कथाको प्रथम पाठक

- ईगम खालिङ

कथाकारले प्राय:जसो प्रेरणाको प्रयोगद्वारा नै कथावस्तुको सिर्जना गरेको हुन्छ । संसारमा जतिपनि कलाकृतिहरू सिर्जना गरिएका छन् ती सबै प्रत्यक्ष-अप्रत्यक्षरूपमा अथवा आनुवंशिकरूपमा प्रेरणाबाट नै सुरू गरिएको मान्न सकिन्छ । त्यो प्रेरणाको प्रक्रिया श्रोत कि त मानसिक अथवा भौतिक हुन सक्छ, कि त दुवै हुन सक्छन् । यसै सन्दर्भमा कथाकारलाई एउटा प्रेरणाको आवश्यक पर्छ अनि प्रेरणाबाट विचार । आफूले खोजिरहेको होस् या नहोस् कहिलेकाँही एउट विचारले कथाकारको मन-मस्तिष्कदेखि लिएर हृदयसम्म छुन पुग्छ र त्यसलाई कथाकारले आफ्नो कथाको माध्यमद्वारा प्रस्तुत गर्न पुग्छ । त्यस्तो विचारलाई मानव सम्प्रेषणात्मक कुनै पनि कलाको माध्यमद्वारा व्यक्त गर्नलाई विभिन्न आधारहरूको आवश्यक्ता पर्छन् । यही आधारहरूलाई कलाका सामग्रीहरूको रूपमा पनि मान्न सकिन्छ ।

कथाकारहरू कहिलेकाँही साधरण मानिसको सोच, विचार, कल्पना, बौद्धिक्ता अनि ज्ञानभन्दा माथि उठेका हुन्छन् । यसरी यही आधारहरूको परिमार्जनमा कथाकार कहिलेकाँही धेरै टाढाको यात्रा गरिपठाउँछ । त्यतिबेला उसलाई समात्न उ सँग-सँगै अथवा उभन्दा पनि तीब्र उडान भर्न सक्नुपर्छ । यसरी कति कथाकारहरू कथामा असाधरण भएर जान्छ । यी सबैको श्रोत चाहिँ भौतिक संसार नै हो । यहाँबाट नै विचारहरूको विश्रिङ्खलालाई प्रेरणाद्वारा अथवा श्रिङ्खलावद्ध वा विश्रिङ्खलावद्ध प्रेरणाको झिल्काद्वारा सिर्जनाको आगो लगाइन्छ । त्यो आगोमा प्रत्येकले आ-आफ्नो प्रकारले जीवनको अनुभव जलेको देख्न सक्नेछ र आनन्द लिन सक्नेछ । तर प्रथमत: आनन्द लिने व्यक्ति भने आगो सल्काउने नै हुन्छ । त्यो आगोको प्रयोजन एउटा सिङ्गो विचारद्वारा नै हुन्छ ।

मानिसलाई प्रकृतिले आवेग अनि इच्छा दिएको छ । यसरी सिर्जनात्मक आवेग अनि इच्छाद्वारा संसारमा कला सिर्जना बाँचिरहन्छ । यहाँ कथाकारले प्रत्येक कथाको सिर्जनाद्वारा एउटा सन्तुष्टी प्राप्त गर्छ । आफ्नो कथामाथिको औपचारिक अधिकार गुमाउँदै पुन: अर्को सिर्जनाको खोजतिर लम्कन्छ । त्यो खोज कहिल्यै सकिँदैन, क्रमिकरूपमा बाँचिरहन्छ जबसम्म मानव संसार नै अन्त्य हुँदैन । यहाँ हाम्रो बिषयवस्तु पनि सिर्जनात्मक आवेग अनि इच्छाको हो जहाँ कथाकारले आफ्नो यात्रा एउटा इच्छादेखि अर्को इच्छा फेरि अर्को इच्छादेखि अर्को इच्छ गर्दै जारी रखिरहन्छ । यो बिषय जीवनसित मिल्दो छ । मानिसको इच्छा कहिल्यै समाप्त हुँदैन । उ एउटा प्राप्तिदेखि अर्को प्रप्ति हुँदै अघि लम्किरहेको हुन्छ । त्यसरी नै, एउटा विचारदेखि अर्को विचार अनि एउटा रहस्य उद्घाटनदेखि अर्को रहस्यतिर तर समाप्त भने सम्भव छैन ।

एउटा कथा वास्तवमा एउटा महान कथाका (ग्रेण्ड स्टोरी) कथाहरूको उपकथा मात्र हो । त्यो असाधारण कथाको सुरू र अन्त्य नै छैन । त्यसैले हामी त्यसलाई लेख्न सक्दैनौ, बरू त्यस असामान्य लिपिको वस्तुगत एउटा अति सानो अंश भएर बाँचिरहेका हुन्छौ । त्यो कलालाई हामी आफ्नो कथाको सिर्जनाबाट चोर्दछौ । त्यो ‘महान कथा’-को न त सुरू थाहा हुन्छ न त अन्त्य नै पत्तो पाइन्छ । हामीले गर्न सकेका चाहिँ वस्तु र घटनाको सम्बन्ध जीवन, जगत र ब्रम्हाण्डसित जोडेर हो । यस महान् कथाको लेखक को हुन् त्यसको सही उत्तर हामीलाई थाहा हुँदैन । हामी सिद्धान्तत: अनिश्चिततामा उसको अनुकरण गर्दै उसका चालहरूलाई चोरी गर्दछौ ।

समयका सुरू अनि नाप परिकल्पित छन् । सुरू अनि अन्त्यविहीन समयमा कथाकारले आफ्नो सीमित्त नापिरहेको हुन्छ । यसरी सीमित्तले अनन्त जन्माउन सक्दैन, यस कारण कथाकारको मृत्यु हुँदै एउटा अन्तिम मृत्यु अनन्तको अनन्तभित्र हराउँछ र एउटा खोजमा उ औपचारिक मृत्यु हुँदै एउटा अन्तिम मृत्यु मर्छ । एउटा रहस्य उद्घाटनदेखि अर्को उद्घाटन हुने यात्राको रहस्यको परम रहस्य पत्तो नपाई मर्छ । आफूले भोगेको जीवनका अनुभूतिहरू एउटा कथादेखि अर्को कथामा हेरिरहेको हुन्छ । सायद, यी कारणहरूले गर्दा कहिले काहीँ कथाहरू विवत्तितत्तवक, अबोध्य अनि रहस्यमय हुन्छन् । कथाकार एउटा कथाकारको रूपमा प्रथमत: मानिस भएकोले उसले आफ्नो शैलीमा कथा प्रस्तुत गर्छ । कथामा वस्तु अनि घटना, विचार अनि अवधारणा, अनि समय अनि स्पेशको समावेश आनुंषगिक हुन्छन् । यसरी प्रत्येक कथाको प्रथम पाठक कथाकार स्वयम् हुन पुग्छ । प्रेरणादेखि विचार, विचारदेखि आधार, आधारदेखि माध्यम, माध्यमदेखि अभिव्यक्ति अनि अभिव्यक्तिदेखि प्रस्तुतिसम्म कथाकार आफैले निर्माण गर्ने हुनले कथाकार स्वयम् नै प्रथम श्रोता बन्न पुग्छ । सिर्जनाको बिषयवस्तु अनुसार उसले आफ्नो लेखनको माध्यमद्वारा कथालाई एउटा पूर्ण रूप दिने गर्छ र सबैभन्दा पहिले आफैले पढ्ने गर्दछ । यसरी कथाकारले कथाद्वारा आफ्ना विचारहरूलाई, भावहरूलाई, अनुभूतिहरूलाई अनि उद्धेश्यहरूलाई आफ्नो लेखनीद्वारा अभिव्यक्ति दिनलाई पीडित रहन्छ ।

कुनै सिङ्गो विचार या अनुभावार्जित विचार अथवा अवधारणाले मन-मस्तिष्कमा बास गरेपछि उ छट्पटिन्छ, जबसम्म उसले त्यसलाई सिर्जनाको माध्यमद्वारा मुक्ति दिन सक्द्धैन । हुन सक्छ यही कारणले गर्दा कथाकार कहिलेकाँही कथाको गर्वभित्र निसासिन्छ, छट्पटाउँछ अनि हराई पठाउँछ । कथा लेखिनुभन्दा अघि नै कथाको मूलरूपले उसको मन-मस्तिष्कलाई छुइसकेको हुन्छ, तर पाठकलाई चाहिँ कथा नपढेन्जल कथाले त्यसरी छुन सक्दैन । कथाकारले सिर्जना गरिसकेको कथा प्रत्येक पाठक र समाजको सम्पति हो किनकि उ एकलै बाँचेको हुँदैन; कथाकार ‘कथाकार’ हुनुभन्दा अघि मानिस भएर जन्मेको हुन्छ अनि यो संसारको, फेरि यो संसार कथाकार एकलैको हुँदै-होइन पनि । यदि कथा कथाकारको मात्रै सम्पति भएको भए कथा लेख्नुको कुनै उद्धेश्य नै रहँदैन । लेख्नु नै मानव समाज र संसारलाई समर्पण गर्नु हो । कथा यो संसारद्वारा हो, मानव सम्वेदना अनि सम्प्रेषणद्वारा हो । यसरी कथाकार प्रथम पाठक हुँदा नै उसले आफ्नो औपचारिक अधिकार गुमाई सकेको हुन्छ, तर कथा चाहिँ उसको अन्तिम मृत्युपछि पनि बाँचिरहेको हुन्छ । कथाकार नरहे तापनि समाज र संसार रहिरहनेछ अनि जबसम्म मानव संसार रहिरहने छ तबसम्म कथाको सिर्जना रहि रहने छ ।

मानिसका दु:ख, सुख, माया, मोह, सपना, चाहना, लोभ, ईर्श्य, रिस, यौवन, वेदना, सम्वेदना आदि मानिसको चेतनाभित्रको उपचेतनाभित्र गुप्त छाप भएर बसिरहेका हुन्छन् । कथाभित्रको कथाकारका विचार, अवधारणा, अनुभव, सम्वेदना, सम्प्रेषण अनि उद्धेश्यमा पाठकको स्वतन्त्ररूपमा समान अधिकार हुन्छ । प्रत्येक कथा पाठक आफैले आफ्नो योग्यता अनि अनुभव अनुसार पढ्छ, बुझ्छ अनि प्रतिक्रिया जनाउँछ । प्रत्येक कथा मानव जीवनको एक टुक्रा पाठ हो । त्यो आफैमा पूर्ण जीवन नभए तापनि जीवनजस्तै हुन्छ । जीवन आफैमा एउटा पूरक हो भने कथा जीवनको आनुवंशिक अभिव्यक्ति । यसले मानव जीवन, समाज र संसारलाई पूर्व-कल्पित गर्दछ । कारण जीवन छैन भने कथाको बिषय नै आउँदैन तर कथाले जीवनको अस्तित्व बुझाउँछ ।

कथा जीवन, समाज र संसारको आंशिक सम्वाद भएर उभेको हुन्छ । कथा समय र स्पेसको अंश, समाज र देशको अंश, युग र इतिहासको अंश अनि घटना अनि उपघटनाहरू भएर चुपचाप अक्षरहरूमा अप्रत्येक्षित बोलिरहेको हुन्छ। कथाकार यी बिषयहरू आफ्नो कथामा पूर्व-हिँडाइ हिँडिसकेको हुन्छ । कथा ‘कथा’ हुनुभन्दा अघि नै अथवा अक्षरहरुमा, वाक्यहरूमा अनि अनुच्छेदहरूमा उतिर्न अघि नै कथाकारले कथालाई मसारमुसुर पारेर आफ्नो बनाइसकेको हुन्छ । त्यस्तो आनन्द पाठकले लिन पाउँदैन । आफ्नो अधिकार गुमाएर पनि कथाकार पाठकभन्दा भाग्यमानी हुन्छ । आफ्नो औपचारिक मृत्यु अघि नै कथामा कथाको पूर्ण जीवन जिइसकेको हुन्छ । अधिकार गुमाउनुमा कथाकारको आनन्द हुन्छ, पुन: अर्को एउटा औपचारिक मृत्युको निम्ति ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु