कोमल गीतका तरेलीहरू

- रमेश पौडेल

कोमल र हार्दिक मनको सुललीत अभिव्यक्ति हो गीत । मन छुने गीत गुन्गुनाउँदा बोझिलो मन पनि सजिलोको अनुभूत गर्छ । भोजपुर, दोभाने-४ सालेवामा जन्मेका बिमल गिरी चारपाने झापा हुँदै सीमा काटेर हुत्तिए । भारत, बंगलादेश, कतार, दुबही, साउदी अरेविया, बहराईन, थाइल्याण्ड,जर्मनी, लग्जेम्बर्ग, नेदरल्याण्ड,फ्रान्स हुँदै अहिले उनको पाइला रोकिएको छ बेल्जियममा ।
सानैदेखि भोजपुरका उकाली, ओर्‍हाली र झापाको समथरमा पनि सुसेलीमै सुसेले मनका बहहरु बिमलले । "मनको बह, कसैसँग नकह" भने पनि कवि मनका बिमल गिरी पोखिए "सम्झनाका तरेलीहरु" गीति सङ्ग्रहमा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट प्रकाशित प्रस्तुत गीत सङ्ग्रहमा गीतकार गिरीका पाँच दर्जन गीतहरु समाविष्ट छन् । यस सङ्ग्रहमा सङ्ग्रहित केही गीतहरु गिरीकै "उपासना" गीति एलवममा समेत गुञ्जिएका छन् विभिन्न कलाकारको गलामा । हो, गीत गेयात्मक विधा हो, गीत पढ्नालागि मात्र होईन । गीत गाइएन भने, गीतकार, संगीतकार र गायक गणेश रसिकले भनेझैं हुन्छ - गाए गीत, नगाए कविता । यस अर्थमा बिमलका गीतहरुमा कविता पनि उत्तिकै घुलेको छ । गतिको प्राण भन्नु संगीत र स्वर हो । सम्झनाका तरेलीभित्रका गीतहरु गाऊँ/ गाऊँ लाग्ने खालका छन् । गाऊँ / गाऊँ यस मानेमा लाग्छन् कि, प्रवल गीति चेतना भएका गिरीका गीतहरु गीति हरफमै आधा संगीत गुञ्जिएर आउँछन् ।
सम्झनाका तरेलीहरुमा गीतकार गिरीले आफन्ती र पराई मनसँग पनि हार्दिक परेली याने पर्म लाएका छन् । "परेली" नेपाली श्रम माटोमा लछप्पै भिजेको पि्रय शव्द । मनदेखि मनसम्म गीतकार पुगेका छन्- यसरी नै परेली लाएर । गिरीका गीतमा आफ्नै रस्ती/ बस्ती र जिन्दगीका गस्तीहरु भेटिन्छन् । संयोग/ वियोग गिरीका गीतका मूख्य भावभूमि हुन् ।
अस्तव्यस्त रहरहरु, ओइलाई गए घामसँगै
अस्ताई गए खुशीहरु, अँधेरीका यामसँगै
अँध्यारोको अभीष्ट पाटो भनेको उज्यालो हो, अँध्यारो हुन्छ र त उज्यालोको चाहना हुन्छ र त्यै उज्यालोको खोजीमा छन् गीतकार ।

अफ्नो सीमा काटेर सातसीमा पारी पुग्नु गीतकारको रहरभन्दा पनि वाध्यता र विवशता हो पक्कै पनि । यद्यपि उनी घरदेशको छट्पटीमा गुन्गुनाउँछन् यसरी -
साँझ विहान आमा भन्दै, तिम्रै गाथा गाईरहूँ
बादल पारि रहे पनि, नेपाल भन्न पाईरहूँ π
आखिर मन त नेपाली नै हो नि, जहाँ पुगे पनि । परदेशमा हुँदा घरदेशको सम्झनाले आहात हुनेहरु थुप्रै कलमहरु छन् । त्यस्तै कलम मध्येका टपक्क टिपेर खल्तीमा सजाउने कलम हुन- गीतकार बिमल गिरी ।
संसार यो तिम्रै हो, जति भोग्छौ भोग
मनमा कहिल्यै नपाल्नु है, घमण्डको रोग π
हो, यही घमण्डको रोगले ग्रसित छ देश अहिले । निषेधको बोली ब्यबहारले व्यक्ति मात्र हैन देशै बर्वाद हुने रै छ । नीति परक फाँकीमा आएका यी हरफ सुक्तिमय लाग्छन् । गीतको भावभूमि मूलत प्रणय/ प्रेम मात्रै पनि होईन । गीतले समेट्ने पाटा र बाटाहरु फरक फरक छन् । प्रस्तुत सङ्ग्रहमा श्रष्टा-दृष्टाहरु जगदीश घिमिरे, कृष्ण धरावासी र नेत्र एटमका शुभेच्छा मन्तव्य गीतकारका लागि मार्गदर्शक मननीय लाग्छन् । साङ्गो पाङ्गोमा झिना मसिना विषयमा नअल्मलिई थोरै भए पनि विम्व विधानमा सजगता अपनाई अघि बढे गीतकार गिरीको गीति गन्तव्य समुज्वल देखिन्छ ।

कृतिः: सम्झनाका तरेलीहरु
विधा : गीत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु