छोरो खाने हजुरआमा

- पुण्य खरेल

“नमस्ते हजुरआमा !” पिनाकी र राजन खकने झोलाका साथमा आँगनमा उभिन आइपुगे ।
“मैले त चिनिनँ नानीहरूलाई ! आँखा पनि धमिलिए ! परष्ट देख्न छाडें ! को हौ ? ... किन आयौ ? यता खाटतिर बस्न हुन्छ भने बस !” हजुरआमाले भनिन् ।
“घरमा अरु हुनुहुन्न ?” पिनाकीले सोधे ।
“बुहारी घाँस काट्न गकी होली ! एउटा भुइँसी छ थलामा । घाँस नकाटे त्यो भोकै हुन्छ । नपाली पनि नहुने ! अलिकति सेतो नभए गाँस गलाबाट झर्दैन, उता त्यो फोक्टोमा मल नभए तर्कारी हुँदैन !” हजुरआमा गनगनाइन् ।
“अनि छोरा चाहिं ?”
“छोरो त माथ्थि ! ... मबुढीले खाइहालें नि !”
“धत् !ऽ के भन्नुभको हजुरआमाले ?” झोला काँधबाट खोल्दै खत्र्याक्–खुत्रुक् खाटका एकापटि राखेर त्यहीं छेउमा पिंध टेकाए पिनाकी र राजनले ।
“अब के भनूँ त ? साँच्चो कुरा त्यही हो !”
“हजुरआमा ! हामी ‘अरुणोदय टिभि’बाट आएका ! तपाईंसँग अन्तर्वार्ता लिन भनेर । अन्तर्वार्ता दिनुहुन्छ नि ?”
“खोइ मसँग भए त दिन्थें ! म अब डाँडाको जून भएकीलाई के लोभ गर्नुथ्यो र ! अब त म काबु भ’की छु, क्यै लोभ गर्दिनँ । तै, बुहारीसँग छ कि ? अहिले ऊ आएपछि सोधुँला !”
“के सोध्ने भन्नुभाको बुहारीलाई ?”
“अहिले के लिन आका भन्यौ, त्यै नि ! अब आफूसँग भए त नानीहरूलाई जम्मै भएपनि दिन्थें नि !”
“होइन ! तपाईंसँग कुरा गर्ने भनेको पो त !”
“अब म बुढीसँग के कुरा गर्छौ ? न उमेर मिल्छ, न कुरा मिल्छ ! भयो यस्ता ठिटाहरूले त्यो बुहारीसँग पनि कुरा नगर्नू ! बुहारी त झन् रिसाउँछे यस्तो कुरा गर्नेहरूसँग ।”
“हामी त्यस्तो रिसाउने, मन नपर्ने कुरा गर्दैनौं हजुरआमा ! बुहारीसँग कुरा गर्ने पनि होइन । हामी त तपाईंले गरेका–भोगेका दुःख–सुखका कुरा गर्ने पो त ! तपाईंसँगको कुरा टिभिबाट देखाउँछौं पनि । तपाईंहरूको टिभि छ नि ?” पिनाकीले सोधे ।
“छ एउटा, ‘नातिले विदेशबाट पठाको’ भन्दै ल्याएर राखिरछे बुहारीले ! अचेल केके हो केके ! उहिले हामी त रेडियो सुन्न पनि पाउँदैनथ्यौं । अब त हाम्रा पालाको कुरा सप्पै कथा जस्तो भो !”
राजनले दुईवटा ‘ट्रिपोड’मा दुईवटा क्यामेरा मिलाए । घरि यो क्यामेरामा, घरि ऊ क्यामेरामा जाँदै पिनाकी र हजुरआमालाई पालैपालो क्यामेराले ताकेजस्तो पनि गरे । क्यामेराबाट एउटा तारसँगको डल्लो फुकाउँदै लगेर हजुरआमाको कठालाछेउमा अगाडिपटि अल्झाए ।
हजुरआमा त लाटिएझैं त्यो तानाबाना हेरिरहिन् । यो सब के गरिरहेका हुन् ? उनलाई अचम्म लाग्दैथ्यो, अलिअलि डर पनि लाग्दैथ्यो । बुहारीले अस्ति पल्लागाउँकी नब्बे वर्षकी चन्द्र सेर्माकी आमा बोलेको, ती सय वर्षका सन्तरे बिमली बोलेको कुरा गरेकी थिई ।
क्यामेरा मिलाउँदामिलाउँदै घाँसको बिटो टाउकामा बोकेर आइपुगिन् बुहारी । पछाडिपटि घाँस ढ्यास्स राखेर अगाडि आइन् । यस्ता तानाबाना देखेर एक छिन् त छक्क पनि परिन् ।
“एक छिन् पर्खिनू ! म आमाको कपाल कोरिदिन्छु, लुगा फेराउँछु ! यस्तो झत्तैमत्तै देखेर मान्छेले मलाई के भन्छन् ? उहाँ, नानीले देख्यो भने उसले पनि मलाई मार्छ ! हजुरआमा भनेपछि ऊ मलाई त हप्काउँछ ! ‘त्याँ हजुरआमालाई दुख्ख होला नि !’ चेताउनी दिन्छ ।”
अन्तर्वार्ताको लागि सब कुरा तयार भयो । कपाल कोरेर, ब्लाउज र सारी बदलेर आमा बसिन् ।
राजनले क्यामेरा मिलाउने र पिनाकीले प्रश्न सोध्ने भए ।
“ल आमा ! म क्यै कुरा सोध्छु, तपाईंले क्यै धक नमानीकन तपाईंलाई थाहा भएको कुरा भन्नुहोस् ! तपाईंलाई जे थाहा छ, जे सम्झना छ फटाफट भन्नोस् ल !” पिनाकीले भने ।
हजुरआमाले टाउको ‘हुन्छ’को हल्लाइन् ।
“कति वर्षकी हुनुभयो हजुरआमा ?”
“चारबीस चार पुगेर पाँच लागें अस्ति फागुनबाट । खाइयो नि दिन त कति हो कति ! अब बाँच्ने रहर पुग्यो नानी !”
“आफ्नो बिहे गरेको सम्झनुहुन्छ हजुरआमा ?”
“झल्झली सम्झिन्छु । कति सराप्छु आफ्नै बाबुलाई पनि ! बार वर्षको उमेरमा त्यो अद्र्धो, चौबीसवर्षेसँग बिहे गरेर पठाए । ‘ए ! अद्र्धो भएपनि छोराछोरी भएका छैनन्, कन्नेकेटो जतिकै हो, त्यति एक भाइ छोरा हुन् ! छोरी पैल्यै बिहे गरेर पठाइसकेको छ’ भने । ठुला, अग्ला थिए । बाबु जस्तै लाग्थ्यो । नानी ! झल्झली सम्झना छ । डोलीमा हालेर अलि वरसम्म ल्याए । तीनवटा गुन्यू लाइदिएका थिए, ती खोलेर एउटा चोलो र एउटा गुन्यूमात्रै पारिदिए । अनि हिड्न लगाए । त्यो बाटो, त...ल इवाँखोलाको साँघू, उकालो–ओरालो बाटो । सप्पै सम्झना छ नानी ! बरु पछिपछि माइत–घर कतिचोटि आउजाउ गरें, बिर्सिएँ, तर त्यो ब्यौली हुँदाको कुरा चाहिं यीँ आँखैमा छ !”
“दुःख पनि आइप¥यो होला, अप्ठेरो पनि आइप¥यो होला नि हजुरआमा !”
“तिमीहरू अचेलका केटाकेटीलाई त दुःख भनेको के हो के थाहा होला र ! तिमीहरूसँग बोल्दाओर्दा त मलाई, के के ? बोल्नु कि नबोल्नु जस्तो लाग्छ ! नानी ! त्यो नाति केटाले उसका किताबको पाठ पढ्दा ‘खस्रे भ्यागुत्ताको जीऊ कसरी त्यस्तो खस्रे भएको’ भनेर सुनाइरथ्यो, ‘सयौं अरुले चिमोटेर–चिमोटेर त्यस्तो दागैदाग भको’ अरे । त्यस्तै मेरो जीउ पनि लोग्नेले कतिचोटी कुटे, कतिचोटि लुछे, सासूले कतिचोटी कुटिन्, कतिचोटि लुछिन्, त्यही खस्रे भ्यागुत्तो जस्तै भएको छ जस्तो लाग्छ । छिप्पिएको घिरौंलाको जालो देखेका छौ नानीहेर्ले ? त्यो घिरौंलाको जालोमा सुइराले छेडेर नयाँ प्वाल बनाउन सक्छौ ? यो मुटु यदि वचनका वाणहरूले छेडिन्थ्यो भने हेर्दा त्यस्तै, त्यही घिरौंलाको जालोजस्तै भको छ ! तर तिमीहरू के बुझ्छौ ? विचरा ! तिमीहरूलाई वचनवाण भनेको के हो ? के थाहा ?”
“हजुरआमा ! एक–दुईवटा दुःख गरेका कुरा भन्नु त !”
“बार वर्षका उमेरमा चिन्नु–न–जान्नुको त्यो जर्खरिएको लोग्नेमान्छेको स्वास्नी हुनु सम्झ न ! अर्कातिर लोग्ने नभएकी, एउटा टुहुरो छोरो पालेर, त्यो छोरालाई कुसुलेले पुतली हातमा नचाएझैं नचाएर, त्यसको मोइ खाएर हुर्काकी सासूकी बुहारी– बुहारी भनेको त्यो दासी, त्यो कहिल्यै दाम नतिरिने कमारी हुनु सम्झ ! त्यो कमारीलाई भोक लाग्दैन, थकाइ लाग्दैन, जाडो हुँदैन, त्यसलाई ऐयाआत्था हुँदैन भन्ने ठान्ने सासू सम्झ ! ‘छोराले क्यै छुनु हुँदैन ! त्यसले हलो–कोदालो त कुरै छोड, हँसियाको बिंड पनि छुनु हुँदैन !’ भन्ने ठान्ने सासूकी बाँधाबुहारी हुनु सम्झ ! घरमा कमारी छे, सासू बडामहारानी, छोरो राजकुमार ! सम्पत्ति अलवल्य हुँदो हो त यसो लाई–अराई गरेर कसोकसो चलाउँदी हुँ ! लेकको खायलबारी, सेपिलो ठाउँको एक चोक्टो खेत । आफैं दाँतीनङ्ग्री गर्दा कसोकसो हातमुख जोर्न पुग्ला कि जस्तो ! त्यो आफूभन्दा पहिलाकी आइमाई त्यही दुःख, त्यही भुक्तमान खप्ताखप्तै मरी । त्यस्ता चिसामा आधापेट खाएर कुन शरीर टिकीरहन सक्छ ? मरिछे ! अनि त्यो भाम्लो मेरा थाप्लामा परेको रहेछ ! अनि के दुःखको कुरा गर्छौ ? जङ्गलको दाउरो आफैं चिरिन्थ्यो ? आफैं आएर खोल्मामा पस्थ्यो ? तिमरु त अचेल ग्यास देख्छौ नि ! कठैवरा ! के थाहा हाम्रो जिन्दगानी कसरी चलेको थ्यो ? तिमरलाई त पँधेरो भनेको के थाहा ? त्यो घरबाट कति टाढा होला ? कस्ता गाग्रा होलान् ? कसरी घरमा आउँदो हो पानी ? अब तिमरका हात धुने ठाउँमै पानी आउँछ, नुहाउने ठाउँमै, थालबटुका माझ्ने ठाउँमै धारो धररर झर्छ ! त्यस्तो हेरेका तिमरलाई के ? के ? अहिले त सपना भयो जिन्दगी ! सपनासरी भयो जिन्दगानी ! अनि के बुझ्छौ तिमरु हाम्रो दुःख !”
“बिहान भालेको डाकमा नउठ्ता कतिपल्ट सासूले ओछेनमै लोटाले पानी खन्याइन्, कतिपल्ट कपाल लुछिन् ! निन्द्रा पुगुन्जेल सुत्न पाए त कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो ! मैले मनमनै कवोल गरेकी थिएँ– ‘म पछि सासू भएँ भने बुहारीलाई यस्तो कुकुरले नपाउने दुःख दिन्नदिन्न !’ साँच्चै त्यस्तो दुःख दिनु परेन ! खोइ दिदीबैनी जस्तो मिल्दा पनि, आमाछोरीझैं वातमार्दा पनि हुँदोरछ !”
“होइन, यो कहाँको कुरा गर्नुभएको हजुरआमा ?”
“म कहाँकी हुँ ? चालिस वर्षको उमेरसम्म मेरा हड्डी कहाँ भिजे ? त्यही च्याङ्थापुको, पान्थर जिल्लाको कुरा नि ! हामी यहाँ त ३६÷३७ सालमा त आ’का हौं । हामी आ’का साल हो बहुदल र निर्दल चलेको !”
“यहाँ आएपछि त त्यस्तो दुःख परेन होला नि हजुरआमा ?”
“ए, बर्मा गयो कर्म सँगै, नेपाल गयो कपाल सँगै भन्दैनन् ? म घरिघरि सम्झिन्छु । म यहाँ कसरी आएँ ? कसको सहारामा बाँचें ? मैले कसरी आफ्नो छोरो टोकें । यो सबै कथा भन्दा कतिवटा महाभारत बनिन्छन्, कतिवटा रामायण बनिन्छन् ! यदि म कुनै राजाबास्सा भ’की भए मेरो पनि कथा लेखिन्थ्यो होला, किताब बनिन्थ्यो होला ! म एउटी विचरी आइमाई ! तीन पैसा दाम नपर्ने, कुकुर्नी जतिको मान नभकी कमारी आइमाईको दुःख के, सुख के ?”
“कसरी थुक–तेल गरेर जम्मा गरेको हजार–पन्ध्र सय रुप्पे पनि पोको पारेर ‘म मधेसमा एक–डेढ बिघा जग्गा जोर्छु’ भनेर हिंडेका यस्का ससुराले पल्ला गाउँकी एउटी आइमाई लिएर मधेसतिर झरेछन् ! अब भन त ! मेरा थाप्लामा कस्तो बज्र प¥यो ? ‘छोराले कस्की स्वास्नी लिएर हिंडे’, उता सासू त मलाई नै कराउँछिन्, मलाई नै सराप्छिन् । उनले पुल्पुल्याएर उचालिपुइँयाँ पारेकालाई ‘मैले ऐंच्याइनँ’ अरे ! चार वटा लडिका थिए घरमा । खेत रुखिएर उब्जाउ त घटेको थियोथियो, त्यो ऊ हिंडेका साल असिनाले मङ्सिरमै पाकेको धान पनि सब खेतको खेतमै भयो । चारचार वटा छोराछोरी, सासू र आफूसमेत ६ जनाको पेट पाल्नु मेरा दुई पाखुरालाई कस्तो प¥यो ?”
“त्यसको अर्को साल होला जग्गा–जमिन त्यतिकै छाडेर ती छोराछोरी र सासूलाई अगाडि लाएर म पनि आएँ यहाँ । लोग्नेलाई जिम्मा लगाउने सोचेकी थिएँ, अलिक हलुङ होला कि ठानेकी थिएँ । तर केको हलुङ हुनु ?”
“उनले डेढ बिघा जग्गा अधियाँ कमाउन कुरा गरिदिए छन् । बेग्लै झुप्रो बारेर बस्न थाल्यौं छोराछोरी र म । सासूआमै त मेरैतिर लिसो लागिन् । पाखुरा बजाएर खाए खाइयो, नभए भोकै भन्ने त बुझियो नै । यो मधेसका घाममा असार–साउनको हिलोकादो ! आएका साल त तावाबाट फालहान्दा भुङ्ग्रामा परे जस्तै भयो । केटाकेटीका न आफ्ना खुट्टा हिलाले कुहिएर ! बाफ रे ! त्यो लोग्ने भनाउँदो सौतेनी पोइले केसम्म गरेन ? त्यल्लाई त उँधो बगाएर उँभो खोज्न हिन्नु जस्तै पारेको नि ! अलिक राम्रो गरेर मज्जले धान फलाएका थियौं त्यो डेढ बिघामा । अर्कासाल त, ‘लु, यिनले मोहीयानी लाउने कुरा पो गरे !” भनेर त्यो जग्गाधनीबाट खेत खोसाए पो !”
के–के भोगेंभोगें नि नानी, दुःखका कुरा ! त्यतिबेलासम्म सरकारपटि फर्केर कराउन जानेको पनि थिएन । हारगुहार गर्न जानेको पनि थिएन । आफ्नै थाप्लालाई दोष दिने, आफ्नै पुर्पुरालाई ठोक्ने, बस्ने ! थुक्क बुद्धि ! एक दिन त अझ, त्यो पर्तिर ठुलो होली छ नि ? हो त्यहीं फाल हानेर मर्नु परो भनेर के गरें थाहा छ ? आँखा हेरीहेरी फालहान्न सकिंदैन भनेर पटुकाले मुखबाट नाक, आँखा ठ्याप्प बाँधें र ‘अब वामे सर्दैसर्दै गएर झर्छु त्यहीं’ भनेर बाँधिसकेकी मात्र थिएँ, त्यो छोरो ‘ह्वाँ..आँ..आँ...’ रोएको कानमा प¥यो । आमाको मन कति कफल्लो हुँदोरछ ? दुबै हातले त्यो पटुकाको मखुण्डो ख्वाप्पै खोलेंछु । फर्किएर घर आएँ । घरमा आएर छोराछोरी देखेपछि पो भक्कानो फुट्यो ।”
हजुरआमा बोल्दै हुनुहुन्थ्यो । एउटा कुखुराको पोथी चर्दै आएर उहाँका छेउमा पितिक्क पा¥यो । उहाँले त दाहिने हातका पाँचै औंलाले टपक्क टिपेर पछाडितिर फ्याँक्नुभो र भित्र फर्किएर– “ए प्रतिमा ! पानी दे–दे ! हात धुन्छु !” भन्नुभो ।
“आच्चिइ..इ..ई ! घिन लाग्दैन हजुरआमा ?” पिनाकीले सोधे ।
“यो त पैसा हो नानी, यो अन्न हो ! यी कुखुरा त हाम्रा दुहुना गाईवस्तु हुन् । मैले अघि नै भनें नि ! दुःख के हो, नानीहरूलाई थाहै छैन ! गरिबको जिन्दगानी कस्तो हुन्छ छेउछन्द नानीहरूलाई थाहा छैन !”
“साँच्ची ! अघि तपाईंले ‘छोरो त मबुढीले खाइहालें नि !’ भन्नुभयो । के भनेको त्यो ?” पिनाकीले अर्को प्रश्न गरे ।
“म कथा भन्दै थिएँ, यो हामी बसेको ठाउँको अझै धनीपूर्जा आको छैन । यो सम्झिँदा त ती सोर–सत्र हजार मान्छे मार्नेहरुले अझै मारिसकेनछन् ! मार्नुपर्ने अझै धेरै छन् जस्तो लाग्छ !” हजुरआमाले यताउति हेरिन् । भन्न हिच्किचाइन् ।
“भन्नू न भन्नू, हजुरआमा !”
“खोइ भन्न हुने र भन्न नहुने पनि पो छुट्याउन सक्तिनँ त !”
“क्यै हुँदैन ! भको कुरा भन्नू न !”
“हामी १५÷२० घर बसेका छौं यहाँ, सबै ओइलेनी जग्गामा बसेका हौं । कोही काङ्ग्रेस, कोही राप्रपा, कोही कम्निस्ट भए यहाँ । हाम्रो नानी पनि कम्निस्टलाई भोट हाल्ने भयो । ४०÷४१ सालदेखि सधैं बसिआएका हामी कसैले १ कठ्ठामा, कसैले डेढ, कसैले दुई कठ्ठामा घर बनाएका छौं । कतिपल्ट सुकुम्वासी आयोग आयो । कम्निस्टको पनि आयो, काङ्ग्रेसको पनि आयो । जस्को आए पनि पैसा खाने मात्रै आए । हाम्रो नानी पैसा खुवाउन नमान्ने ! एक पल्ट कम्निस्टको आयोग आयो, त्यसको मान्छे आएर नानीलाई भनेछ– “अमृत ! कठ्ठाको पाँच हजारका दरले पैसा मिलाई दिनू ! धनीपूर्जा बनिन्छ !’”
हाम्रो नानीलाई पनि सास थुनिराखेको बेला थियो त्यो । धनीपूर्जा भए बैंकमा राखेर केके गर्न पाइन्थ्यो भन्ने कुरा पनि गथ्र्यो । पैसा दिनुपर्दा मेरा यी कानका माडवारी र बुलाकी बेच्नुपथ्र्यो ।
“बसिएकै छ । अब पैसा ख्वाईख्वाई के बित्या छ त ?” मैले भनें । घुस ख्वाउने कुराको त ऊ पनि बिरोधै गथ्र्यो । ऊ अप्ठेरामा परेछ । पल्लाघरे, अझ पल्लाघरेहरूले पैसा ख्वाए, धनीपूर्जा ल्याए । आफूले हस्रक्क पर्नुप¥यो । यस्तो देखीदेखी फट्याइँ भयो है नानी ! यो सरकारमा बस्नेहरूका घुस्याहा कारणले र मेरो अलिकति कानका माडवारीको अलिकति लोभले गर्दा नानीको त अब शिरै ढलेजस्तो भयो । अलिक ढिलो गरेर घरमा आउन थाल्यो, झर्कोफर्को गर्न थाल्यो । हेर्नु त उसले त आफैंलाई फा ..आ..ल्यो ! अनि मैले थपक्क माडवारी र बुलाकी खोलेर दिएकी भए ! छोरो पनि हुन्थ्यो, धनीपूूर्जा पनि हुन्थ्यो भन्ने लाग्छ मलाई ।”
“सरकारमा बसेका कसाही बजिया–बजिनीका कुरा त के गर्नु ? नानी, अनि मैले नै खाएँ नि आफ्नो छोरो ! हो कि होइन भन्नू त ?”
“अहिले धनीपूर्जा बनियो हजुरआमा ?”
“केको बनिनु ? अब त झन्, यो दुई कठ्ठा पनि नदिने, कठ्ठाको पन्ध्र–बिस हजार तिर्नुपर्ने नियम पो बनाउँदै छन् अरे ! अब उहाँ पर्धानमन्त्रीका दरवार वरिपरिका जग्गा चाहिं नेताहरू आफ्नो पार्दैछन् भन्छन् । अरब र खरब भष्टाचारका कुरा गर्छन् । यहाँ यस्सो मुख लुकाउने ठाउँ नभका हामीजस्ता गरिबसँग प्यादा लगाई–लगाईकन पैसा दुहुन्छन् ! हेर्नू त !” हजुरआमाले कोक्याउने दुःखेसो पोखिन् ।
राजन घडी हेर्दै, समयको जनाउ गर्दै थिए, यता पिनाकी कुरा टुङ्ग्याउन खोज्दै थिए ।
“अनि नि हजुरआमा, पहिला तपाईंहरुको पालाको चलन र अचेलको चलनमा के फरक पाउनुभएको छ ?” पिनाकीले सोधे ।
हजुरआमाले कुरा बुझेझैं गर्दै उत्तरा गरिन्– “त्यतिबेला र अचेलका कुरा त क्यै नै मिल्दैन नि नानी ! अब त्यतिबेला ‘बाहिर बस्न जाने’ भनेको, ‘जङ्गल जाने’ भनेको विचार गर न ! अचेल त भित्री कोठामा जाने कुरा हुन्छ । त्यतिबेला भात पकाउनु कस्तो थियो ! लुगा धुनु कस्तो थियो ! साबुनले लुगा धुने कुरा त सपनाको कुरा ! अब के भनिसाध्य छ र ! अझ मुख्य कुरा भन्नुप¥यो भने हाम्रा पालामा ‘कुट–नीति’ थियो, बाबुले छोराछोरीलाई ‘कुट–नीति’, लोग्नेले स्वास्नीलाई ‘कुट–नीति’, सासूले बुहारीलाई ‘कुट–नीति’, गुरुले बिद्यार्थीलाई ‘कुट–नीति’, मुखियाले जन्तालाई ‘कुट–नीति’, पुलिसले गाउँले ‘कुट–नीति’, जेमा पनि ‘कुट–नीति’ । अचेल त ‘मोइ–नीति’ छ । लोग्नेले स्वास्नीलाई मोइ–खाने–नीति, बाबुले छोराछोरीलाई मोइ खाने, सासूले बुहारीलाई पनि मोइ–नीति नै आइसक्न लाग्यो । सरले विद्यार्थीलाई ‘कुट–नीति’ गर्न सक्छन् अचेल ? पुलिसले गाउँले ‘कुट–नीति’ पनि सेलाउँदै छ । अनि ? कति बेग्लै भयोभयो नि !”
“तपाईंको अबको इच्छा क्यै छ हजुरआमा ! भन्न सक्नुहुन्छ ?”
“अब तिनै नातिलाई विदेश पठाउनु नपरेको भए हुन्थ्यो नि ! आफ्ना मुटुका टुव्रmा विदेश हुँदा कस्तो पिर हुन्छ ? कतिका केके सुनिन्छ ! बाकसमा ल्याए अरे भन्छन् ! सम्झिँदै आङ जुरुङ्ग गर्छ नानी । दैवका कानाँ नपरोस् ! अब ‘नातिखाने’ हुनु नपरोस् ! त्यही हो !”
“ल हजुरआमा ! आज धेरै कुरा गर्न पाइयो ! तपाईंसँग एक घण्टाले समय नै पुगेन ! तपाईंसँग कुराकानी गर्न फेरि पनि आउँछौं । भोलि बिहीवार बेलुका ९ बजे हाम्रो ‘अरुणोदय टिभि’ हेर्नुहोला है !”
“खोइ नानी ! बेलुका छिट्टै निद्राले छोप्छ । भरिसक्ये आफूले केके बोलियो ? कस्तो बोलियो ? हेर्ने इच्छा त कतिकति छ !” हजुरआमाले भन्नुभयो ।
राजनले क्यामेराहरु मिलाएर झोलामा हाले । ट्रिपोडहरु सुलुक्क–सुलुक्क पार्दै छोटो पारेर झोलामै हाले । ट्रिपोडका लामा खुट्टालाई शङ्खेकीराका सिङ जस्तो गरी सुलुक–सुलुक भित्र्याएको हेरिन् हजुरआमाले । फटाफट त्यति काम गरेर उठ्न लागेका बेला बुहारीले तीन वटा गिलासमा दूध ल्याइन् । सासूआमा र ती दुबै जनालाई दिइन् ।
“अहो ! दूध त यस्तो पो हुन्छ त ! हामी त दूधका नाममा के किनेर खान्छौंखान्छौं नि राजनजी !” पिनाकीले दूधको प्रशंसा गर्दै पिए ।
राजन र पिनाकी दूध पिईसकेपछि विदा भए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु