श्रम–साधना महाकाव्यमा केही श्रम लगानी गर्दा

- सदानन्द अभागी

परिचय –
भेटिन्छिन् साधना लक्ष्मी श्रमवीर प्रसाधना
सारा प्रगतिमा जुट्ने देवता श्रमसाधना
यी उपरोक्त श्लोक रिङ्नेरह ३ पूर्वखोलामा २००६ साल साउन १९ गते पिता स्व.टिकाराम न्यौपाने र माता गीतादेवी (गाथादेवी न्यौपाने)का सुपुत्र नीलकण्ठ न्यौपाने(निहुरी ‘न’ ठूलदाइ)का हुन । ‘पुरेतका मुखमा बुझो ’लघुकाव्य–१वैशाख २०३४देखि हाल श्रम–साधना महाकाव्य २०७६सम्म आइपुग्दा उहाँका १० कृतिहरू बजारमा आइसकेका छन् भने करिव आधादर्जन (७ थान) प्रकाशोन्मुख देखिन्छन् । करिव एक दर्जन सामाजिक संस्थामा आवद्ध हुनु भएका नीलकण्ठज्यूलाई दुई दर्जन साहित्यिक संस्थाले विभूषित गरिसकेका छन् । सस्कृत साहित्यमा आचार्यको डिग्री हाँसिल गरिसकेका नीलकण्ठको पेशा भने शिक्षण स्तम्भकार, लेखनको साथै समाज सेवामा आवद्धता देखिन्छ । संक्षेपमा भन्नु पर्दा नीलकण्ठ एक बहुप्रतिभाका धनी हुनुहुन्छ । लेखन क्षमता नै उहाँको उच्च परिचय हो ।
कृतिको संरचना – श्रम–साधना महाकाव्यको संरचना १५ सर्ग १६४७ चतुष्पदी र दुई पदीय श्लोकबाट भएको छ यस महाकाव्यको प्रकाशन पूर्वखोला गाउँपालिकाले गरेको छ । मूल्य ५००।–रुपियाँ राखिएको छ र पूर्वीय महाकाव्यको मान्ँयतालाई आत्मसात गरी संरचित यस महाकाव्यलाई माता पितामा समर्पित गरिएको छ ।
साहित्यकारहरूको धारणा – प्रकाशकीयमा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले लेख्नुुहुन्छ –‘राम्रो प्रकृति चित्रणम सहित सुखी नेपाली जीवन शैली र समृद्ध नेपालको परिकल्पनामाा काव्य सन्देसमूलक छ ।’
टंकप्रसाद पन्त लेख्नुहुन्छ –‘प्रस्तुत महाकाव्यको कथावस्तु नेपालको राष्ट्रिय अखण्डता र समृद्धिका विषयममा केन्द्रित रहेको छ ।’
प्रा डा. वेणीमाधव ढकाल लेख्नुहुन्छ – परम्परागत महाकाव्यीय संरचनाको अधिकांश प्रयोग गरी वीर रसलाई केन्द्रमा राखेर श्रमको महत्वलाई हरेक कोणबाट पुष्टि गरिएको यो महाकाव्य नेपालीमात्र होइन विश्व साहित्यमै नवीन प्रयोग बन्ने छ ।’
मोदनाथ प्रश्रितको धारणमा –‘श्रम–साधना जस्तो वहुआयमिक महाकाव्यको उपहार पायो सिंगो नेपालले।’
प्रदेश सांसद नारायणप्रसाद आचार्यको शुभ कामना प्राप्त गरेको यस महाकाव्यमा स्वयम् महाकाव्यकार नीलकण्ठ न्यौपानेले लेख्नुहुन्छ –‘ श्रम–साधना दुबै मेरा आराध्य देव हुन् । मेरो दृष्टिमा बसी खाने जीवन भन्दा गरी खाने जीवन पद्धति श्रद्धेय बन्छ । ’
सर्गगत पोखिएका केही धारणाहरू–प्रथम सर्ग शब्द पुष्प अर्चना,शीर्षकमा पदयात्र, र संवाद उपशीर्षकको रूपमा प्रस्तुत गरिएको छ – महाकाव्य लेखन पूर्वीय परम्परा अनुसार मङ्गला चरणको रूपमा यो सर्ग आएको छ । मातृभूमिप्रति शब्दपुष्प लिएर महाकाविले आराधना गर्दै श्रमसाधनाको माध्यमबाट आफ्नै देश सिर्जना गरौं भन्दै गहन राष्ट्रियताले भरिएका शब्क्दको साथमा महाकवि बोल्छन् –
नेपाली घरमा बसी सवजना नेपालकै कीर्तन
गर्दै राष्ट्र विकासको शिखरमा पुग्ने गरौं चिन्तन
हामी भक्त बनौ पवित्र श्रमको नेपाल हो मन्दिर
पारौं झल्मल सीप ज्ञान विधिले कैलाश धामैनिर
(श्लोक ३ पृष्ठ १)
पदयात्रा उपशीर्षकमा धेरै गहन धारणा आएका छन् । राष्ट्रले भोग परेका गरिबीको प्रवलता, भोकमरीको बहुलता, देशलाई अगाडीलान चाहे जल आदि स्रोतको प्रचुरता, प्रकृतिकको सुन्दरताले परिपूर्णता, वीर पूर्खाका सन्तती कायर भएर बस्न नहुने परआश्रित भएर बस्न नहुने आफ्नै स्वाभीमानी भएर अर्थोेपार्जन गर्न सकिने जस्ता गहन धारणले भरिएको छ पदयात्रा ।केही श्लोक हेरौं –
प्रकृतिको सुन्दर चित्रण –
यहीं गौरीशंकर निलगिरि यहीं मुक्ति शिखर
यहीं अन्नैपूर्ण दिगवसनधारी गिरिधर
यहीं माछापुछ«े प्रतिदिन झिरोली छ रटना
पसेको फेवामा हिम शिखर भेटिन्छ घटना
(श्लोक २३ पृष्ठ ४)

झरेको स्वर्गै हो भुवनभर नेपाल धरणी
महाकाली मेची प्रकृति पूmलबारीको छ अवनी
तला सग्ला चाक्ला समतल महीमान छ प्रथा
म भित्रै भेटिन्थे विविध महिमा स्थापित कथा
श्लोक ३९, पृष्ठ ६
संवाद– यस उपशीर्षकमा नायक(श्रम)सँग संवाद भएको छ । नायकले आफ्नो परिचय यसरी दिएका छन् –
म नेपाली यौटा अथक श्रमजीवी श्रमिक हुँ
श्रमैमा बाँचेको श्रम शिविरका साधक म हु
पुजारी भै पूजा श्रमसँग प्रवासी भगत हुँ
चिनारी आस्थाको श्रम जगतको तागत म हुँ
(पृष्ठ ९ श्लोक ५४)
यहाँ श्रमिकलाई हरेक क्षेत्रमा खटेर आफ्नो श्रमको लगानी गरेर सेवा पु¥याएका धारणा आएका छन् । श्रमै हीरा मोती चल अचल सम्पत्तिको रूपमा लिइने, श्रमैबाट सकल उत्पादन गर्न सकिने आदि आदिमा श्रमको उच्च मूल्याङ्कनको रूपमा दर्शाइएको छ । यस सर्गमा महाकविे राष्ट्रप्रतिको आस्था श्रद्धा र समर्पणमा मन खुलाएर प्रस्तुत भएका छन्।
सर्ग–द्वुतीय
यस सर्गमा स्वाभिमानी इतिहासको हाम्रो जन्म घर शीर्षक दिएर पाल्पाली इतिहासलाई प्रस्तुत गरिएको छ । पाल्पा एउटा ऐतिहासिक रूपमा हेरौं या विविधताले सजिएको स्थान भनौं प्राचिनकालमा एउटा सुन्दर राज्य थियो । धर्म पाल सेन पाल्पाका सेनवंशी पहिला राजा थिए । यस वंशका राजा मुकुन्द सेनको प्रसिद्धि आज पनि चर्चामा आएको पाइन्छ । महाकाव्यले पाल्पामा को कोले राज्य गरे यी सबै ऐतिहासिक विवरणलाई स्पष्टसँग दर्शाको छ । नेपाल राज्यमा पाल्पा एकिकरण भएपछि पनि महाकाव्यले इतिहासलाई समेटेको छ । पाल्पा एउटा उर्वरक भूमि हो । यहाँ माडी जहाँ माण्डवी ऋषिको तपस्थल हो । यो सुन्दर उर्वरक माडीफाँट हो । यस्ता उर्वरक फाँटहरू थुप्रै छन् । अर्गली गोपालको नामले चिनिएको फाँट हो । यस काव्यले काली गण्डकीको महिमा, शालिग्रामको महत्वको साथै पाल्पाली श्रमवीरका थुप्रै कथाहरू समेट्ने प्रयास भएको छ । पाल्पाली श्रम साधकीका कार्य शैलिलाई कविले यसरी प्रस्तुत गरेका छन् –
पाल्पाली श्रम साधकी मिलिजुली गर्छन् जहाँ उन्नति
पाल्पाली परिवेशमा छ श्रमकै प्रीत कथा आरती
पाल्पा पौरखमा सदा मन रमी श्रृङ्गार भर्ने सदा
पाल्पा चित्र विचित्र सुन्दर छटा प्राकृत्य छन् सम्पदा
(श्लोक १९ पृष्ठ २१)
यस सर्गमा पाल्पालाई एउटा पवित्र एवम् धार्मिक स्थलको रूपमा चित्रण गरेको छ । पाल्पाको पहिचान धार्मि रुपमा पनि उच्च छ भन्ने धारणा सहित कविको धारणा यसरी आएको छ –
पाल्पाकै पहिचान धर्मस्थल त्यो रिडी ठूलो धाम हो
कृष्णाको तटतीर्थ क्षेत्र भरमा सम्मुक्तिको ठाम हो
लाखौं धर्म परायण पथिकको गन्तव्य पुण्यस्थली
पाल्पाली सुख भावनामय पुरी श्रीविष्णु तीर्थस्थली
(श्लोक २५, पृष्ठ १२)
यस काव्यमा देवदत्त ऋृषिको तप भङ्ग गराउन प्रम्लोचना अप्सरालाई इन्द्रले पठाइएको, अप्साको सौन्दर्यमा देवदत्तको मन पग्लिएको र प्रम्लोचासँग आनन्द भोग गरेको, अप्सराले दिव्य कन्याको जन्म दिएर स्वर्गतिर लागेको वर्णन र नारी रूपमा कसरी लोभी इन्द्रिय फसिन्छन् भन्ने मिठो प्रस्तुतिलाई हेरौं –
नारी सुन्दर रूप यौवन छटा श्रृङ्गारका शानले
लोभी इन्द्रिय जन्य रङ्ग गहिरो ,कामान्ध मुस्कानले
बोली बालमिजासले टहलले एकान्त सम्पर्कले
हा¥यो दिव्य तपसिता पनि गल्यो नारीप्रिया स्पर्शले
(श्लोक, ३१ पृष्ठ २३)
यी कन्याको नाम रुरु कन्या भनेर नामाकरण गरिएको । रुरुले तपस्या गरेको र चतुर्बाहु हृषीकेश नै पाउँ भनी वरमागेको, हृषिकेशले स्व वर दिएको बर्णन गरिएको छ । रानी घाटको साथै रानीमहलको वर्णन,(जसलाई नेपालको ताजमहलको रूपमा चिनिन्छ ), रम्भा , सत्यवती, भगवती, नारायण मन्दिर,श्रीनगर, तानसेन दरवारको सौन्दर्यता र विशालता, जीत गडी तालतलैया, भैरवनाथ, महाकाल, भैरवी ताल, सिद्ध गुफा ,सुन गुफा, लोकेश्वर, कौडेलेक, हात्तीलेक, पाल्पाली करुवाको प्रसिद्धि, अदुवा तेजपात, वेसार, गणेशथान, शिवथान,सत्यवतीदेवीको सत्यवती तालको बास, वेदपुराणम आदिमा हुँगी चर्चित थियो, हेक्ब्लाङ झम्माकुलो ,रामपुरमा रामको बास, सीताकुण्ड, केलादी पुण्यधाम, रामचुला प्रसिद्ध शिला, बौदीकालीले डेडगाउँको सिँचाइ, डेडकाली, हुप्सेकोट, रुद्रपुरी, द्यौचुली, मौलासिरी मन्दिर, रिब्दीकोट वग्नासकी कालिका, रम्भा माथगडी , पूर्वखोला प्रभास आदि भौगोलिक विवरण ती स्थानको महत्त्व, प्राकृतिक वर्णन, सामाजिक अवस्था, धार्मिक ,राजनीतिक, आर्थिक, शैक्षिक अवस्था जन्मभूमिको महत्व, राष्ट्र र राष्ट्रियताप्रतिको माया ममतालाई यस सर्गले समेटेको छ । केही श्लोकको अध्ययन गरौं ।–
नेपाली श्रमसाधना दिन दिनै विश्वमा यो फैलियो
के भो के यस राष्ट्रको प्रगतिमा बाधा पसी मौलियो
माग्दै हार गुहार राष्ट्र जननी गर्छिन पुकार निकै
नेपाली श्रमवीर हे अब यहीं फर्केर आऊ छिटै
(श्लोक १४४, पृष्ठ३९)

आमाको महिमा अपार गरिमा भेटिन्छ संसारमा
आफ्नै जन्म र कर्मको जगठूलो मानिन्छ सत्मार्गमा
आफ्नो इज्जत स्वाभिमान सब हो माटो अमूल्यै धन
माटो मै छ सबै निसान गहिरो माटो सबै जीवन ।
(पृष्ठ ३८, श्लोक १३७)
सर्ग तीन– आफ्नै वतन आफ्नै स्वाभिमान शीर्षकमा गौरवपूर्ण नेपाली स्वाभीमानलाई नेपाली माताको चरण कमलमा अर्पण गर्दै नेपालले युगौं युय कीर्तिमान स्थापित गरेको ,सन्तानको उज्ज्वल भाग्य रेखा भविष्यको कर्मरेखा, तराई पहाड, हिमालका सबै सम्पदाहरू भाषा संस्कृति, धर्म, आदि आदिलाई समेट्दै नेपाली आस्था र गौरवपूर्ण स्वाभीमानलाई प्रस्तुत गर्दे नेपाल नाम नै हाम्रो स्वाभिमान हो भन्ने धारणा कविले पोखेका छन् । बास्तवमा नेपालीको इतिहास, राष्ट्रभक्ति, नेपालको उर्वरक भूमि, राष्ट्रिय विभूति, जलसम्पदा, हावा, माटो, वन्यवनस्पति पवित्र स्थलहरू नै नेपालको गौरव हो भन्ने धारणा आएको छ सर्गमा । यस विषयलाई तलका श्लोकहरूले पुष्टि गर्दछन् –
स्वतन्त्रा साथ छ स्वाभीमान
अखण्डता साथ स्वाभीमान
स्वाधिनता साथ छ स्वाभी मान
नेपाल नामै पनि स्वाभिमान
(पृष्ठ४२, श्लोक १३)

लालित्यता बस्तुकला स्वदेशी
चिनो चिनारी अनि लगाउँ बेसी
सबै सबै मौलिक उच्च ज्ञान
नेपालकै आर्जित स्वाभिमान
(पृष्ठ ४३, श्लोक १९)

युगौं –युगौँ देखि स्वतन्त्र हामी
सही बसेनौं अरुको गुलामी
आफै गरेनम् रणको उठान
तथापी संरक्षित स्वाभिमान
(श्लोक ६६ , पृष्ठ ५०)

कृपा कसैको पनि हैन राष्ट्र
अखण्ड नेपाल विशाल राष्ट्र
बाँडी चँुडी गर्न हुँदैन जान
विशालता भित्र छ स्वाभिमान
(श्लोक ७० पृष्ठ ५१)
सर्ग – चार
स्वावलम्बन शीर्षकमा समाज जुटेर सामथ्र्यमा सक्षम भइन्छ ,सम्भावनालाई साथ लिएर विज्ञान र ज्ञान श्रम सीप मिलायर नेपालका आफ्नै स्रोत र साधनको प्रचुरतामा आफ्नै बाहुबलको लगानीमा स्वावलम्बी बन्न सकिने र राष्ट्रलाई उठाउन सकिने धारणा आएका छन् । राष्ट्रिय एकता, विदेश पलायन, शिक्षा, जन जागरण, आशे बन्न नहुने, धरति–पुत्र किसानको बस्ने स्थान,जहाँ श्रमबूँदका दीप जल्छन् , विविध किसिमका उत्पादन हुन्छन् जहाँ धन सम्पत्तिका स्रोतहरू छन् त्यहाँका मानिस राष्ट्रको सम्पत्तिलाई त्यागी आशे बन्न नहुने, श्रम गरेर स्वाबलम्वी बन्नु पर्ने आदि विविध धारणाले सजिएको छ यो सर्ग ।–
देश विर्सन नहुने धारणा–
बिर्सेर राष्ट्र धनको फल चाहनामा
कामै भएन हिडियो श्रम बेचनमा
घृणा बिबाद अपवाद विकार जान
सम्पत्ति मात्र गनिदैन नि स्वाभिमान
श्लोक १८, पृष्ठ ६१)
देशलाई खाँचोको अनुभूति –
खाँचो छ सागर ठुलो श्रम राष्ट्रलाई,
खाँचो छ जाँगर ठुलो अब राष्ट्रलाई
नेपालको प्रगतिमा बलियो कमान
खाँचो युवा सबल शक्ति छ स्वाभिमान
(श्लोक ३२, पृष्ठ ६३)
सामथ्र्यबाट प्राप्त हुने चिज–
सामथ्र्य भित्र सुख सम्पत्ति फैलिइन्छ
आफ्नो कमाइ उत्तम ठानिइन्छ
आफ्नै समृद्धि बिच मिल्दछ उच्च ज्ञान
उद्योग्य नै छ धन धान्य र स्वाभिमान
(श्लोक ३९, पृष्ठ६४)
स्वावलम्वी बन्न आग्रह–
जागौ सबै घर–घरै बन स्वावलम्बी
सामथ्र्यहीन नबनौं न पराबलम्बी
नेपाल सक्षम समर्थ विशाल जान
यो देशभित्र अनमोल छ स्वाभिमान
.(पृष्ठ ७२, श्लोक ९६) ण्रर
सर्ग –पाँच
यस सर्गमा आफ्नै पौरख आफ्नै स्वाभिमान शीर्षक दिएर महाकाविले श्रमवीर मार्फत विविध धारणाहरू राख्नु भएको छ –
गर्नु सबैले घरकाम–काज
सत्कर्म गर्दा किन मान्नु लाज
गरौं सबैले श्रमको निदान
सधैं गरौं पौरख स्वाभीमान
श्लोक २ पृष्ठ ७४
परदेश गएकालाई फर्केर आउने आह्वान गरिएको छ । स्व देशकै सिर्जनामा रमाउन साथै नेपाललाई भूस्वर्ग बनाउन, मौलिकता जोगाउन, विदेशबाट आउँदा विकासको सागर ल्याउन पर्ने, पिंध दह्रो बनाउनु पर्ने आमासँग उच्च स्वाभिमान भएको, व्यवसायका कुरा, युवा नै उर्जा भएका कुरा, पैसा नै ठूलो इज्जत हैन , सम्पन्नताका कुरा, किसानले अमृत समानको गोरस उत्पादन गर्छन्, विपिभन्न अनाज तरकारी उत्पादन गर्छन्, कृषि क्रान्ति गर्नुपर्ने धारणा, वातावरणीय शान, सासनको विधान नै आधार भएको संविधानका कुरा, शिक्षा आदि विविध क्षेत्रका महत्वपूर्ण क्षेत्रलाई समेटदै राष्ट्र महान बनोस् भन्ने धारणा आएको छ यस सर्गमा ।
कविको लोकबतन्त्र तथा गणतन्त्र सम्बन्धि धारणा–
फुली फोस् अब लोकतन्त्र,
दिगो बनोस् यो गणतन्त्र मन्त्र
अखण्ड नेपाल सदा महान
आफ्नै बुतो वर्कत स्वाभिमान
(श्लोक ३७ पृष्ठ ७९)
समग्रमा भन्नुपर्दा यस सर्गमा स्थानगत विशेषता,संस्कार, निर्माणका साधन,संस्कृति, शैक्षिक, कला,कृषिबाट आर्थिक सम्पन्नता, पहिरन, लोक गीत, लोक बाजा, प्राकृतिक सौन्दर्यता ,नेपालकै शान,मान, प्राण हो स्वाभिमान जस्ता धारणाहरूलाई समेटिएको छ ।
सर्ग – छ
साधना भूमि लुम्बििनी शीर्षकमा यस कृतिकी नायिकाको परिचय यसरी गराइएको छ –
ज्ञानी गौतम बुद्धकी प्रियतमा आधार हुन् साधना
सारा मानव जातिकी अनुपमा आराध्य हुन् साधना
शिक्षा–वेद विशेष सार सबकी प्रज्ञान हुन साधना
साँचो जीवन सारकी विषय हुन् विज्ञान हुन साधना
श्लोक २, पृष्ठ ८६
यस सर्गमा महाकविले साधना के होइनन् सबै सबै चिज हुन् भनेका छन् ।जाँगर सीप, प्रविधिकी आधार, कल्पित कल्पनाकी साकार,ज्योत्स्ना ज्योति समान आकार, प्रविधिकी प्रकार,प्रगतिकी सञ्चारिका,उद्यमशील लक्षकी उर्जा, नौलो यो युग चाहनाकी निष्कर्ष लगायत भाग्यकै फल, कर्मकै वरदान, धर्मकी ज्ञान ध्यान, आदि आदिले पूर्ण भएकी एउटी सक्षम, प्रतिष्ठित नायिकाको रूपमा साधनालाई प्रस्तुत गरिएको छ । यस शीर्षकमा कपिलबस्तु राज्य, शुद्धोधन राजा, गौतम बुद्ध र बौद्ध दर्शनमा आधारित देखिन्छ । लुम्निीको परिचय सम्बन्धमा कविले धेरै वर्णन गरेका छन् त्यसमा एउटा श्लोक यसप्रकार छ––
सम्यक् चिन्तन ध्यान योग बलको अभ्यास हो लुम्बिनी
बोधीसत्व दिने सुसुप्त मनकी अध्यापिका लुन्बिनी ।
साराबौद्ध बिहारको मुकुट हो संज्ञान हो लुम्बिनी।
साझा धर्म र कर्मको निगम हो प्रज्ञान हो लुम्बिकनी ।।
(श्लोक १७, पृष्ठ ८८)
यस शीर्षकमा साधनाको नृत्यकला, उनको साथीहरूसँगको क्रियाकलाप, शिक्षा आजर्न, शिक्षाको महिमा, साधनाको यौवनता, यौवनताले निम्त्याउने विविध कृयाकलाप, श्रमवीरको लुम्बिनी गमन, साधनासँगको भेट आँखा जुध्नु भावना बाँडने चाहना हुनु जस्ता धारणाको साथै एउटा यौवनता सम्बन्धि मीठो श्लोक प्रस्तुति हेरौं –
वेला यौवन आयुको वलवती जोधा बनी जुद्धछ
त्यागी शन्त महन्तको पनि टुना कालाग्नि भै पोल्दछ
जित्ने जित्दछ जिन्दगी, विजयको संसारमा बल्दछ
हार्ने लज्जित जिन्दगी दिनगनी सन्तापमा जल्दछ ।
(श्लोक ७५, पृष्ठ ९६)
यहाँ पाल्पाली श्रमवीरको निपुण नायकको रूपमा वर्णन गरिएको छ । साधनाको प्रवलता ,बौद्ध दर्शनको यर्थातालाई काव्यले समेटेको छ ।भन्दै एउटा श्लोक यहाँ प्रस्तुत गर्दै यस सर्गको बीट मार्दछु –
एउटै मङ्गल मन्त्र हो जगतको ‘‘सत्यम शिवं सुन्दरम्’’
साच्चै स्थापित स्वाभिमान सवको ‘‘सेवा हिंधम्मं परम्’’
साँचो कर्म छ धर्मकै वरि–परी चल्ने सधैं हर्बरी,
सेवाको सहभाव नै असल हो आदर्श विद्या पढी ।।
(श्लोक५७,पृष्ठ ९४)
सर्ग सात –समाज विकास क्रम शीर्षकमा यो सर्गको थालनी भएको छ । यस शीर्षकले मानव सृष्टि, वृद्धि विकास समाजिक स्थापित मान्यताहरूको कारक तत्वको रूपमा कवि यसरी बोलेका छन् –
श्रमै विधाता विधि विश्व सृष्टिको
श्रमै सदा सर्जक जीव सृष्टिको
श्रमै सदा जीवन स्वस्थ वृद्धिको
श्रमै सदा साधक ऋद्धि सिद्धिको
(श्लोक ४, पृष्ठ १०१)
हरेक क्षेत्रमा श्रमको गहन भूमिकालाई अग्रसरता दिदैं जीवको बृद्धि कोष बाट हुन्छ । यसरी जीवको विकास हुँर्दै जाँदा समाजको विकास भयो, समूहमा मानिसहरू गास र बासमा जुट्न थाले, आगोको आविष्कार भयो, यही आगो समाजको दियो बन्यो ,आहार विहारमा चिन्तन बढ्यो, समाजवादात्मक परिस्थितिको सिर्जना भयो। पाषण युगबाट थालनी समाजको श्रमसाधनाले गर्दा पशुपालन खाद्य सुधार गर्दै समाजको उन्नती हुन थाल्यो र तत्कालिन अवस्थामा सबै बराबर रहेका र मानवतामा समाज थियो । आमाको सुशासनमा परिवार चल्थ्यो । समाज आदिम साम्यवादबाट अगाडी बढेको थियो भन्दै कवि भन्छन् –
सबै–सबैमा शिव सत्य सुन्दर
निस्वार्थ सेवा मनमा वृहत्तर
निवास खाना परिधानमा सबै
सुखी खुसी जीवन वित्दथ्यो सधैं
(श्लोक २५, पृष्ठ १०४)
जव समाजमा लोभ बढो संयुक्त समाज बाट मानिस व्यक्तितिर लम्के सम्पत्ति पनि व्यक्तिको बन्यो, धनी गरिब हुन थाले । मालिक र नोकर बन्न थाले राज्यहरू बन्न थाले, मातृ सत्ताबाट शासन पितृ सत्ताम परिणत हुन थाल्यो उद्योग व्यपार जमिन सबै धनीका हातम पुग्न थाल्यो द्वन्द्व र विभेदले जरा गाडेको धारण सहित कवि भन्छन् –
विपन्न होला अपवित्र सर्वदा
अछूत भै सेबक ती यदा कदा ।
धनी बने शासक भूप–भूपति
समाजको हैकम भो अबोन्नति
(श्लोक ६१, पृष्ठ १०९)
श्रमवीरहरूकै कारण बाट नेपाल राज्यको निर्माणम भएको र यस देशको इतिहास अघि अघि बढेको र पछि पछि कर्मवीर रहेको धारणा सहित योसर्गको बिट मारिन्छ ।
सर्ग आठ–
एकीकरण अभियान शीर्षक दिएर एकीकरण नेपाल कस्ले कसरी र कहाँ सम्म पुगेको थियो भन्ने एउटा ऐतिहासिक घटनालाई यस सर्गमा समेटिएको छ ।
कैलाशकूट पाखामा पार्वती परमेश्वर
हिमालभित्र नेपाल विशाल कति सुन्दर ।।१।।
उपरोक्त श्लोकबाट थालनी गरिएको यस सर्गमा कला संस्कृति खासा भाषाका परिवार आदिलाई समेटदै नेपालमा रहेका साना साना राज्यलाई एकीकरण गरी नेपाल राष्ट्रको निर्माण भएको र यस देशलाई पौराणिक कालमा रुद्र देश, हिमवत खण्डमा किन्नर देश किरात देश पाटलीपुत्र आदि आदि नामाकरण हुँदै आजको नेपाल देशको निर्माण भएको धारणा यस सर्गमा आएको छ । यस नेपाल देश निर्माणमा नर भूपाल शाहका छोरा पृथ्वीनारायण शाहले मनकामना,गोरखनाथ, गोरखकालीको आशीर्वाद लिँदै थालनी गरी बहादुर शाहको शासनकालसम्म आउँदा नेपालको सीमा पूर्वमा टिष्टा र पश्चिममा काँगडा सम्मविस्तार भएको धारणा काव्यले समेटेको छ । यस सर्गमा नेपाल एकीकरण गर्दा वीर योद्धाहरूको योगदान रहेको पृथ्वी नारायण शाह आफै युद्धमा सरिक भएको र सबैलाई समेटेर एकीकरणको काम थालनी गरेको यस सर्गमा समेटिएको छ । अत यस सर्गले नेपालको गौरवपूर्ण इतिहासलाई पुराणहरुसम्म जोडेको देखिन्छ । भाषगत रुपमा पनि नेपाली भाषले सबै जात जातीलाई एकताको सूत्रमा वाँधेको धारण आफ्नै स्रोत साधनको प्रयोग गरेर युद्ध सामाग्रीको निर्माण,चाँदी फलाम,तावाँका खानीको उत्खनन्का कुराहरू पनि यहाँ आएका छन् । श्रमवीर गौरवपूर्ण नेपालको इतिहासको कारण गौरवले झुकेका र कविले पनि वीरताको गीत गाउँ भन्दै सर्ग अन्त्य हुन्छ ।
सर्ग नौ –दिग्विजय यात्रा शीर्षकको यस श्लोकबाट थालनी हुन्छ –
इतिहास विधा ज्ञान रहेछ श्रम वीरमा
सुनाए स्वाभिमानी त्यो यात्रा विजयको यहाँ ।।१।।
यस सर्गमा पृथ्वी नारायण शाह ले राज्य एकीकरण मात्र गरेनन् अनेकतालाई एकताको मालामा गाँसेर, चार जात छत्तीस् वर्ण मिलाउने काम गरे र उनलाई सबै जातजातिको साथ रहेको र सबैका सुझावहरू राजालाई ग्राह्य रहेको कुरा कविले यसरी प्रकट गरेका छन् –
अर्ति बिसे नगर्चीको गन्धर्व मनिरामको
वाङ्गे सार्कीहरूको थ्यो सल्लाह ग्राह्य राज्यको।।७।।
नुवाकोट विजय, मकवानपुर गढी नुवाकोटमा गाभिनु, गोर्खा राज्य गाभेर खाल्टो नेपाल राज्य बनाइयो यति वेला जयप्रकाश मल्ले अङ्ग्रेजसँग गुहार माग्नु, सिन्धुसली गढीमा अङ्ग्रेज सेना आएर घमासान युद्ध हुनु ,अङ्ग्रेज धपिनु,भुरे टाकुरे सबै गाभिएर पृथ्वीनारायण साझा राजा बन्नु, यसरी एकीकरणमा अभियानमा प्रतापसिंह शाह, राजेन्द्रलक्ष्मी शाह, बहादुर शाह,भीमसेन थापा,अमसिंह थापा,कीर्ति शाह, दलमर्दन शाह ,शूरप्रताप शाह, रुद्र प्रताप, भीम थापा आदिहरूको योगथदान पनि त्यत्तिकै भएका धारण महाकाव्यमा दर्शाइएको छ । यस सर्गका केही उत्किृष्ठ श्लोकहरू यस प्रकार छन्–
राष्ट्रका शत्रु ठानिन्थे दिने घुस लिने दुवै
नीरक्षीर सरी हुन्थ्यो गोर्खाका न्याय सत्य नै ।।
(श्लोक ४३ , पृष्ठ १२७)

स्वाभिमान थियो हाम्रो बलियो इतिहासमा
गोर्खा नेपाल नेपाली वीरताको निशानमा
(श्लोक ६५ पृष्ठ१२९)
यसरी वीररसले भरिएको यस सर्गको अन्तिम श्लोकलाई पनि यहाँ प्रस्तुत गर्न चाहान्छु –
अझ पनि शर्मवीर स्वादमा स्वाद भर्थे
म पनि रस रसैमा शब्द संचार गर्थे
अव त नव रसायो राष्ट्र भाषा प्रसङ्ग
गजवसँग रमेको छन्द साहित्यसँग
पृष्ठ १३३, श्लोक १०९
सर्ग –दश
यस सर्गमा भाषा –भेष शीर्षकमा भाषा साहित्य कला संस्कृतिको महत्वलाई गहनताको साथमा उठाइएको छ साथै थालनीको दोस्रो श्लोकमा श्रमवीरले लुम्बिनीको भ्रमणलाई यसरी स्मरण गर्दछन् –
लाग्यो राम्रो गत भ्रमणको याद त्यो लुम्बिनीको
सम्झी आफ्नै मन महलमा सोचिने साधनाको
के भो के भो विचलित भई आत्तिए कर्मवीर
आगो लागी मन पनि जल्यो सम्झना भो अधीर ।।
(सर्ग २, श्लोक १३४)
श्रमवीरले साधनालाई स्मरण गर्नु स्वभाविक थियो किनकी प्रीतिको भाव र बैंसको आश मिठो हुने भएकोले श्रमवीरको र साधना बीचमा प्रेमको अंकुरण भै सकेको थियो ।
भाषतिर नै लम्कौं –सबै नेपालीको मान्यता प्राप्त भाषा नेपाली हो र यही नै राष्ट्र भाषा हो । यो भाषालाई समृद्धिमा लान शशीधर नामका सन्तले निरगुन रचेर एकतारे बजाएर हिड्दथे । गोर्खालीमा भक्तिधारा फैलियो । भानुभक्तले रामायण लेखे ।मोतीराम भट्टले साहित्य सिर्जनाको साथै छापा खाना खोले, यस भाषालाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले गद्यपद्य महाकाव्य आदिको सिर्जना गरे ।बालकृष्ण शम, व्यथित, आदिले यस भाषलाई उच्चाइमा पु¥याए र यो भाषा दार्जिलिङ्ग, सिक्किम, भुटान ब्रह्मामा फैलियो । यो भाषा रस,अलङ्कार लक्षण, व्यञ्जनाको हिसावले पनि सशक्त छ भन्ने धारणा यस सर्गमा समेटिएको छ । हालको परिपेक्षलाई केलाउने हो भने यो भाषा विश्वव्यापी भएको छ भन्न सकिन्छ ।
सर्ग–एघार – यस सर्गमा सपना विपना शीर्षक दिएर श्रमवीरमा कल्पना तीब्र भएको साधनाको सपनामा स्मरण आएको विपनामा भएका कामका सबै लीला सपनामा देखिने गरेका, नेपालमा लोकतन्त्र र गणतन्त्र आउनु राजा फ्याकिनु तर जनताले आशा गरे बमोजिम उपलब्धि हँसिल नहुनु, नेपालीहरू अतितमा युद्धवीरले चिनिएका थिए भने हाल आएर कर्मवीरले चिनिएका र आज नेपालीहरू श्रम गर्नको लागि खाडीमा गएका र दुख भोगेका कुरा, इराकका आतङ्क कारीबाट १२ जना नेपाली मारिएका र विदेशमा भएका नेपालीको काठको बाकसमा लास आउने गरेको । श्रम समस्या बढ्दै गएको र अव विदेशमा श्रम गर्न नगै स्वदेशमा नै श्रम गर्नुपने धारणाहरू यस सर्गले समेटेको छ ।
सर्ग–बाह्र –परम्परा थिति वेथिति शिर्षकमा तराईको परम्परा थिति र वेथितिलाई केलाउने प्रयास भएको छ । साधना र श्रमवीर बीचको प्रेमले दुई अलग ठाउँमा बस्दा पर्ने सिर्जना हुने स्थितिलाई यसरी प्रस्तुति गरिएको छ –
उता छन् साधना एक्ली श्रम साधन साधिका
श्रमवीर पुजी बस्ने मनकी प्रिय राधिका
श्लोक १, पृष्ठ१६५
साधना श्रमवीरको प्रतिक्षारत छन् श्रमवीर कता छन् भन्ने कोतुहलता छ । सपना विपना बनेर वार्तालाप हुनु, उनको दिल वेचैन हुनु मुटुको गति बढ्नुु जस्ता घटना क्रममा कविले यसरी प्रस्तुत गरेका छन् –
साधनाभित्रका चित्र नाना रङ्ग विरङ्ग छन्
आपद विपदा सारा सम्पदा अझ दङ्ग छन् ।
श्लोक १० पृष्ठ १६५
तराईको विवाह प्रथामा छोरीको विवाहमा दाइजो दिनु पर्ने, साधना र उनका साथीहरू भने विना दाइजो टीका तिलकको साथमा समाज सुधार गर्दै विवाह गर्ने कुरा, तराईका विविध खाले राज्यहरूको सञ्चालन, कपिल देवको पिलबस्तु एउटा तीर्थ समान भएका कुरा, भूगोलका कुरा विविध जातजातिहरू तराइमा बसोबास गरेका र पहाडीया पहाडबाट तराई झरेका कुरा, बस्ती बसाइका कुरा उत्पादन र धानलाई ईश्वरको संज्ञा दिइनु,धानको बहु प्रयोगको वर्णन, चारकोशे झाडी, हरियोवन नेपालको धन, राष्ट्रिय निकुञ्ज, सिमसार,वन्यवनस्पति, चराहरू, फलपूmल, लुम्विनीको महिमा , वाल्मीकि , वाल्मीकि आश्रम र वाल्मीकिले रामायण लेखेका कुरा, सीता धर्मपुत्री बनेका कुरा, हरिहर क्षेत्र, गजेन्द्रमोक्ष धाम नारायण उत्रेको हुँदा नारायणी बनेकी, कृष्ण गर्भामा भएकोले गण्डकी बनेका, जनकराजा र जनकपुरको महिमा, मिथिला सभ्यता, याज्ञवल्क्य, सीता, गार्गी मैत्रेयी विदुषीहरू, सबै शिक्षित रहेका कुराहरू तिरोहित क्षेत्र, शीवको धनु, भएकोले धनुषा नामाकरण, ज्ञानकूप,जनक्कूप,विविध कुण्डहरू कन्काई देखि महाकाली भित्रका नदीहरूका विषयमा साधनाका साथीहरू बीच बहस भएका कुराहरूको साथै श्रमवीरको फोन आउनु र सखीहरू विषय विविधतामा संवाद सकेर अलगिएको धारणा सहित यस सर्ग बाट विश्राम लिन्छु ।
सर्ग–तेह्र –प्रतिक्षाको घडी शीर्षकमा र तपसिलको श्लोकको साथमा यो सर्गको थालनी भएको छ –
प्रभाती गीतमा रम्थे चरी मङ्गल रागमा
पुतली क्षम्क्षमी नाच्थे घुमी पुष्प परागमा
श्लोक १ पृष्ठ १८३
सुन्दर प्रकृतिको वर्णन सहित प्रकृतिले यस संसारलाई दिने अंशवण्डामा कुनै भेवभाव हुँदैन बराबर नै मिल्छ भन्दै कविले यस देशको संघीय सिर्जनालाई यसरी प्रस्तुत गरेका छन् –
एउटै आकाशको छानो पृथ्वी सबको घर
सात कोठा छ यो हाम्रो राष्ट्र नेपाल सुन्दर
(श्लोक ८ पृष्ठ १८३)

तलो तीन बनेको छ सात कोठा मनोहर
सतहत्तर छन् वाना ससाना सर्बसुन्दर
(श्लोक ८६, पृष्ठ१९०)
तराई देशको जगको रूपमा, पहाड खम्बाको र हिमाल छानोको रूपमा देश एकीकृत र अखण्ड रूपमा रहेको धारणा, यस देशका बासिन्दा उदार मनका, सबै सँग मिल्ने, विश्व शान्ति चाहने, मानव सेवामा लाग्ने, एकतामा रहने टुटफुट नहुने, दशैंलाई राष्ट्रिय चाडको रूपमा मनाउन विदेशमा भएका पनि घरमा आउने, सामाजमा देखिने विकृति र विसङ्गतिबाट टाढै रहने, रातो रगतले गर्दा सबैमा एकता राष्ट्रियता श्रमवीर र साधनामा पनि राष्ट्रिय भावनाको प्रचुरता जस्ता गहन भावनालाई महाकाव्यले समेटेको छ ।
राष्ट्रिय सम्पत्तिप्रति महाकविको धारणा–
पहाड सुनका ढिक्का चाँदी हुन् हिमश्रृङ्खला ।
अनमोल तराईका अन्न भण्डारका थला ।।
(श्लोक ९३,पृष्ठ १९०)
मानवीय प्रवृत्ति र प्रगतिवादप्रतिको महाकावीको धारणा–
प्रगती वादको ढोका खोल्नु पर्ने,बसी खाने ठगी खाने, छली खानेको अन्त्येष्टि गर्नु पर्ने,सबैका हातका औंला खेलाएर प्रगतिवाद ल्याउनु पर्ने, मानिस मानिसको श्रमको शोषण गर्न नहुने, प्रगतिवादको बैरी स्वार्थी समाज भएको आदि आदि प्रगतिवादको बारेमा कविका थुप्रै भावनाहरू बगेका छन् र प्रगतिवादको जम्काभेटबाट संस्कार फेरिनेमा कवि दृड देखिन्छन् ।
श्रमवीर साधना पुरिमा पुग्छन् र साधनाले मन्दमुस्कानको साथमा स्वाग गर्दछिन् र दुबै आत्मबाटै प्रेमपूजित थिए आदि धारणा सहित तलको श्लोक सहित यो सर्गले विश्राम लिन्छ –
आशा फुलेर मन मन्दिर मग्मगायो
भविष्यको सुखद लक्षण जग्मगायो ।
लौ साधनासँग तरङ्ग अनेक आयो
काव्यांश भित्र नव जीवन क्यै पलायो ।।
(श्लोक १२४, पृष्ठ १९३)

भूगोल भित्रको सगोल सम्बन्ध शीर्षकबाट यो सर्गको यो श्लोकबाट यसरी थालनी भएको छ –
पहाडका अतिथि आज झरे तराई
नेपाल राष्ट्र घरका सब भाइ–भाइ
नातो भूगोल बिचको गहिरो अपार
राखौं विचार मनमन्दिरमा उदार
(श्लोक १ पृष्ठ १९४)
यस सर्गमा पनि महाकावि यस देशको प्रकृति वर्णनमा खुलेरै लागेका छन् । श्रमवीर र साधना बीचमा वार्तालाप हुन्छ र श्रमवीरले साधनालाई सोधनी गर्छन्
लौ साधना विगतका सपना सुनाऊ
प्रथ्यक्ष भेट पछिको विपना बताऊ
आशा अनेक नव जीवन जिन्दगीका
पन्ना फुकाइ पढिनौ कि भविष्यगीता ।।
(श्लोक ८पृष्ठ १९५)
प्रेममा आतुर रहेकी साधनाको मन मन्दिरमा बसेका,आराध्यदेव सँगको मिलनमा आशा पलाएको धारणा राख्दै भन्छिन्
‘ जाऔ, पसौं घर बसौं मन दीप आशा
खोलौं दुबै जना बसी मनग्रन्थि पाशा
मेरो अधेंर मनमा अव धाम लाग्यो
सौभाग्य दीपसँग आश नयाँ पलायो । ’ं
(श्लोक १८, पृष्ठ १९६)
श्रमवीर र साधना बीचमा एक्लो जीवन व्यर्थ रहेको जोडिएर सृष्टि चल्ने रहेको , प्रेम रति साटिने कुरा। आमाबाबु पनि परिवार भित्रै सँगै भएका, रात पनि उजेलो रहेको प्रेमी सबैसँग साटो तिर्न नसकिने आदि प्रेममय कुराहरू पस्कदै साधनाले श्रमवीरको साथ पाउने धारण यहाँ प्रष्टिएको छ र श्रमवीरले पनि ‘पहाडसँग अब साट मदेश फाँट भन्दै आफ्नो धारणा सुनाएका छन् । पहाडका भूगोल भित्रका जातजाति, वनस्पति, खोलानाला, पहाड पर्वत, देवी देवता (शिव पार्वती, यक्ष,कुवेर गण, किन्नर किन्नरी, यति मानवको निसान) कृषि, मन्दिर देवालय आदि आदिको जानकारी गराउँदै श्रमवीर भन्छन् –
के छैन पर्वत पहाड हिमालभित्र
सम्पूर्ण वैभव सबै छ यहाँ विचित्र।
खोजे भनिन्छ नवरत्न यहीं अनेक
भूगर्भ भित्र विधिनिर्मित छन् हरेक
श्लोक ४७, पृष्ठ २००)
वार्ताक्रम अगाडी बढ्दै जान्छ र श्रमवीरले पनि साधनासँगको धारणा जान्न चाहान्छन् । साधनाले पनि तराईमा नारी माथिको दमन, छोरीलाई भारको रूपमा लिइने, गरिबको घरमा छोरीको जन्म अभिशाप, टीकामा लेन देन हुने, दाम्पत्व जविन दहेजमा उभिने, जलेर मर्न पर्ने, बोक्सीको आरोप खेप्न पर्ने आदि तराईमा नारीले व्यहोर्न पर्ने मार्मि तस्विरलाई कारुणिकताका साथ उठाएकी छन्।
यस सर्गमा आशावादी सोचमा कविले राष्ट्रका सवै श्रमवीरहरू विकासमा जुटेमा नेपाल आत्मनिर्भर हुने कुरा ठोकुवाको साथमा पस्केका छन् साथै श्रम सम्बन्धमा महाकवि यसरी प्रस्तुत भएका छन्–
सर्वत्र फैलिन सकोस् श्रमभित्र माया
श्रीसाधानामा बनिदियुन अब घाम छाया ।
उद्यानमा सुमन वासन मगमगाऊन्
नेपालभित्र श्रमसाधन सल्बलाउन ।।
(श्लोक १०० पृष्ठ २०८)
यसरी यो सर्गमा देश श्रमवीर र साधनाको श्रमको लगानीको प्रतिबद्धताले गर्दा देशले प्रगति गर्छ भन्ने धारणा आएको छ ।
सर्ग पन्ध्र – पूmलबारी एकताको शीर्षक लिएर यस महाकाव्यको अन्तिम सर्गको रूपमा उभिएको छ । यस सर्गको थालनीको पहिलो श्लोक बाटै यस सर्गको अध्ययन गर्न उपयुक्त लाग्यो–
बुट्टा भरेर मनमा श्रमस्वाभिमानी
सत्कर्मको परिकथा बिच जिन्दगानी
श्रीसाधनासँग रमेछ नयाँ जवानी
उघ्रेछ आज सहसा श्रमको विहानी ।।
यस सर्गमा युगले राष्ट्रिय स्वाभिमान मागेको,श्रम वीर र साधनाको बखान सबैले गरेका, संसार श्रमसाधनाबाटै सुन्दर बनेको, कुराहरुको साथै उन्नतिको निशान राष्ट्रभरी खोजेर श्रमस्वाभिमानको उच्च धरहरा निर्माण गर्नु पर्ने, वहुल संस्कृति र बहुल संस्कृतको विकासका कुरा, कमिला, मौरी र धमिराले श्रमबाट गर्ने निर्माण गरे सरह सबै जुटेर श्रमलगानी गरेर देशलाई उच्चाइमा पु¥याउन पर्ने र विदेशमा भएका सबै श्रमवीरहरू स्वदेश फर्कन पर्ने धारणा आएको छ । महाकाविले विदेशमा रहेका नेपाली युवाले भोग्न परेको दुःख घर न घाटको अवस्थालाई मनन गर्दै समीक्षाको लागि यसरी प्रस्तुत भएका छन् –
यस्तो कराल विकराल विजोग चाला
नेपालबाट कहिले पर भागिजाला
चिन्ता गरेर हटिदिन्न कुनै समस्या
श्रमै विशेष बल हो गर लौ समीक्षा
(श्लोक २७ पृष्ठ २१३ं)
नेपालमा नयाँ संविधान आएको र श्रमको लागि उपयुक्त रहेकोले यही देशमा धन धान्य र मान प्राप्त हुने कुराको साथै यस सर्गमा नेपालका ताल तलैया, विभिन्न वनस्पतिहरूमा विविध प्रविधिी प्रयोग गरेर धन आर्जन गर्न सकिने, डिभी प¥यो भनेर पिआर पाइयो भनेर दासत्वलाई स्वीकार्दै गौरव ठान्नु नहुने , स्वदेशमै श्रमक्रान्ति थाल्नु पर्ने, देशभक्ति यति ठूलो हुन्छ कि कुनै पनि विश्वबलले छेक्न सक्दैन जस्ता गहन धारणा यस सर्गमा आएका छन् ।
श्वर्गीय आनन्द सम्बन्धमा कविको धारणा –
पाइन्न स्वर्ग सुख शान्ति स्वदेश बिर्सी
पाइन्छ पूर्ण सुख शान्ति स्वदेश सम्झि
आजन्म जन्म परिवृत्ति स्वतन्त्रताको
संसार सार बहुमूल्य महानताको ।।
श्लोक ७०, पृष्ठ २२०)
कविले विदेशमा भएका तथा स्वदेशमा रहेका वकिल, साहित्यकार, नृतङ्गना, नकर्मी, सिकर्मी, डकर्मी, अकर्मी, राजनीतिज्ञ आदि सबैलाई श्रमको थोपा श्रमसागरमा मिलाउन र नेपालमै श्रम छरेर नयाँ रचना इच्छाफल फलाउनको लागि आग्रह गर्नु भएको छ ।
यस सर्गको अन्त्यतिर विदेश गएका परिवारको मनोदशालाई पनि मार्मिक रुपमा समेटिएको छ । आमाको , बाबाको, परिवारको छोरा छोरीको स्वदेशमै श्रम गर्न सकिन्छ फकेर आऊ घर भन्ने आग्रह अति कारुणिक रूपमा प्रस्तुत भएको छ । यस सर्गका अन्त्यका केही महत्वपूर्ण श्लोकहरूको साथमा यस महाकाव्यले पूर्ण विश्राम लिएको छ ।
युवा लाखौ जुटे आँफै श्रमको पूण्य कर्ममा,
साधना थपिए लाखौं राष्ट्र निर्माण गर्नमा ।।११९।।

नयाँ नेपालको खाका कोरियो श्रम देशमा
साधना श्रमका जोडी खटिए ती स्वदेशमा ।।१२०।।

पूर्व पश्चिम नेपााली युवा स्वागत द्वारमा
उत्तरी दक्षिणी ढोका खुलेका घरघरमा ।।१२१।।

स्वाभिमान फुली फक्री राष्ट्र संदेश छर्दछ ।
सूर्य चन्द्र ध्वजा आँफै नाची फर्फर गर्दछ ।।१२२।।

पात्र चयन र पात्र विवरण– श्रमवीर र साधना यस महाकाव्यका मूख्य पात्र हुन् । वार्तालापको क्रममा साधनाका साथीहरू दीपा, सुदीपा, शर्मिला, प्रमिला, दीपिका, प्रभा आदि देखा परेका छन् र उनीहरूको प्रस्तुतिले काव्यलाई केही गतिशिल बनाएको छ । श्रमवीरको उपस्थिति भने सुरुदेखि अन्त्यतक क्रियाशील देखिन्छ भने साधनाको सकृयता पनि महाकाव्यको सर्ग छमा गएर देखिन्छ । कवि पनि पात्रकै रुपमा देखिएका त हैनन् भन्ने अनुभूति पनि भएको जस्तो भान हुन्छ । पेटबोलीमा आएका पात्रहरूको संख्या भने धेरै नै छन् । पाल्पा राज्यको इतिहासमा सेनवंशका राजाहरू धर्मपाल सेन लगायतका सेनवंशी राजाहरू,को नाम, एकीकरणको वर्णनमा पृथ्वी नारायण शाहदेखि शाहवंशका राजाहरू, नेपाल एकीकरणमा युद्धमा लड्ने वीरहरू, बौद्ध भिक्षुहरू आदिका थुप्रै पात्रहरू र तिनका योगदानहरूको बारेमा पेटबोलीमा वर्णन गरिएको छ ।
भाषाशैली र प्रस्तुतिकराण –महाकाव्यमा सरल भाषाको प्रयोग भएको छ । सबै किसिमका पाठकले यस महाकाव्यले प्रदान गरेको भावनालाई सहजरूपमा आत्मसात गर्न सक्छन् ।विविध रस जस्तै वीर शृङ्गार, करुण शान्त, अद्भूत, भयानक आदि रसको प्रयोग काव्यलाई रसिलो बनाएको छ । अलङ्कार, बिम्ब, प्रतिक आदिको प्रयोगको साथ लयगतरूपमा विविध छन्दको अवलम्बन गरी सिर्जित यो महाकाव्य अनुकरणीय छ भन्न हिचकिचाउनु पर्ने छैन । प्रष्ट अनि दृढ रूपमा लिएको उदेश्यलाई प्रष्ट्याउनु पनि लेखनको सफलता नै मानिन्छ । कविले दिन चाहेको सन्देश सफलताको साथमा प्रस्तुत भएको छ ।
शीर्षकी करण – श्रम–साधना यी दुई शब्दको अर्थ बृहत् नेपाली शब्दकोषले यसरी अथ्र्याएको छ । ‘कुनै बस्तुको उत्पादन तथा र्मिाण वा जीवन निर्वाहका निम्ति शारीरिक वौद्धिक शक्ति लगाएर गरिने काम मिहिनेत परिश्रम’लाई श्रम भनिन्छ । यसरी नै साधनाको अर्थ हुन्छ ‘लामो समयसम्म कष्ट सही मनलाई एकाग्र राखेर कुनै सिद्धि वा संफलताको प्राप्तिको लागि गरिने योग, काम या प्रयत्न’ भन्ने बुझिन्छ । यस महाकाव्यमाा श्रम र साधनाको अठोटलाई केलाएर हेर्दा , श्रम र साधनाको श्रमकै माध्यमबाट देशलाई आत्म निर्भर बनाउने जुन अठोटको साथमा श्रम र साधना लागेका छन् साथै उनको भावना रूपी उद्देश्यलाई यस महाकाव्यले समेटेकको छ र श्रमको महत्वलाई महाकाव्यको थालनी देखिनै महत्व दिंदै वर्णन गरिएको हुँदा महाकाव्यको नाम श्रम–साधना राख्नु सान्दर्भिक देखिन्छ ।
निष्कर्ष
१५ सर्गमा सृजित यस महाकाव्य र महाकविप्रति साहित्यकारले दिएका सुभकामना तथा अभिव्यक्तिलाई मैले माथि नै प्रस्तुत गरि सकेको छु साथै सबै सर्गको संक्षिप्त भावसार पनि प्रष्ट्याउने प्रयास गरेको छु । संक्षेपमा भन्नु पर्दा यो महाकाव्य राष्ट्र,राष्ट्रिय भावनाले ओतप्रोत, राष्ट्रिय अखण्डताको प्रवलता,देश विकासको लागि श्रमसाधनाको निरन्तरताले नै गौरवपूर्ण विकास हुने धारणालाई महत्वका साथ उठान गरेको छ । यस महाकाव्यको अर्को विशेषता भनेको नेपालको भौगालिक बिस्तार र इतिहासलाई पाषण युगदेखि गणतन्त्र आउने बेलासम्मको सजीव चित्रण गर्न सफल देखिन्छ । तराईलाई आधार पहाडलाई खम्बा र हिमाललाई छानोको रूपमा चित्रण गर्दैै पहाड र तरााई बीच देखिएको विभेदलाई अन्त्यको साथै अखण्ड नेपाल र बहु जाति बहु भाषा, बहु संस्स्कृतिलाई एकीकरण गर्दै सुन्दर तथा समृद्ध नेपाली समाज निर्माणको धारणलाई महाकाव्यले समेटेको छ । पाल्पा राज्य र कपिलबस्तु राज्यको इतिहास र भौगोलिक चित्रणलाई चित्रण गर्न काव्य सफल देखिन्छ । नेपाल राज्यको निर्माण र विस्तारमा पृथ्वीनारायण शाहको योगदानलाई काव्यले विवरणात्मक रूपमा समेटेको छ । महाकाव्यले भौगोलिक विविधता,प्राकृतिक सौन्दर्यता र उपलब्धता, कृषिप्रणालीमा हरितक्रान्ति गर्दै जैविक विविधतालाई उपयोगमा ल्याएर देशलाई आत्मनिर्भर गराउन सकिने धारणालाई प्रष्ट्याएको छ । गोर्खा भाष÷नेपाली भाषाको विकास र विस्तारमा योगदान गर्ने स्रष्टाहरू शशीधर नामक सन्तदेखि भानुभक्त, मोतीराम भट्ट, महाकावि लक्ष्मीप्रसाद देवकोटा लगायतका स्रष्टाले पु¥याएको योगदान साथै नेपाली भाषाले नेपाली समाजको एकीकरणको महत्वपूर्ण सन्दर्भलाई प्रष्ट्याइएको छ । श्रमको लागि विदेश पलायन भएका नेपाली परिवारको मनस्थिति,विदेशमा भोग्न परेको कष्टदाई जीवन, काठको वाकसमा आउने गरेको लासलाई स्मरण गराउँदै स्वदेश फर्केर श्रममा लागेर स्वाभिमान कायम गर्न आह्वान गरिएको छ । श्रम र साधनालाई मानवीयकरण गरेर, एकालाप नभै सम्वादको रूपमा प्रस्तुत गरिएको यो महाकाव्य एउटा नविनतम् महाकाव्यको रूपमा आएको छ । विविध महत्वपूर्ण घटनाक्रमलाई उठान गर्दै राष्ट्रको विकासलार्इ हिजोका युद्धवीर कहलाएका नेपाली जो आज श्रमवीर भएका छन् सबैले स्वदेशमै श्रमको लागनीको लागि आह्वान गरिएको महत्वपूर्ण महाकाव्यको कथालाई अलिकति लम्वाइको आकार लिन सकेको भए सुनमा सुगन्ध थपिने थियो जस्तो लाग्छ ।
अतः यस महाकाव्यमा प्रस्तुत गरिएका आशावादी चिन्तन, गरिबी, आध्यात्मिक दर्शन, विविधतामा एकताको खोजी,मानवतावाद, प्रगतिवादी चिन्तन, देशले भोगेका विक्रिति विसङ्गति,श्रमवीरहरूले भोग्न परेका विदेशी दासता आदि थुप्रै चिन्तनको जति व्याख्या तथा विश्लेषण गरे पनि कमिनै हुन्छ भन्दै नीलकण्ठज्यूको सुस्वास्थ र दिर्घायुको कामना गर्दै भावी साहित्यिक यात्राको पूर्ण सफलता सहित विदा चाहान्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु