आस्थाको अम्मलमा भानुदेखि भीमसम्म

- प्रा. डा. कपिल लामिछाने

जीवन आफैँमा एउटा यात्रा हो । मनोरञ्जन, धनार्जन, ज्ञानार्जन र धर्मार्जन गर्ने तथा नयाँनयाँ ठाउँ देख्ने–घुम्ने उद्देश्यले यात्रा गर्ने गरिन्छ । यस्तै, सांस्कृतिक अनुष्ठान तथा साहित्यिक कार्यक्रमका सन्दर्भमा पनि यात्रा भइआएको छ । साहित्यिक मन र जाँगर हुनेहरूले त्यस्ता यात्राका विषय र तथ्यलाई वैयक्तिक अनुभूति मिसाएर जब कलात्मक गद्य भाषामा प्रस्तुत गर्दछन्, तब त्यो नियात्रा कहलाउँछन् । नियात्रा निबन्ध विधाको एउटा भेद–प्रभेद हो ।
भीम खतिवडाको आस्थाको अम्मल यस्तै एक नियात्रा कृति हो । २०२७ चैत्र २८ गते झापाको बुधबारेमा जन्मेका संस्कृतमा साहित्याचार्य र नेपालीमा नातकोत्तर (एम्.ए.) गरी सानै उमेर (३९ वर्ष) मा विद्यावारिधि (पीएच.डी.) गरेका भीम खतिवडा एक प्रतिभाशाली साहित्य स्रष्टा हुन् । सानो उमेरमै आठवटा सिर्जनात्मक कृति प्रकाशन हुनु भनेकै विशिष्ट प्रतिभाको पहिलो कसी हो । यस कसीमा उनी अब्बल ठहर्दछन् ।
बिजुली हुलाकबाट प्राप्त उनको प्रस्तुत आस्थाको अम्मल कृति एउटा उच्च कोटिको नियात्रा कृतिका रूपमा देखा परेको छ । यो कृति आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोहका अवसरसित सम्बद्ध छ । यो खासगरी २०७१ जेठ २३ देखि २६ सम्म कोसी अञ्चल तथा असार १३ देखि १६ गतेसम्म मेची अञ्चलका विभिन्न गाउँठाउँमा आयोजना गरिएको भानुजयन्ती समारोहमा सामूहिक रूपमा गरिएको साहित्यिक यात्रा तथा यात्रा सम्बद्ध स्मरणहरूलाई लिपिबद्ध गर्ने क्रममा जन्मेको हो । यात्राको मुख्य उद्देश्य भानुभक्तप्रतिको आस्था र श्रद्धा हो ।
यस कृतिमा जम्मा ३२ नियात्रा छन्, जसलाई दुई खण्डमा प्रस्तुत गरिएको छ । सुरुका १४ नियात्रालाई ‘समयको सर्वत’ र बाँकी १८ नियात्रालाई ‘पछ्याउँदै भानुका पदचापहरू’ खण्डशीर्षक दिइएको छ । नियात्राहरूको सङ्ग्रहलाई खण्डशीर्षकमा प्रस्तुत गर्नु खतिवडाको नौलो पारा हो ।
‘समयको सर्वत’ खण्डका १४ नियात्रामा धरानबाट धनकुटा हुँदै दिङ्ला, खाँदबारी र चैनपुर आदि स्थानमा दुई सयौँ भानु जयन्ती मनाउन जाँदाका रोमाञ्चक स्मरण प्रस्तुत गरिएको छ । यस क्रममा साहित्य (कविता) ले सेना, प्रहरी, कर्मचारी, शिक्षक र योद्धाहरूलाई पनि जोडेको देखाइएको छ । यहाँ हिजोका योद्धाहरूले आज कविता सुन्न थालेको, हिजो ध्वंसमा लागेकाहरू पनि अब विकासमा लागेको, कतिपय पहाडी पथको अवस्था जर्जर रहेको, विगतमा सामाजिक शैक्षिक विकासमा बालागुरु षडानन्द र योगमायाको उल्लेख्य योगदान रहेको, पञ्चायत कालमा झापा लगायतका ठाउँमा वनविनाश भएको, मद्यपान गर्ने नेपाली आदत, मोबाइलले किशोर–किशोरीमा परेको पुष्प्रभाव जस्ता विषयवस्तु प्रस्तुत गरिएको छ । यस्तै लोकगायक खेम गुरुङको स्मरण गर्दै भानुजयन्तीका अवसरमा भएको प्रभातफेरी, भानु प्रतिमा अनावरण र कविगोष्ठीको वर्णन गरिएको छ भने ‘जनमुखी साहित्यको सन्दर्भमा’ शीर्षकको कार्यपत्र प्रस्तुत गरिएको उल्लेख छ । यस्तै यहाँ भोटको सस्तो राजनीतिले गर्दा वर्गीय मुद्दा छाडेर जातीय मुद्दामा लागेका दल र नेतृत्वप्रति व्यङ्ग्य गरिएको छ भने दिङ्ला, चैनपुर, खाँदबारी जस्ता स्थानको स्थानिक वैशिष्ट्यको पहिचान र उल्लेख छ । यस क्रममा यहाँ लेखकले आफ्ना र आफ्ना सहयात्रीका बानीबेहोरा, अनुभूति, व्यवहार आदिलाई पनि सूक्ष्म रूपमा छ्वास्स–छ्वास्स प्रस्तुत गरेका छन् ।
टङ्क न्यौपानेको नेतृत्वमा यहाँ भीम खतिवडा, विवश पोखरेल, मधु पोखरेल, गण्डकीपुत्र, रमेश भट्टराई, प्रयाग न्यौपाने, दिङ्लाली कान्छो, सागर सुवेदी र एकु घिमिरे सहभागी छन् । ताराबहादुर बुढाथोकी, विष्णुमाया गुरुङ, राजेन्द्र सर्वहारा आदि त्यहीँका कविलेखक रहेका छन् । लेखकले स्थानीय लेखकको खुलेर प्रशंसा गरेका छन् । यहाँ टङ्क सरलाई ‘ट्याङ्की सर’का रूपमा पो उभ्याउन खोजिएको छ ।
पछ्याउँदै भानुका पदचापहरू’ शीर्षकको दोस्रो खण्डमा १८ नियात्राहरू रहेका छन् । यहाँ २०७१ असार १३ देखि विर्तामोडबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङको यात्राको अनुभूति प्रस्तुति गरिएको छ । भवानी क्षेत्रीको नेतृत्वमा भीम खतिवडा, गण्डकीपुत्र, कृष्ण सुवेदी निराकार, टङ्क काफ्ले विकल्प, बाला भट्टराईहरू यात्रा टोलीमा रहेका छन् । अन्य तमाम त्यहीँका स्थानीय कविलेखक पनि रहेका छन् ।
यस खण्डमा फिदिम, फुङलिङ जस्ता स्थानमा दुई सयौँ भानुजयन्ती मनाउन जाँदाका रोमाञ्चक–विचारोत्तेजक स्मरण प्रस्तुत गरिएको छ । यस क्रममा यहाँ भानुका नाममा रक्तदान, प्रभातफेरी, काव्यगोष्ठी, भानुमार्गको घोषणा जस्ता कार्यक्रमको वर्णन–विवरण र तत्सम्बन्धी सूक्ष्म अनुभूतिहरू प्रस्तुत गरिएको छ । ठाउँठाउँमा भानुभक्त आचार्यका काव्यप्रवृत्तिको प्रशंसा, त्यस भेकका राजनेता र सामाजिक अगुवाको चिन्तनको पुट पनि रहेको छ । यसै क्रममा म्यानपावर कम्पनीको ठगीधन्दा, मानव बेचबिखन, तस्करी, ठगी, लाइन होटलका व्यवहार आदिलाई पनि छ्वास्सछुस्स प्रस्तुत गरिएको छ । यस्तै, टोली नेता भवानी क्षेत्रीप्रति श्रद्धाभाव र मातृभाव प्रकट गरिएको छ । फिदिमको तमोर भ्याली होलेट तथा फुङलिङ बजारको जरा होटलको काव्यगोष्ठीबाट लेखक रोमाञ्चित भएका छन् । कविता काठमाडौँलाई मात गर्ने रहेको उनको अनुभूति छ । ठाउँठाउँमा रोमाञ्चक स्थानिक प्रकृति र संस्कृतिको काव्यिक चित्रण पनि छ ।
व्यक्ति भीम खतिवडा सोझो होलान्, तर लेखक खतिवडाको लेखाइ सोझो छैन । उएटै नियात्रा ‘रत्न वान्तवा, विष्णु नवीन र भानुभक्तहरूको मनमोज’बाट केही उदाहरण–
क) दुनियाँ शब्दबिम्वमा उनेर कलाले संसार ब्युँझाउने चेतनाका भाले विष्णु नवीनलाई उनकै विचारका चार–टाउकेले सलाम गरे । होटलमा बिसाएर पोका पत्यौरा, नवीन–बगैंचामा बाला, भवानी, गण्डकी, लक्ष्मी र बिर्केटोपीहरूको केही बेरको झल्याक–झुलुक, फ¥याक–फुरुक निराकार र विकल्पको वैकल्पिक विचारको प्रभावले टुहुरो बन्यो ।
ख) मन्त्र क्या मन्त्र ! कुराको चुरो बुझ्नू, चूपो लाग्नु । देख्नुभो पोथी बासे’छि गामका गाम, धुरीका धुरी भत्किए नि सदाचार, सद्व्यवहार, मैत्री, गाई, देवता, सनातन राजा, हिन्दुधर्म, पूजापाठ, मेरो भक्ति नमोनमः –कठै ! घाम चर्के’सि मरुवा रुखबाट घाँसको आशा ग¥यौ नि, मेरो लैनो गाई, ज्या है !!
ग) मनको आँखा बिझाउने मभित्रको गाईको बा–सिद्धान्त बाँचेको पाखण्डवेद पनि हारेको कल्पनाको पूर्णविरामले बोल्यो –जातीय अहङ्कारवाद स्वाहा !!
घ) आखिर हामीले कुम्लो उठाउनै प¥यो इलामबाट । आँखाको रमाइलो र गाथको शैथिल्य मिलेर बसे साँगुरा आसनमा । गण्डकीमा एक रात इलाममै बस्ने, नझर्ने तर्कको छाल आयो । बिर्केटोपी र माँ भगवतीको स्वस्ती–शान्तिले तरङ्ग शान्त बन्यो । कर्कलाको पानी रै’छ जिन्दगानी, सम्झिँदै पोखिने, सम्झिँदै गुड्किने कत्ति कमलो कत्ति चञ्चल !
ङ) ससानो श्वेतसदन, ससाना आसन–बसन र ससाना सपना हाम्रा बनावटी दाँतजस्तै मिलेका तर कृत्रिम पाराले । जबर्जस्ती पनि रमाइलो हुँदोरहेछ नि गण्डकीजी ! बन्धुको बल होइन, छल होइन, साझा मति चल मात्रै थियो । सजल बनाएर नेत्र हर्पल कहाँ चल्छ मान्छे –दुःखले, बरु नयन–पानी हर्षमा’नि उम्रन्छ क्या !
उदाहरण भन्छन्– उनी वक्रोक्तिमा रमाएका छन् । उनको लेखाइले कतै भैरव अर्याल त कतै देवकोटाकोे सम्झना गराउँछन् । कतै केशव पिंडाली त कतै ताना शर्मा र कतै शङ्कर लामिछाने अथ्र्याउँछन् । तसर्थ व्यक्ति भीम खतिवडा सोझो भए पनि उनको लेखाइ सोझो देखिँदैन ।
साहित्यमा रूप प्रमुख कि वस्तु प्रमुख भनी सदियौँदेखि लेखकहरू बित्थामा बाझ्दै आएका छन् । वस्तु मात्र साहित्य हुने भए यत्रतत्र सर्वत्र वस्तु नै वस्तु छन् । त्यो साहित्य किन भएन ? वस्तुतः त्यही वस्तुले जब निश्चित रूप प्राप्त गर्दछ अनि बल्ल पो त्यो साहित्यको कोटिमा पर्न आउँछ । वस्तु र रूपको समन्वित स्वरूप नै त साहित्य हो ।
भीम खतिवडा यही ठाउँमा उभिएका छन् । यहाँ उनले नियात्राका नाममा जाँदा–आउँदाका स्थाननाम, सहभागी र घटनाको सोझो सपाट वर्णन–विवरण प्रस्तुत गरेका छैनन् । त्यसो गरेका भए त्यो कि त यात्राको डायरी टिपोट हुन्थ्यो या बढीमा यात्रावृत्तान्त हुन्थ्यो । खतिवडाको कलम नियात्रा खोज्दै छ । नियात्रा रोज्दै छ । त्यसैले उनले यहाँ यात्रा र यात्राका संस्मरणलाई स्वच्छन्दताका साथ निजात्मक अनुभूतिका चास्नीमा चोबलेर मीठो परिकारका रूपमा पस्केका छन् । अनि बल्ल यी नियात्रा उच्च कोटिका नियात्रा बन्न गएका छन् ।
उनमा अनुभव, तथ्य र ज्ञानको पौल छ, तर मौका प¥यो भन्दैमा यहाँ पाण्डित्य प्रदर्शन गरेका छैनन् । तथ्य जोतेका छैनन् । आलङ्कारिक, साङ्केतिक, काव्यात्मक तथा प्रवाहमय भाषा तथा छोटोछरितो शैलीले गर्दा यी नियात्रा पोटिला र चोटिला बन्न गएका छन् । यसले गर्दा भीम खतिवडाले नियात्रामा वस्तु र रूपको सुन्दर सन्तुलन कायम गरेको देखिन आउँछ ।
उखान र टुक्काले भनाइलाई पुष्टि गर्दछन् भने भाषालाई मीठो बनाउँछन् । यहाँ ठाउँठाउँमा यही उद्देश्य परिपूर्ति गर्ने हेतुले उखान र टुक्काको प्रयोग गरिएको छ । जस्तै ः जसो जसो बाहुन बाजे उसो उसो स्वाहा ! अर्थ न बर्थ गोविन्द गाई ...टाउकामा लाउने दबाइ नाइटोतिर लाई ! भ्यागुत्ताको उखान आदि ।
नियात्राको माध्यम मुख्यतया गद्य भाषा हो । भीमको भाषा पनि गद्य नै छ । फेरि पनि भीमलाई भाषामा भएका शब्द अपुग हुन्छन् । आफ्ना भाव र अनुभूति व्यक्त गर्न शब्द नपुगेर देवकोटाले स्वयम् शब्द बनाई प्रयोग गरेका थिए । स्रष्टा खतिवडाले आफ्ना यी नियात्रामा शब्द निर्माणको नयाँनयाँ चातुरी देखाएका छन् । जस्तै – कलामन, गुडीगोष्ठी, तुवाँली धुस्सा, होटला, गाडीकला, कविते लोली, मरणल, पानी गेडी पुन्टे गाग्री, झोलवती बोत्तला देवी, खाइगोष्ठी, जडी नेता, बहुभोजी, भुँडीकान्त, चूपदेवी, चूपीकान्त, चल्ली, बितौजी, पावरजुस, गुडीयान, छोडीपथ, छाप्रीकान्ते महल, सिराने सिद्धान्त, ओरालीकान्ते, माउगाडी, काँसफुले टाउको, फित्ते चप्पल, सेतीडल्ले पीठो, बिजुलीवन्ते खोलो, हसुरी साहित्य, नेतो, हँसीयोग, हिमाल शिरे, गुडीग्रह, सत्र फेले आदि । यस्ता शब्द तत्तत् सन्दर्भमा बोध्य छन् । यस्ता शब्द खोज्दै र जोड्दै जाने हो भने ‘भीम कोश’ पो बनाउनु पर्ला ।
उनले भाषालाई खेलाएका छन् । नचाएका छन् । मान्छे नाचेको राम्रो भाषा पनि नाचेको राम्रो । टङ्क सरको लु राम्रो रिङ टोन भन्नु, आफैँले बनाएका जुराएका शब्दको प्रयोग गर्नु, उखानको प्रयोगका साथै ठाउँठाउँमा कथ्यरूपको प्रयोगले भीमको भाषा आफ्नै खाले काव्य भाषा भएको छ । क्रिया नभई वाक्य बन्दैन भनी जिन्दगीभर पढाउने मान्छे यहाँ क्रियाहीन वाक्य देखेर जिल्ल !
भीममा बिम्बको प्रचुरता छ । यहाँ मुक्तकको भुङ्ग्रो, सत्ताका ढोड, सत्ताका घोडसबारहरू, निर्मला बाला, तुवाँली धुस्सा जस्ता बिम्ब बग्रेल्ती छन् । यस्तो पाइन छ उनमा ।
काव्यको शोभा अलङ्कार पनि हो । काव्य वा साहित्यमा साइत गर्नेले पहिलो पाइलो अलङ्कार नै खोज्छ र रोज्छ । यमक, रूपक, दीपक, दृष्टान्तादिमा पछि पुग्छ । भीमको गद्य काव्यमा अलङ्कार त्यसै लडिबुडी गर्न आइपुगेको छ । खासगरी अनुप्रास । केही उदाहरण :
क) नाति पुस्ताकी प्रतिनिधि भएर बोलिन् तिनी, – ‘पड्काउने, मर्काउने, थर्काउने, धर्काउने, चर्काउने र तर्काउने मान्छे हुन् क्रान्तिकारी भन्या ।
‘क्रान्तिकारीका आँगनमा छिचिमिराको परेड’

ख) दलको दलदले दुर्गन्धले हामीलाई संस्कृतको जीवनबोधी चिन्तनका स्थानमा राजनीतिका नक्कली कुसुलेका सस्ता गाना र रबर–नर्तनबाहेक केही दिएन आजसम्मन् ।
‘क्रान्तिकारीका आँगनमा छिचिमिराको परेड’

ग) घाम लाग्यो बोर भो –पिऊँ पिऊँ लाग्ने, पानी प¥यो बोर भो –दिऊँ दिऊँ लाग्ने, कुहिरो लाग्यो –जिऊँ जिऊँ लाग्ने । अहो, बोत्तलको पानी मिनरलको कुरा होइन मरणलको पो त !
बोतलको पानी : मृत्युको कहानी’

घ) सार्वजनिक हुनु भनेको बोत्तलभन्दा होचो हुनु हो भन्ने वमन–कृत्यका भुक्तभोगीहरू टाइसुटमा देखापर्छन्, भित्र इस्टकोटको गोजीमा एउटा सिसी भोड्काको चट्ट भित्री कोट पो त जन्तरे !
‘बोतलको पानी : मृत्युको कहानी’

ङ) बूढापाका भाका न्यौपाने बाका हामी पछि लाका पनि हौं । बा ता अघिअघि गए, गए, गए, छेलिए, तेर्सिए, कोर्सिए । बूढा एक्लै हान्निए भन्ने अनुभव भएरै होला सागर सर पनि कुम जोर्न पुग्नु भाकै हो । दुबै भाइ पोथ्रापोथ्रीमा छाया पर्दै झर्दै हाम्रा नजरबाटै हराए हराए पो भए । ‘रड्डी सप्पै रड्डी !’

नियात्रा गद्य साहित्यको प्रभेद भनेर बुझिन्छ, तर यहाँ गीत र कविताको सम्मिश्रण छ । पाठ्य विधा भन्यो, यहाँ त संवादको प्रयोगले गर्दा नाटकीयता पनि थपिएको छ । यहीँ यात्रा, यहीँ कविता गीत, यहीँ नाट्ययात्रा । भीमको भाम जीत ।

अन्तमा, यहाँ भानुभक्त र अन्य कवि लेखकप्रति श्रद्धाभाव छ । भानुको कीर्तन गर्न पाएकोमा, सुन्दर पर्वतीय यात्रा गर्न पाएकोमा, टङ्क र भवानीको नेतृत्वमा काव्ययात्रा गर्न पाएकोमा तथा आफ्नो पुख्र्यौली थलोमा पुग्न पाएकोमा लेखक फुलेल देखिन्छन् । यहाँ लोकभाका र सांस्कृतिक साहचर्य चेतना छ । विकास–निर्माणका कमजोरी, व्यक्तिका गलत बानीबेहोराप्रति व्यङ्ग्य छ । आधुनिकतम प्रविधिले नयाँ पुस्तामा पारेको प्रभावप्रति चिन्ता व्यक्त भएको छ । पहाडी प्रकृति र संस्कृतिप्रति आस्था छ । रत्नकुमार वान्तवा, विष्णु नवीन आदि सहिदप्रति सच्चा श्रद्धाञ्जली छ । अनि सबैतिर गद्यसाहित्यको भेद–प्रभेद मानिने नियात्रामा जताततै कवितात्मकता छ । उनी खोलाका बगरमा द्यौता फलेकोे देख्छन् र लोकगीतझैँ सहजभावमा बुर्कुसी मार्छन् । धेरै लेखकमध्ये केही लेखकमा विशेष प्रतिभा हुन्छ र खास किसिमको भाषिक कौशल पनि हुन्छ । त्यस्तै एक लेखक देखिन्छन् भीम खतिवडा ।
उनको विचार सन्तुलित छ । रुढिवाद र उग्रवादका दुई किनार वा बगरका बीचमा उनको सन्तुलित विचार–सरिता सललल्ल बगेको छ । उनका लेखाइले भैरव अर्याल, देवकोटा, केशव पिंडाली, ताना शर्मा र शङ्कर लामिछाने समेतको झल्को दिन्छन् ।
यहाँ भानुदेखि भीमसम्मका लेखकहरू झुल्किएका र व्यक्तिएका छन् । यी नियात्राको मूल विषयसूत्र भानुभक्त भए पनि त्यो त्यान्द्रो बीचबीचमा झन्डै चँुडिने अवस्थाबाट बच्दै अन्तसम्म पुगेको छ । भानुसूत्रमा बहुरङ्गी बत्तीस फूलको एक सुन्दर वरमाला बनेको छ यो आस्थाको अमल । यहाँ भानुदेखि भीमसम्मका आस्थाका अम्मलीहरूको अनुहारका भिल्काझिल्की देख्न पाइन्छ । यस्तो अम्मल उनलाई लागिरहोस् । आस्थाका अम्मलीलाई सलाम !
---

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु