भय

- कबिन बस्नेत

स्फटिक जस्तै निर्मल पानीमा
निर्बन्ध उफ्रिरहेका असलाहरू
कति अनविज्ञ छन्
सानीभेरीको तीरमा
दाउ पर्खिरहेका जलेवाहरू प्रति ।

कति जालहरू छलेर
कति पासोहरू उम्काएर
कति बल्छिहरू पन्छाएर
घुरबाट स्वच्छन्द लयमा अलग्गिएर
सतहसम्म आईपुगेको असलालाई
ज्यूँदै क्वाप्पै निल्छ जलेवाले
सानीभेरीको तीरमा ।

टोलाईरहन्छु
भावशून्य आँखाहरूले
जलेवाको जलक्रिडा हेर्दाहेर्दै
मलाई निस्सार लाग्छ- आफ्नै जिन्दगी
र, कोरोनाले सङ्क्रमित यस युग
मानवताको हृदय छाम्नेहरू
मास्क नपाएर
घुरभित्र सेल्फ-क्वारेन्टाईनमा कैद छन्
जलेवालेझैं
कोभिड-19ले क्वाप्पै निल्ला कि भनेर
आफ्नै छाँयादेखि एक मिटर पर सरेर
दिनभर साबुन पानीमा हात डुबाएर
आफूलाई सुरक्षित अनुभव गर्दैछन् ।

सानीभेरीको तीरमा
आगन्तुकको आगमनसँगै
भय र संशय पनि आईपुगेको छ
हिउँदका लामा साईबेरीयन रातहरूको गर्भबाट
सिनोजोईक एराका मांसाहारी चराहरूझैं
सानीभेरीको तीरमा
सन्त्रासवाहक याम आईपुगेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 3 बैशाख, 2077

लेखकका अन्य रचनाहरु