रामे

- अर्जुन यावा

‘आच्छु...। सारै जाड़ो हौ। दाजु त्यो हिटर अलिक यता फर्काइदिनुसन हौ। काम गर्नै नसकिएला जस्तो भयो।’
26 दिसम्बर 2019-को साझ गान्तोकमा निक्कै चिसो छ। कम्प्युटरसस्क्रिनमा किबोर्डका अक्षरहरूसित खेलिरहेथ्यो रामे। वास्तवमा यो उसको काम हो। नित्य काम। कम्प्युटरस्क्रिन हेरिरहेको आँखा थोरै फर्काउँदै रामेले छेउको सहकर्मीलाई त्यसै भन्यो।
रामे अथवा पूरा नाम रामकुमार। साथीहरूले उसलाई बोलाउने नाम रामे।
रामे शहर पसेको बर्षौं भइसकेको छ। उसको जवानी खाइसकेको छ शहरले। शहर पस्नअघि उसलाई विश्वास थियो- शहर, जहाँ जीवनमा घाम लाग्नेछ। शहर, जहाँ जीवनमा उज्यालो मात्र छाउनेछ। शहर, जहाँ अवसरहरूले पर्खिरहेका हुन्छन्। शहर, जहाँ हाम्रा पूर्खाहरूले चियाको मूनामा पैसा फलेको सपना देखे झैं फल्छ पैसा सम्झेरनै त आएको थियो रामे। हो आज त्यही शहरदेखि रामेलाई विरक्त लाग्न थालेको छ।
‘दाजु, आज के सारो जाड़ो छ हौं। कि मलाई मात्रै हो?’ तातो दिइरहेको हिटर आफूतिर फर्काइदिँदै गरेको डिल्ली दाजुलाई भन्यो उसले। डिल्ली दाजु उही हो, जसले पत्रकारितामा धेरै कुरा सिकाएका हुन्। यो क्षेत्रमा पसेपछि पहिलो दिनदेखि डिल्ली दाजुसितै बसेर काम शुरु सिकेको थियो रामेले। नजानेको र नबुझेको उसैसित पहिले सोध्नेगर्थ्यो रामे। उसँगै त हो रामेले धेरै कुरा सिक्ने अवसर पाएको। उनीपछि मात्रै सिनियर्सलाई सोध्ने गर्थ्यो रामे। भनौं आफूभन्दा ठूला भएपनि रामेले साथी सम्झेको हुनुपर्छ। त्यसैरे ‘दाजु यो भनेको के हो?’, ‘दाजु यसको मिनिङ के हो?’-हरू सोधिरहन्थ्यो।
‘होइन, यो सूर्यग्रहण लागेपछि त्यस्तै हुन्छ अरे हौं। मौसममा अनावश्यक परिवर्तन आउँछ भन्छ।’ डिल्लीदाजुले बुझेको बताइदियो।
‘होइन, हिजोदेखि अति नै चिसो भएको छ। हिजो त पाल्जरमा पनि अलिक छिट्टो पुगेछु। आम्म म... कम्ति चिसो होइन।’ आफ्नो अनुभव सुनायो रामेले। हिजो-आज रामे साथीहरूसित बिहान-बिहान पाल्जर स्टेडियम जानेगरेको छ। व्यायाम गर्न। दौड़िन। फूटबल खेल्न। यसो गर्नाले उसलाई शरीर फुर्तिलो भएको अनुभव हुन्छ। दिनभरि दौड़धुप गर्न थकान अनुभव हुँदैन। साथीहरूले ‘दिनमा 5 देखि 6 घण्टा सुत्न पायो भने काफी हो’ भनेर उसलाई अझ प्रेरित गर्छन्। आधारातमा घर पुग्ने रामेले आफ्नो शरीर, आफ्नो दिमागलाई कतिघण्टा सुताइरहेको छु भन्ने हिसाब लगाएरै बिहान-बिहान पुग्ने गरेको छ पाल्जर। वास्तवमा स्वस्थ शरीर र जीवनप्रतिको मोह हुनुपर्छ यो रामेको।
‘त्यै त, सूर्यग्रहण लाग्दा चिसोमा अति चिसो हुन्छ र गर्मीमा अति नै गर्मी हुन्छ भन्छ। त्यसै पनि जलवायू परिवर्तनले घाम लाग्नु, गर्मी हुनु, पानी पर्नु पनि त हेरन समयअनुसार कहाँ भएको छ र!’ भने डिल्ली दाजुले।
...
काम सकेर खै कतिबजी राति घर पुगेको थियो, रामेलाई नै थाहा छैन। बिहान नित्य पाल्जर स्टेडियम जाने रामे आज पनि त्यही तरखरमा छ। ‘मान्छेलाई जीवनसँग कति धेरै माया बसेको होला?’ सम्झ्यो उसले। उठेर बपाथरुप पस्यो। निस्न्यो। थोरै पानी पियो। वाटर बोटलमा तातो-सेलाएको मिलाएर पानो भर्‍यो। के सम्झेर हो हेर्‍यो गाउँ रामेले शहरबाटै। किरायमा लिएको सानो कोठाबाटै। कोठाको सानो झ्यालबाट देखिन्थ्यो उसको गाउँ। झ्यालबाटै हेर्‍यो। सुनसान लाग्यो उसलाई गाउँ। सधैं झिलिमिली लाग्ने आफ्नै गाउँ आज सुनसान-सुनसान देख्यो। किन हो केहीकुराको कमी लाग्यो शहरबाटै देखेको आफ्नै गाउँ उसलाई। आज सुनसान लागेको गाउँ अचानक फर्किने मन भयो उसलाई।
‘यत्तिका वर्षमा शहरले के दियो त हँ मलाई?’ उसले मनमनै प्रश्न गर्‍यो आफैलाई। पाल्जर हिन्नलाई तरखर गरिरहेकै छ। जुत्ता, तातो ज्याकेट, टोपी, बूट, स्टकिङ, वाटर बोटल सबै एक-एक गर्दै ब्यागमा लगाइरहेको उसले कोठाका चारै कुना चियायो। के मन आयो अचानक रामेले गाउँ फर्किने मन बनायो। मनमनै निर्णय लियो- ‘अब म गाउँ फर्किन्छु।’
यतिबेला सायद गाउँले पनि पर्खिरहेको छ रामेलाई।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु