फुर्सद

- विनोद नेपाल

उनी देशविदेश घुमेका थिए । एक त जागिर नै ठाउंमा पर्नु, अर्को रिझाउन र आशीर्वाद पाउन सिपालु । धर्मकर्ममा भने उनको कत्ति रुचि थिएन । भन्थे, ‘ढुंगा पुजेर पनि हुन्छ, मान्छे पुज्नुपर्छ ।’ नभनुन् पनि किन ? आखिर उनी मान्छे पुजेरै राम्रो हैसियत बनाउन र सन्तानहरुलाई विदेश पठाउन समेत सफल भएका थिए ।
मन्दिर नगएको लामो समय भईसकेको थियो । बिदाको दिन टहल्दै मन्दिर पुगी परिक्रमा पश्चात मूलद्वारबाट प्रवेश गर्नै लागेको थिएं, भित्रको दृष्यले अचम्भित बनायो । कारण थियो कहिल्यै मन्दिर नजाने उनी ध्यानमग्न अवस्थामा ।
आफ्नो काम सकेपछि बाहिर निस्केर अल्मलिएं । एकछिनमा उनी पनि निस्किए । अभिवादन गरेंं, फर्काउंदै नजिक आए ।
सञ्चो बिसन्चो सोध्ने औपचारिकता पछि मैले भनें–‘हजूरलाई यहां देखेर त म चकित पो भएं’, ‘जिउंदो देउता पुज्ने मान्छे, कसरी ढुंगा पुज्न आइपुग्नुभो त हजूर ?’ मैले सोधें ।
‘समयको कुरा, हिंजो कहांकहां के के गरियो,अब सम्झेर कहां चल्ला ?’ ‘त्यतिबेला त शरीरमा बेग्लै तागत थियो नि, यस्तो दिन पनि आउला भनेर सोच्ने फुर्सद नै कहा. थियो र ?‘

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 30 बैशाख, 2077

लेखकका अन्य रचनाहरु