सभ्यता

- रवीन्द्र तिमसेना

सङ्गीतका विभिन्न विधामा योगदान पु¥याएका सहरका करिब एक दर्जन हस्तीलाई सम्मान गरिँदै थियो । रात्रिकालीन कार्यक्रम भएकाले साँझ ढल्दै जाँदा निम्तालुहरूले कार्यक्रम स्थल भरिभराउ हुँदै गएको थियो । वानपिसमा सजिएकी जोनी आयोजक संस्थाकी प्रतिनिधिका नाताले आगन्तुकहरू केहीलाई मुस्कान छर्दै र केहीलाई हात हल्लाएर हाई–हेल्लो गर्दै थिई । सलक्क परेको जिउमा टमक्क मिल्ने लुगा, दमदार अङ्ग्रेजी र पूर्ण आत्मविश्वास । जोनीका यति गुणले आगन्तुकको ध्यान खिचेको थियो ।
जोनीको व्यक्तित्व देखेर उसको सहकर्मी केदार छेउमा दङ्ग परेर उभिरहेको थियो । सामान्य औपचारिक पोसाक लगाए पनि ऊ जोनीझैं ठाँटिन सकेको थिएन । आगन्तुकप्रति आफ्नै मौलिक तरिकाले शिष्टाचार व्यक्त गरे पनि जोनीको जस्तो कूटनीतिक शिष्टाचार उसले कहाँबाट जान्नु ? राष्ट्रिय जीवनका ख्यातिप्राप्त व्यक्तिहरूबाट ओजपूर्ण मन्तव्य व्यक्त हुन थालेपछि केदार भने कुर्सीमा गएर खुट्टा खप्टिएर बस्यो । ठुला मान्छे बोल्दै गर्दा खुट्टा खप्टिएर बस्नु सभ्यता नभएको जोनीले केदारलाई सुझाई । लाजले भुतुक्क हुँदै केदारले खप्टिएको खुट्टा तल झा¥यो । ग्रामीण परिवेशमा हुर्किएकाले यस्ता कुरा सिक्नबाट वञ्चित भएको सम्झेर केदारको मन अमिलो भएर आयो । जोनीको सुझाव राम्रै भए पनि एक सहकर्मीबाट आएकाले उसका निम्ति त्यो प्रतिष्ठाको विषय थियो । रातभर उसलाई यही कुराले निन्द्रा परेन ।
भोलिपल्ट अफिस पुगेपछि भने केदारको मन हलुङ्गो भयो जब उसले अन्य सहकर्मीमार्फत थाहा पायो कि औपचारिक कार्यक्रम सकिएपछि हिजो राति अबेलासम्म आयोजित ककटेल पार्टीमा रमाएकी जोनीले रक्सीको मातमा केही पाहुनाहरूलाई अभद्र व्यवहार गरेकी थिई । मापसे गरेर स्कुटर चलाएको अभियोगमा ट्राफिक प्रहरीले जोनीलाई नियन्त्रणमा लिएको कुरा सहकर्मीमाझ ‘हटकेक’ बनेको थियो । बेलैमा ‘सभ्यता’ सिक्न नपाएकोमा केदारलाई गौरवबोध भयो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु