वनकी चरी

- इन्दिरा दीक्षित

छोडी गयौ वन चरी कुन ठाउँ बस्छौ
आयो कि याद सँगसाथ कि बिर्सिएछौ ।
फैलाउँदै फरर पङ्ख उतै रमायौ !
सुनिन्न चिर्बिर कतै अति शुन्य पार्यौ ।१

ठूलो छ व्योम त्यसमाथि रमाउँदैछौ ।
नौलो नवीन वनमा पनि धाउँदै छौ ।
आनन्दपूर्वक तिमी दुनियाँ चहार्छौ ।
सम्झिन्छु जीवन चरी अति मोज गर्छौ ! २

त्यो जिन्दगी कति मजा दुनियाँ डुलेको ।
सम्झेर बस्दछु सदा उसमै भुलेको ।
मेरो यता घर चरी यसमै म बस्छु ।
बाकीँ छ जीवन अझै घरभित्र भुल्छु । ३

खुल्ला अकाश झटपट्ट उँडेर आयौ ।
देखेर त्यो रहर भो मनमा जगायौ ।
त्यो सम्झना कति मिठो दिन चार साथ ।
गर्छौ कि याद मनले खुव त्यो तमास । ४


कुर्दैछु स्वप्न बटुली मधु कल्पनामा ।
फर्केर आउन चरी प्रिय सम्झनामा ।
गाएर गीत नगिचै फनफन्नि घुम्दा
मुस्कान मन्द भरिने मुखमण्डलैमा । ५

आनन्दमग्न बनि नित्य रमेर बस्छु ।
पन्छी कुनै दिन यता तिर फिर्छ भन्छु !
आऊ चरी अब त याद बनाउ ताजा ।
झुल्कन्छ इन्द्र धनुषी मनभित्र आशा । ६

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु