पुर्सुङ्गे

- राजु “हिमांशु”

“प्रतिवाद!
प्रतिवाद!!
प्रतिवाद!!!
प्रजातन्त्रको हत्या हो यो। हामी घोर भर्त्सना गर्छौँ।”
आदि आदि कुरा लेखिएका पोस्टरहरू बजारका भित्ताहरूभरि टाँसिएका थिए ।
तर किन ?
यस प्रश्नको उत्तर खोज्दा यस्तो पूर्वदृश्य देखियो।

पूर्वदृश्य --

प्रथम युवक- होइन,त्यसो गर्नु हुँदैन। उनीहरूको कार्यक्रममा बाधा पुरयाउनु उचित होइन। यहाँ प्रजातन्त्र छ अनि प्रजातन्त्रमा आफ्नो विचार व्यक्त गर्न पाइन्छ । अभिव्यक्तिको स्वाधीनतालाई स्वागत गर्नुपर्छ ।
दोस्रो युवक- विरोधीलाई त्यसरी खुला क्षेत्र दिनु हुँदैन। विरोधीको विचारले आगो सल्काउन सक्छ र हाम्रो धरातल स्वाहा हुनुसक्छ ।
प्रथम युवक- विचारलाई विचारले काट्ने रणनीति बनाउनुपर्छ । तर विरोधीको कार्यक्रमलाई रोक्न मुढेपेलाइ गर्नु उचित होइन ।
दोस्रो युवक- तिमी कस्तो कुरा गर्छौ ? विरोधीको पक्षमा छौ कि कसो ?
प्रथम युवक- त्यसो होइन। विरोधीले के भन्न चाहन्छ ? हाम्रो गलती कहाँ भएको छ? त्यो विरोधीको मुखबाट सुनेर हामीले नदेखेका विकारमा सुधार ल्याउन सक्छौँ ।
दोस्रो युवक- त्यसरी कहाँ राजनीति गरिन्छ?राजनीतिमा विरोधीलाई उठ्नै दिनुहुन्न । हाम्रो गलतीको आधारमा बिरोधीले जनसमर्थन बटुल्न सक्छ र त्यसो गर्ने मौकै दिनु हुँदैन। रोक्नुपर्छ विरोधीको कार्यक्रम जसरी भए पनि ।
प्रथम युवक- यो गलत काम हुनेछ हाम्रो।
दोस्रो युवक- गलत के हो ? ढाँट के हो? राजनीतिमा सबै जायज हुन्छ।
प्रथम युवक- तर बिरोधीको कार्यक्रम नै हुनु नदिनु चाहिँ प्रजातन्त्रको विरुद्धमा हुन्छ ।
दोस्रो युवक- प्रजातन्त्रमा सत्तारूढ़ दलको पक्षमा लाग्न सकियो भने त उन्नति सम्भव छ अनि आफ्नो दललाई सुदृढ़ र सुरक्षित राख्नुपर्छ समर्थकहरूले । सुदृढीकरण र सुरक्षाको निम्ति नै कदम चाल्दैछौँ हामी।
प्रथम युवक- यस्तो गलत कदमले हाम्रो दललाई सुदृढ़ र सुरक्षित राख्दैन। तर उल्टो दलको गलती र कमजोरी जाहेर हुन्छ । अरे ! तर्कलाई तर्कले काट्न सक्नुपर्छ । मान्छेलाई काटेर हुँदैन । कानून व्यवस्थालाई मध्य नजरमा राखेर कदम चाल्नु उचित छ ।
दोस्रो युवक- तिमी त साँच्चै हाम्रो दलको समर्थक हौ कि विरोधी दलको ? खुट्याउनै साह्रो परयो।
विरोधी दलप्रति यति धेरै सहानुभूति किन?
प्रथम युवक- सहानुभूति होइन तर संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रताको कुरा गरेको। साथी,यो प्रजातन्त्र हो अनि हामी सबै अनुगामी प्रजातान्त्रिक उद्देश्य र कर्मको । तर अराजक र तानाशाही शासन व्यवस्थाको पुछ्रे होइनौँ ।
दोस्रो युवक- तिमी कि त चुप लागेर बस कि त घर फर्क । आज यो कार्यक्रम सफलतापूर्वक आयोजित हुनु दिनु नै हुँदैन ।
प्रथम युवक- मेरो चुपचाप बसाइले हाम्रो गलती लुक्ने होइन। मिडियाको जमानामा कुनै कुरो लुक्न सक्दैन। फेरि हरेक मिडिया सत्तारूढ़ दलकै अन्धो समर्थक पनि हुँदैन र सत्य जाहेर हुन्छै हुन्छ अनि हाम्रो गलत कदमले हाम्रै दललाई हानि गराउँछ ।
दोस्रो युवक- तिम्रो विश्लेषण तिमीसितै राख । म भन्दैछु । तिमी चुप लागेर बस। नत्र घर फर्क। तर यस काममा बाधा नबन ।
प्रथम युवक- गलत कामको लागि यस्तो ढिटोपन देखाउनु राम्रो होइन।
दोस्रो युवक- के राम्रो हो के होइन ; त्यसको निर्णय हाम्रो रणनीतिमाथि भरपर्ने कुरा भए तापनि हाम्रो वर्तमान कर्तव्य चाहिँ रणनीतिले सिकाएको कर्तव्यपालन गर्नु मात्रै हो। तिमी टाउको नदुखाऊ । भयभीत छौ भने घर जाऊ ।

यी दुई युवकमाझ भएको तर्कवितर्क केही पर बसेर सुनिरहेको छ तेस्रो युवकले। ऊ प्रथम र दोस्रो युवकको छेउमा आउँछ र भन्छ –

तेस्रो युवक- तिमेरू एउटै पार्टीको भएर किन बझाबाझ गरेको हँ ? केई नगरिकन यसरी बित्थाको कुरामा समय नष्ट गरेर हुँदैन। हानि त हामी सबैको हो । सुन दुवैजनाले राम्ररी । पहिला हामी त्यो सात तले बिल्डिङको छतमा पुगौँ।त्यहाँबाट विरोधी दलको कार्यकलाप हेरौँ । त्यसपछि के गर्नु पर्ने किंवा नगर्नु पर्ने त्यही पुगेर सोचौँ । यहाँ बित्थामा कुरा गरेर समय नष्ट नगरौँ। तिमेरू दुवैका कुरालाई बुझेर के गर्नु उचित हुन्छ त्यही छतमा पुगेर गरौँ। जाऔँ ।
प्रथम युवक- ठीक छ। जाऔँ ।
दोस्रो युवक- जाऔँ ।

आपस्तमा तर्कवितर्क गर्ने दुवै युवकले तेस्रो युवकको कुरोमा सहमति जनाउँछन् । तीन युवक छेवैमा अवस्थित सात तले बिल्डिङको छतमा पुग्छन् । त्यहाँबाट केही पर विरोधी दलका
समर्थकहरूको भीड़ देखिन्छ। त्यहाँ विरोधी दलको जनसभा भइरहेको छ । विरोधी दलको एकजना नेताले माइक्रोफोनअघि चिचाएर भाषण दिँदैछ । उसको भाषण त्यो सात तले बिल्डिङको छतबाट स्पष्ट सुनिन्छ । यत्तिमा तेस्रो युवक बोल्छ ।

तेस्रो युवक- सुन्दैछौ त विरोधीको भाषण? खालि हाम्रो खिलापमा बोल्छ। मुद्दा केही छैन उनीहरूको ।खालि हामीलाई गाली गर्नु,हाम्रो जनकार्यको विरोध गर्नु नै उनीहरू आफ्ना धर्म सम्झन्छन् । यस्तालाई ढुङ्गा,ईटा,बोतल हानेर एउटा पाठ सिकाउनुपर्छ ।

यति भनी तेस्रो युवक अघिबाटै त्यस छतमा थुपारिएका ढुङ्गा,ईटाका टुक्राहरु र खाली बोतल भएतर्फ जान्छ। उसको पछिपछि दोस्रो युवक पनि जान्छ । उनीहरू आफ्ना हातमा ईटाका टुक्रा, ढुङ्गा लिन्छन् । त्यो देखेर प्रथम युवक छक्क पर्छ र बोलिपठाउँछ ।
प्रथम युवक- अरे! के गर्न आटेको तिमारले? विरोधीमाथि ढुङ्गा हान्नु आटेको? यो गलत काम हो । त्यसो नगर। प्रजातन्त्रमा बोल्ने सबैको अधिकार छ । उनीहरूलाई बोल्न
देऊ । कायर नबन ।
प्रथम युवकको कुरा सुनेर दोस्रो र तेस्रो युवकले कानेखुसी गर्छन् अनि त्यसपछि दुवै युवक प्रथम युवकको छेउमा आउँछन् । तेस्रो युवक बोल्छ।
तेस्रो युवक- हेर, तिमी अब चुप लाग। विरोधीको समर्थक बन्ने कोसिस नगर नत्र......
प्रथम युवक- नत्र के? नत्र के गर्छौ ?
दोस्रो युवक- तिमी त पक्का पनि विरोधी दलले छोडेको जासूस हौ कि क्या हो ? खुबै विरोधीको पक्षमा बोल्दैछौ त ?
प्रथम युवक- म विरोधी दलको पक्षमा होइन तर प्रजातन्त्रको पक्षमा बोल्दैछु । संविधानले दिएको अधिकारको पक्षमा बोल्दैछु।
तेस्रो युवक- तर अब तिम्रो बोलीले हामीलाई रोक्न सक्दैन।
यति भनी तेस्रो युवकले विरोधी दलको जनसभा भइरहेको ठाउँमा हातको ढुङ्गा
हान्छ । उसको हातबाट ढुङ्गा बर्सिनसाथ वरिपरी भएका बिल्डिङका छतहरूबाट पनि ढुङ्गा,इटाका टुक्रा,बोतल आदि विरोधी दलको भीड़माथि बर्सिन थाल्छ । पूर्वनियोजित योजनानुसार सत्तारूढ़ दलका कार्यकर्ताहरूले विरोधी दलका समर्थक र कार्यकर्ताहरूमाथि ढुङ्गा,इटाको टुक्रा,बोतल हानेपछि विरोधी दलका समर्थक र कार्यकर्ताहरू भयभीत भएर यताउता भाग्न थाल्छन्। भाषण रोकिन्छ। होहल्ला मचिन्छ। विरोधी दलका समर्थक र कार्यकर्ताहरू घाइते हुँदै जान्छन्। प्रथम युवक एक्कासि कराउँछ।
प्रथम युवक- यो के गरेको? तिमारको पूर्वनियोजित योजना रहेछ। मलाई थाहा थिएन। भनिएन पनि। तर म यसो गर्न दिदिनँ
यति भनी प्रथम युवकले दोस्रो र तेस्रो युवकका हातहरूबाट ढुङ्गा,ईटाका टुक्राहरू खोस्न खोज्छ । यिनीहरूमाझ खोसाखोस हुँदाहुँदै झगड़ा हुन्छ। दोस्रो र तेस्रो युवकले प्रथम युवकलाई समातेर कुट्छन्। दोस्रो युवकले आफ्नो हातमा भएको ढुङ्गाले प्रथम युवकको टाउकोमा प्रहार गर्छ। प्रथम युवक भुइँमा लड्छ । तेस्रो युवकले प्रथम युवकलाई घिसार्दे लगेर छतको डिलमा पुरयाउँछ अनि
त्यसपछि दोस्रो युवकले प्रथम युवकलाई ठेलिदिन्छ ।प्रथम युवक छतबाट खसेर तल भुइँमा
पछारिन्छ । उसको प्राणपखेरू उड्छ। उता भाषण स्थलमा ढुङ्गा,ईटा,बोतल बर्सिरहेका छन्। जनसभा भताभुङ्ग भइसकेको छ। बिरोधी दलको जनसभा त्यसरी विफल पारिन्छ।
पूर्वदृश्यमा घटित घटना त्यस्तो थियो ।
उक्त घटनाको भोलिपल्ट। बजारको भित्ताभरि पोस्टरिङ हुन्छ।पोस्टरमा लेखिएको छ यस्तो –
“प्रतिवाद!
प्रतिवाद!!
प्रतिवाद!!!
प्रजातन्त्रको हत्या हो यो। हामी घोर भर्त्सना गर्छौँ।”
इत्यादि। इत्यादि।
केही कालपछि प्रशासनले राजनैतिक दलहरूलाई जनसभा गर्न अनुमति नदिएको खबर
सुनियो ।शहरमा शान्ति कायम गर्न नै प्रशासनले त्यस्तो कदम चालेको कुरो बुझियो।विरोधी दलका नेताहरूले भने प्रजातन्त्रमा प्रजातान्त्रिक अधिकार उपभोग गर्न नपाइएको शिकायत गर्दै सर्वोच्च
न्यायालयको ढोका ढकढकाउने धम्की दिएका खबर फैलियो। सत्तारूढ़ दलको सभा भने आयोजित भइरहेको गुनासो पनि कताकता सुनियो।
राजनैतिक पुर्सुङ्गेहरूको ढलीमलीले गल्ड्याङ्ग्रे जनता भने रनभुल्लमा परे ।



००००००००००००

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 जेठ, 2077

लेखकका अन्य रचनाहरु