आह्वान

- उषा आचार्य

आँसुका दुई झारेर थोपा सम्झिएँ देश यो
नेपाली बनी कहिलेसम्म हामीले बाँच्ने हो ?
पूर्वको मेची पश्चिम काली छुट्दैछ अहिले
नेपाली भन्दा गर्वले छाती फुल्दथ्यो पहिले ।।

पुर्खाको रातो रगत तातो मर्दैन वीरता
उम्लिँदै आयो नेपालीपन टुट्दैछ धीरता ।
देखेनन् क्यारे इतिहास् हाम्रो लेखेको सुनौलो
डटेर फेरी गोर्खाली लडी बचाऔँ सीमा यो ।।

पर्खेर बस्यौँ ती जङ्गे पिल्लर् सारिए झन् यता
सहेर बसे हुँदैनन् कत्ति नेपाली विजेता ।
नेपाली मान नेपाली शान बचाऔँ पैलेझैँ
गएकाहरू फर्कन्नन् सत्य जाग्नु छ हामी नै ।।

मुटुमा माटो माटोमा प्राण रोपे पो हुर्कला
आकाशमाथि उडेको चरा कहिले फर्कला ?
आमाको आँसु बगेर हेर बन्दैछ गण्डकी
कहिलेसम्म राख्ने हो मान हामीले बन्धकी ।।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 10 जेठ, 2077

लेखकका अन्य रचनाहरु