अप्राप्ति

- बिलोक शर्मा

अक्षर फलाउन
सिलौटे ढेलाहरूका जिउँमा
चरिहिँड्ने
जीर्णताको गर्भ बोकेको यौवन
खिया लागेको खुरपीहरूले
गोड्-गाड् गरिरहन्छन्
माटोमुनि पुर्रिसकेका
पुराना कथाहरू.....
#
बोनसाँइ सोंचहरू
बाँसझ्याङ्का फूलहरू देखेर
यौनशक्तिविहीन खेतहरूमा
खोजीरहन्छन्
जीवन उमार्ने बिम्वहरू।
#
कुलोको आङ्गभरि
लङ्गडो हुँदै कुदिहिँड्ने पसिनासित
कुर्कुच्चाका फुटेका रेखाहरूका
मित्रताको निषेचन नहुने
इतिहासको विज्ञान विज्ञापित छ
खेतको निधारमा।
#
बिउभित्रको ओछ्यानमा सुत्ने
खड़ेरीको निद्रालाई व्यूँझ्याँउन
बुढीऔंलाको छापसहित
धेरैपल्ट पुगिसकेका छन्
टेलिग्रामहरू।
#
तर
अङ्कुरित हुन
घाम पुगेन-
भन्छ बिउ।
#
एउटा रित्तो दिन
डोकोभित्र बोकेर
घर फँर्कदै गएको बाटो
सुक्दै गएको घामसितै
सङ्कुचित बन्दै जान्छ
विस्तारै।
डुवर्स (भारत) हाल-लुधियाना,

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 बैशाख, 2077

लेखकका अन्य रचनाहरु