प्रेमिल विद्रोहात्मकता र राष्ट्रियताप्रतिको तार्किक अभिव्यक्तिमा आधारित "मौन क्रन्दन"

- डा.लेखप्रसाद निरौला

डा.सावित्री श्रेष्ठ प्रगतिवादी कथाकार हुन् । प्रगतिवादी दार्शनिक मान्यताका सापेक्षतामा कथाहरू लेख्नु उनको मूल प्रवृत्ति रहेको छ । उनी हरेक विषयवस्तुलाई वैचारिक सघनताका साथ अर्थात् तार्किकतापूर्ण ढङ्गबाट प्रस्तुत गर्छिन् । उनमा द्वन्द्वात्मकतालाई आन्तरिक रूपमा संयोजन गर्न सक्ने विशिष्ट कला पाइन्छ । यो ‘मौन क्रन्दन’ कथासङ्ग्रह प्रकाशित भएको छ । यसमा लामाछोटा गरी जम्मा बाइसओटा कथाहरू सङ्कलित छन् र प्रायः हरेक कथामा द्वन्द्वात्मकता वा वैचारिक सघनतापूर्ण अभिव्यक्ति पाइन्छ । साथै प्रेम, विद्रोह र राष्ट्रियताजस्ता पक्षहरूलाई समेत तार्किकतापूर्ण ढङ्गबाट विश्लेषण गरिएको छ ।
‘मौन क्रन्दन’ कथासङ्ग्रहभित्रका कथाहरूमा कतै न कतै लैङ्गिक, जातीय, आर्थिक, वार्णिक तथा सामाजिक विभेदका विषम स्वरहरू मुखरित भएका छन् । खासगरी मानवीय व्यवहार र सामाजिक मान्यता आदिका कारण उत्पन्न द्वन्द्वहरू समेटिएका छन् । विषम परिवेश र चिन्तनका कारण उत्पन्न समस्याहरू उठाइएका छन् । चाहे प्रेमपरक विषयहरू हुन् वा लैङ्गिक असमानताका स्वरहरू हुन्, त्यस्ता हरेक विषयहरूमा तार्किकतापूर्ण अभिव्यक्तिहरू रहेका छन् । साथै विद्रोहात्मकता, नारीवादी चिन्तन र राष्ट्रियतापरक अनुभूतिहरूसमेत प्राथमिकताका साथ उल्लेख भएका छन् ।
प्रेमका विविध पक्षहरूलाई समेट्न सक्नु कथाकार श्रेष्ठको एउटा मूलभूत प्रवृत्ति हो । यहाँ सङ्कलित कथाहरूमा प्रेमिल जीवनसँग गाँसिएका त्यस्ता विभिन्न सन्दर्भहरू आएका छन् । खासगरी प्रेमप्रतिको हार्दिकता, प्रेममा धोखा र स्वार्थीपन, देखावटी प्रेम, सामाजिक मान्यताका कारण उत्पन्न हार्दिक प्रेमप्रतिको बाधा– व्यवधानलगायतका विषयहरू मुखरित भएका छन् । त्यसैगरी प्रेमिल सन्दर्भसँग मानव मात्रको अभिरुचि नभई पशुहरू समेत गाँसिने गरेका रहस्यहरू समेटिएका छन् । यसरी हरेक कथाहरूले कुनै न कुनै रूपमा प्रेमपरक विषयलाई नै समेटेका छन् र जीवन यात्राका मोडहरूसँगै प्रेममा आएका उतारचढावहरूको चित्रण गरेका छन् ।
वास्तवमा यौन भन्ने कुरा जैविक आवश्यकता हो । यौनलाई, प्रेमका रूपमा मात्र व्याख्या गर्न सकिँदैन । प्रेमको क्षेत्र अत्यन्त विशाल हुन्छ तर यौनको क्षेत्र सीमित । यसर्थ प्रेमलाई स्वाभाविक, हार्दिक, भावनात्मक, वासनात्मक, शारीरिक, मानसिक आदि अनेक किसिमबाट व्याख्या गर्न सकिन्छ । तिनैमध्ये यौनको सम्बन्ध कुनै किसिमको प्रेमसन्दर्भसँग गाँसिन सक्दछ । प्रेम जैविक अनुभूति भएकाले त्यस्ता प्रेमिल अनुभूतिहरूले सहज निकास पाउनुपर्छ । प्रेममा असमानता स्वीकार्य हुनु हुँदैन र प्रेमका लागि फरक फरक जातीय तथा लैङ्गिक हक अधिकारसम्बन्धी विभेद पनि हुनु हुँदैन । तर, यहाँ सङ्कलित कथाहरूभित्र पाइने मूल समस्या भन्नु नै प्रेमिल जीवनका पाटाहरू कतै न कतै नमिलेका र मिल्ने वातावरणबाट वञ्चित तुल्याइएका छन् । प्रेम प्रसङ्गहरूलाई कतै यौनिक जीवनका सापेक्षतामा व्याख्या गरिएका छन् भने कतै निःस्वार्थ हार्दिक वा स्वाभाविक रूपमा हेरिएका छन् ।
उदाहरणका लागि ‘उनले नजन्माएकी छोरी’ कथामा एकातिर छोरीद्वारा बाबुप्रति गरिएको आत्मिक प्रेमलाई दर्साइएको छ भने अर्कातिर जातीय छुवाछुतको प्रभाव र पुरुषहरूको बहुविवाहजन्य परम्परित प्रवृत्तिका कारण बाबुद्वारा छोरीकी आमासँगको प्रेममा धोखा दिएको कुरा उठाइएको छ । छोरीद्वारा गरिएको बाबुप्रतिको प्रेम हार्दिक भए पनि बाबुआमाका बिचको प्रेम केवल यौनसम्बन्धमा मात्र सीमित हुन पुगेको देखाइएको छ । त्यस्तै ‘अधुरो प्रेम’मा पुरुषभित्र विद्यमान सुन्दरीप्रतिको आकर्षणशक्तिलाई दर्साइएको छ । कोरिया भ्रमणका क्रममा स्वागतार्थ खटिएकी सेविकाप्रतिको सौन्दर्यमा लट्ठिएर म पात्रजस्तो पुरुषले आफ्नो उमेरको समेत ख्याल नगरेको बताइएको छ । पुरुषले आफूलाई तन्नेरी वा लक्का–जबानजस्तै देखाउनका लागि कपालमा लगाएको रङका कारण उल्टै साढे दस हजारजति तिर्नुपरेको छ र महिलाबाटै अपमानित हुनुपरेको जस्ता घटनाहरू उल्लेख गरिएको छ । ‘सानिमा’ कथामा सानिमाले पहिले जोसँग प्रेम गरेकी थिइन् आखिरमा सामाजिक मान्यताका कारण त्यो प्रेम सफल भएको छैन । अनपेक्षित विवाहका कारण दाम्पत्य जीवन पनि सफल हुन सकेकै छैन । उमेरमा देखिएको अन्तरालले प्रेमका लागि सहज बाटो खोज्ने क्रममा उनलाई परपरुषसँग यौनसम्पर्क राख्नुपर्ने बाध्यता सिर्जना गरेको छ र परपुरुषबाटै सन्तुष्टि प्राप्त भएको छ । त्यस्तै ‘धरहरामा अन्तिम भेट’ कथामा वर्षौदेखि रहेको प्रेमप्रतीक्षाको गाँठो धरहरामा पूर्ण होला भन्ने ठानिएकामा आखिरमा विनाशकारी भूकम्पका कारण भताभुङ्ग भएको छ । ‘बिग्रेकी केटी’ र ‘फेरि बिग्रेकी केटी’ दुबै कथाहरूमा विशेष गरी प्रेमिल सन्दर्भहरू नै आएका छन् । दुबै कथामा नोकर्नीका रूपमा रहेकी केटी र दिनेश दाइसँगको प्रेम सम्बन्धले अनेकौँ मोडहरू लिएका छन् । तिनीहरूबिच प्रेममा बाधा उत्पन्न हुनुमा सामाजिक परम्परित मान्यता र आर्थिक असमानाताहरूजस्ता मुख्य कारणहरू रहेका छन् ।
प्रेमसँगै रुमलिएका अन्य कथाहरूमा ‘नायक ः खलनायक !’लाई पनि लिन सकिन्छ । सामाजिक एवम् परम्परित मान्यताले रोक्न नसक्ने गरी पलाएको प्रेमकै कारण ऊ नायकका रूपमा देखा परेको थियो । तर, जब राजनीतिक रूपान्तरण भयो र आर्थिक तथा सामाजिक प्रतिष्ठामा वृद्धि हुन थाल्यो तब ऊ नै खलनायकका रूपमा रूपान्तरित भएको छ । त्यस्तै ‘उसको छोरो’ र ‘फेरि उसको छोरो’ दुबै कथाहरूमा पुरुषद्वारा गरिएको प्रेमप्रतिको अविश्वास र पुरुषभित्रको घमन्डले प्रेमिल जीवनमा पारेका अनेकौँ मोडहरू समेटिएका छन् । नारीभित्र सन्तानवती हुन चाहने प्रवृत्तिलाई बेबास्ता गर्ने पुरुषकै कारण प्रेमिल जीवनमा उतारचढावहरू देखा परेका छन् । त्यसरी नै ‘अरनिकोकी स्वास्नी’ र ‘सगरमाथामा प्रथम पाइला’जस्ता कथाहरूले नेपालका केही महान् विभूतिहरूका अद्र्धाङ्गिनीहरूको जीवनमा विद्यमान प्रेमिल स्वभाव र तिनको अवस्था विशेषलाई दर्साएका छन् । प्रेममा केकस्ता चुनौतीहरू देखा परे र तिनले जीवनलाई कुन मोडमा पु¥याए भन्ने कुराहरू औँल्याएका छन् । त्यस्तै ‘क्षितिजवारि ः क्षितिजपारि’ कथामा समेत एउटी नारीबाट जुन किसिमले पारिवारिक जीवन सहज र प्रेमिल हुन सक्थ्यो त्यस्तो पुरुषबाट सहज नभएको कुरा दर्साइएको छ । त्यसैगरी ‘समुद्रपारिको कथा’ र ‘लिन्डा’मा समेत विदेशी परिवेशमा रूपान्तरित भइसकेका नेपाली दम्पतीहरूको जीवनमा कसरी प्रेमिल सन्दर्भहरूले निरन्तरता पाउन सकेनन् भन्ने कुराहरू आएका छन् । त्यस्तै मानिस मात्र हैन पशुहरू पनि प्रेमपरक जीवन बाँच्न चाहन्छन् भन्ने मार्मिक दृष्टान्तमूलक कथाका रूपमा– ‘ध्रुवे हात्ती’ र ‘बाढीपीडित हात्ती’ देखा पर्दछन् । दुबै कथामा हात्तीभित्र विद्यमान प्रेमातुरता र त्यसको प्रतिक्रिया विशेष पनि समेटिएका छन् । यसरी हरेक कथाहरूमा प्रेमिल सन्दर्भहरूका विविध पक्ष वा परिघटनाहरूलाई द्वन्द्वात्मक, वैचारिक एवम् तार्किकतापूर्ण किसिमबाट समेट्न सक्ने प्रवृत्ति कथाकार श्रेष्ठमा रहेको पाइन्छ । उनका कथाहरू प्रेमिल सन्दर्भहरूको उतारचढाव तथा प्रेमिल विद्रोहात्मकताका दृष्टिले निकै विश्लेषणीय देखिन्छन् ।
प्रेमिल सन्दर्भहरूझैँ लैङ्गिक असमानताका पक्षहरूलाई तथ्यपरक किसिमबाट केलाउन सक्नु पनि कथाकार श्रेष्ठको अर्को प्रवृत्ति देखा पर्दछ । उनका हरेक कथाहरूले प्रेमलाई झैँ प्रायः नारी र पुरुष वा भाले र पोथीजस्ता विपरीतलिङ्गी समूहका अनुभूति र वैचारिक पक्षहरूलाई सम्प्रेषण गरेका छन् । तिनमा पनि विशेष गरी पुरुष वा भालेभित्र पाइने पृथक् प्रवृत्ति र क्रियाकलापहरूको चिरफार गरेका छन् । कतिपय सन्दर्भमा पुरुषहरूको द्वैध रूप वा प्रवृत्तिका कारण महिलाहरू प्रभावित हुने गरेको कुरा औँल्याएका छन् । यसलाई एक किसिमबाट पुरुष प्रधान समाजका कारण महिलाहरूको जीवनमा परेको असरगत तथ्यका रूपमा लिन सकिन्छ । महिला हक अधिकारका बारेमा सचेत नहुने पौरुष प्रवृत्तिको अन्त्य हुनुपर्ने चाहना राखिएको भन्ने बुझिन्छ । वास्तवमा यहाँ आएका हरेक पुरुष पात्रहरू कतै न कतै स्खलित भएका छन् । कतै जातीय विभेदका आडमा, कतै सत्ता र आर्थिक सम्पन्नताका आडमा, कतै सामाजिक, पारिवारिक तथा परम्परित मान्यताका आडमा पुरुषहरूबाट महिलाहरू प्रभावित भएरै छाडेका छन् । कतै परिस्थितिको प्रभावलाई मूल कारण देखाएर भए पनि पुरुषहरूद्वारा महिला प्रभावित बनाइका छन् । वस्तुतः प्रगतिवादी चिन्तनले यस्ता लैङ्गिक विभेदहरूलाई कदापि स्वीकार गर्दैन बरु अन्त्यको अपेक्षा गर्दछ ।
‘उनले नजन्माएकी छोरी’मा जातीय विभेद र परम्परित मान्यतका आडमा पुरुषले छुटकारा पाएको र महिलाले दुःख पाएको घटना देखिन्छ । त्यस्तै ‘सानिमा’, ‘धरहरामा अन्तिम भेट’, ‘बिग्रेकी केटी’, ‘फेरि बिग्रेकी केटी’ र ‘क्षितिजवारि ः क्षितिजपारि’जस्ता कथाहरूमा पनि पुरुष प्रधान समाजको वर्चस्वका कारण महिलाहरू पीडित वा प्रभावित बनेका छन् । यिनमा महिलाहरूले पुरुषसरह न त मान्यता पाएका छन् न त स्वतन्त्र जीवन नै बिताउन सकेका छन् । यसकारण पनि यी कथाहरूमा हरेक महिलाहरूभित्र विद्यमान स्वाभाविक हार्दिक प्रेमिल अनुभूतिहरूलाई कुण्ठित मात्र तुल्याइएको छैन अपि तु समय समयमा लाञ्छित र अपमानित हुनुपरेको अवस्थालाई समेत स्विकार्नुपरेको कुरा समेटिएको पाइन्छ । चाहे जुनसुकै कारणले होस्, परिस्थिति वा बाध्यता, न त अरनिकोकी स्वास्नीले न्याय पाएकी छन् न सगरमाथा आरोहीकी प्रेयसीले न्याय पाएकी छन् । यसर्थ ‘अरनिकोकी स्वास्नी’ र ‘सगरमाथामा प्रथम पाइला’ दुबै कथाहरूमा पुरुषहरूको पक्ष बलियो तथा स्वतन्त्र किसिमकै रहेको पाइएको छ । त्यस्तै सत्ता, सम्पत्ति र रबाफले पुरुषमा ल्याएको परिवर्तनका रूपमा ‘नायक ः खलनायक !’ कथा पनि निकै उल्लेखनीय रहेको छ । जे गरे पनि पुरुषको शासनबाट महिलाहरू प्रभावित हुनैपर्ने नियतिसमेत देखा परेको छ । अर्को ‘सङ्गत गुनाको फल’ शीर्षकको लघुकथामा समेत आखिरमा पुरुष र महिला एकअर्काले आपसी विश्वास कायम नराख्नुको परिणाम अर्थात् लैङ्गिक विभेको परिणाम दुवैको पराजयझैँ भएको पाइन्छ । यसकारण पनि श्रेष्ठका धेरैजसो कथाहरू पुरुषभित्रको अहम् र शासकीय प्रवृत्तिबाट महिलाहरू प्रभावित हुनुपरेको तथ्यलाई विश्लेषण गर्ने किसिमबाट प्रस्तुत भएका देखिन्छन् । यसलाई लैङ्गिक असमानताबाट उत्पन्न विकृत अवस्थाका रूपमा लिन सकिन्छ ।
प्रगतिशीलताले कुनै किसिमको विभेद स्वीकार गर्दैन, लैङ्गिक होस् कि वार्णिक । यहाँ लैङ्गिक असमानताकै कारण कथाकारभित्र पनि मौन क्रन्दनको बीजारोपण भएको पाइन्छ । ‘मौन क्रन्दन–१’मा कथाकारजस्ती एउटी छोरीले कहिल्यै छोरासरह आत्मीयता, मानसम्मान र अवसर पाएकी छैन । यहाँसम्म कि आमाबाट समेत छोरीप्रतिको स्नेहले पूर्णता पाउन सकेको छैन । यसलाई एक किसिमको लैङ्गिक विभेदजन्य परिणतिका रूपमा लिन सकिन्छ । चाहे अज्ञानताका कारण होस् चाहे स्वार्थका कारणले होस् छेरी निरन्तर अन्यायमा पर्दै आएकी छ । त्यस्तै ‘मौन क्रन्दन–२’ मा वर्णभेदका कारण प्रताडित मानवीय जीवनको मार्मिक प्रस्तुति पाइन्छ । सेतो र कालो वर्ण वा रङका कारण हुने विभेदबाट पटक पटक सिकार हुनु परे पनि अन्ततः वर्णका कारण कोही पनि असक्षम र अपहेलित छैनन् भन्ने कुरा उठाइको छ । त्यस्तै ‘उनले नजन्माएकी छोरी’को पुरुष पात्र प्रगतिशील हुँदा हुँदै पनि अप्रगतिशील देखिएको छ भने ‘नायक ः खलनायक !’ को पुरुष पात्रले पनि प्रगतिशीलताको खोल ओडेर सत्तामा पुगेपछि आफ्नो कार्यशैलीलाई घमन्डको घेराभित्र आबद्ध गरेको पाइन्छ ।
यसरी वर्ण वा रङका नाममा, जातका नाममा, आर्थिक अवस्थाका नाममा, सामाजिक संस्कारका नाममा, परम्परित मान्यताका नाममा तथा सत्ताका आडमा आदि जुनसुकै नाममा भए पनि विभेद वा द्वन्द्व सिर्जना हुँदै गएका विश्वपरिवेशका सन्दर्भहरू प्रस्तुत कथासङ्ग्रहभित्रका कथाहरूमा समेटिका छन् । प्रगतिशीलताको वैचारिक कसीमा हेर्दा यस्ता परिस्थितिहरूको अन्त्य हुनै पर्ने निष्कर्ष देखिन्छ । वस्तुतः कथाकारको मूल अभीष्ट भन्नु पनि प्रगतिशीलताका नाममा अप्रगतिशील हुने र प्रेमिल जीवनमा खलल उत्पन्न गर्ने तŒवहरूले सावधान हुनु जरुरी छ । यद्यपि ‘मौन क्रान्दन–२’, ‘फेरि उसको छोरो’ र ‘सानिमा’ जस्ता केही कथाहरूमा महिलाद्वारा पुरुषहरूबाट हुने त्यस्ता अप्रगतिशील क्रियाकलापप्रति कडा ढङ्गले प्रतिकारसमेत गरिएको छ ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रप्रतिको अनुरागलाई प्रस्तुत गर्नु कथाकार श्रेष्ठको अर्को प्रवृत्ति हो । उनका कथामा दशरथचन्दको सहादतपूर्ण सन्दर्भसँगै राष्ट्रप्रतिको अनुराग र सहिदप्रतिको सम्मानभाव प्रकट भएको छ । त्यसैले ‘अँध्यारोबाट उज्यालोतिर’ कथा सहिदप्रति समर्पित देखिन्छ । त्यस्तै ‘लिन्डा’ कथाका माध्यमबाट लिन्डाद्वारा नेपालप्रतिको आस्थालाई उजागर गरिएको देखिन्छ भने ‘समुद्रपारिको कथा’ले समेत स्वदेशप्रतिको अनुरागलाई महत्ता प्रदान गरेको पाइन्छ । राष्ट्रजस्तै मानवीय अनुरागलाई समेटिएको कथा हो–‘फेरि भेटौँला’ । यसमा पृथक् धर्मावलम्बीबाट देखाइएको मानवीय सदाशयतालाई पनि मुक्तकण्ठले प्रशंसा गरिएको छ । यसरी पलायन र देशभक्तिलाई सँगसँगै समेट्न सक्ने क्षमता कथाकार श्रेष्ठमा देखा पर्दछ र उनका कथाहरू यस दृष्टिले समेत विवेच्य देखिन्छन् ।
त्यस्तै मानवीय स्वार्थीपनका कारण पशुहरूलाई लगाइने लाञ्छना र पशुप्रतिको यातना विचारणीय रहेको प्रसङ्गलाई समेत यहाँ प्राथमिकताका साथ उल्लेख गरिएको छ । बिनाकाम हात्तीलाई आतङ्कारी प्रकृतिको जीवका रूपमा व्याख्या गरिनु असान्दर्भिक मात्र हैन अन्यायपूर्ण रहेको भन्दै हात्तीप्रतिको सहानुभूनि प्रकट गरिएको छ । जबसम्म मानिसले जङ्गल विनाश गरेको थिएन तबसम्म हात्तीले केही उपद्रो मच्चाएको थिएन नै । हात्तीलाई उपद्र्याहा भन्ने मानिस नै बरु त्यस्तो उपद्र्याहा हो जसले पशुचरनलाई विनाश गर्दै आएको कुरा बताइएको छ । ‘म, रुद्राक्ष र काग’ जस्तो लघुकथामा पनि मानिसद्वारा बढी मात्रामा प्रकृति दोहन हुने र प्राकृतिक विनाश हुन सक्ने खतरा रहेको कुरा औँल्याइएको छ । यसबाहेक पनि यहाँ प्राकृतिक प्रकोपका कारण जैविक समस्या उत्पन्न हुने गरेको अथवा हात्तीले समेत मृत्यु वरण गर्नुपरेको मार्मिक सन्दर्भ उठाइएको छ । त्यस्तै वर्तमान नेपाली राजनीति र सामाजिक विकृतिका कारण अस्तव्यस्त मानवीय समाजका अनेकौँ पाटाहरूको चर्चा गरिएको छ । लघुकथाका रूपमा रहेका ‘सङ्गत गुनाको फल’ र ‘म, रुद्राक्ष र काग’ मा भने
जे होस्, कथाकार श्रेष्ठका कथाहरू प्रगतिवादी चिन्तनबाट ओतप्रोत छन् । लैङ्गिक तथा जातीय विभेदको चिरफारमा केन्द्रित छन् । महिला हक अधिकारका बारेमा सतर्क छन् । प्रेमिल जीवनका उतारचढावहरूको विश्लेषण अर्थात् खासगरी नारीमनोविश्लेषणका दृष्टिले सघन छन् । विद्रोहात्मक चेतबाट प्रभावित छन् । वैचारिक तथा बौद्धिक बहसका लागि सबल छन् । राष्ट्र, राष्ट्रियता र स्वाभिमानका दृष्टिले उल्लेखनीय छन् । समकालीन सन्दर्भ र विश्वपरिवेशसम्मलाई समेट्न सक्ने किसिमबाट प्रस्तुत भएका छन् । साथै, मानवीय र मानवेतर चरित्रहरूको स्वाभाविक जीवनचर्यासँग गाँस्न सफल छन् । यसर्थ कथाकार श्रेष्ठको आगामी कथायात्रा एउटा निश्चित दिशातर्फ उन्मुख रहेको प्रस्ट हुन्छ । उनको सिर्जनधर्मिताले उत्तरोत्तर विकास गर्दै लगोस्, यही शुभकामना ।

बुढानीलकण्ठ ८, हाइल्यान्ड, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 12 चैत्र, 2076

लेखकका अन्य रचनाहरु