कथाको मृत्यु

- ईगम खालिङ

संगमले एउटा कथा लेखिसकेपछि सन्तुष्टीको लामो सास तान्यो । कविता लेख्दा-लेख्दै त्यो कथा उसको मानसपटमा पट्ट आएको हो । कथा आफ्नो मर्मसित मिल्दो थियो । लेख्दा बीच-बीचमा उसका आँखाहरूभरि आँसु आउँथ्यो ।

बिहानै श्रीमतीसित अलिकति ठाकठुक परेको थियो । सधैँ त कविता लेखेर सबैभन्दा पहिले श्रीमतीलाई नै सुनाउँथ्यो तर त्यतिबेला कसलाई सुनाऊ सुनाऊ भयो । उसले त्यो कथा धेरैपल्ट पढ्यो । आखिरमा हद भएर उसले श्रीमतीलाई मनाउँदै कथा सुनिदिने आग्रह गर्‍यो ।

“कविता भए सुन्ने थिए तर कथा रहेछ, कथा त मलाई पटक्क मन पर्दैन !” रिसाउँदै श्रीमतीले उसको आग्रहलाई टारी दिई ।

त्यो एउटा दिनभरि उसलाई नरमाइलो लागिरह्यो । साँझमा घरको आँगनको डिलमा उभेर उसले त्यो कथा फेरि एकपल्ट पढ्यो अनि च्यातेर टुक्रा-टुक्रा बनाई तल घुरानतिर फाँक्यो । राति निदाउने बेलामा श्रीमती सम्झौतास्वरूप सानो स्वरमा बोली—

“औ ! अघिको कथा सुनाउन !”

संगम चुप लागेर निदाएको जस्तो गरेर पलङको एक छेउमा पल्टिरह्यो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

लेखकका अन्य रचनाहरु