागि जल यातायात ,मनोरन्जन,व्यापार पनि भइरहेको छ । शहरको ट्राफिकलाई सजिलो बनाइदिएको छ र प्रदूषण नियन्त्रणको काम पनि गतिलैसँग भइरहेको छ ।
टेम्सको किनारामा एउटा ठूलो जहाज रोकिरहेको छ । हामी त्यसलाई पनि आफूसँगै आउने गरेर फोटो खिच्छौंँ । वार सिप अर्थात् युद्ध जहाज रहेछ । युद्धमा प्रयोग गरिएको जहाजलाई अहिले सङ्ग्रहालयको रुपमा राखिएको । यो जहाजले त्यतिबेलाको समय ,प्रविधि ,युद्धमा प्रयोग गरिने हातहतियार ,व्यवस्थापनलाई सम्झाउने छ ।
टाढैबाट लण्डन ब्रिज देखिन थाल्छ । जहाजको गतिसँगै हामी पुलतिर नजिकिंदै जान्छौँ । यो पुलले लण्डनको परिचयलाई पूर्णता दिएको छ । एक सय एकसटठी वर्ष पुरानो इतिहास बोकेको पुल आफैमा पुरातात्विक ,सम्पदा र गौरव पनि होे । पुलका दुवैतिर टावर छन् । पुलभन्दा माथि दुई वटा टावर जोड्ने पनि पुलजस्तैले जोडिएको छ । यो पुल ठूलो जहाज आउँदा खुल्ने गर्छ भन्ने सुनेको थिएँ । यस्तो ऐतिहासिक महत्वको पुललाई साक्षी राखेर अघाउन्जेल फोटाहरु लिन्छैँ हामी ।
संयोगले त्यस दिन ठूलो जहाज जानका लागि पुल खुलेको थियो । पुलमा जहाज आइपुग्नु भन्दा अघि नै दुबैतिरबाट मानिस र यातायातलाई रोकिन्छ । पुलको मध्यबाट पुल छुटिएर दुईतिर आधाआधा भाग माथि उठ्दै गएर रोकिन्छ । पुल दुई टुक्रा भएर माथितिर गएपछि जहाज विस्तारै पुलबाट बाहिरिन्छ । त्यसपछि फेरि पुल विस्तारै तल झर्दै एकआपसमा जोडिन्छ । पुल जोडिएको केही बेरमा गाडीहरु कुद्न थाल्छन् दुवैतिरबाट ।
‘तपाईहरु भाग्यमानी हुनु हुँदोरहेछ । धेरै पटक आउँदा पनि देख्न नपाइने दृश्य देख्न पाउनु भयो । ’ लण्डनमा अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यताकासाथ सम्पन्न गर्नुहुने संयोजक साहित्यकार सुमलकुमार गुरुङले बताउनु हुँदा दङ्ग परेको थिएँ म । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको यही सम्मेलनले बेलायती भूमि स्पर्श गर्ने अवसर दिलाएको थियो मलाई ।
त्यति बेला विभिन्न देशमा बस्ने नेपाली साहित्यकारहरु जम्मा भएका थियौँ ।कवि विश्वविमोहन,डा.रुपक ,गोवद्र्धनपूजा,लेकाली बजगाई,डा.लुईटेल,प्रतीक,बाबा,सन्ध्या,शान्ति,पुष्पा,गणेश......हामी धेरै जना जम्मा भएका थियौंँ ।
ब्गिरहेको पानीभन्दा उल्टो दिशामा जहाज अघि बढिरहेको छ । हामी लण्डन ब्रिज नजिक पुगिरहेका छौँ । पुल नजिक पारेर फोटाहरु लिन्छौँ । आज पुल उठ्नु पर्ने कुनै जहाज आएको रहेन छ । हाम्रो क्रुज पनि पुल मुनिबाट बाहिर निस्किन्छ ।
आकाश कालो बादलले ढाकिरहेको छ । पानी फाटफुट परिनै रहेको छ । क्रुज विस्तारै नदीको किनारा लागेर रोकिन्छ । हाम्रो पानीयात्रा पनि यहीँसम्मको रहेछ । क्रुजबाट निस्केर भूमितिर निस्कने पुलमा एक जना कर्मचारी कागजको बट्टा लिएर बसेका छन् । क्रुुज यात्रामा उनीहरुका सेवाबाट सन्तुष्ट हुनेहरुले दिने टिप्स लिनका लागि ।
जमिनमा पुग्नासाथ हाम्रो पहिलो आवश्यकता पेटपूजा थियो । हामी सरासर खानेकुरा बजारतिर जान्छौँ । खाना बजार तीनसय वर्ष पुरानो रहेछ । यहाँ विभिन्न देशका खानेकुराका स्टल राखिएका छन् । हेर्दै मिठा होलान् जस्ता परिकारका प्रर्दशनी । पसलेहरु यो छ यो छ भनेर खानाका परिकारहरु देखाउँदै आकर्षित गर्न खोजिरहेका छन् । केही स्टलका खाना हेरेपछि हामी चाइनिज खानाको स्टलमा बस्छाँैं ।
अलिअलि परिरहेको पानीलाई उपेक्षा गर्दै फटाफट अगाडि बढ्छौंँ हामी । सुन्दर बगैँचा जस्तो बाटोबाट केही उकालो उक्लेपछि आइपुग्दो रहेछ ग्रिनविच मिड टाइम । यसलाई पूर्वी र पश्चिमी गोलाद्धको विभाजन रेखा मानिन्छ । अर्थात् यो शून्य समय रेखा हो । यहीँबाट विश्वको समय मापन गरिन्छ । विश्वका अरबौँ मानिसका हातका घडी ,अरबौँ नै मोबाइलका घडी ,भित्ताका घडी ,घण्टाघरका घडीहरुलाई समय दिने ठाउँ रहेछ । एक प्रकारले विश्वको समय निर्धारण र नियन्त्रण गर्ने स्थान रहेछ । एक प्रकारले सुखद् अनुभूति हुन्छ महत्वपूर्ण ठाउँमा आइपुगेकोमा । तर प्रश्न पनि उठ्छ ,यहीँ ठाउँ किन र कसरी ? कुनै समय आधा विश्व आफ्नो साम्राज्यमा भएको फाइदा त होइन यो ?
यही रेखाबाट पूर्वतिरको समय प्रतिदेशान्तर चार मिनेटको दरले छिटो र पश्चिमतिर पनि सोही हिसावले समय ढिलो हुँदै जान्छ । यो रेखाबाट हाम्रो देश अठासी डिग्री र केही मिनेट पूर्वी देशान्तरमा पर्ने भएकोले नेपालको समय + ५.४५ घण्टा चाँडो बनाइएको छ ।
शून्य समय रेखालाई हेर्ने मानिसहरुका भीड छन् । त्यही रेखालाई दुई गोडाका बीचमा पारेर फोटा खिच्नेहरुका भीड मात्र होइनन् ,उत्साह पनि त्यतिकै छन् । कम्पाउण्डभित्रको भुइँमा भएका दुई धर्का आउने गरेर फोटो लिएपछि सकिन्छ महङ्गो टिकटको स्वाद । संसारको समय बनाउने ठाउँ मलाई भने केही होजस्तो लाग्दै लागेन । नबुझेर वा बुभ्mन नसकेर पनि हुनसक्छु । त्यसैले धर्कामा उभिएको अरुको फोटो खिच्छु मात्र ।
रोयल अब्जरभेटरी,होम अफ मेरिडियन लाइनसगैँ गज्जबको फोटो खिच्ने ठाउँ छ । यहाँबाट सुन्दर लण्डन देखिन्छ । लण्डन शहरको नमूना नै देखिए जस्तो लाग्छ । यो लण्डनलाई हेर्ने साँच्चिकै सुन्दर ठाउँ रहेछ । सिधै आँखाले देखिने यस ठाउँमा दुरविनको पनि व्यवस्था गरिएको छ ।
फोटो खिच्ने ठाउँमा भीड छ ,तीन चार जना पालोपालो गरेर खिचिरहेका छन् । फाट्टफुट्ट मात्र आइरहेको पानीको मात्रा बढ्न थालेपछि फोटा खिच्नेहरु हतारिएर फोटो लिन थाल्छन् । पानी रोकिहाल्ला जस्तो देखिदैँन । जानुपर्ने केही ठाउँ बाँकी नै भएकोले ओर्लन थाल्छौँ हामी समय डाँडाबाट ।
संसारभरिको घडीलाई समय दिने ठाउँबाट निस्कदँै गर्दा म आप्mनो नाडीको घडी हेर्छु । नेपाली नाडीको अमेरिकन घडीका सुइले बेलायतमा नेपाली समय देखाइरहेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 27 आश्वीन, 2076

लेखकका अन्य रचनाहरु