मासु दोकान

- राजु “हिमांशु”

मासु दोकानको भित्ताभरि भगवानहरूका नक्साहरू झुन्डाइएका छन्। दोकानको दाहिने कुनामा छ देउताथान। एउटा दियो जलिरहेछ त्यहाँ । दोकानको बीचमा छ एउटा अचानो रगतसरिको । भित्तामा झुन्डाइएका भगवानहरूका नक्साहरू रमिता हेर्दै छन् चुपचाप । दोकानबाहिर मासु किन्नेहरूको ताँती छ।
बिहानै दोकानको देउताथानमा दियो बाली भित्ताका भगवानहरूअघि धूप घुमाएर अचानोमा धमाधम कुखुरा छिनाउने सपन दास आज अति खुसी छ। सधैं सत्तरी केजी मासु बेच्ने सपनले आज एक सयभन्दा बेसी मासु बेचेको सपना देखेको सत्य साबित हुने सम्भावना छ। बाहिर क्रेताहरूको भीड़ देखेर उसले दुईजना केटा पनि सहयोगीको रूपमा लगाएको छ । एक सय असी रुपियाँ केजी गरेर मासु किन्नलाई हतारमा छन् क्रेताहरू । सपनका दुई सहयोगी केटाहरूमा एउटाले अचानोमा कुखुराको टाउको छिनाउँदै छेवैको कार्टनमा हाल्दैछ। गत्ताको कार्टनभित्र टाउको नभएका कुखुराका छटपटीहरूले रगत छर्कँदै कर्कश आवाज उत्पन्न गराउँदैछन्। कार्टनभित्र छट्पटिरहेको एउटा कुखुरो टिपी भुत्ल्याउँदै छ अर्को सहयोगी केटोले । भुत्लाएर नाङ्गो पारिएको कुखुरालाई धमाधम काटेर तौली चोक्टा पार्नमा व्यस्त छ सपन पनि।
अचनोको छेउमा भएको टेबलमाथि मुटु,कलेजो,झाँते राखेर अचानोमा चोक्टाको साइज क्रेताको इच्छानुसार बनाउँदैछ सपन। टेबलमाथि राखेको एउटा मुटु अझै चल्दैछ ।
“अरे! यो मुटु त अझै चल्दैछ !” एकजना ग्राहक बोल्यो ।
“मुटु हो नि त। ढुक्ढुकिन्छ एकछिन।” सपन बोल्यो।
ती दुई सहयोगी केटा र सपनका शरीरमा भएका लुगाभरि रगत लागेको छ। रगतका छिटाहरू तिनीहरूका अनुहारहरूमा पनि परेका छन्। रगतका छिटाहरू भित्ताका भगवानका नक्साहरूमा पनि पर्दैछन्।
“मलाई दिइहाल त पहिला । अघिदेखि बसेको। ढिलो भइसक्यो । छिटो न। ” एकजना ग्राहकको धर्यको बाँध भत्कियो।
यी सबै हेरिरहेको म पनि ग्राहकहरूको लहरमा उभिएको छु। मलाई पनि किन्नु छ मासु । श्रीमतीले आज चिकन-चिल्ली बनाउँछु भनेकी छ।
धमाधम हत्या हुँदैछ जिउँदो कुखुराको। सन्तुष्टि र स्वाद दिमागभरि बोकेर ग्राहकहरू फर्कँदै छन् मासु लिएर । धेरै बेरको पर्खाइपछि मेरो पालो पनि आयो।
“सर,मीडियम पिस पारिदिनु ?” सपनले सोध्यो।
“हुन्छ।” मैले भनेँ।
“दुई सयको हालिदिऊँ सर?” सपनले फेरि सोध्यो।
“हुन्छ।” मैले भनेँ ।
दोकानभरि रगतै रगत छ छिटाहरू पारेर। शिरविहीन कुखुराहरू छटपटिँदै छन् कार्टनमा जिउने असफल प्रयासमा। चोक्टा-चोक्टा भएर मासुहरू थुप्रिँदैछन्। त्यसपछि सपनका काला हातहरूले अघिबाटै प्रतिबन्धित कालो पोलिथिन ब्यागमा कोचार्दै छन् मासु।
“डबल गर।” बोल्छु म । सपनले फेरि अर्को कालो पोलिथिन ब्यागभित्र हाल्छ मासु। त्यसरी पस्छ डबल पोलिथिन ब्यागमा मासु। भित्तामा टाँसिएका भगवानहरू रमिता हेर्दैछन्। सपनको
देउताथानमा दियो जलिरहेछ ।
म मासु बोकेर घरतर्फ जाँदैछु चुपचाप टोटोमा । भरे चिकन-चिल्लीसित सोमरस निल्नु पनि छ। गदगद भएर मन स्वादको कल्पनामा डुब्दैछ । स्वादले जिब्रो पल्केको हो कि जिब्रोले स्वाद खोजेको हो? कि हड्डी नभएको जिब्रोलाई आँखा र दिमाग मिलेर लालायित बनाएका हुन्? फरक केही थाहा पाउँदैन मन । लालायित भएर मुखलाई रालयुक्त पारी आर्थिक कष्ट दिनुबाहेक के जानेको छ र यसले?
अहिले चिकन-चिल्लीसित ब्राण्डीको चुस्की लिँदैछु। एक किसिमको मजा अनुभव भइरहेछ । अचानक एउटा सोचको बाछिटाले निथ्रुक्क भिजायो मलाई यसरी --
“कुखुराको मासु दोकानमा भित्ताभरि बसेर हत्याहरू हेर्ने भगवानहरूले सपनलाई दिनदिनै धनी बनाउँदैछन्। हत्या गरेर अर्थात् निर्दोष प्राणीलाई मारेर सपन धनी हुँदैछ । अर्कोतिर चर्को घाममा खेत जोतेर पनि खेतालाहरू अझै गरिब हुँदैछन्। रगत खेलाएर सपन भने धनी हुँदैछ । बर्खा याममा रुझेर भिजेर चियापत्ती टिप्ने र चियाबारीलाई सधैं हरियो बनाउने हातहरूले सपनका हातहरूले झैँ रुपियाँ गन्नै पाएका छैनन्। भित्तामा टाँसिएका भगवानहरू सपनको दोकानमा पनि ट्वा परेका छन्। गरिबका घरभरि भएका भगवानहरू पनि ट्वा परेका छन्। भित्ताभरि क्यालेण्डरहरूमा झुन्डिएका,फ्रेमभित्र सजिएका अनि देउताथानभरि बसेका भगवानहरूका आँखाहरू खुल्लै भए पनि कहिले खोलिन्छन् ती गरिबको निम्ति ? साँच्चै कुन दिन खोलिन्छन् भगवानहरूका आँखाहरू र गरिबका ललाटमा सौभाग्य टिलिक्क टल्किन्छ होला ? रगत खेलाउनेहरूकै हातमा मात्र कति धेर रुपियाँहरू थुप्रिएका
नी ?”
बेपरवाह भएर अन्तिम पेग स्वाट्टै पारेर चिकन-चिल्लीको अन्तिम चोक्टा पनि क्वाप्पै खाएँ।

डाउहिल ।
0000000

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु