आत्मघातीका आँखा

- श्रीओम श्रेष्ठ रोदन

मानिस जन्मनुको अर्थ बाँच्ने दिनहरुका लागि हो कि मर्ने दिनको प्रतीक्षाका लागि पनि हो ? यो सजिलो उत्तरको गाँठो परेको प्रश्न जस्तो लाग्छ मलाई ।
अचम्म लाग्छ यस्तो फुस्काउन नमिल्ने गाँठोमा किन बेलाबेलामा खिइरहन्छु म ?
नमिल्ने साँचोले मिलेको ताल्चा खोल्न किन खोजिरहन्छु म ?
पुग्दै नपुग्ने ठाउँमा बारम्बार किन बाटो खोजिरहेको छु म ?
खसाल्दै नखसालेको चिठीको जवाफी खामलाई किन कुरिरहेको छु म ?
नआउने पत्र,नपुग्ने गन्तव्य ,नखोलिने खापा र नबनेको गाँठोमा अलमलेर कतै मैले आफैले आफूलाई हेर्ने ध्यान पो खोजिरहेको हुँ कि ? यसमा पनि प्रष्ट हुनसकेको छैन म ।
यद्धपि मभित्रका प्रश्नहरुले मलाई घचघचाइरहन्छन् ।
के मान्छेको जीवन भनेको बालुवामा बनाएको मूर्ति हो ?
थाहा छ । होइन र हुनै सक्दैन भनेरु पनि ।
मूर्ति त पानीलाई रङ्ग्याएर पनि बनाएका छन् । उज्यालो हुन्जेलको मूर्ति ,फाउन्टेन लाइटका । मूर्ति त पग्लिने मैनका पनि छन् । नपग्लिने ढलौट र ढुङ्गाका पनि छन् । पग्लेर पानी नै बन्ने हिउँ र बरफका मूर्ति पनि छन् । धेरै परिश्रम लगाएर थोरै समयका लागि पनि बनाइरहेका छन् मूर्तिहरु । यस्ता क्षणिकका लागि किन रमाइरहेका छन् कलाकारहरु । सबैलाई थाह छ मान्छेले मूर्ति बनाउने हो ,मूर्तिले मान्छे बनाउने होइन । त्यसैले फेरि भन्छु मान्छे मूर्ति होइन र बन्न खोज्नु पनि हुँदैन । तर बनिरहेका र बनाइरहेका छन् हो जस्तै गरी ।
रहस्यको भारी बोकेर शालिन मुस्काउने अनुहार जस्तो कठिन लाग्छ मलाई जीवन । झरीको पानीले भिजाउँछ भनेर झरीलाई छाता ओढाउन खोजेको जस्तो पनि लाग्छ मलाई । परीक्षाको कापीमा नआउने प्रश्नको उत्तरमा जबर्जस्ती बनेका अक्षरहरु जस्तो पनि लाग्छ ।
अरुका नाशका लागि आप्mना बिनाश खोज्नेहरु नै हुन् मेरा प्रश्नहरु ।
आत्मघाती किन आवश्यकता बनिरहेका छन् । अरुलाई सिध्याउन आफै सिद्धिने कस्तो घीन लाग्दो खेल हो योे ? योजनाले आफै पड्किने वाध्यता कति क्रूर होला ?
नपडकिएको बारुदले बाँचेकी आत्मघाती किशारीका आँखा देखेपछि म उनलाई नै पढ्न खोजिरहेको छु । तालिवानको आतङ्क बनाइएकी अफगानी किशोरीले बोलेकी थिइन् टेलिभिजनमा । उनले बोलेको आवाजलाई अङ्ग्रेजीमा अनुवाद गरेर सबटाइटलमा देखाइरहेको थियो । म अक्षरमा पढ्छु र उनका आँखामा हेर्छु ।
उनी भनिरहेकी थिइन् –‘म चौध वर्षकी भएँ ,आठ वर्षदेखि म उनीहरुको बन्दी हतियारका रुपमा बाँचिरहेकी थिएँ । सानैदेखि मलाई बाँच्नका लागि जन्मेको होइन भन्ने सिकाइएको थियो । अल्लाहले मलाई हाम्रा जातिका दुश्मनलाई सिध्याउनका लागि मात्र पठाएको भनिएको थियो । मलाई प्रत्येक दिन भनियो,प्रत्येक महिना र वषर्भभरि पनि त्यही नै भनिरह्यो । त्यही सिकाइयो र त्यही नै आवश्यक हो भनेर विश्वास दिलाइयो । उनीहरु भनिरहन्थे , ‘मेरो मृत्युले हाम्रो धर्मको रक्षा हुन्छ । ’
उनी बेलाबेलामा भुइँतिर हेर्न खोज्थिन् । अलिअलि आत्तिएकी पनि देखिन्थिन् । तर पनि भनिरहेकी थिइन् –‘ म मारिँदा जति धेरैलाई मार्न सकिन्छ त्यति नै छिटो म स्वर्गमा पुग्नेछु रे । विगत छ वर्षदेखि मेरो मस्तिष्कका योभन्दा अरु कुनै र केहीले अलिकति पनि ठाउँ पाएको छैन ।’
‘म बाँच्नका लागि नभएर आपूmले आफैलाई मार्नका लागि जन्मिएको हुँ भन्ने कुरामा म विश्वस्त भइसकेको थिएँ । ’
उनी योजनाअनुसार भनिएको ठाउँमा पड्किन गएकी तर नपड्किएर बचेकीले उनले भनेकी थिइन् ।
‘त्यस दिन ,म आत्मघाती आक्रमणमा मर्न र मार्नका लागि खुशी भएर नै गएकी थिएँ । म पड्किनका लागि बारुदले भरिएर गएकी थिएँ । दुर्भाग्यले विस्फोट भएन र म बाँचे । त्यसपछि बल्ल मैले आफ्नो जीवनलाई बुभ्mन थालेको छु । म अब मर्नका लागि बाँच्दिन , बचाउँनका लागि बाँच्च्ने छु । ’
टेलिभिजनमा देखेको त्यो दृश्य धेरैले आँखाले मात्र हेरे होलान् तर मेरा आँखा भएर मनको भित्री तहसम्मले नै हे¥यो । सुनामी बनेर पस्यो मभित्र त्यो दृश्य । झिसमिसे बिहानजस्तै बनेर आँखाकै झ्यालबाट बाहिर निस्केर हेर्न खोजझैँ लाग्छ मलाई ।
यो नौ महिने आमाको कोखको अपमान हो । मान्छेलाई मान्छे बन्न नदिने डरलाग्दो मान्छेको खेल हो यो । प्रकृतिको न्यायविरुद्ध धावा बोल्ने कस्तो धर्म हो यो । कस्तो समाज हो यो । मान्छेका विरुद्ध मान्छेलाई नै बारुद बनाएर लड्ने यो कस्तो लडाइँ हो यो । जीवनको परिभाषा नै परिवर्तन गर्न खोज्ने यस्तो धर्मलाई पनि धर्म मान्नुपर्नै कस्तो दुर्भाग्य हो यो । मार्नका लागि मर्ने एक सूत्रीय मन्त्र बनाएर मस्तिष्कलाई अन्धो बनाउने मान्छेको मुटु कस्तोे होला ?
संसार बाँच्नको लागि बनेको हुँदै होइन ।
बाँच्न लायक जिन्दगीका लागि मर्नै पर्छ ।
जिन्दगी मर्नकै लागि लायक छ ।
आयुले होइन आफैले मार्नुपर्छ ।
हाँसो जीवनको उपहास हो ।
खुशी जीवनको नपुङ्सकता हो ।
प्रेम भ्रम हो जीवनजस्तै । विवाह ,सन्तान समय कटाउने बहाना मात्र हो ,दुख बोक्ने । जीवनमा बाँच्नु भनेको दुःखको बीऊ आफैमाथि उमार्ने उपक्रम मात्र हो । यसरी नै लेखिएका होलान् आत्मघाती निर्माताहरुका पाठ्यक्रममा । र भन्लान् पनि , जीवनलाई जीवन जस्तै गरेर नाप्न ,जोख्न नजान्नेहरुले बाँच्ने हुन् यस्तो संसारमा ।
मृत्यु त्यसै पनि डरमर्दाको हुन्छ । मृत्युको आमसभाको आकर्षक वक्ता जस्तो सपना पनि देख्न सक्दिन म । ठूलो रेक्टरको भूकम्पले पुरानो शहर तहसनहस भएजस्तै हुन्छु म । हुने भए वा मिल्ने भए त्यस्ता किशोरीहरुलाई बैंकको लकरमा जस्तै बन्द गरिदिन्थे ।
मान्छे बाँच्नका लागि एकमानो चामलको लागि भीख माग्छ । अरुले अघाएको जूठोले पेटको भोक मार्छ । बाँच्नकै लागि हरेक दिन आफैलाई बेच्ने गर्छ ।
कस्तो होला ,आप्mनो जिन्दगी आफैले भोग्न नपाएपछि । अरुले बन्द गरेको नक्साबाट बाहिर चिहाउन समेत नपाएपछि । भ्mयालढोका नभएको बन्दीघरको कैदी बनाउने राक्षसहरुका मन । गर्न त के नै पो गर्न सकिएला र ? भने पनि के पो बुझाउन सकिएला र ? हुने केही हुँदै होइन तर पनि म भन्छु । मन लागेको भन्छु ।
बाँच्न गहिरो चाहना बोकेकाहरुलाई आँखाले मात्र होइन मान्छेकै मनले पनि हेर ।
दुई हात नभएकाहरु शिपले बाँचिरहेका छन् ।
आँखा नहुनेहरु संसार देखाउने काम गरिरहेका छन् ।
नसुन्नेहरु अरुलाई सुनाइरहेका छन् ।
अरुलाई बचाउन आप्mनो किडनी बाँडिरहेका छन् ।
क्यान्सरले गिजोलेकाहरुका साहस हेर ।
मुटु कलेजो र किडनी काटकुट गरिसकेकाहरुका उत्साहलाई हेर ।
एडसवालाका कामलाई हेर ।
यतिले पनि तिम्रा आँखा उघ्रदैनन् भने ,मनको कालो बोक्रा उप्कदैंनन् भने तिमीले पडकाउन खोजेकी किशोरीहरुको ढुकढुकी छामेर हेर । हाँसो खोसिएको आँसुको तापक्रम छोएर हेर । भीरबाट खसालिदिएको कलिलो ओठको मुस्कानको भाव खोजेर हेर ।
संवेदना फ्यालेर बाँच्ने ए क्रूर कसाहीहरु ।
तिमीहरुले बाँच्नका लागि अरुले कहिलेसम्म मरिरहनुपर्ने ?
कहिलेसम्म मान्छे पर्वका लागि पालिएको खसीबोकाजस्तै भएर बाँचिरहनुपर्ने ?
कहिलेसम्म अरुलाई मारेर आफू बाँच्ने अधिकार बनाइराख्ने ?
के तिमीहरु आमाका गर्भभन्दा बाहिरबाट जन्मिएका हौ र ? होइन भने कतिन्जेल आँखामा ताल्चा मारेर बसिरहन सक्छौ ? कानलाई बन्धकी राखेर पुरिरहन सक्छौ ? मुखमा पहाड थोपरिरहन सक्छौ ? के तिमीहरु आफ्नो मुटुलाई चल्नबाट रोक्न सक्छौ ? मान्छेलाई कहिलेसम्म रोबट बनाइरहनसक्छौ ? प्रकृतिविरुद्धमा कहिलेसम्म कुम जुधाइरहनसक्छौ ? तिमीहरुले जितेँ भनेर हाँसिरहेका खेलमा हारिरहेका छौ र हारिरहने छौ । भविष्यविरोधी खेलले कहिले जित्दैन र टिक्दैन पनि ।
मलाई थाहा छैन विद्रोह कहाँबाट शुरु हुन्छ ? असन्तुष्टि कहाँबाट जन्मिन्छ ?उत्तर आआफ्नै हुनसक्छन् । पुराणका तर्क ,दर्शनका तर्क ,विज्ञानका तर्क अनेक हुन सक्छन् । जसले जस्तो भने पनि मलाई भने कस्तुरीले आफ्नो नाभीबाट निस्केको बास्ना थाहा नपाएर खोजिरहेजस्तै लाग्छ । बूढो कुकुरले हड्डी चपाउँदा आफ्नै गिजाबाट निस्केको रगतलाई स्वाद मानेर निलेजस्तो लाग्छ । यसरी नै चलिरहेको छ समाज र यसरी नै गुज्रिरहेको हुन्छ मान्छको दैनिकी आयु ।
यो जिज्ञासा पनि त्यस्तैत्यस्तै हो । आकाशमा बादल मडारिएर वर्षिंदा कसैले असन्तुष्टि जनाउँदैनन् । पानीमा माछा पौडेको देखेर कोही पनि दुःखी हुँदैनन् । कुखुराले बिहान बासेर कसले विद्रोह गरेका छन् र । राँको बालेर उज्यालो बनिरहने को पो होलान् र ? ध्यान गर्नेहरु विद्रोह गर्दैनन् । असन्तोष पनि प्रकट नगर्लान् तर ध्यान गर्नुका कारण त त्यही हुन सक्छ नि ।
आँखाले हेर्छु, देख्दिन । हातले छाम्छु ,भेटदिन । कानले सुन्छु , बुभ्mिदन । कमजोर भएका छन् इन्द्रियहरु । जबजब छातीभित्र आँधी पस्छ । तबतब विश्वासका स्तम्भहरु ढलेका छन् । आस्थाका रङहरु उडेका छन् । भावनाका संवेगहरु भत्किएका छन् । यो आँधीले ,बाढीले ,पैह्रोले बगाएका अभिलेखका कुनै मन कम्प्युटर नभरिएका छैनन् ।
जतिखेर आफूलाई र आफ्नो विश्वासलाई बलियो बनाएर बाँधेको थिएँ त्यतिबेलाको कुरा होइन यो । जितेको बेला हारेको र हारेको बेला जितेको अनुभूति कसरी पो गर्न सकिन्छ र ? लुकेर हिँडेकालाई ठाडै खोजेर कहाँ भेटिन सकिन्छ र ?
कतिपय यस्ता सन्दर्भ हुन्छन् जुन असन्तोष व्यक्त गरिरहँदा पनि मन मार्नुपर्छ । फेरि सबै ठाउँमा मनको कुरा लागू नहुन पनि सक्छ । शरीर देखिने भए पनि सम्पर्कले काम गरिरहेको हुन्छ । साथीभाइको कुरा झन् महत्वपूर्ण हुन्छ । समाज झन् बलियो हुन्छ । हो त्यस्तो बेला नदेखिने आगोले पोल्छ र पोल्यो भनेर न कसैलाई देखाउन नै मिल्छ । औषधि लगाउन नमिल्ने घाउजस्तै बन्छ ।
टेलिभिजन भएर देखिएकी कुनै सुदूर देशकी किशोरीका आँखाले मलाई धेरै पटक निचोरिएको छ । साँच्चै ,यिनीहरुका छातीमा ढुकढुकिरहने मुटुको आवाज कस्तो होला ? यिनीहरुले देख्ने सपना कस्ता होलान् ?
आफैले आफैलाई मार्ने अभ्यास कस्ता होलान् ?
डरलाई कसरी विश्वासमा परिवर्तन गर्दा हुन् ?
यिनीहरु हाँस्न जान्लान् कि नजान्लान् ?
कहिले कुनै रमाइलो गर्लान् नि नगर्लान् ?
शब्दकोशमा होलान् कि नहोलान् खुशीभन्ने शब्द ?
चाडपर्व कसरी मनाउँदा हुन् ?
जन्मदिनमा केक काट्लान् कि मैनबत्ती फुक्लान् ?
अरुले शुभकामना देलान् कि नदेलान् ?
सुख,सफलता र दीर्घायुको लागि दिइएका शुभकामनालाई कसरी आत्मसात् गर्लान् ?
उत्तर नभएका प्रश्नहरु स्वयम्मा प्रश्नहरु जन्माउँदै जान्छन् । सुनामी बोकेर शान्त हुनुपर्ने कस्तो जीवनको नियति हो यो ! आत्मघाती मन्त्रले नलठ्याएको बेला कति रेक्टरको भुइँचालो जाँदो होला मनमा पटकपटक । कहिले बाँच्ने जीवनको टुसा उम्रेर पनि कति निर्दयीपूर्वक निमोठोदिंदो होला । बोल्न जानेदेखि प्रकृतिको विरुद्धमा मृत्युको प्राथना गर्नेहरु देखेर चिच्याएर कति रुँदो हो चन्द्रमा । कति निराश भएर झोक्राउँदो हो सूर्य । कति नमिठो मानेर लुक्दा हुन् गुराँस र गुलाफहरु । नहोस् पनि कसरी ? पानीको फोका बनेकी किशोरीको जीवन पाएका उज्याला आँखा देखेपछि ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 6 मङ्गसीर, 2076

लेखकका अन्य रचनाहरु