दिउसोको जुनकिरी

- बिलोक शर्मा

दिनहुँ
फुटपाथभरि वाचन भइरहने
हिजआजका कविता
रौं ठाड़ो पार्ने गरि
सड़कलाई झक्झकाई रहन्छ।
शब्दका ज्ञापनहरू
थप्पड़ीको आयु बाँच्दै
दैलो-दैलो पुग्छन्
अनि
आँखाले कहिले नदेखेका चित्रहरू
चियाका प्यालाहरूसित बाँफिदै चित्रिन्छन्
विचारका क्यानभसभरि।


भ्रम टेकेको मनको मन्दिर यात्रा
मदिरा पसलको भित्तामा टाँसिएको
तरूणीको विज्ञापनले बोलाइदिँदा
स्वतः निर्वासित बन्छ
अनि
कालो पर्दाले ढाकिन्छ
मनभित्रको भगवानको घर।


समयको रित्तो सिउँदोलाई
गिद्धे नजर लगाएर
सोझैं फूल छरेको ओछ्यान पुर्‌याउने
सड़कछाप सोंचहरू
वरिपरि घर बनाएर
सँधै ‘मर्निङ वक्’ गरिरहन्छन्
आँगन अघिल्तिर!


दावीहरू यस्ता छन्-
“माइकबाट बाहिरिएका हामी
न्यायका पर्यायवाची बनिनै पर्छ
मान्नै पर्छ.... मान्नै पर्छ।’’


अटोरिक्साहरूका भोका टायरहरू
खाल्डाहरूका पर्वाह नगरि
हुर्मुरिन्छन् रङमञ्चभरि....
पहिचानपत्रमा कालो धब्बा लाग्नसक्ने समाचार
शहरभरी बाढ़िएको पर्चामा
पढ़ेको उसले।


राजपुरोहितहरू
हातका रेखाहरूलाई जबरजस्ति तानेर
फलाक्छन्.....
समयको ‘एक्जिट पोल’!
सेतो टोपी लगाएको
‘शुभविहानी’ भन्ने घामको न्यानो स्पर्श
अस्ताउने क्षणमा
आफ्नो छाँयालाईसमेत पर-पर गर्छ
अनि,
रातको निद्रालाई
मनभित्रको शाहिनवागमा पुर्‌याउँछ।
- डुवर्स, भारत, हाल-लुधियाना

(नोट- शाहिनवागः दिल्लीस्थित एउटा ठाउँ जहाँ सरकारको ‘नागरिकता संशोधित कानुन’-को विरूद्धमा सयौं प्रदर्शनकारीहरूले गतवर्ष लगभग चार महीनासम्म धर्ना-प्रदर्शन गरेका थिए।)

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु