एक घाइते सिपाहीको मनोदशा - सन्दर्भ नेपाली लोकगीत ‘ए बरै’

- नवीन पौड्याल

१. उठान - नेपाली लोकगीत सम्पन्न छ। यसभित्र यति बढी भावहरू समेटिएका छन्, जो आकलन गर्न सकिन्न। लोकगीतभित्र एउटा सिङ्गो जातिको इतिहास, संस्कृति, परम्परा, विश्वास, कर्म, दर्शन, पृष्ठभूमि समाहित हुन्छ। लोकगीतभित्र गोर्खाली जातिको वीरता, प्रेमप्रीति, सामुहिक पीडा, सुस्केरा सबै रहेका छन्। गोर्खाली मूलतः लडाकु जाति हुनाले यसका बढी लडाइँ र वीरताको वर्णन पाइन्छन्।
२. प्रसङ्ग – बेलायतको सेनामा लागेर गोर्खालीहरूले विश्वमा वीर जातिको उपमा पाएको छ। पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाली पराक्रमको ठुलो महिमा छ। नेपालका पहाड, दार्जिलिङ, असम, देहरादुन आदि ठाँउका लाखौं गोर्खाली युवाहरू युद्धमा सामेल भएर युद्ध लडेका छन्। विशेषगरी बेलायती सेनामा लागेरर जर्मनी, इटली, इराक, बजीरिस्थान, अफगानिस्तान, बर्मा आदि ठाउँमा लडेर हजारौंले सदाहद भएका थिए। दार्जिलिङ शिलाङ, लखनौ, देहरादुन आदि ठाउँमा गोर्खा रेजिमेन्टका नम्ति भर्ती खोलिएको खबर दिनदिने आउँथ्यो र हजारौं युवाहरू भर्ती हुन आउँथे। कलेज विशेषगरी नेपाल दार्जिलिङको घरघरमा युद्धको प्रभाव परेको थियो। दिनका दिन डाक विभागबाट चिठीहरू आउँथे। तीमध्ये अधिकाङ्श युद्धमा शहीद भएको र जवान हराएको खबर आउने गर्थ्यो। आफ्नो छोरा विदेशको मुलुकमा लडाइँमा लड्दै छ भन्ने खबरले आमा-बाबु र परिवारको सदस्य त्राही त्राही हुन्थे। कति गोर्खाली सेना मरे साँधी भएन। रेडियोको समाचार सुन्दा दिनदिनै गाउँमा आतङ्क छाउँथ्यो। उदाहरणका रूपमा इटालीको सान मारिनो भन्ने मुलुकमा दोस्रो विश्वयुद्धालमा बेलायती सेनामा रहेर इटालीको सेनाविरूद्ध लडेका १० गोरखा राइफल्सका लगभग आठ सयजना गोर्खाली सेनाका जवानहरूको चिहान पाइन्छ। गर्खाली सोनाका यस्ता चिहानहरू सिङ्गापुर, जर्मनी, मलाया, फकल्याण्ड. इराक आदि ठाउँमा पाइन्छन्।
३. दृश्य - एउटा नेपाली लोकगीतमा एउटा सिपाहीको पीडाको पराकाष्ठ रूप। नेपाली लोकगायक झलकमान गन्धर्वले सङ्कलन र गायनमा रहेको एउटा लोकगीत ए बरै को संरचनाको अध्ययन गर्न सकिन्छ। यस लोकगीतमा दोस्रो विश्वयुद्धमा एउटा गोर्खाली सेनाको जवान कुनै अनिर्दिष्ट देशको जङ्गलमा लडाइँ गर्दागर्दै बमको छिर्का लागेर घाइते बन्छ। उसको शरीरमा बम–बन्दुकको बढी घात लागेको हुनाले उसले आफुलाई नबाँच्ने अवस्थामा पाउँछ। उसको त्यो कारूणिक र मर्मान्तक अवस्था उसकै गाउँको अर्को सिपाहीले देख्छ। त्यो घाइते सिपाहींले त्यो गाउँले सिपाही साथीलाई आफु मरेको खबर घरमा जाँदा सुनाउने आग्रह गर्दछ। यद्यपि अकैचोटि घरमा गएर साथी लडाइँमा मर्‍यो भन्न नलगाएर साइनो सम्बन्ध अनुसारको सन्देश दिन निवेदन गर्छ।
४ लोकगीत - लोकगीत यस्तो छ -
हे बरै...दसधारा नरोए आमा
बासी पठाउँला तस्वीरै खिचेर कस्तो लेख्यो नी भावीले
कर्म लीला खै मलाई हजुर
हे बरै
बाबाले सोध्लान् नी खै छोरा? भन्लान् ! रण जित्दै छ भन्दिए
आमाले सोध्लिन् नी खै छोरा? भन्लिन् ! रज खुल्यो है भन्दिए।
दाजैले सोध्लान् नी खै भाइ? भन्लान् ! अङ्शै बढ्यो भन्दिए।
भाउजूले सोध्लिन् नी खै देवर? भन्लिन् ! खसी काट भन्दिए।
भाइले सोध्लान् नी खै दाज्यै? भन्लान् ! घेरामा पर्यो भन्दिए
दिदीले सोध्लिन् नी खै भाइ? भन्लिन् ! माइती घट्यो भन्दिए।
बैनीले सोध्लिन् नी खै दाजै? भन्लिन् ! चोली घट्यो भन्दिए।
छोराले सोध्लान् नी खै बाबा? भन्लान् ! टोपी झिक भन्दिए।
छोरीले सोध्लिन् नी खै बाबा? भन्लिन् ! सुखी राख भन्दिए।
प्रियाले सोध्लिन् नी खै स्वामी? भन्लिन् ! बाटै फुक्यो भन्दिए।
साथीले सोध्लान् नी खै लाहुरे? भन्लान् ! माया मार भन्दिए।
बटौलीको बजारमा चार पैसाको लाहा छैन
शिरको स्वामी स्वर्गे हुँदा घर बस्नेलाई थाहा छैन।
शीशै काट्यो गोलीले रणमा.....
बाबा रून्छन् वर्ष दिन आमा जुनी भरि हजुर।

५. अर्थप्रसङ्ग - यस लोकगीतमा करूणा र अन्तर्मर्मको चरम अवस्था छ। घरको नौजवान छोरा बाँच्न नसक्ने अवस्थामा जङ्गलमा घाइते भएको छ। मर्ने बेलामा उसको शरीरको पीडासँगसँगै मनको पीडा अझ गहिरो छ। घरका आमा बाबु, दाबु भाइ स्वास्नी, छोरा छोरी सम्झिएको छ। आफु मरेपछि कसलाई कस्तो पीर पर्छ, दुःख लाग्छ भन्ने कुरा उसलाई पर्छ । तीमध्ये आफुलाई को कसले माया गर्छन् को को ईर्ष्या गर्छन् भन्ने उसलाई हेक्का छ। दाजु र भाउजू भाइ मरे आफ्नो खेतबारीको अंश बढ्छ भन्ने भाव पाइन्छ। यसलाई यसरी रेखाङ्कन गरेर हेर्न सकिन्छ -

घाइते सिपाही मरेको खबर सुनाउने युक्ति
नाता-------------------------युक्ति---------------------------- कैफियत
बाबा ----रण जित्दैछ ------बाबुको निम्ति छोरा मरेको खबरले दुख बनाउला भन्ने पीरले बरू रणमा जित्दैछ भन्नु उचित।
आमा-----रज खुल्यो-------आमाले आफ्नो कोखबाट जन्माएको छोरो अब मर्यो भन्नु उचित
दाजु-----अंशै बढ्यो ------------भाइ मरे उसको घर जमीन आफ्नो भागमा पर्छ भन्ने स्वार्थी भाव।
भाउजू------------खसी काट------------------देवर मरे भने उनको जमीन पाइने कुरामा खुशी मानेर खुशी मनाउने संकेत
भाइ--------------घेरामा पर्यो -------------------भाइले दाजुलाई सम्मान र माया नै गर्ने गरेका हुन्छ। उसलाई दुःख लाग्छ।
दिदी-----------माइती घट्यो--------------तीनजना माइती मध्येको प्यारो भाइ घटेकामा दिदी दुःखी हुने।
बहिनी--------------चोली घट्यो------------------भाइटिकामा एउटा चोली दिएर माया गर्ने माइती अब रहेन।
छोरा-----------टोपी झिक्नु----------बाबुको निधनमा शिरको टोपी खोलेर दुःख मनाउनु।
छोरी-----------सुखी राख्नु--------------छोरीप्रति अगाध स्नेहको भाव
पत्नी----------बाटो खुल्यो-------------लोग्ने मरेपछि उमेर छँदै अरूसित दोस्रो विवाह गर्न सकिन्छ भन्ने भाव।
साथी/भाइ------------माया मारिदेउ----------साथी भाइको निस्वार्थ माया र सम्झनामा चीर विदा लिएको भाव।

एउटा युवा छोरा मर्दा सबैभन्दा बढी पीर बाबु आमालाई पर्दछ। अरूले बिस्तारै भल्न सक्छन्, अझ आमाले भुल्न सक्दिनन्। बाबु पनि भित्रभित्रै पीडित हुन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 22 कार्तिक, 2076

लेखकका अन्य रचनाहरु